‘मखमली फुल्दा, मार्सी धान झुल्दा, बहिनी आउनेछिन्,
दैलाको तस्बिर छातीमा टाँसी आँसु बगाउनेछिन्’
प्रसिद्ध लोकगायक नारायण रायमाझीले धेरै वर्ष पहिले गाएको यो गीत नबजेसम्म तिहार आएजस्तो अनुभूति हुँदैन । परदेशमा गएको दाइ उतै सहादत प्राप्त गर्न पुग्छ, हरेक वर्षको तिहारमा उसैगरी घरअगाडिको फूलबारीमा ढकमक्क फूलहरू फुलिरहन्छन्, उसैगरी खेतका गराभरी पहेंलपुर धानका बालालहलहाउँदै झुल्छन् । तर, दैलोमा टाँसेको तस्बिरको माइती जहाँको त्यहीँ स्थिर हुन्छ, फर्केर आउँदैन । फर्केर आउँछ त केवल उही माइतीको झल्को र सम्झना । यस्तै विरहको भावना समेटिएको यो गीति भाव केवल गीत मात्रै होइन आम मध्यवर्गीय नेपाली परिवारको वास्तविक भोगाइ हो, वास्तविक रोदन हो ।
दाजुभाइ र दिदीबहिनीको पवित्रसम्बन्धसँग सरोकार राख्ने महान् पवित्र पर्वको गरिमा र औचित्य नै पछिल्लो समयमा बजारीकरणको चपेटामा धूमिल हुन थालेको अनुभूति हुन्छ । अहिले सूचना प्रविधिको युग छ, विश्वव्यापीकरणको चपेटामा नेपाल पनि नपर्ने कुरा भएन । यही विश्वव्यापीकरणको मारमा हाम्रा चाडवाड र संस्कारपनि सम्मिलित हुन थालेको अनुभूति विगतका केही वर्षदेखि हुँदै आएको छ ।
तिहार नेपालीहरूको दोस्रो महान् पर्व हो । नितान्त पारिवारिक वतावरणमा मनाइने पावन पर्व । उपहार, सौजन्य, दान–दक्षिणाको मोलमोलाइमा मनाइने पर्व होइन तर अहिले ठीक यसको विपरीत देखिन्छ । तीजमा दाजुभाइले आफ्ना चेलीबेटीलाई औकात नभएपनि देखाउनैपर्ने जसरी खुसी बनाउनुपर्छ, तिहारमा चेलीबेटीले अरूलाई देखाउनकै लागि भएपनि आफ्नै हैसियत अरूको सामु प्रदर्शन गर्नुपर्छ भन्ने गलत आडम्बरले हाम्रा संस्कार र पर्वहरू व्यापारीकरणको मारमा पर्न थालेका छन् । गरिब, कम आर्थिक हैसियत भएका माइतीलाई माइतीको दर्जा दिन हच्किने चेली र चेलीको हैसियतअनुसार तिहारको दक्षिणा–उपहारको बन्दोबस्त गर्ने माइती दाजुभाइ दुवै यो समाजका, यी चाडपर्वका ऐजेरु हुन् ।
पोहोर सालकै तिहारको कुरा हो । एकजना अधवैशे महिलाले माइतीले आफू गरिब भएकै कारण तिहारमा नआउनू भनेको कुरा रुँदै बताएकी थिइन् । ‘तीनवटी बहिनी सम्पन्न छन्, मेरो हैसियत केही छैन । सामान्य सिलाइ–बुनाइ गरेर बस्छु, मैले बहिनीहरूले जस्तो भाइलाई महँगा उपहार लान सक्दिन, महँगा उपहार नलगेपछि भाइले पैसा पनि त्यहीअनुसार दिने होला,’ उनले दुखेसो पोखिन् ।
