Successfully Copied

मिस नेपाल

सौन्दर्यसँगै बौद्धिकता, संवेदना र जिम्मेवारीलाई अघि सारेको यसपटकको मिस नेपाल उनीहरूकै शब्दमा ‘मोडल’ बन्नेभन्दा ‘रोल मोडल’ बन्ने यात्राजस्तो देखिन्छ



शिरमा ताज सजिएपछि सामान्यत: सपनाको कुरा हुन्छ–ठूला मञ्च, चम्किला पहिरन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको । तर मिस नेपाल २०२६ का तीन विजेताका सपनामा यसपटक देशको दु:ख मिसिएको छ । दीपमाला ढकालले मिस नेपाल वल्र्ड, कसिस सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्तले मिस नेपाल इन्टरनेसनलको ताज पहिरिन सफल भए । तर, ताज जितेर खुसियाली मनाउँदै गर्दा केही दिनमै नेपालले ठूलो प्राकृतिक विपत्ति भोग्नुपर्‍यो । उनीहरू अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व मात्र गर्ने छैनन्, विपत्तिमा परेका नेपालीको आवाज पनि बोकेर जानेछन् । सौन्दर्यसँगै बौद्धिकता, संवेदना र जिम्मेवारीलाई अघि सारेको यसपटकको मिस नेपाल उनीहरूकै शब्दमा ‘मोडल’ बन्नेभन्दा ‘रोल मोडल’ बन्ने यात्राजस्तो देखिन्छ ।


दीपमाला ढकाल (मिस नेपाल वल्र्ड २०२६)
‘विदेशमा हुर्के पनि कर्मथलो नेपाल’


तीन दशकअघि पाल्पाबाट हङकङ पुगेका बाबु सुरेन्द्र ढकालको कर्मथलोमै जन्मिइन्, दीपमाला ढकाल । त्यहीं हुर्किइन्, पढिन्, युनिभर्सिटी अफ हङकङबाट फाइनान्समा स्नातक गरिन् र अन्तर्राष्ट्रिय कम्पनीमा आकर्षक जागिर पनि पाइन् । जीवनको बाटो सहजै अघि बढिरहेको थियो । तर, नेपालसँगको सम्बन्धले उनलाई त्यहाँ धेरै बेर रोकिराखेन । आमा रोशनीको मिस नेपाल बन्ने अधूरो यात्राको प्रभाव होस् वा आफ्नै देशसँग जोडिने चाहना । अन्तर्राष्ट्रिय कम्पनीको जागिर छाडेर उनी नेपाल आइन् र मिस नेपाल २०२६ को मञ्चमा उभिइन् । अन्तत: मिस नेपाल वल्र्डको ताज उनको शिरमा सजियो ।
ताज जितेको खुसीकै बीच भोटेकोशी र त्रिशूलीमा उर्लिएको विनाशकारी बाढी दीपमालाको मिस वल्र्ड यात्राको अर्थ पनि बदलिएको छ । अब तान्जानियाको अन्तर्राष्ट्रिय मञ्चमा उनी नेपालको सुन्दरता र प्रतिभा लिएर मात्रै जाने छैनन्, बाढी प्रभावितको पीडा र पुन:स्थापनाको आवाज पनि लिएर जानेछिन् ।


नेपालमा निम्तिएको प्राकृतिक विपद्ले ठूलो धनजनको क्षति भएको छ, मिस नेपाल वल्र्डको यो टाइटलले यसका लागि के–कस्तो योगदान पुर्‍याउला ?
म मिस वल्र्डको प्रतिस्पर्धामा जाँदा कुनै उपलब्धिमूलक प्रोजेक्ट लिएर जाने हो । अब मेरो त्यो प्रोजेक्ट रसुवा केन्द्रित हुनेछ । भर्खरै म त्यहाँ पुगेर पनि आएँ, आफ्नै आँखाले त्यो हृदयविदारक दृश्य देखें । अब यसका लागि धेरै काम गर्नुछ । मिस नेपाल मोडल भन्दा पनि रोल मोडल बन्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ । घटना घटेको भोलिपल्टै हामीले बौद्धमा मैनबत्ती बालेर शोकसभा आयोजना गर्‍यौं, जसले एक किसिमको ऐक्यबद्धता र प्रतिबद्धता देखाइसकेको छ । मिस नेपालका नाताले समुदायलाई परिचालन गर्ने, सामाजिक सञ्जालमार्फत सचेतना सिर्जना गर्ने अनि पुनर्निर्माणमा काम गर्ने योजना छ ।


