शिशिरराज पाण्डे
हामी भन्ने गर्छौं–‘जन्मँदा पनि खाली हात, मर्दा पनि खाली ।’ तर हामी किन स्वार्थी छौं ? सद्गुरु भन्नुहुन्छ–‘तपाईं स्वार्थी हुनबाट बच्न सक्नुहुन्न । म स्वार्थी हुन चाहन्न भन्नु नै आफैंमा गहिरो स्वार्थ हो । इमानदार भएर आफूलाई हेर्नुहोस् अनि भन्नुहोस्–के तपाईं वास्तवमै स्वार्थी नबन्न सक्नुहुन्छ ?’
तपाईं चाहे जुनसुकै तरिकाबाट नियाल्नुहोस्, जीवनलाई आफ्नो दृष्टिकोणबाट मात्रै बुझ्नुहुन्छ । तसर्थ, निःस्वार्थी हुने प्रश्न नै उठ्दैन । आफूलाई नैतिकताले बहकाउने काम नगर्नुहोस् । स्वार्थी नहुने प्रयास गर्नुहोस् र हेर्नुहोस्, तपाईंले आफूलाई केवल छल्नुहुनेछ । निःस्वार्थीपन एउटा झूठ हो, जुन नैतिकताको उपज हो, अनि यसबाट संसारमा थुप्रै मानिस भ्रमित भइरहेका छन् । मानिसहरू यो सोच्छन् कि उनीहरू निःस्वार्थ भावले केही गरिरहेका छन् । तर, उनीहरू त्यो काम यसकारण गरिरहेका हुन्छन्, किनकि त्यसले उनीहरूलाई खुसी बनाउँछ । त्यसैले, त्यहाँ निःस्वार्थी हुने प्रश्न नै उठ्दैन । स्वार्थी बन्नुहोस् । पूर्णतया स्वार्थी बन्नुहोस् । तब कुनै समस्या हुँदैन । अहिले समस्या यो छ कि तपाईं आफ्नो स्वार्थीपनमा समेत कन्जुस्याईं गर्दै हुनुहुन्छ ।
यतिखेर तपाईंको स्वार्थ सीमित छ–‘म खुसी हुन चाहन्छु ।’ पूर्णतया स्वार्थी बन्नुहोस्–‘म चाहन्छु कि यो पूरै ब्रह्माण्ड खुसी होओस्, म चाहन्छु कि यस अस्तित्वका अणु–अणु खुसी होऊन् ।’ पूर्णरूपमा स्वार्थी बन्नुहोस् । त्यसपछि, कुनै समस्या हुँदैन । तपाईं आफ्नो स्वार्थीपनमा समेत एकदमै लोभी हुनुहुन्छ, यही ठूलो समस्या हो ।कति स्वार्थी बन्ने ? यो समय र परिस्थितिले निर्धारण गर्ने कुरा हो । यद्यपि तपाईंको स्वार्थले अरूलाई नराम्रो असर भने गर्नु हुँदैन । तपाईंको स्वार्थ फगत तपाईंका लागि मात्र हुनुपर्छ ।
स्वार्थ कसका लागि ?नितान्त आफ्ना लागि, परिवारका लागि, समाजका लागि, देशका लागि । त्यो कुरा मनिसको व्यक्तित्व र आचरणमा भर पर्छ । कुनै व्यक्तिले जति समाजको भलाइका लागि कुरा गरे पनिआचरण राम्रो छैन भने त्यो कुरा कसैले पत्याउँदैन ।यसको पनि सीमा हुन्छ । तपाईं कुनै सामाजिक वा सामूहिक हितको कुरामा स्वार्थी बन्न सक्नुहुन्न । परिस्थितिवश उत्पन्न हुने कतिपय कुरामा तपाईं पन्छिन सक्नुहुन्न । समाजमा कसैलाई दुःख परेको छ, समस्या परेको छ, तत्काल उद्धार गर्नुपर्यो । तपाईंले यतिबेला आफ्नो कामधन्दा थाती राखेर पनि सहयोग गर्न तत्पर हुनुपर्छ । अरुको आपत्–विपत्मा हामीले आफ्नो स्वार्थ त्याग्नुपर्छ । यदि त्यसो गरिएन भने मानवीय समाजको निर्माण हुनै सक्दैन । स्वार्थको लुछाचुँडीमा लागेर हामी आफू–आफू नष्ट हुनेछौं । स्वार्थ भन्नाले अरुले भन्दा आफूले धेरै, अरुभन्दा आफूअगाडि, अरुलाई भन्दा आफूलाई नाफा नै हो । कतिपय विषयमा मानिसलाई स्वार्थले प्रगतिको बाटोमा अगाडि लैजान्छ ।
