१२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण १ लाख २६ हजार गर्भवती प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को विज्ञप्तिमा उल्लेख छ । भूकम्प आएको एक सातापछि जारी उक्त विज्ञप्तिमा २० लाख प्रजनन् उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । यूएनएफपीएको विज्ञप्तिअनुसार यस्तो अवस्थामा महिला हिंसा बढ्छ । महिला ‘सुरक्षित सुत्केरी सेवा र सुविधाबिना नै शिशु जन्माउन बाध्य हुने’ उक्त विज्ञप्तिमा उल्लेख छ ।
यस्तो विपत्तिमा जो कमजोर छ उही नै जोखिममा पर्ने भएपछि आमा र शिशु दुवैलाई समस्या पर्न सक्छ । भूकम्पका कारण बेघरबार भएका धेरै गर्भवतीले अहिले सार्वजनिक स्थानमा क्याम्प बनाएर आफ्नो ओतको व्यवस्था मिलाएका छन् । यद्यपि पोषिलो खानेकुराको अभावमा आमा र शिशु दुवै कुुपोषित हुने सम्भावना बढ्दो छ । भरपेट खान नपाएको समयमा पोषिलो खानेकुराको जोहो गर्नु पनि सपनाजस्तै भएको छ । जताततै गर्भवती र सुत्केरी जोखिममा छन् भन्ने समाचार आउन थालेपछि ती महिला मात्र होइन परिवारसमेत त्रसित हुन थालेका छन् ।
कमजोर व्यक्तिहरू जहिले पनि जोखिममै हुन्छन् । सुत्केरी तथा गर्भवतीहरू यस्तो समयमा जोखिममा छन् भन्ने कुरा समाचारको विषय हुँदा नौलो मान्नुपर्दैन । त्यसैले त्यस्ता महिलालाई हौसला दिँदै दैनिक क्रियाकलापमा व्यस्त राख्नु आवश्यक भएको चिकित्सकहरू बताउँछन् । मानसिक रोग विशेषज्ञ डा. सरोजप्रसाद ओझा डरलाई कम गर्न गर्भवती तथा सुत्केरीको कुरा सुन्दै उनीहरूलाई सकारात्मक कुरामा व्यस्त राख्नुपर्ने बताउँछन् । यस्तो विपत्को समयमा डर लाग्ने, खान मन नलाग्ने, रिस उठ्ने, निद्रा नलाग्ने, खाना नपच्ने, श्वास बढ्नेजस्ता लक्षण देखिनु सामान्य हो । विपत्तिपछि ६ हप्तादेखि तीन महिनासम्म यस्ता खालका लक्षण देखिँदा डराउनु नपर्ने डा. ओझाको सुझाव छ । तीन महिनाभन्दा लामो समयसम्म यस्ता लक्षण देखिए चिकित्सककहाँ जानुपर्छ ।
आफ्नै अगाडि रमाइरहेका आफन्तलाई क्षणभरमा गुमाउनुपर्दा कसको मन शान्त रहला र ? त्यसमा पनि वर्षांैसम्म दु:ख गरेर कमाएको घरसँगै सबै सम्पत्ति माटोमा मिल्दा चिन्ता नलाग्ने कुरै भएन । त्यसैले प्राकृतिक विपत्तिको अगाडि हाम्रो केही लाग्दैन भन्ने सोच्दै भविष्यको योजना बनाउनु उपयुक्त हुन्छ । यस्तै पीडाबाट छटपटाइरहेका भूकम्प प्रभावित महिलाका कुरा सुन्दा जोकसैका आँखा रसाउँछन् ।
भूकम्पमा घरभित्र रहेका गर्भवती तथा सुत्केरीहरू भागेर ज्यान जोगाउन सफल भए पनि सँगै रहेका आफन्त गुमाउनुपर्दा पीडामा छन् । पोषिलो खानेकुरा खाँदै आफन्तका साथमा समय बिताउनुपर्ने समयमा आफन्तहरू नै गुमाउनुको पीडा भोग्नुपर्दा गर्भवतीहरू नियमित जाँचका लागि स्वास्थ्य संस्थामा समेत जान सकेका छैनन् । लगाउने लुगा, पैसा र अस्पतालमा स्वास्थ्य परीक्षण गराएको कागज नै घरसँगै पुरिएपछि स्वास्थ्य परीक्षण नै नियमित हुन सकेको छैन । सरकारले गर्भवती परीक्षण नि:शुल्क भन्दै नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई आर्थिक सहयोग गरे पनि स्वास्थ्य संस्थामा जान नसक्ने अवस्थाका महिलाहरूलाई कसरी सेवा प्रदान गर्ने ध्यान पुर्याउनु आवश्यक छ ।