पुनर्निर्माण र पुनस्र्थापनाका लागि कुन बाटो उपयुक्त हुन्छ ?
बस्ती–बस्ती सोहोरिएको छ । बाँचेकाहरूको उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको छ । अबको काम भनेको आफू जन्मिएर खाइखेली हुर्किएको त्यही थलो नछोड्ने हो कि, अथवा अन्त कतै पुनस्र्थापना गर्ने हो कि त्यतातिर ध्यान जानुपर्छ जस्तो लाग्छ । यदि नयाँ ठाउँमा सार्ने हो भने त्यहाँ अस्पताल, स्कुललगायतका संरचना बनाउनुपर्ला । एउटा फाइदा के छ भने म एनआरएनए आइसीसी सदस्य पनि भएकीले त्यहाँबाट सहयोग जुटाउने आधार छ । हामीसँग संसारभर ठूलो टिम भएकाले ७ करोड त उठिसक्यो, अझैं गर्न सक्ने ठाउँहरू प्रशस्त छन् । देशबाहिर जन्मेकाले यस्तो विपद्को घडीमा उता बसेर टुलुटुलु हेर्नु र समाचार सुन्नुबाहेक केही हँुदैनथ्यो, धेरै गरियो भने उताबाट डोनेसन उठाएर पठाउने हुन्थ्यो । तर अहिले म प्रत्यक्ष रूपमा खट्न सक्ने ठाउँमा आइपुगेकी छु । अब यतै बसेर प्रत्यक्ष रूपमा काम गर्नेछु ।


मिस वल्र्डको तयारी कस्तो हुँदै छ ?
आगामी मे २०२७ मा तान्जानियामा हुन गइरहेको मिस वल्र्डका लागि तयारी तीव्र छ । कसरी हिँड्ने, कसरी बोल्ने, मेकअप कपाल कसरी बनाउने, कसरी आत्मविश्वासी हुनेलगायतका कुरा मुख्य हुने गर्थे तर अहिलेको यो दु:खद् अवस्थामा त्यसमा भन्दा पनि म कसरी सहयोग जुटाउन सकिन्छ भनेर सामुदायिक सेवामै बढी केन्द्रित छु । मसँग अरु मिस नेपाललाई भन्दा बढी नै समय छ, ८ महिना युनिक टाइम पाएकी छु । यो बीचमा धेरै काम गर्ने योजनामा छु ।


नेपाल अहिलेसम्म मिस वल्र्डको शीर्षस्थानसम्म पुग्न नसक्नुको पछाडि के कारण होला ?
टप ४० भनेकै ठूलो कुरा हो भन्छु म त । बाँकी ८० वटा देशलाई पछाडि पारेर टप ४० सम्म पुग्ने हो । मिस नेपालकै टाइटल जित्न पनि धेरै कुराको मिश्रण हुनुपर्छ भने मिस वल्र्डका लागि त देश र जनताको हरहिसाबले साथ–सहयोग आवश्यक पर्छ । सरकार र समुदायको साथ सहयोग र माया पाइयो भने नजितिने कुरै छैन । मैले संसारको टप कम्पनीमा काम गरें । त्यसबेला कहिल्यै यो सोचिन कि म सानो देश नेपालबाट आएकी हुँ । यो वर्ष मिस नेपाल जित्ने विश्वासका साथ तयारीमा लागेकी छु ।


नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?
अहिले सबैको दिमागमा बैचैनी र त्रास छ जस्तो लाग्छ । एउटा विपद्पछि अर्को विपद्को ग्याप कम छ । अब भएको कुरा भइसक्यो कसरी अगाडि बढ्ने भन्ने हाम्रै हात, हाम्रै सोच र हाम्रै दिमागमा छ । आफ्ना लागि त छँदैछ तर त्यसभन्दा माथि उठेर देश र जनाताका लागि पनि सोच्दै अगाडि बढ्नुपर्छ । विपद्ले निम्त्याएको यो विछोड र दु:खको घडीमा सबैजना धैर्य भई एकजुट अघि बढौं । देशको आर्थिक, सामाजिक, राजनीतिक विकासका लागि हातमा हात, साथमा साथ दिएर अघि बढ्न सबैलाई आग्रह गर्दछु । मेरो योजना भनेको अब नेपालमै बसेर रोजगारी सिर्जनामा काम गर्ने हो ।


