सुनीता डंगोल काठमाडौं महानगरपालिकाकी उपमेयर हुन् । यिनी बाल्यकालदेखि नै पढाइलगायत अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै सक्रिय थिइन् । सञ्चारकर्मीका साथै ब्युटी प्याजेन्ट ‘मिस नेवा–२०११’ मा विजय हासिल गरेपछि उनको सामाजिक जीवनको दायरा थप फराकिलो बनेको थियो । सुनीता नेवाः सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता र राजनीतिज्ञ हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपाबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी भएकी हुन् । सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन्, भने अन्तिम समयमा उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो । ३० वर्षीया डंगोल रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताका रूपमा समेत चिनिन्छिन् । संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । उनले नेपाल भाषा विज्ञका रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाककलामा पोख्त छिन् ।
केमा व्यस्त हुनुहुन्छ ?
महानगरको बजेटको कार्यान्वयन पक्ष बलियो बनाउने काममै व्यस्त छु । योजना गरेका बजेट तथा कार्यक्रम र अनुगमनमा तीव्र रूपमा काम भइरहेको छ ।
तपाईं उपमेयरमा निर्वाचित भइसकेपछि सम्पन्न कामबारे केही बताइदिनुस् न ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा महिला सञ्जाल सञ्चालित छ । महिला वडा सदस्यकै नेतृत्वमा लैंगिकताको आधारमा हुने विभेद र हिंसा छन् भने वडामा आउन अनुरोध गरिन्छ । सचेतना कार्यक्रम भइरहेका छन् । वडाबाटै समाधान नभए ओसिएमसीसँग मुद्दाहरू लिंक गराइदिन्छौं । समिति बनाउने काम सम्पन्न भइसकेको छ । स्थानीय विवादहरूको प्रकृति हेरेर मेलमिलापलाई प्राथमिकता दिएको छौं । हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरेका छौं । उपप्रमुखको संयोजकत्वमा न्यायिक समीति हुन्छ, यसमा काम गर्दै जाँदा वकिलको आवश्यकता प¥यो भनेकानुनी परामर्श र सहायता निःशुल्क रूपमा दिइरहेका छौं । मेलमिलाप पनि निःशुल्क गर्ने गरेका छौं । मेलमिलापकर्तालाई महानगरपालिकाले शुल्क उपलब्ध गराउँछ ।
महानगरपालिकाका नयाँ एजेन्डा के छन्?
काठमाडौंको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न ‘रिभाइभ दबु’ भन्ने कार्यक्रम सञ्चालन भइसकेको छ । यसअन्तर्गत डबलीमा विविध कार्यक्रम गरिन्छ । ‘कार फ्रि स्याटरडे’ हाँडीगाँउबाट सुरु गरिसकेका छौं । हरेक शनिबार सडकमा सवारीसाधन हुदैँनन्। सडकमा फुड फेस्टिबल गरी बच्चाहरू आएर खेल्न सक्छन् । स्वास्थ्य प्रवद्र्धन केन्द्र तयारी अन्तिम चरणमा पुगिसकेको छ । यसअन्तर्गत बीमा कार्यक्रम पनि अघि बढाउँछौं । शिक्षामा ‘बुक फ्रि फ्राइडे’ सञ्चालनमा छ । सीपमूलक शिक्षा यसको मूल नारा हो । बालबालिकाले विद्यालयमै सीप सिकिरहेका छन् ।
महिला भएकै कारण नेतृत्वमा रहेर काम गर्दा के–कस्ता चुनौती सामना गर्नुपरेको छ ?
अझै पनि महिलालाई लिडरको रुपमा अपनाउने कल्चर कम नै छ । योङ वुमन लिडरलाई एक्सेप्टेन्स गर्न गाह्रै छ तर यो कुरामा भन्दा पनि काममै केन्द्रित भएकाले कठिन महसुुस गरेकी छैन ।
महानगरले महिला लक्षित कार्यक्रम ल्याएको छ वा छैन, छ भने के–कस्ता छन्?
एक वडा एक नमुना कार्यक्रम कार्यान्वयनमा आउँदैछ । महिलालाई रोजगारी, उद्यमशीलता, आयआर्जन र सीपसँग जोडिएको छ ।
काठमाडौं महानगरपालिकाको विकास र समृद्धिका लागि अझै के–कस्ता कार्यक्रम ल्याउनुपर्ला ?
महसुस हुनेबित्तिकै कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइहाल्छौं । स्थानीय सरकारको जिम्मेवारी हेर्ने हो भने पनि थोरैमा सीमित छैन फराकिलो छ ।
आगामी योजना के छन्?
नीति कार्यक्रममै बसेर काम गर्ने हो । यसलाई जतिसक्दो व्यावहारिक बनाउने, अनुगमनमा ध्यान दिने र सोहीअनुसार महत्व दिएर अगाडि बढ्दै जाने हो ।
पाठकका लागि केही सन्देश छि कि ?
जो जुन क्षेत्रमा छौं त्यही क्षेत्रमार्फत राष्ट्रलाई सक्दो योगदान दिने हो ।सम्बन्धित क्षेत्रमा नेतृत्व विकास गर्दै जानुपर्छ जुन आजको आवश्यकता हो ।