Successfully Copied

टेरियाको अर्को ‘इनिङ्’

टेरिया यहाँसम्म आइपुग्नुमा उनका बाजे, मम्मी अनिता र बुवा विजय फौजा मगरको ठूलो लगानी छ । सन् २०१४ मा डान्स इन्डिया डान्सको विजेता बनेपछि उनी सोही वर्ष अर्को डान्सिङ रियालिटी शो झलक दिखलाजामा पनि विजेता बन्न सफल भइन् ।


रेलको ३२ घण्टे लामो यात्रा । छेवैमा उनका आर्मी बाजे । ११ वर्षकी कलिली बालिका टेरिया फौजा मगरको त्यो पहिलो ट्ेरन यात्रा थियो, गोरखपुरबाट मुम्बईसम्मको ।
‘बुटवलबाट नजिकैको गाउँ रुद्रपुर रूपन्देहीमा म जन्मिएकी हुँ । मेरा बाजे भारतीय आर्मी हुनुहुन्थ्यो । उहाँले मलाई ६ कक्षामा पढ्दा मोटरसाइकलमा राखेर डान्स सिक्न लानुहुन्थ्यो । सानैदेखि नृत्यमा मेरो रुचि देखेर मम्मी र बाजेले भारतको रियालिटी शो डान्स इन्डिया डान्समा लैजाने सल्लाह गर्नुभएको रहेछ,’ भारतीय रियालिटी शोमा कसरी पुगियो भन्नेमा बेलिविस्तार लाउँदै टेरिया भन्छिन्, ‘उतिबेलै भारतीय टिभी च्यानलहरूमा अडिसन देखेर मैले नै जान्छु भनेपछि मात्रै बाजेले लग्ने निष्कर्ष निकाल्नुभएको थियो । मुम्बईमा बसेका अंकललाई बाजेले बुझ्न पठाउनुभयो । भिडियो पठाएर उताबाट स्वीकृति पाएपछि मात्रै हामी अडिसनका लागि गोरखपुर हुँदै मुम्बई प्रस्थान गरेका थियौं ।’
पहिलोपटक रेल चढेकाले उत्साहित भए पनि पछि अत्यन्तै लामो यात्रा भएकाले दिक्क लागेको उनले बताइन् । अलिकति खुसी, थोरै उत्सुकता र अलि धेरै डरका साथ उनी मुम्बई पुगिन् । उही अंकलको घरैमा बसेर उनले डान्स इन्डिया डान्सको तेस्रो सिजनको अडिसन दिइन् । टिभीमा आउनुअघि भएका दुईवटा अडिसनमा उनले उत्कृष्ट प्रस्तुति दिएर सबैको मन जितिन् । त्यसपछि टेलिभिजन शोका लागि दिल्ली पुगिन् । उनी भन्छिन्, ‘पहिलो पटक स्टेज चढ्दा ड्रिम कम्स ट्रयु फिल भयो । त्यहीँ हो मैले पहिलो पटक डान्सकी गुरुआमा गीता मालाई भेटेको । उहाँसँगै निर्णायकमा अहेमद खान र मुदस्सर सरहरू हुनुहुन्थ्यो । उहाँहरूको माया, प्रेम, सहयोग र अभिभावकको आशीर्वादले विजेता बन्न सफल भएँ ।’
टेरिया यहाँसम्म आइपुग्नुमा उनका बाजे, मम्मी अनिता र बुवा विजय फौजा मगरको ठूलो लगानी छ । सन् २०१४ मा डान्स इन्डिया डान्सको विजेता बनेपछि उनी सोही वर्ष अर्को डान्सिङ रियालिटी शो झलक दिखलाजामा पनि विजेता बन्न सफल भइन् । त्यसपछि त टेरिया पढाइ र काममा उतै व्यस्त हुन थालिन् ।
कक्षा ५ सम्म रुद्रपुरमै अध्ययन गरेकी उनले सेन्ट लरेन्स हाइस्कुल मुम्बईबाट ६ देखि १० कक्षासम्म, त्यहीँकै सिब्नम कलेजबाट प्लस टु र सिस कलेज मुम्बईबाटै ब्यालचलर अफ आर्ट एन्ड मल्टिमिडिया कम्युनिकेसनसम्मको अध्ययन पूरा गरेकी छिन् । टेरिया भन्छिन्, ‘झलक दिखलाजामा विजेता बनेपछि म मुम्बईमै काम र पढाइमा व्यस्त हुन थालें ।’ युनीकी परी वेबसिरिजमा १० इपिसोडसम्म काम गरिसकेपछि प्राइम टिभी र ओटीटी प्लेटफर्मबाट प्रसारण हुने स्वराज सिरिजमा काम गर्न पुगिन् । त्यपछि क्याम्पस बिट्स सिरिजमा ५ सिजनसम्म उनको संलग्नता रह्यो । डान्स युनिभर्स नेपाली शोमा पनि उनले होस्ट गर्ने मौका पाइन् । त्यही मेसोमा गायक हेमन्त रानाको छुटिसक्यो रेल गीतको म्युजिक भिडियोमा पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाइन् । ‘अहिले मेरो जीवनको अर्को इनिङ्स सुरु भएको छ, त्यो हो फिचर फिल्म । मेरो डेब्यु फिल्म मितज्यू प्रदर्शन भइरहेको छ ।’ 