नेपाली महिलाको विकास र नेतृत्वका लागि के आवश्यक छ ?
अरु जस्तो हुन नखोजेर आफू जस्तै हुन प्रयास गर्नुपर्छ । मूल कुरा त समाज परिवर्तनको आवश्यकता देख्छु । ३ वर्षमै यहाँ जीवन सकिन्छ भने महिलाका लागि सुरक्षित वातावरण खोइ ? छोरीलाई घरैबाट सुरक्षित वातावरण निर्माण, आत्मविश्वासी र आत्मनिर्भर बनाउन जरुरी छ । महिला सशक्तीकरणको आवाज उठिरहेका छ, काम पनि भइरहेको छ तर कहाँ के–के कुरा नमिलेजस्तो लाग्छ । सबैभन्दा पहिला त जरा गाडेको लैंगिक सोच हटाउनुपर्छ जस्तो लाग्छ, त्यसपछि शिक्षा, अवसर, सशक्तीकरणका अन्य आयाम बढाउँदै लैजाने छँदैछन् ।


तपाईंलाई के मनपर्दैन ?
एउटै रुटिनयुक्त दिनचर्या मन पर्दैन । नयाँ–नयाँ कुरा सिक्न र काम गर्न मनपर्छ । म अन्तर्राष्ट्रिय कम्पनीमा काम गरेर पनि मोडलिङ, कार्यक्रम उद्घोषण, म्याराथनमा भाग लिइराख्थें । म कराँतेकी ब्ल्याकवेल्ट पनि हुँ । त्यसबाहेक एनआरएनए आइसीसीमा आबद्धतालगायत नेपाल क्यान्सर अस्पतालको एम्बेसडरसम्ममा सक्रिय हुनु त्यही नयाँ सिक्ने सोच र बानीले प्रेरित गरेको परिणाम हो । अब मिस वल्र्ड २०२७ हुन मन छ ।




कसिस सुब्बा (मिस नेपाल कस्मो २०२६)
‘मिस नेपाल सिक्ने अवसर’
ताज जितेको खुसीबीच रसुवामा आएको विनाशकारी बाढीको खबरले कसिस सुब्बाको मन भारी बनायो । ‘आफैंमाथि ढुंगा बजारिएजस्तो भयो, त्यो रात सुत्नै सकिन,’ उनी सम्झिन्छिन् । त्यसको भोलिपल्टै उनी राहत जुटाउन, रक्तदान गर्न र विपत्तिमा परेकाहरूको साथमा उभिन थालिन् ।
धरानका द्रोण लावती र पार्वती कार्कीका छ छोरीमध्ये कान्छी हुन्–कसिस । उनी चार वर्षदेखि मोडलिङमा सक्रिय छन् । फेसन रनवेबाट मिस नेपालको मञ्च हुँदै मिस कस्मो २०२६ को ताजसम्म पुगेकी उनी अब त्यही ताजलाई सामाजिक जिम्मेवारीसँग जोड्न चाहन्छिन् । आगामी जनवरीमा भियतनाममा हुने मिस कस्मो इन्टरनेसनलको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विपत्तिलाई आफ्नो मुख्य परियोजना बनाएर जाने तयारीमा रहेकी कसिसका लागि यो यात्रा ताज जित्ने प्रतिस्पर्धा मात्र होइन । उनी विश्वमञ्चबाट सिकेर, अवसर र सम्बन्ध विस्तार गरी नेपाल फर्कन र त्यसलाई आफ्नै देशको हितमा प्रयोग गर्न चाहन्छिन् । उनको विश्वास छ, सौन्दर्य प्रतियोगिताको वास्तविक अर्थ ताजमा होइन, त्यसबाट प्राप्त आत्मविश्वास, ज्ञान र अवसरलाई समाज परिवर्तनमा प्रयोग गर्न सक्नुमा छ ।


