(बनारसबाट फर्केर)
स्निग्ध, सौम्य, शान्त र सुन्दर लयमा (भागीरथी) गंगाजी बगिरहेकी छन् । संसारबाट हजारौं भक्तजन दिनहुँ विश्वनाथ बाबाको दर्शनका लागि (काशी) बनारस आउँछन् । काशी गंगाजीसँगको निकटताले मृत्युपछि पनि मोक्ष मिल्ने विश्वासकै कारण यहाँ धेरै भक्तजनको भीड लाग्छ ।
यमुना, सरस्वती र गंगाको त्रिकोणात्मक मिलनबाट निस्किएकी काशी गंगा किनारमा लामा दशक बिताएका नेपाली आमाहरूलाई अन्तरात्मादेखि लागेको छ, यहाँ बस्दा हामीलाई पुण्य प्राप्त हुन्छ, परलोकमा शान्ति मिल्छ अनि गंगाजीको काखैमा मर्न पाए मोक्ष मिल्छ । नेपाल सरकारद्वारा संरक्षित एवं सञ्चालित बनारसको वृद्धाश्रममा धेरै वर्ष बिताएका नेपाली आमाहरूको पनि यही विश्वास छ, ‘गंगाजीको काखमा आनन्द, सुख र शान्ति छ । यहीँ मर्न पाए मोक्ष प्राप्त हुन्छ, स्वर्ग पनि पुगिन्छ ।’
त्यही कुरा पुराणमा यसरी उल्लेख गरिएको छ–
गंगा गंगेति यो बू्रयात्प्राणै: कण्ठगतैरपि ।
मृतो विष्णुपुरं याति न पुनर्जायते भुवि ।
अर्थात् अन्तिम अवस्थामा जसले ‘गंगा–गंगा’ भनेर मृत्युवरण गर्छन् भने त्यस्ता मानिसहरू मरेपछि वैकुण्ठलोकमा गएर बस्न पाउँछन्् । उनीहरूलाई फेरि यो पृथिवीमा जन्मनु प्रदैन । त्यसैले मानिसहरू वृद्धावस्थामा काशीमा गई बस्ने चलन छ ।
इटहरीकी ८१ वर्षीया आरती शर्मा ४० वर्षदेखि बनारसमा छिन् । तर वृद्धाश्रम आएको भने २१ वर्ष पुगेको छ । बनारस पढ्न गएका छोराहरूको साथ लागेर उतै पुगेकी उनका छोरा विद्वान् भएर फर्किए तर आरतीलाई भने गंगाजीको मोहले तान्यो र उतै बसिन् । ‘एउटा छोरो इटहरीमा छ, अर्को विराटचोकमा । मलाई भने उता जान मन लागेन । कहिले उनीहरू आउँछन्, कहिले म जान्छु भेट्नलाई,’ सन्तान र परिवारको यादले अनुहार मलिन पार्दै उनी भन्छिन्, ‘भरिसक यहाँ बसेर मुक्ति हुन्छ कि भन्ने लाग्छ । हुन्छ कि हँुदैन थाहा छैन तर मेरो मनले यसै भन्छ । बा † मर्नेबेलामा घरै जान पो पर्छ कि ? भन्ने पनि कहिलेकाहीँ सोच्छु ।’
सधैं परिवार र सन्तानको मात्रै याद गरिराखेर यहाँ बसेको के काम लाग्यो र ? उनी तर्क गर्छिन् । नेपाल सरकारले अत्यन्तै जीर्ण भएको यो घर बनाइदिए हुन्थ्यो भन्ने आरतीलाई लाग्छ ‘नेताहरूले आफ्नै देशमा त केही गर्दैनन् भने यो अर्काको देश भारतमा के गर्थे ? हामीहरूलाई गंगाजी पनि छँदैछिन्, मन्दिर पनि छँदैछ, बस्नलाई यस्तै देको छ, यस्तैमा बसिएको छ, बाँचिएको छ । तर नेपाल सरकारले बस्ने ठाउँको मर्मत–सम्भारमा सहयोग गरिदिए हुन्थ्यो,’ उनको आशा छ ।