‘यसपटक त हामी पोखरा साहिँली दिदीको घरमा जम्मा हुने कुरा भएको छ । तर तपार्इंलार्ई आउन मिल्दैन होला । यति टाढासम्म आउने कुरा पनि भएन भनेर भाइले घुमाउरो तरिकाले कुरा गर्दै थियो । ठीकै छ, तिमीहरू रमाइलो गर, म आउन मिल्दैन भनें,’ भावुक बन्दै उनले सुनाएकी थिइन् ।हिजो केही नहुँदा एक टपरी सेलरोटी,एउटा मखमली फूलको माला लगाएर पनि तिहार मनाइन्थ्यो, अहिले भाइ–बहिनीहरू सम्पन्न भए, मेरो हालत उस्तै छ भन्ने उनको दुखेसो रहेछ ।
हरेक वर्ष भाइमसलाका रूपमा करोडौंमा विदेशी सामानखरिद गर्छौं र तिहार धुमधामले मनाउँछौं । आफ्नो घरमा जे छ, आफूले जे बनाउन सकिन्छ त्यसमा खुसी हुन सकिँदैन र ? चाड हाम्रो हो भने देखासिकी किन अर्काको गर्ने ? एउटै कोखका दिदी–बहिनी, दाजुभाइ आर्थिक हैसियतकै कारण अलग्गिनुपर्ने अवस्था किन सिर्जना भयो ? यस्तो अवस्था आउनुको कारण के हो ? किनभने हामी अरुलाई देखाउन खोज्छौं, अरुका सामु राम्रो बन्न खोज्छौं तर आफू के हूँ ? मेरो दायित्व के हो भन्ने कुरा बिर्सन्छौं । चाडवाड संस्कारमा रहेर मनाउन खोजौं, देखासिकीमा होइन भन्ने कुरा दाजुभाइहरूले पनि बुझ्न जरुरी छ र दिदीबहिनीहरूले पनि ।
अर्को नराम्रो चलन उपहारको बजारीकरण हो । दाजुभाइको हैसियत जस्तोसुकै होस्, दिदीबहिनीले लगेको उपहारअनुसारको मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले जरा गाडेको देखिन्छ । कसैका माइतीको हैसियत दिदीबहिनीको भन्दा कम होला, दिदीबहिनीले हैसियतअनुसारका महँगो उपहार दाजुभाइलाई तिहारमा दिन्छन् । त्यसको बदलामा दाजुभाइले ऋण खोजेर भए पनि सट्टामा शोध भर्ना गर्नुपर्ने गलत परम्पराले चाडबाड रमाइलो, उत्साह, पारिवारिक मिलनभन्दा पनि आर्थिक बोझका रूपमा देखापर्नु विडम्बना हो । हामी अरूका लागि किन साक्षी बस्न खोज्छौं ? जे छ त्यसमा किन खुसी हुन सक्दैनौं ? दिदीबहिनीको हैसियत चाहे जतिसुकै कमजोर किन नहोस्, आफ्नै आमाले जन्माएको होइन भन्न कुनै धनी दाजुभाइले सक्छन् त ? बाहिर जे–जे भने पनि आत्माले त सत्य कुरा ढाँट्न सक्दैन । अर्कातिर दाजुभाइ जतिसुकै निम्न हैसियतका भए पनि सम्पन्न दिदीबहिनीले हामी एउटै कोखका सन्तान होइनौं भन्न सक्छन् र ? सत्य कुरा आफ्नो हृदयले त पक्कै पनि ढाँट्न सक्दैन ।
चाडबाड परिवारसँग मिलेर मनाउने प्रयास गरौं । अरुले कसरी मनायो ? कति खर्च गर्यो ? कति दान–दक्षिणा दियो त्यतातिर ध्यान दिने काम नगरौं । जे छ त्यसमा जसरी खुसी हुन सकिन्छ । चाडवाडलाई व्यापारीकरण गर्ने काम हामी कसैले पनि नगरौं । चाडबाड मनाएकै कारण कोही आर्थिक रूपमा विपन्न हुन नपरोस् भन्नेतर्फ विचार पुर्याउनुपर्छ । हामी आडम्बरलाई बढी पश्रय दिन तल्लीन हुन्छौं, वास्तविकतामा रमाउन खोज्दैनौं ।