भूकम्पमा १० जना आफन्त गुमाएकी सिन्धुपाल्चोक धुम्थाङ गाविसकी २६ वर्षीया गीता विकको कुरा सुन्दा धेरै गर्भवतीले भोग्नुपर्ने साझा समस्या यस्तै हो भनेर बुझ्न सकिन्छ । धुम्थाङबाट दुई घन्टा हिँडेर गाथी गाविसको बसेरी पुगेकी ६ महिनाकी यी गर्भवती राहतको लाइनमा भेटिँदा निकै दु:खी देखिएकी थिइन् । पोषिलो खानेकुराको त कुरै छाडौं, पेटभरि खान पनि समस्या रहेको उनले बताइन् । भूकम्प गएको दुई दिनसम्म गर्भस्थ शिशु नचलेर चिन्ता थपिए पनि अहिले भने बच्चा चल्न थालेपछि उनमा केही आशा पलाएको छ । भएका आफन्त गुमाए पनि नयाँ आउने सन्तानलाई सुरक्षित राख्न पाए हुन्थ्यो भन्ने गीता अब अस्पताल जान चाहिने पैसा कसरी जोहो गर्ने भन्ने चिन्तामा छिन् ।
दूरदराजका गाउँमा मात्र होइन सहरमै बस्ने महिलाहरू पनि यस्तै समस्यामा छन् । राहतको कुरै छाडौं किनेर खान्छु भन्दा पनि स्वस्थ खानेकुरा नपाउँदा सिन्धुपाल्चोकको सदरमुकाम चौताराकी गर्भवती निर्जना घले श्रेष्ठको डरले भरिएको आवाजमा पनि भविष्यको चिन्ता सजिलै अनुमान गर्न सकिन्छ । सबै घर भत्किएका छन्, जिल्ला अस्पतालको पनि अवस्था उस्तै छ । यस्तो स्थितिमा शिशु जन्माउन कहाँ जाने भन्ने मात्र होइन जन्मिसकेको शिशुलाई कहाँ राख्ने भन्ने चिन्ता पनि छ उनलाई । त्यस्तै सिन्धुपाल्चोक साँगाचोक गाविस माझीगाउँकी अमिता माझीलाई पनि काखको शिशुको भविष्यको चिन्ता छ । १२ दिनकी सुत्केरी माझी भूकम्प आउँदा भागेर बाँच्न सफल भए पनि समस्याबाट भाग्न नसकेको बताउँछिन् । चिउरा, चाउचाउ, दालमोटजस्ता सुक्खा खानेकुराको भरमा दिन कटाउँदै आएकी अमिता भन्छिन्, ‘बच्चाले फोहोर गर्दा फेर्ने कपडा छैनन् । चिसोले शरीरभर नीलडाम देखिए पनि उपचार गर्ने पैसा छैन ।’
मनोविद् करुणा कुँवरका अनुसार महिलामा धेरै समस्या देखिन्छन् भनेर हल्ला गर्नुको साटो महिलाहरूलाई सहयोग गर्नु आवश्यक छ । सुत्केरी र गर्भवतीसँगै कामकाजी महिला दोहोरो जिम्मेवारीका कारण थप समस्यामा परेको उनको तर्क छ । घरमा बच्चा एक्लै छोड्न सक्ने अवस्था नरहेकाले सँगै काममा लिएर जाँदा निर्धक्क भएर काम गर्न सक्ने अवस्था छैन । हरेक विपत्तिको समयमा महिलाहरू सधै जोखिममा रहने भएकाले महिलालाई विशेष किसिमको मनोपरामर्श दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । शारीरिक चोटको तुलनामा मनोवैज्ञानिक चोट निको हुन बढी समय लाग्ने भएकाले अहिलेको असामान्य परिस्थितिमा सामान्य बन्ने प्रयास गर्नुपर्ने हुन्छ । मोबाइलको भाइब्रेसनले डर लाग्ने, गाडीको हर्न सुन्दा डर लाग्ने, खान मन नलाग्ने, अपच हुने, सपना नराम्रो देख्नेजस्ता समस्या धेरैमा हुने भएकाले यस्तो अवस्थामा मलाई मानसिक रोग लाग्यो कि भनेर डराउनु नपर्ने मनोविद् कुँवरको सुझाव छ ।
भूकम्पका कारण घरवारविहीन भएका किशोरी तथा महिलाले भोगेका समस्या धेरै छन् । ज्यान जोगाउन घरबाट बाहिरिएको एकछिनमै आफ्नैअगाडि घरै ढलेपछि बासको त आशै भएन । तत्कालका लागि ज्यान बचे पनि दैनिक जीवन चलाउन चाहिने सामग्री नभएपछि स्थिति जटिल हुन्छ । झट्ट हेर्दा महिला र पुरुषले एउटै समस्या सामना गरेको देखिए पनि महिलाका आन्तरिक तथा बाह्य समस्या फरक हुन्छन् । महिनावारी भएको समयमा खुलेर कुरा गर्न नसक्ने किशोरीहरू पनि यो समयमा निकै समस्यामा परेका छन् । घर छोडेर पालमा पुगेकी भक्तपुरकी सरिता देउलाले ‘हाइजेनिक प्याड’ र प्रशस्त पानीको अभावमा महिनावारीको समयमा निकै सास्ती भोग्नुपर्यो । महिला–पुरुषको एउटै पालमुनि बास हुँदा त अझ गार्हो हुने उनको अनुभव छ । स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्यका अनुसार महिला तथा किशोरीहरूलाई यस्तो समस्याबाट जोगाउन जनचेतना फैलाउनु आवश्यक छ ।
मीना शर्मा
स्रोत : सञ्चारिका फिचर सेवा