Successfully Copied

आफन्त भेटाइने आशामा

भदौ १० गतेको भोटेकोशी बाढीले धेरै परिवारको आशालाई अनिश्चिततामा धकेलेको छ । बाढीमा कति मानिसले ज्यान गुमाए, कति घाइते भए र कति अझै सम्पर्कविहीन छन् भन्ने यकिन तथ्यांकसमेत सार्वजनिक हुन सकेको छैन ।


आरती पौडेल
त्रिवि शिक्षण अस्पतालको बाहिरी भित्ताभरि टाँसिएका सयौं तस्बिर छन् । हरेक तस्बिरसँग एउटा नाम छ, एउटा परिवार छ र कसैको सकुशल फर्किने आशा छ । भीडमा कोही एकपछि अर्को तस्बिर नियालिरहेका छन्, कोही अपरिचितलाई फोटो देखाउँदै सोधिरहेका छन्, ‘यो नाम के लेखेको छ ?’
भदौ १० गतेको भोटेकोशी बाढीले धेरै परिवारको यही आशालाई अनिश्चिततामा धकेलेको छ । बाढीमा कति मानिसले ज्यान गुमाए, कति घाइते भए र कति अझै सम्पर्कविहीन छन् भन्ने यकिन तथ्यांकसमेत सार्वजनिक हुन सकेको छैन । तर अस्पतालका भित्तामा टाँसिएका ती तस्बिरले विपद्पछिको एउटा अर्को पीडा देखाइरहेका छन् ।
दाङ तुल्सीपुर–१५ की अनिता चौधरी त्यही भीडमा भाइ अरुणको तस्बिर हातमा लिएर हिँडिरहेकी थिइन् । २२ वर्षीय अरुण तीन वर्षदेखि सब–इन्जिनियरका रूपमा लाङटाङ खोला हाइड्रोपावरमा काम गर्दै थिए । भदौ १० गते बाढी आएपछि उनी परिवारको सम्पर्कमा छैनन् । त्यसयता अनिता र उनका परिवारले नुवाकोटदेखि बेत्रावती र चितवनसम्म खोजिसके । अस्पताल–अस्पताल पुगे । तर अरुणको कुनै खबर पाएनन् ।
उनी बुवा चिन्तबहादुरसहित अस्पताल आएकी थिइन् । उनी अस्पतालको बाहिर भित्ताभरि टाँसिरहेका फोटोहरूको छेउमा केही मानिसलाई सोधिरहेकी थिइन्, ‘यता डीएनए परीक्षण गर्ने कता हो ?’ अनिता भाइको खोजीमा विभिन्न स्थानमा खोजिसकेपछि अन्तिम विकल्पका रूपमा ‘डीएनए’ परीक्षण गर्न अस्पताल आएको सुनाउँछिन् । ‘भाइ भेटाउने आशामा ११ गतेदेखि नुवाकोट, बेत्रावती, चितवन सबै ठाउँ पुगेर आइसक्यांै । तर केही खबर पाएनौं । काम गर्ने ठाउँसम्मै जाने सोचेका थियौं बाटो नभएकाले त्यहाँसम्म पुग्न सकेनौं । कतैबाट केही खबर पाएनांै,’ उनले भनिन्, ‘केही उपाय नलागेर डिएनए परीक्षणका लागि आएका थियौं । आफ्नो मान्छेको पहिचान भएजस्तो लागेपछि मात्र डिएनए परीक्षण हुने रहेछ हामीलाई त्यो कुरा थाहा थिएन । मिल्दैन भनेर भन्नुभयो ।’
भाइलाई उद्धार गरेर कसैले काठमाडौं ल्याएका छन् कि भन्ने आशा बोकेर काठमाडौं आए पनि केही खबर पाउन नसकेको उनी सुनाउँछिन् । ‘काठमाडौंका घाइते राखेका सबै अस्पताल पुग्यौं । कसैले उद्धार गरेर त्यहाँ ल्याए कि भन्ने मनमा ठूलो आशा हुँदो रहेछ । तर कुनै अस्पतालमा केही खबर पाएनांै,’ उनले भनिन् ।
तीन वर्षदेखि सोही क्षेत्रमा काम गरिरहेका अरुणले परिवार धानिरहेका थिए । अनिता भन्छिन्–‘हामी छ जना दिदीबहिनीको एउटा मात्र भाइ थियो । सबै कुरा राम्रै थियो । एक्कासि बाढीले तहसनहस पार्‍यो,’ उनले भनिन्, ‘भगवान्को कृपाले भाइलाई छिटै सकुशल भेट्न पाइयोस् ।’
अनिता जस्तै भोटेकोशी बाढीपछि सम्पर्कमा नभएका आफन्त, साथीभाइको खोजी गर्दै देश–विदेशका विभिन्न स्थानबाट आफन्त सकुशल पाउने आशा बोकेर धेरै मानिस आएका छन् । त्रि.वि. शिक्षण अस्पतालको बाहिर आफ्ना परिवारका सदस्यसँग पुन: मिलन हुने धेरै आशा र सपना बाकेर भित्तामा फोटो टाँसिरहेकाहरूको ठूलो जमात देखिन्छ ।
त्रि.वि. शिक्षण अस्पताल बाहिर भित्तामा टाँसिएका फोटाहरू नियाल्दै थिइन्–नोरसाङ मिन्दो । एकपछि अर्को फोटो हेरिरहेकी उनी एउटा फोटोमा भने, केहीबेर अडिन्छिन् । त्यसपछि मानिसको भीडमा एक व्यक्तिलाई हातले एउटा फोटोलाई ईशारा गर्दै ‘यो फोटोमा के नाम लेखेको छ हेर त बाबु ।’ भनेर सोधिरहेकी थिइन् उनी । ‘फोटोमा महेन्द्र घले नाम लेखेको छ आमा’ त्यही भीडबाट कसैले भनिरहेको थियो । ‘उनै मेरा ज्वाईं हुन्’ त्यति भन्दै रसुवा घर भएकी नोरसाङका आँखा भरिए । 

