तपाईं एउटी कुशल गृहिणी हुनुहुन्छ । तपाईंलाई घरका सदस्यहरूलाई मनपर्ने–मन नपर्ने सबै कुराको जानकारी छ । विशेष अवसरका लागि कस्तो पहिरन किन्ने, कस्तो नकिन्ने, कस्तो पकाउने, कस्तो नपकाउने सबै थाहा छ । कुन कुरा बोल्दा कसलाई खुसी लाग्छ भन्ने कुराबाट पनि परिचित भैसक्नुभएको छ । त्यसो भए, के तपाईं पक्का गृहिणी हुनुभयो त ?
अहँ, यतिमै असल गृहिणी हुन सकिँदैन । असल गृहिणीले अर्को कुरा पनि जान्नैपर्ने हुन्छ, किनमेल गर्ने काइदा । किनभने बचत गर्नु पनि कमाउनु सरह नै हो । आजको महँगीमा उचित सामान उचित मूल्यमा किन्नु असल गृहिणीको परिचायक हो ।
उचित पसलको छनोट : खाद्य तथा पेय पदार्थ किन्दा विश्वसनीय एवं प्रतिष्ठित पसलबाटै किन्नुपर्छ । प्रतिष्ठित पसलमा विश्वसनीय कम्पनीका सामग्री मात्र पाइन्छ । कारण उनीहरू पनि उपभोक्ताको मन जित्न चाहन्छन् । यस्ता पसलमा डेट एक्सपायर सामग्री साट्न सकिन्छ । त्यस्तै कुनै गुनासो सुनाउन सकिन्छ । त्यस्तो गुनासो ती पसलहरूले कम्पनीसम्म पनि पुर्याइदिन्छन् ।
गुणस्तरीय सामग्रीको छनोट : आजभोलि सहरी क्षेत्रमा दर्जनौं कम्पनीका खाद्य सामग्री उपलब्ध छन् । तीमध्ये कुनै सस्ता त कुनै महँगा हुन्छन् । सामान्यतया महँगा सामान गुणस्तरीय र सस्ता सामान गुणस्तरहीन मान्ने हाम्रो सोच हुन्छ तर त्यस्तो होइन, कम्पनीले प्रयोग गर्ने वस्तुका आधारमा गुणस्तर मापन गरिन्छ । किनेको सामग्री खानेबित्तिकै कुन गुणस्तरीय र कुन गुणस्तरहीन भन्ने थाहा भैहाल्छ । यदि गुणस्तरीय सामग्री अरूभन्दा महँगो छ भने पनि गुणस्तरीय वस्तु नै छनोट गर्नुपर्छ ।
निर्माण तथा उत्पादनको तिथि : प्रत्येक खाद्य एवं पेय पदार्थमा उत्पादन मिति र उपभोग्य मिति लेख्नैपर्ने नियम छ । जुनसुकै विधिले उत्पादन गरे पनि खाद्यपदार्थ उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित भएकाले यसमा राम्रो ध्यान पुर्याउनुपर्छ । उत्पादन मिति उल्लेख नगर्ने कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको मानिन्छ । त्यसैले सामग्री किन्दा उपभोग गर्ने अन्तिम मिति र उत्पादन मिति लेखिएको छ–छैन हेरेर मात्र किन्नुपर्छ ।
मिश्रणको जानकारी : धेरैजसो सामग्री दुई वा दुईभन्दा बढी वस्तु मिलेर बनेका हुन्छन् । त्यस्ता खाद्यपदार्थमा कुन–कुन पदार्थ मिसाइएको छ भनेर प्रस्ट लेखिएको हुनुपर्छ । यसरी लेखिएका आधारमा उपभोक्ताले यो किन्नैपर्ने सामग्री हो कि होइन छुट्याउन सक्छन् ।
उपयोग गर्ने तरिकाको जानकारी : आजभोलि धेरै थरिका तयारी खानेकुरा बजारमा उपलब्ध छन् । ती सबैको जानकारी उपभोक्तालाई नहुन सक्छ । त्यसैले त्यस्ता सामग्री मात्र खरिद गर्नुपर्छ जुन सामग्रीमा उपभोग गर्ने तरिका पनि लेखिएको हुन्छ ।
पकाउने तरिका : खाद्य सामग्रीमा पकाउने तरिका पनि उल्लेख हुनुपर्छ । पकाउने तरिका उल्लेख गर्ने कम्पनीले लामो शोधपछि मात्र त्यस्ता वस्तु बजारमा उतारेका हुन्छन् ।
उपयुक्त मात्रा वा वजन : कुनै पनि खाद्यपदार्थको प्याकेटमा मात्रा वा वजन उल्लेख हुनु जरुरी छ । कारण यसले कम्पनीको विश्वसनीयतालाई मापन गर्छ । जुन कम्पनीले मात्रा वा वजनलाई ध्यान दिन्छ त्यो कम्पनीले उपभोक्तालाई खुसी बनाउने सामान्य सिद्धान्तलाई पछ्याएको छ भन्ने देखाउँछ ।
गुणस्तर चिन्ह : स्वदेश तथा विदेशमा कुन वस्तु कति प्रतिष्ठित हो भन्ने कुरा त्यसको गुणस्तर चिन्हले मापन गर्छ । नेपालमा एनएस चिन्ह भएका खाद्यपदार्थलाई गुणस्तरीय मानिन्छ ।