टेरियासँग छोटोमीठो
मितज्यू कस्तो चलचित्र हो ?
सोसल ड्रामा हो । सामान्य कथा देखिन्छ तर सामान्य छैन । यसमा रोल्पाको जेलवाङदेखि दाङसम्मको कथा समेटिएको छ ।
यसमा तपाईंको भूमिका कस्तो छ ?
यसमा मेरो विशेष भूमिका छ । रोल्पाको सामान्य परिवारमा एउटा घर सम्हाल्ने साधारण महिला देखिए पनि त्यो पात्र अत्यन्तै बोल्ड छ ।
भारतमा जमिसकेको मान्छे किन नेपाली फिल्मबाट डेब्यु गर्नुभयो ?
उतै बसेर पढें । त्यहीँ काम गरें । पछि आफ्नो देशप्रतिको इमोसनल अट्याचमेन्ट बढ्दै गयो । अझ आत्मविश्वास बढाउन यहीँबाट डेब्यु गरें ।
भारतीय मुभी गर्ने हो ?
गर्ने हो तर धेरै नेपालीमै जोड दिन्छु ।
युवा तपाईंजस्तै सफल हुने मन्त्र सिकाइदिनुस् न ?
सबैको आ–आफ्नो यात्रा र समय हुन्छ र पनि सर्वप्रथम आफ्नै माइन्ड सेट बलियो राख्नुपर्छ । कुनै पनि कुरामा आफूलाई कम आँक्न हँुदैन ।
नेपाली महिलाको चौतर्फी विकासका लागि के आवश्यक छ जस्तो लाग्छ ?
पढाइले जीवनलाई हेर्ने दृष्टिकोण बदलेर जीवन सहज बनाइदिन्छ भने शिक्षित र सजग भइयो भने आर्थिक रूपमा आत्मनिर्भर हुन गाह्रो हँुदैन । त्यसका साथै आर्थिक व्यवस्थापन कला पनि चाहिन्छ ।
नेपालमा तपाईं जस्तै जेन–जी पुस्ता नेतृत्वमा आएका छन्, अब देशलाई कसरी ड्राइभ गर्नुपर्ला ?
यही नै गर्नुपर्छ भनेर सिकाउने हैसियतमा म पुगिसकेकी छैन । नवयुवाले राजनीतिमा चासो राख्नु सकारात्मक संकेत भएजस्तो लागेको छ । देश र जनतालाई राम्रो हुनुपर्‍यो । मुलुकको विकास र समृद्धि आवश्यक छ र यसमा म आशावादी पनि छु ।
तपाईंले आजसम्म भेटेका प्रशंसनीय पात्र ?
परिवारका हरेक सदस्य । त्यसमा पनि बाजेबाट विश्वास सिकें भने मम्मी मेरो लाइफको स्कुल हो ।
आगामी दिनमा कस्तो पात्र निर्वाह गर्ने मन छ ?
भर्खरै जहाज यात्रामा प्रहरीको उच्च पदस्थ महिला अफिसर भेटें । जहाज त्यतिविधि हल्लिँदा पनि उहाँ एकरत्ति डराउनुभएन । उहाँको स्टोरी सुनेर धेरै प्रभावित भएँ । मलाई त्यस्तै निडर, निर्भीक पात्र निर्वाह गर्ने इच्छा छ ।
आजसम्म मन छोएको पात्र ?
स्वस्तिमा दिदीको बुलबुलको पात्र र मिरुना दिदीको उनको स्वेटरको पात्रले मलाई मोहित र प्रभावित पारे ।

टेरियासँग र्‍यापिड फायर
मम्मी : दुनियाँ
डान्स : मुटु
अभिनय : सपना
हाइ हिल कि स्लिपर : स्लिपर सजिलो
नेपाली खाना कि कन्टिनेन्टल : नेपाली खाना
नृत्य कि अभिनय : एउटै मात्र छान्नै सक्दिन



पहिरन : पिजे कलेक्सन, कुमारीपाटी
हेयर तथा मेकअप : रजिना अधिकारी, रश्मिलाज फेसियल हाउस हात्तीगौंडा
लोकेसन : पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ
तस्बिरहरू : महेशमान प्रधान 

 Image