Successfully Copied

‘ब्रेभ बेनिशा’

जब बेनिशाले खाने, बस्ने, जीवन जिउने, करियर बनाउने थुप्रै संघर्ष गर्नुपर्‍यो । त्यसपछि उनलाई वास्तविक जीवन अर्कै भएको अनुभव भयो ।


लक्ष्मी भण्डारी


फिचर फिल्म, म्युजिक भिडियोलगायत थुप्रै विज्ञापनमा अभिनय कलाको जादु छरिसकेकी नायिका बेनिशा हमाल पर्दामा मात्रै नभएर वास्तविक जीवनमा पनि बहादुर र आत्मविश्वासी छिन् । उनी बच्चैदेखि पढाइ, लेखाइ, डान्स, वक्तृत्वकला, वादविवाद, हाइजम्प–लङजम्प, क्विज कम्पिटिसनमा अब्बल थिइन् । चितवनबाट प्लस टु सकेपछि महत्वाकांक्षी बेनिशाको मनमा केही गर्छु भन्ने अठोट थियो र उनी हान्निइन् काठमाडौंतर्फ ।
चितवनका भेषबहादुर हमाल र शकुन्तला शाही ठकुरीले छोरीलाई राम्रो वातावरणमा हुर्काए, पढाए, लेखाए । उनका एक भाइ पनि छन् । ‘त्यो समयमा धेरैको घरमा पितृसत्तात्मक प्राक्टिस हावी हुन्छ भनेका बेला हाम्रोमा मातृसत्तात्मक व्यवहार हुन्थ्यो । मेरा जिजुबुवाले मेरा फुपूहरूलाई राम्रो स्कुलमा पढाउनुभयो, छोरीहरूलाई जेठी, माहिली, कान्छी महारानी भन्दै तिमी सम्बोधन गरिन्थ्यो,’ आफू हुर्किएको वातावरण र व्यवहारले पनि आफूलाई यत्तिको बलियो हुन सिकाएको बताउँदै बेनिशा भन्छिन्, ‘मलाई घरमा कहिल्यै तिमी छोरी हौ, त्यस्तै मात्रै हुनुपर्छ भनेर सिकाइएन । त्यसैले म विद्यालयकै प्रथम छात्रा थिएँ । एकपटक स्कुलको अभिभावक दिवसमा मैले ७ वटा विधामा पुरस्कार प्राप्त गरेकी थिएँ । लगातार मेरै मात्र नाम माइकमा उच्चारण भइरहँदा मेरी मामुको अनुहारमा गर्वको भाव झल्किएको थियो । यद्यपि मामुलाई पहिले नै थाहा थियो म त्यसका लागि डिजर्भिङ मान्छे हो भनेर ।’
राजधानी छिरेपछि कहाँ के गर्ने भन्ने निर्णयमा पुग्न नसकेको उनी बताउँछिन् । त्यसपछि उनी वसुन्धरास्थित मामाघरमा बसेर ब्याचलर पढ्न थालिन् । चितवनको कालिका एफ.एम. मा कार्यक्रम प्रस्तोताको काम गरेको १ वर्षे अनुभव उनीसँग थियो । त्यसैले उनी च्यानल नेपालमा भिजेको काम गर्न थालिन् । चलचित्रसम्बन्धी प्रोग्राम होस्टका रूपमा उनले आफूलाई निखार्दै लगिन् । त्यही सिलसिलामा एउटा म्युजिक भिडियोको प्रस्ताव आएपछि उनले त्यसलाई स्वीकार गरिन् । उनी भन्छिन्, ‘त्यसपछि त कामको अफरको कमी भएन । धमाधम काम पाउन थालियो । मिडिया इन्डस्ट्रीमा कामको समयसीमा नहुने, राति ढिला घर आउँदा पनि मेरा मामा–माइजू नखाइकन कुरेर बस्नुहुन्थ्यो । म आज यहाँ हुनुमा मेरा ममी–ड्याडी, परिवारलगायत मेरा मामा–माइजूको पनि ठूलो हात छ,’ मामा–माइजूको त्यो केयरिङ नेचरले आफूलाई निकै इमोसनल बनाएको उनी बताउँछिन् ।
त्यसपछि उनी ड्याडीसँग सल्लाह गरेर अपार्टमेन्टमा एक्लै बस्न थालिन् । उनी टिभी, म्युजिक भिडियोलगायतको सुटिङमा जाँदा थुप्रै महिला दिदीबहिनीसँग भेटघाट र कुराकानी हुन्थ्यो तब उनलाई लाग्यो आफूले त निकै प्रिभिलेज्ड लाइफ बिताएकी रहिछिन् । जब उनले खाने, बस्ने, जीवन जिउने, करियर बनाउने थुप्रै संघर्ष गर्नुपर्‍यो । त्यसपछि उनलाई वास्तविक जीवन अर्कै भएको अनुभव भयो ।
त्यो त्यस्तो समय थियो, नेपाली चलचित्र पनि मान्छेले हेर्छन् र ? नेपाली फिल्म पनि चल्छ र ? चलचित्र क्षेत्रको यस्तो संक्रमणकालीन समयमा उनलाई फिचर फिल्मको अफर आयो । उनले ‘स्वर’ मा उत्कृष्ट अभिनय गरिन्, फिल्म रिलिज भए पनि जताततैबाट उनको कामको प्रशंसा भयो साथसाथै गल्ती औंल्याउने साथीसंगी पनि भए, जसले आफूलाई अझै सुधार्ने मौका मिल्यो । उनले रेडियो, टिभीमा कार्यक्रम चलाइन्, म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गरिन्, चलचित्र खेलिन् यतिसम्म पनि बेनिशालाई मैले किन यी काम गरिरहेकी छु, केका लागि गरिरहेकी छु भन्ने लाग्थ्यो । जब उनी मीन भामको कालो पोथीको सुटिङका लागि मुगु पुगिन्, त्यहाँ यसरी काम भयो कि उनले खुब सिकिन् । यो पो रहेछ वास्तविक काम त भन्ने महसुस गरायो ।