भोटेकोशी बाढी प्रभावितका लागि तपाईंले आफ्नो तर्फबाट के काम गर्नुभयो र के गर्ने सोचमा हुनुहुन्छ ?
जब रसुवा घटनाबारे सुनें तब स्तब्ध भएँ, आफैंमाथि ढुङ्गा बजारिएजस्तो अनुभव भयो त्यो रात सुत्नै सकिनँ अनि धेरै कुराको आत्मबोध पनि भयो । भोलिदेखि सहयोग जुटाउन लागियो । ब्लड डोनेसन गर्नेदेखि लिएर प्याड र अन्य खाद्यान्नसहितका राहत जुटायौं । बौद्धस्तूपामा समुदायका मान्छेलाई भेला पारेर समवेदना प्रकट गर्‍यौं । सक्ने काम गर्दै आएकी छु । मिस कस्मो भइसकेपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा कनेक्सन बनिसकेको हुनाले त्यहाँबाट पनि सहयोग आइरहेको छ । अब मिस कस्मो इन्टरनेसनलको अन्तर्राष्ट्रिय प्लेटफर्ममा यसैसँग सम्बन्धित प्रोजेक्ट लिएर जानका लागि त्यसैमा काम गर्दैछु ।


मिस कस्मो केमा केन्द्रित प्याजेन्ट हो ?
तीन वर्षअघि सुरु भएको यो प्याजेन्टलाई न्यू एरा अफ प्याजेन्ट भनिन्छ । म नेपालबाट प्रतिनिधित्व गर्ने तेस्रो र हिडेनबाट प्रतिनिधित्व गर्ने दोस्रो प्रतिस्पर्धी हुँ । यसलाई स्माइल ट्ेरनसँग जोडिएको छ । संसारभर जति पनि ओठ काटिएका, नाक र ओठ जोडिएका बालबालिका छन् उनीहरूको अधिकार र स्वास्थ्यमा यो प्याजेन्टले ठूलो भूमिका खेलेको छ । त्यसबाहेक फेसन, महिलाको आत्मविश्वास र बौद्धिकता बढाउन पनि यसले काम गर्दै आएको छ ।
मिस कस्मो इन्टरनेसनलमा भाग लिएर फर्किएपछि के गर्ने विचार छ ?
अबको पहिलो मिसन त मिस कस्मो इन्टरनेसनलको ताज नेपाल भित्र्याउने हो । हाम्रो देश धेरै कुरामा पछाडि छ । हाम्रो देशलाई हरेक कुरामा अघि बढाउन विदेशी ज्ञान सिकेर आई यहाँ कार्यान्वयन गर्ने मन छ ।


मिस कस्मो इन्टरनेसनलको तयारी कस्तो हुँदै छ ?
यो शोकको घडीमा थोरबहुत प्रेसर फिल त हुने नै भयो । आगामी जनवरी १६ मा भियतनाममा आयोजना हुन गइरहेको मिस कस्मो इन्टरनेसनलको ग्रान्ड फिनालेमा म रसुवा बाढीलाई नै मूल प्रोजेक्ट बनाउनेछु । त्यसबाहेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएकाले ब्युटीमा पनि अलिकति ध्यान दिनैपर्छ । यी सबै कुरामा मेहनत गरिरहेकी छु ।


नेपालजस्तो देशमा केका लागि यस्ता सौन्दर्य प्रतियोगिता आवश्यक छन् ?
यो प्रश्न नै विरोधाभाष छ जस्तो लाग्यो । किन यस्ता प्रतियोगिता गर्नुपर्‍यो भन्ने जस्तो छनक पाएँ । अहिले हामीजस्ता कतिपय युवाले म को हुँ भन्ने कुरा बिर्सिरहेको अवस्था छ जस्तो लाग्छ । यहाँ आए पनि मैले म को हुँ र मैले के गर्नुपर्छ भन्ने ज्ञानसहितको आफ्नो फुल भिजन देखें । हरेक दिनको फरक–फरक विषयको तालिमले आफ्नो क्षमता पहिचान गर्न र म पनि गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गराउँदोरहेछ । मिस नेपालले प्लेटफर्म मात्रै दिने होइन सँगसँगै नयाँ अवसर पनि दिँदोरैछ । मिस नेपाल हुनुभन्दा पनि मिस नेपालमा भाग लिनु ठूलो कुरा रैछ । जति पनि मिस नेपालका प्रतिस्पर्धी छन् तिनले सिकेका कुरा पक्कै पनि समुदायमा पुर्‍याउँछन् जहाँबाट परिवर्तन सुरु हुन्छ । वल्र्ड कपमा खेलाडी पठाउँदा जसरी राज्यले लगानी गर्न, सहयोग गर्छ, प्रथामिकतामा राख्छ यो पनि त्यस्तै हो । हामी पनि विदेशमा नेपाली झण्डा बोकेरै जाने हो, जितेको खण्डमा नेपालकै विजय हुने हो ।