असल साथी त्यही हो, जसले तपाईंलाई खुसी वा सुखमा मात्रै होइन दुःख अनि पीडा भएका बेलामा पनि साथ दिन्छ । सच्चा साथीले कहिल्यै देखावटी वा बनावटी व्यवहार गर्दैन । उसको चिन्ता र चासोमा कुनै बनावट हुँदैन । तर, कोही साथी स्वार्थी खालका हुन्छन् । भित्र अर्कै स्वार्थ हुन्छ, बाहिर देखाउन भने अरू नै कुरा देखाउँछन् ।
स्वार्थीपन कुनै व्यक्तिको प्रकृतिको एउटा तत्व हो। यो तत्व सबै मानिसभित्र हुन्छ। कतिपय मानिसअत्यन्तै स्वार्थी हुन्छन्, चरम स्वार्थी हुन्छन् र सबै कुराआफ्नै बारेमा मात्र सोच्छन् । व्यक्तिगत फाइदाबाहेक अरू केही खोज्दैनन् । तिनीहरूले अरूका बारेमा अलिकति पनि सोच्दैनन्। यो स्वार्थीपनले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्छ। सबै जना नै केही हदसम्म स्वार्थी हुन्छन्, तर त्यसमा भिन्नता हुन्छ । कतिपय मानिस होसियार भएर अरूको वास्ता, चिन्ता र आफूले गर्ने हरेक कुरामा अरूका बारेमा सोच्न सक्छन्। तर कतिपय त्यस्ता हुँदैनन्। यी मानिस अत्यन्तै स्वार्थी हुन्छन् । केही स्वार्थी आफ्ना दाजुभाइ–दिदीबहिनीलाई पाहुना राख्दा तुच्छता देखाउँछन्। यिनीहरूले सधै आफ्नै परिवारलाई सबैभन्दा मीठो र सबैभन्दा धेरै खानेकुरा दिन्छन् । तर दाजुभाइ–दिदीबहिनीलाई भने अलि नमीठो र अलि कम खानेकुरा मात्रै दिन्छन्। जब यिनीहरूका आफन्त आउँछन्,तिनीहरूका लागि सबैभन्दा आरामदायी बन्दोबस्त मिलाउँछन्। जब दाजुभाइ–दिदीबहिनी आउँछन्, तिनीहरूलाई भुइँमा सुत्न लगाउँछन्। जब दाजुभाइ–दिदीबहिनी बिरामी पर्छन् वा कुनै समस्यामा पर्छन्, तिनीहरूका बारेमा कुनै विचार गर्दैनन्, देखे पनि नदेखेझैं गर्छन् ।
यो स्वार्थी प्रकृतिले नै तिनीहरू अरूको वास्ता गर्न अनिच्छुक हुने प्रवृत्ति निर्धारित गरेको हुन्छ। अरूलाई वास्ता गर्दा घाटा बेहोर्नुपर्छ र त्यो ठूलो समस्या हो भन्ने तिनीहरूलाई लाग्छ। कतिपय मानिसले यसो भन्न सक्छन्–‘अरूको ख्याल कसरी गर्ने, त्यो स्वार्थी व्यक्तिलाई थाहा हुँदैन।’ त्यो गलत हो। अहिलेको समयमा यस्तो व्यक्ति पाउन मुस्किल छ । जता हेर्यो स्वार्थी, जसलाई हेर्यो स्वार्थी, जसलाई चिने पनि स्वार्थी, जसलाई आफ्नो भनी अपनाए पनिसंसारकै स्वार्थी ।जसका कारण आज धेरै व्यक्तिले आफ्नो जीवनलाई तहसनहस गरी मर्नु न बाँच्नुको चपेटामा परी दिनरात आँसुको बलेनी बगाएर जिउनु परेको छ । यो कस्तो विडम्बना?
किन मानिस स्वार्थी हुन्छन् ? अरूको जीवनसँग किन खेलबाड गर्छन् ? यदि अरुलाई सन्तुष्टि, खुसी र ममता दिन सक्दैनन् भने ती व्यक्ति मानवताहीन हुन्छन् । कहिल्यै सुध्रिन सक्दैनन्, जसले गर्दा अरुको जीवनमा ठूलो धक्का पुगिरहेको हुन्छ । जसले यस्तो नकारात्मक सोच लिएर बसेको हुन्छ, त्यो व्यक्ति एक न एक दिन ठूलो भुमरीमा पर्नेछ । जुन बेला अरुलाई दिएको चोट र पीडा आफूले भोग्नुपर्दा खुट्टा समाएर माफी माग्ने अवस्था आउन सक्छ । त्यसैले आफू पनि खुसी हुन सिकौं, अरुलाई पनि खुसी दिने प्रयत्न आजैबाट सुरु गरौं ।