दिंग्ला–४ भोजपुरकी चित्रलेखा न्यौपाने १६ वर्षदेखि यही वृद्धाश्रममा बसिरहेकी छिन् । भन्छिन्, ‘मनै रैछ । मनले आनन्द माने आनन्द नत्र दु:खै दु:ख । सरकारले पनि हाम्रा लागि गरोस् कि आफ्ना लागि ? हामी त आज हो कि भोलि हो । भावना छ, गंगाजी हुनुहुन्छ, काशी छ त्यत्ति छ मेरो जीवनमा । काशी, काशी, काशी जप्दै बसिएको छ । यही जप्दै यहीँ मर्ने मन छ ।’
उनका छोरा, बुहारी, छोरी ज्वाईं, नातिनातिनाले आ–आफ्नो गरिखाएका छन् । उनलाई भने आफ्नै यही संसार प्यारो लाग्छ किनकि यो आफ्नै रोजाइको संसार हो । त्यसैले उनको अनुहार उज्यालो देखिन्छ ।
८० वर्षीया ठगमाया निरौला नेपाल छोडेर आसाम पुगिन् । जीवनका संघर्षमय दिन उतै कटाइन्, सन्तान हुर्काइन्, पढाइन् र लेखाइन् । हातखुट्टा लागेपछि उनीहरू आ–आफ्नो बाटो लागे । ठगमाया भने ३० वर्षदेखि यही वृद्धाश्रममा दिन काटिरहेकी छिन् । अहिले बेलाबखत छोरीहरू भेट्न आउँछन् ।
‘कसैले नहेरे देउताले हेर्छन् । गंगाजीको काखमा खान, बस्न र सुत्न पाएकै छ । शरीरमा विभिन्न किसिमका रोग भए पनि काशी विश्वनाथले बचाएर राखेका छन् । अब यतै मर्न पाए मोक्ष मिल्थ्यो भन्ने लाग्छ,’ उनले सुनाइन् ।
गोरखाकी ७८ वर्षीया सावित्री खनाल २१ वर्षदेखि यही वृद्धाश्रममा बसेकी छिन् । काठमाडौंमा देवरका तीन वटा र छोरीको एउटा घर भएको बताउने सावित्री आफूलाई यहीँ बस्दा मनमा शान्ति भएको बताउँछिन् ।
कहिलेकाहीँ छोरी भेट्न आउँछिन् । कहिले उनी छोरी र आफन्तहरू भेट्न काठमाडौं जान्छिन् । सावित्री भन्छिन्, ‘यहीँ काशी विश्वनाथको मन्दिर छ । आनन्दले गंगास्नान गर्न, खान, बस्न र सुत्न पाइन्छ, अरू के चाहियो ? एक्लै आएको हो र एक्लै जान हो ।’
उनको एउटै गुनासो छ–नेपाल सरकारले वृद्धवृद्धाको सेवातर्फ पनि अलिकति ध्यान दिए हुन्थ्यो । तर छेवैमा रहेकी ८० वर्षीया कुन्ती सुवेदीले आशंकासहित भनिन्, ‘नेपालमै भएका बूढाबूढीको त त्यो बिजोग छ, हामी अर्काको देशमा बसेकालाई नेपाल सरकारले के गर्ला ?’