तपाईंलाई के गर्दा खुसी लाग्छ ?
आउटडोर एक्टिभिटी, ट्ेरकिङ, स्विमिङ, ट्राभलका साथै फेसनमा समावेश हुँदा मलाई खुसी लाग्छ ।


केही योजना छन् ?
मिस कस्मो इन्टरनेसनल बन्नु नै अहिलेको योजना हो जसका लागि म कडा मेहनत गरिरहेकी छु । त्यहाँबाट प्राप्त ज्ञान र अवसरलाई नेपालमै मज्जाले सदुपयोग गरेर आफ्नो मुलुकलाई योगदान गर्ने मन छ ।

आर्या निशान्त (मिस नेपाल इन्टरनेसनल)
‘अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको कुरा उठाउँछु’


सेन्टमेरिजबाट प्लस टु र केएमसीबाट फाइनान्स एन्ड इन्भेस्टमेन्टमा ब्याचलर गरेकी आर्या आर्ट–पेन्टिङ, स्केचिङ, डान्स, रिडिङ तथा आउटडोर स्पोर्टसमा रुचि राख्छिन् । जनकपुरका प्रीति र जय निशान्तकी दुई सन्तानमध्ये उनी एक्ली छोरी हुन् । उनी अहिले जापानमा हुने मिस इन्टरनेसनलको ग्रान्ड फिनालेको तयारीमा छिन् । फाइनान्स एन्ड इन्भेस्टमेन्टमा स्नातक गरेकी उनी पेन्टिङ, स्केचिङ, नृत्य र खेलकुदमा रुचि राख्छिन् । आईईसी डिजाइनर्स रनवेमा आफ्नो उपस्थिति जनाइसकेकी आर्याका लागि मिस नेपाल ‘चौतर्फी विकासको ढोका’ बनेको छ । यही मञ्चबाट उनले अब नेपालको एउटा गम्भीर प्रश्न संसारसामु राख्ने तयारी गरेकी छन्–जलवायु परिवर्तनको असर र त्यसको मूल्य नेपालजस्ता देशले किन चुकाउनुपरिरहेको छ ? रसुवाको पछिल्लो विपत्तिलाई एसडिजी परियोजनासँग जोडेर काम गरिरहेकी उनी जापानमा हुने प्रतिस्पर्धामा ‘क्लाइमेट जस्टिस’ को मुद्दा उठाउनेछिन् ।


मिस इन्टरनेसनलको अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालमा भर्खरै घटेको विपद्को घटनालाई कसरी प्रस्तुत गर्ने विचारमा हुनुहुन्छ ?
अहिले संसारको आँखा यही घटनातर्फ केन्द्रित छ । अगामी नोभेम्बर १५ मा जापानमा हुन गइरहेको मिस इन्टरनेसनलको ग्रान्ड फिनालेमा दुनियाँले प्रोड्युस गरेको कार्बन इमिसनले हामी पीडित हुनुपरेको सूचनालाई बलियो रूपमा उठाउनेछु । जुन घटना घट्यो त्यो दुई महिनामै समान्य हुँदैन, तबसम्म पनि यसतर्फ ध्यान रहिरन्छ । यो नेपालले मात्रै निम्त्याएको घटना होइन, संसारका विकसित देशहरूले उत्पादन गरेको कार्बन इमिसन जुन छ त्यसैका कारण यो डिजास्टर भएको हो, यसमा हामी मात्रै दोषी छैनौं भन्ने कुरा सबैलाई बुझाउन जरुरी छ । त्यसैले म त्यो मञ्चमा क्लाइमेट जस्टिसको कुरा पनि उठाउन चाहन्छु । मैले गर्नैपर्ने एसडिजी प्रोजेक्टअन्तर्गत रसुवाकै मुद्दामा काम गरिरहेकी छु ।