चाडबाड भनेका टाढा–टाढा भएका परिवारजनलाई मिलाउने माध्यम हुन् । चाडवाडकै कारण वर्ष दिनसम्म नजिक हुन नपाएका आफन्तहरू एउटै छानामुनि जम्मा हुन्छन् । सबैले दुःख–सुख साट्ने अवसर पाउँछन् । आफन्तहरू मिली एक भएर मनाउने पर्वको महिमा घटाउने काम हामी कसैले नगरौं । अझ चाडपर्वको बेलामा दुर्व्यसनी बढ्ने गर्छ । वर्षदिनमा एकदिन रमाउनुपर्छ भन्ने बहानामा कुलतमा फस्नेहरूको जमात पनि बढी देखिन्छ । आदत, आचरण भनेका चीज हरेक क्षण संयम नै राखेको उचित हुन्छ ।
अर्को नयाँ विकृति देखिएको छ नेपाली समाजमा, धनतेरस । हामीले सानैदेखि आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको प्राकट्य भएको पवित्र दिन भनेर बुझ्ने गर्थ्यौं । कुनै पनि आयुर्वेदिक प्रजातिका बिरुवा रोप्ने, केही सानो किन नहोस्, नयाँ चीज घरमा भित्र्याउनुपर्छ भन्ने सुनिन्थ्यो । तर अहिले समय फेरिएको छ, सूचना प्रविधिले विश्वलाई सानो गाउँ बनाएको छ । तिहार सुरु हुनासाथ फेसबुक र युटुबका स्वयं घोषित ज्योतिषीहरूका महान् वाणीहरू एकपछि अर्को आइरहन्छन् । यस वर्षको धनतेरसमा यो किन्नुस्, त्यो किन्नुस्, यो चीज किन्दा यस्तो फाइदा छ । मानौं ती कथित ज्योतिषीहरूले सबै बजारको मालसामान उठाउने जिम्मा पाएका छन्, जसरी बोलिरहेका हुन्छन् ।
दुई वर्षअघिको घटना सम्झन्छु ।श्रीमतीको करकापमा हार्न नसकेर एकजना अधिकृत स्तरका कर्मचारीले चाँदीको खड्कुलो, चाँदीको थाल, चाँदीकै गिलास र सुनको असर्फी सामान किन्दा साढे दुई लाख खर्च गरे, धनतेरसका दिन । ती श्रीमान्को यति गुनासो थियो कि मेरी श्रीमतीलाई यस्तो सल्लाह दिनेहरूको सत्यनाश होस् भन्न बाँकी राखेनन् । ती अधिकृतकी साली सम्पन्न परिवारकी बुहारी हुन् । उनको हैसियत राम्रो छ । बहिनीले यो किन्छु भनेपछि दिदी कम हुने कुरा आएन ।‘सालीसँग हैसियत मिलाउने भएपछि मेरो दसैंको पेस्की, संचयकोषको रकम ऋण निकालेर बल्ल श्रीमतीको चित्त बुझाएँ’ भन्दै गुनासो सुनाउँथे ।
हाम्रो धर्म, संस्कार, परम्परा, सभ्यता र परिवारसँग जोडिएका छन् न कि बजारको अर्थशास्त्रसँग । हैसियत हुनेहरूलाई धनतेरस नै किन कुनुपर्छ ? जुनसुकै बेलाजे पनि किन्न सक्छन् तर अर्काको देखासिकीमा लागेर आफू रित्तिने काम नगरौं । हाम्रा पर्व पारिवारिक रूपमा परिवारका सदस्यसँग मिलेर मनाऔं, हैसियत प्रदर्शन गरेर होइन ।