‘त्यसपछि मलाई यो क्षेत्रको जिम्मेवारी, यसमार्फत समाज र मुलुकलाई दिन सकिने योगदान, यो क्षेत्रको महत्व बल्ल बुझें । अनि म दत्तचित्त भएर काममा घोत्लिएँ । शतप्रतिशत ध्यान दिएर काम गरें । अब आफूलाई यही क्षेत्रमा समर्पित गर्ने सोंच बनाएँ । अनि फर्किएर म वीरेन्द्र हमाल सर र सुनील पोखरेल सरसँग एक्टिङ क्लास ज्वाइन गरें,’ बेनिशाले थपिन् । कालो पोथी रिलिज भयो सर्वत्र चर्चा बटुल्यो । बेनिशाको अभिनयले वाहावाही पायो, त्यसपछि आजसम्म उनले पछाडि फर्केर हेर्न परेको छैन । जब बेनिशा कामप्रति दृढ र केन्द्रिकृत हुँदै गइन् । यसले आफूलाई धेरै कुरा सिकाएको बताउँछिन् । विनम्र हुन, भुइँका कुरा बुझ्न र महसुस गर्न, मान्छेसँग व्यवहार गर्न अनि काममा अझैं मेहनत गर्न आफूलाई यही क्षेत्रले सिकाएको उनको बुझाइ छ ।
हालसम्म बेनिशाले १३ वटा फिचर फिल्म, ३ वटा सर्टभुमी, डेढ दर्जन विज्ञापन र १ सय ८० भन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । साउन २३ गते रिलिज भएका सिटामोल र मोहर चलचित्रले चर्चा बटुल्दैछन्, दुवैमा उनको लिड रोल छ । जहाँबाट आएको हो त्यो ग्राउन्डलाई नबिर्सिने र जे काम गर्दैछ त्यसैमा शतप्रतिशत समय, श्रम र मेहनतका साथ दृढ हुने आफ्नो बानीले आफूलाई यो उचाइमा पुर्‍याउन सफल भएकोमा उनलाई विश्वास छ । भन्छिन्, ‘कुनै काम गर्नका लागि कहिल्यै ढिलो हुँदैन । भौतिकताभन्दा पनि सन्तुष्टि र खुसी नै सफलता हो भन्ने मैले बुझेकी छु । सन्तुष्ट हुने भन्दैमा एउटा काम सकियो त्यही अडिएर बस्ने होइन । एउटा काममा सफल भइसकेपछि तुरुन्तै अर्को गोल सेट गरिहाल्नुपर्छ त्यसको परिणाम हासिल गर्न कडा मेहनत, संघर्ष र समय खर्चिनैपर्छ । आफू जे गरिँदैछ त्यसमा केन्द्रित हुनुपर्छ ।’
उनका अनुसार यो स्टारको होइन कलाकारको जमाना हो, त्यसैले यो पुस्ता लक्की छ । आफ्नो काममा जो निपुण र दक्ष छ उसले काम नपाउने कुरै छैन । बिगुल र द ब्लुको काम भर्खरै सिध्याएर बसेकी यी नायिका अहिले २ वटा नयाँ स्क्रिप्ट पढिरहेकी छिन्, जुन उनको नेक्स्ट प्रोजेक्ट हो । सर्ट मुभीका लागि डाइरेक्सन गरिसकेकी बेनिशाले आफैं संस्थापक रहेको मौरी पिक्चर्ससमेत चलाइरहेकी छिन्, जुन उनी एक्लैको हो । मौरी पिक्चर्सले सर्ट मुभी, विज्ञापन प्रडक्सन गर्छ । त्यसो त भर्खरै सुटिङ सकिएको द ब्लुमा उनले एक्ज्युकेटिभ प्रोड्युसरको समेत भूमिका निर्वाह गरेकी छिन् । बेनिशा भन्छिन्, ‘यही क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ । आफूसँग भएको सीप, कला र क्षमतामार्फत केही योगदान गरौं भन्ने छ । त्यसो त पहिलाको तुलनामा महिलालाई यो क्षेत्रमा सम्मान र कदर बढेको छ । हुन त ‘टपिक अफ कन्भरसेसन’ जहाँ पनि हुन्छन्, महिलामैत्री फिल्म बन्यो भने ओहो ! महिलाका बारेमा बनेको फिल्म रहेछ भनिन्छ । तर त्यसैगरी पुरुषमैत्री फिल्मको कुनै कुरा हुँदैन । यस्ता कुरै हुनु हुँदैन भन्ने मलाई लाग्छ । हामीले स्ट्यान्ड लिन सक्यौं भने आगामी पुस्तालाई सहज हुन्छ हामीले त्यो सहज बाटो निर्माण गर्ने हिम्मत लिन सक्नुपर्छ ।’

पहिरन: लक्की सुनुवार, स्टाइलक्स बुटिक लाजिम्पाट
मेकअप तथा हेयर: पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाँबानेश्वर
लोकेसन : होटल याक एण्ड यती, दरबारमार्ग
तस्बिरहरू: महेशमान प्रधान

 Image