भविष्यमा यस्तैखाले विपद् दोहोरिन नदिन तपाईंको तर्फबाट कस्तो भूमिका रहन्छ, अरुलाई के गर्न सुझाउनुहुन्छ ?
मिस इन्टरनेसनलका नाताले गएको घटनाका बारे सचेतना जगाउने मुख्य काम हुनेछ भने राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आवाज बुलन्द पार्नु अर्को जिम्मेवारी छ । राहत जम्मा गरिरहेकै छौं, देश–विदेशबाट राहत तथा सहयोग जुटाउनमा अझ प्रयास हुने नै छ । जलवायु परिवर्तन, विश्वव्यापी ताप र चापका कारण यो घटना घटेकाले अब इलेक्ट्रिक भेहिकलमा जानुपर्छ भन्ने सूचना र चेतना फैलाउने काम गर्नुपर्छ । त्यसबाहेक भएका बोटबिरुवा नकाट्ने, नमास्ने र बढी भन्दा बढी वृक्षारोपण गर्नेतर्फ हाम्रो ध्यान जानुपर्छ । जंगल, पानीका मुहान, नदीनाला, कुलेसा जोगाउनमा पहल हुनुपर्छ । सरकारको नीति इको फ्रेन्डली हुनुपर्छ । नियम नमान्नेलाई कारबाही गर्ने नीति पनि अब सरकारले ल्याउनुपर्छ ।


नेपालको कुन त्यस्तो संस्कार–संस्कृति जसलाई तपाईं अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत सेयर गर्न चाहनुहुन्छ ?
मिस इन्टरनेसनल भनेकै मूलत: कल्चर सेयरिङ गर्ने प्लेटफर्म नै हो । मेरी आमाले सधैं भन्नुहुन्छ, झगडा परेको मान्छे वा शत्रु नै पनि आफ्नो घरमा आयो भने सत्कार र माया गर्नुपर्छ । तसर्थ म हाम्रो ‘अतिथि देवो भव’ भन्ने जुन संस्कार छ त्यो सेयर गरेर संसारलाई भन्न चाहन्छु नेपालीहरू यत्ति धेरै दयालु, मायालु र आफ्नोपनले भरिएका हुन्छन् ।


तपाईं आफूमा भएको कुन पक्षलाई मिस इन्टरनेसनलको स्टेजमा प्रस्तुत गर्दै हुनुहुन्छ ?
मेरो एडप्टेसन गर्न सक्ने बानी । जस्तोसुकै परिस्थितिमा पनि म आफूलाई उस्तै रूपमा ढाल्न सक्छु ।


नेपाली युवाले हाल बेहोरिरहेको अत्यन्तै दबाबमूलक मुद्दा के हो जस्तो लाग्छ ?
नेपालमा सही अवसर नपाएको मुद्दा नै अहिले युवाले भोगिरहेको मूल मुद्दा हो जस्तो लाग्छ । सरकारी सहयोग र युवामैत्री नीति छैन, बैंकहरूले कम व्याजमा ऋण दिँदैनन्, लगानी डुब्ला कि भन्ने डर छ । मुलुकमै अवसर सिर्जना गर्ने वातावरण बनाइदिनुपर्छ सरकारले ।


आधुनिक र प्रगतिशील समाज निर्माणका लागि यस्ता प्रतियोगिता कत्तिको प्रभावकारी हुनसक्छन् ?
एकदमै उपलब्धिमूलक हुन्छन् भन्ने मलाई लाग्छ । महिला विकास, नेतृत्व, सशक्तीकरण, सौन्दर्यलगायत चौतर्फी सीप र ज्ञान यसले भरिदिन्छि । त्यसका अलावा विभिन्न अवसरहरूको ढोका खोलिदिन्छ । सबल र सक्षम मान्छे बसेको समाज नै आधुनिक र प्रगतिशील हुने हो ।


मूलत: तराई मूलका महिला र युवतीको सशक्तीकरण र विकासका लागि के आवश्यक ठान्नुहुन्छ ?
शिक्षा, चेतना, पुरातनवादी सोच र व्यवहारमा परिवर्तन । त्यसपछि आर्थिक सशक्तीकरण र नेतृत्वमा अवसर ।


केही योजना छन् ?
मिस इन्टरनेसनल हुने मेरो पहिलो ध्येय छ । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय क्राउन दिलाउने इच्छा र आशासहित धेरै मेहनत गरिरहेकी छु । त्यसपछि भविष्यमा डिप्लोमेसीमा काम गरी कुनै उद्यम खडा गरेर अरूलाई रोजगार दिने इच्छा पनि छ ।

पहिरन : रमिला नेमकुल, कासा पाटनढोका तथा लाजिम्पाट
हेयर तथा मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाँबानेश्वर
लोकेसन : द बची हाउस गैरीधारा
तस्बिरहरू : महेशमान प्रधान 

 Image