कुन्ती उमेरले सात दशक कटे पनि फुर्तिली देखिन्छिन् । गोरो, सफा र चम्किलो अनुहार भएकी उनी अध्यात्मले आफूलाई यस्तो बनाएको बताउँछिन् । भन्छिन्, ‘भक्तिभाव र मानवसेवामा दिनु मात्रै छ लिनु छैन । दु:ख पर्दा पनि कुनै गुनासो छैन, मानिस भएर पृथिवीमा जन्मिएपछि दु:खमा पनि आत्तिनु हँदैन र सुखमा पनि मात्तिनु हुँदैन । यहाँ बसेदेखि मनमा शान्ति मिलेको छ । लोभ, लालच र मोह हराएको छ ।’
काशी नदी किनारमा नेपाल सरकारको जति पनि संरचना छ त्यसका प्रबन्धक रोहितकुमार ढकाल १४ वर्षदेखि यसैको संरक्षणमा दिलोज्यान दिएर लागिपरेका छन् । ‘हरेक परिस्थिति हेरिसकियो, देखिसकियो । धेरैले यहाँ आश्रय लिएका थिए, धेरैजना यहीँबाटै बिदा पनि भइसके । हामीहरूले नै मणिकर्णिका घाटमा उहाँहरूको दाहसंस्कार गर्यौं,’ उनी भन्छन्, ‘सबै राम्रै थियो, अहिले वृद्धाश्रम र भोजन गर्ने ठाउँ विश्वनाथ मन्दिरको करिडोर निर्माणका क्रममा भत्कियो । यो बस्न लायक छैन । अब यतिका वर्ष यहाँ बिताएका वृद्धाहरूलाई कहाँ लिएर जाने, कहाँ पठाउने ? ।’
अहिले यहाँ ११ जना नेपाली विद्यार्थी, यिनै आमा, पुजारी र कर्मचारीहरू कोही आँगनमा, कोही छिंडीमा, कोही बरन्डामा र कोही टनेलमा रात गुजारिरहेका छन् । बनारसको कडा गर्मी र पानीमा यसरी बस्दा धेरै सकस भएको ढकालले जानकारी दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं राजदूत आदिलाई ल्याएर यो नेपालको सम्पत्ति भएको जानकारी गराएको उनले बताए । ‘जो नेपालको पशुपतिनाथ पुग्न सक्दैनन्, यहीँ आएर पशुपतिनाथ दर्शन गर्न सक्ने पवित्र तीर्थस्थल हो भनेर कयौं पटक भन्दा पनि आपसी तालमेल नमिल्दा र कतिपय कुरामा समन्वय नहुँदा यहाँ केही हुन सकेको छैन,’ उनले भने ।
सरकारले भारतस्थित राजदूतावासमार्फत ७ करोड रुपैंयाँ निकासा गरी उतिबेला निर्माण गरिएको भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । सोही संरचना काशी विश्वनाथ मन्दिर निर्माणका क्रममा भत्किएको थियो ।
भागीरथी गंगाको नजिकै वृद्धाश्रममा भेटिएका यी आमाहरूको आँखामा छुट्टै प्रकारको तेज र मुहार चम्किलो देखिन्थ्यो । उनीहरू धार्मिकस्थलमा जीवनको उत्तराद्र्ध बिताउन पाएकामा निकै खुसी देखिन्थे । तर सबैको नेपालको नयाँ सरकारसँग एउटै गुनासो छ, हामी पनि नेपाली हौं, हामीले परदेशमा बसेर पनि नेपालको धार्मिक, सांस्कृतिक धरोहरलाई जोगाएर राखेका छौं, नेपालको नाम उज्ज्वल पारेका छौं । त्यसैले यो आश्रममा बस्ने नेपालीहरूको हतहित एवं संरक्षणका लागि नेपाल सरकारको ध्यान जानुपर्छ ।
तत्कालीन राजा सुरेन्द्र विक्रम शाह, राजेन्द्र विक्रम शाह, रणबहादुर शाह बसेको ऐतिहासिक दरबार अहिले जीर्ण अवस्थामा छ । गंगा किनार छेउमा नेपाली कलाशैलीयुक्त यो दरबार पशुपतिनाथ मन्दिर, वृद्धाश्रम, गौशाला हेर्दा मिनी नेपालको झल्को आउँछ ।
विगतमा ३० जना वृद्धा र एकजना वृद्ध रहेकामा अहिले संख्या घटेको छ, कारण राख्ने ठाउँको अभाव । नेपालबाट उनीहरूका लागि आउने सुविधा अहिले कटौती छ, अहिले ती आमाहरू वृद्धाश्रमको छिंडी र आँगनमा बस्न बाध्य छन् । प्रबन्धक ढकाल भन्छन्, ‘अबको सरकारले यो हाम्रो सम्पत्तिको संरक्षण गर्नुपर्छ, पुनर्निर्माण गर्नुपर्छ । यसलाई नेपाल–भारत धार्मिक, सांस्कृतिक द्विपक्षीय सम्बन्धको सेतुका रूपमा लिएर यतातर्फ विशेष ध्यान दिनुपर्छ ।’