२३ वर्षका महेन्द्र घले गाडी चालकका रूपमा काम गर्थे । रसुवाको टिपुरेमा रहेका महेन्द्र गत बुधबार आएको बाढीपछि परिवारसँग सम्पर्कमा थिएनन् । महेन्द्रको फोटो कसरी अस्पतालको भित्तामा आइपुग्यो भन्ने नोरसङलाई थाहा थिएन । ‘हामी त कसैले ल्याएर हस्पिटलमा उपचार पो गर्दै छ कि भनेर घाइते भएको सबै कोठामा खोजेर आएको हो । धेरैको भीड यता पनि रहेछ के होला भनी हेर्न आएको मान्छेहरूको फोटो रहेछ,’ उनले भनिन्, ‘हराएको मान्छे खोज्न यसरी फोटो टाँसेको रहेछ । एउटा बाबुले भनेर थाहा पाएँ ।’
ज्वाईं हराएपछि नोरसाङलाई छोरीका साथै छोरीको गर्भमा रहेको बच्चाको चिन्ता लागेको छ । ‘छोरीको विवाह गरेको बल्ल एक वर्ष भयो । पेटमा सात महिनाको बच्चा छ । ज्वाईं अहिले कता हुनुहुन्छ थाहा छैन,’ उनी भावुक हुँदै सुनाउँछिन्, ‘छोरी गोल्जोङमा बस्थी । उसलाई बुझाउन नसकेपछि काठमाडौं लिएर आएकी थिएँ । छोरीलाई कोठामा राखेर म र मेरी बहिनी ज्वाईंको केही खबर पाउँछु कि भनेर अस्पताल आएकी हुँ ।’ महेन्द्रलाई सकुशल भेट्नु नै अहिले नोरसाङको सबैभन्दा ठूलो चाहना हो । ‘ज्वाईंलाई केही नहोस् राम्रोसँग भेट्न पाऊँ । त्यही नै सपना छ,’ उनले भनिन् ।
आफ्ना श्रीमान्, देवरको फोटो र ट्रकको फोटो भित्तामा टाँसिदिन आग्रह गर्दै थिइन् ३६ वर्षकी विमला वि.क. । उनका श्रीमान् र देवर लामो समयदेखि काठमाडौं चाइना कन्टेनर चलाउँथे । विमलाका श्रीमान्ले सोही बाटो कन्टेनरमा सामान ओसारपोसार गर्न थालेको १० वर्षभन्दा धेरै भएको सुनाउँछिन् । उनका श्रीमान् दिलबहादुर कामी र देवर रमेश कामी सोही दिन चाइना जाँदै गरेको फोनमार्फत् श्रीमानले बताएको सुनाउँछिन् । ‘बिहान साढे सात बजेसम्म श्रीमान् र मेरो फोनमा कुरा भएको थियो । अब चाइना जाने हो भन्नुभएको थियो । फोन लाग्दैन अहिले कुनै खबर नै पाएका छैनौं,’ उनले भनिन् ।’
विमलाले छिटो श्रीमान् सम्पर्कमा आऊन् भन्ने चाहना गरेकी छिन् । ‘जसोतसो परिवार सँगै बसेका थियांै । सुखदु:ख खाएका थियौं । अचानक सबैकुरा तहसनहस भएजस्तो भएको छ,’ उनी भावुक हुँदै सुनाउँछिन्, ‘उहाँले कमाएर घर चलेको थियो । बच्चाहरू सानै भएर म केही काम नगरी उनीहरूलाई हेरेर बस्थें । श्रीमान् कहाँ कस्तो अवस्थामा हुनुहुन्छ थाहा छैन । अब छोराछोरी कसरी पढाउने उनीहरूलाई कसरी पाल्ने सोच्नै सकेकी छैन ?’
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका साथीहरू खोज्दै फोटोहरू नियालिीरहेका थिए टीकाराज नेपाली । रामेछाप घर भएका उनी पेसाले चालक हुन् । आफूसँगै काम गरेका साथीहरू हराएपछि खोजी गर्दै अस्पताल आएको उनी सुनाउँछन् । ‘एउटै रुटमा गाडी चलाएका दाइहरू बाढीपछि हराउनुभएको छ । अस्पतालमा हुनुहुन्छ कि भनेर हेरेको तर कतै भेटिन । फोटोमात्र भित्तामा देखें,’ उनले भने, ‘केही दिनअघिसम्म सँगै थियौं । अहिले जति खोज्दा पनि भेटिएका छैनन् । मन भारी भएको छ ।’ ‘कस्तो सोच्दै नसोचेको भयो । अहिले पनि बाढी आयो, साथी, दाइहरू हराउनुभयो भन्ने कुरा सपनाजस्तो लागेको छ,’ उनी सुनाउँछन्, ‘अहिलेसम्म जता भए पनि भेट्न पाइयोस् भन्ने सोचेको छु ।’

 Image