Successfully Copied

नेपाल चिनाउँदै सेजल

सिकाइ भनेको कहिल्यै नटुंगिने प्रक्रिया हो, हरेक दिन नयाँ सिकौं र सिकाइमा फुल स्टप नलगाऔं । मूल कुरा आफू आएको धरातललाई कहिल्यै नबिर्सौं ।


उनले सानैदेखि दिदीहरूको मोबाइल चोर्थिन् । टेपले भित्तामा चिप्काएर टाइमर राखी विभिन्न पोजमा सेल्फी खिच्थिन् । किनकि उनलाई पोज दिएर किसिम–किसिमका तस्बिर खिच्न रहर लाग्थ्यो ।
उनै सेजल राजभण्डारी १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस इको इन्टरनेसनल नेपालको विजेता बनेकी छन् ।
उनी पोखराकी स्थायी बासिन्दा हुन् । शशि र शेखर राजभण्डारीका ३ छोरी मध्ये सेजल कान्छी हुन् । उनले पोखरा युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्ेरसनमा ब्याचलरसम्मको अध्ययन पूरा गरेकी छिन् । उनी आगामी मे महिनाको १३ तारिखका दिन इजिप्टमा आयोजना हुन गइरहेको इको इन्टरनेसनल–२०२६ मा प्रतिस्पर्धा गर्नेछिन् । फेस अफ क्लासिक डायमण्डबाट उनको ब्युटी प्याजेन्टको यात्रा सुरु भएको हो जसमा उनी टप फाइभमा परेकी थिइन् ।
‘सानैदेखि वक्तृत्वकला, डान्स र चित्रकलामा रुचि थियो । वक्तृत्वकलामा त पुरस्कार पनि जितेकी थिएँ,’ बालस्मृति ताजा गर्दै सेजल भन्छिन् ।
सुरुवाती दिनमा अभिभावकले भन्दा पनि दिदीहरूले आफूलाई निकै सपोर्ट गरेको उनी सम्झन्छिन् । मिस इको नामक ब्युटी प्याजेन्टलाई आफूले केही वर्षदेखि फलो गरिरहेको उनले बताइन् । त्यसो त उनलाई धेरैले मिस नेपालमा भाग लिन नसुझाएका होइनन्, तर उनले पहिले जग बलियो बनाउने आधार रोजिन् । गतवर्ष नै उनलाई मिस इकोमा भाग लिने इच्छा थियो तर ब्याचलर फाइनल इयर पढ्दै गरेकाले उनले पढाइलाई चटक्कै छाड्न सकिनन् । यस वर्ष भने मिस इकोमा फर्म खुल्नासाथ भरिहालिन् र सक्रिय भएर तयारीमा लागिन् ।
‘आफ्नो व्यक्तित्व अझै निखार्न र समुदायलाई प्रभाव पार्ने काम गर्नका लागि यो प्लेटफर्म रोजेकी हुँ । किनभने म मेरा हजुरबुवा सुरेशकुमार राजभण्डारीसँग अत्यन्तै प्रभावित छु । उहाँ ८५ वर्षको उमेरमा पनि समाजप्रति दृढ र सेवामा अडिग हुनुहुन्छ । उहाँ नै मेरो प्रेरणा हुनुहुन्छ,’ उनले भनिन् ।
यो स्टेजमा आउनुअघि उनले ‘मिसा भूमि’ (जसको नेवारी अर्थ हो, विमेन फर अर्थ) नामक अभियान चलाउँदै थिइन् । यसमार्फत उनले लघु तथा मझौला महिला उद्यमीका लागि पप–अप स्टल राखिदिने तयारीमा थिइन्, जुन नि:शुल्क थियो तर मिस इकोमा छानिएपछि उनको यो अभियान थाती रहेको छ । मिस इको इन्टरनेसनल नेपालको विजेता बनिसकेपछि उनले पोखरास्थित एकल, सिमान्तकृत र अपाङ्ग महिलामा मात्रै काम गर्ने ‘यस हेल्पिङ ह्यान्डस्’ संस्थाको डकुमेन्ट्री तयार पारिन् जुन अब इजिप्ट हुन गइरहेको मिस इको इन्टरनेसनलको ग्रान्ड फिनालेमा प्रस्तुत गर्ने तयारी छ ।
उसो त उनी सोही संस्थामा भोलेन्टियर पनि गरिरहेकी छिन् । सेजलका अनुसार यस्ता प्लेटफर्मले पृथ्वी, जल, जमिन र वातावरण संरक्षणमा ठूलो भूमिका खेल्नुका साथै यससम्बन्धी जनचेतना फैलाउन ठूलो सहयोग गर्छ । उनी भन्छिन्, ‘यस विषयमा वकालत गर्न र जनचेतना फैलाउन हाम्रो ठूलो भूमिका रहन्छ ।’

‘देश झल्किने पहिरनमै जोड छ’
मिस इको इन्टरनेसनल नेपालको ताज जितेपछि आफूमा के परिवर्तन महसुस गर्नुभएको छ ?
जिम्मेवारी बढेको महसुस गरेकी छु । आफूलाई ‘सेन्टर अफ अट्रयाक्सन’ का रूपमा पाएकी छु । मप्रति धेरैको आशा बढेको छ, अब यसले के फरक गर्छे ? भन्ने अरूको सोचलाई बुझेकी छु र सोहीअनुसार काम गरेर देखाउने कुरामा केन्द्रित छु ।
आगामी मेमा इजिप्टमा आयोजना हुन लागेको मिस इको इन्टरनेसनलको तयारी कस्तो चल्दैछ ?
सकारात्मक र तीव्र तयारीमा छु । क्याम्पियन चलिसक्यो । संचार र संवाद कला, वाक ट्ेरनिङ, सेल्फ मेकअपलगायतका सीप सिकिरहेकी छु । त्यहाँ गएर बेस्ट अफ द बेस्ट दिने ध्याउन्नमा छु ।
पहिरन कस्तो र कसको लगाउँदै हुनुहुन्छ ?
पहिरनको तयारी व्यापक छ । पहिलाको भन्दा पहिरनमा भिन्न प्रस्तुति दिने तयारी चल्दैछ । देश झल्किने पहिरनमै जोड छ । इको, राष्ट्रिय, टि–पार्टी, फ्लावर थिममा पोसाकहरू तयार पारिँदैछ । मैले उताको स्टेजमा प्रस्तुत गर्ने परिधान वान एन्ड वन्ली नै हुनेछ जसले सबैको ध्यान खिच्छ भन्नेमा आशावादी छु ।
इजिप्टको स्टेजमा तपाईंको तर्फबाट प्रस्तुत हुने विशेष कुरा के हुनेछ ?
देवीदेवता र संस्कृति झल्किने राष्ट्रिय पोसाक नै विशेष हुनेछन् । अर्को कुरा प्रस्तुति मूल कुरा हो । जे–जे गर्नुपर्नेछ प्रस्तुतिबाटै टप नच गरौं भन्ने छ ।
प्याजेन्टबाहेक अन्य केमा व्यस्त हुनुहुन्छ ?
म अकाउन्टेन्ट पनि हुँ, नियमित काम चलिरहेकै छ । समाजसेवामा रुचि भएकाले यसैमा भोलेन्टियरिङ पनि गरिरहेकी छु । त्यसबाहेक म कन्टेन्ट क्रियटरका रूपमा पनि सक्रिय छु ।
फुर्सदमा के गर्नुहुन्छ, रुचि र रहर के–कस्ता छन् ?
कन्टेन्ट क्रियसन गर्नु मेरो रुचि हो । यसैमार्फत सिर्जनात्मक काम गर्नु मेरा लागि फुर्सद मनाउने बहाना बन्छ । अबको एक वर्ष यही मुद्दामै वकालत गर्ने, चेतना फैलाउने, जागरण ल्याउने योजना छ ।
पाठकका लागि केही भन्न मन लागेको छ कि ?
दिगोपन अर्थात् सस्टेनबिलिटी ट्ेरन्ड मात्रै होइन समयसँगै आउने कुरा हो । यसमा हामी सबैजना मिलेर लाग्नुपर्छ । अर्को कुरा सिकाइ भनेको कहिल्यै नटुंगिने प्रक्रिया हो, हरेक दिन नयाँ सिकौं र सिकाइमा फुल स्टप नलगाऔं । मूल कुरा आफू आएको धरातललाई कहिल्यै नबिर्सौं ।


पहिरन
: सिल्क फेसन (कभरमा), आइएफसी कलेज, नियोन द लेबल र अमित बराल
स्टायलिस्ट : आस्था श्रेष्ठ
मेकअप : रिद्धि जैन, रिद्धि मेकअप स्टुडियो लाजिम्पाट
हेयर : सरिता बस्नेत, रिमझिम बाइ सरिता
लोकेसन : द स्ट्रान्ड लाउन्ज एन्ड बार बत्तिसपुतली
तस्बिरहरू : महेशमान प्रधान 

 Image