Successfully Copied

तिशाले पहिरिन् मिस नेवा: नेपा: ११४६ को ताज

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पाटनकी तिशा शाक्य मिस नेवा: नेपा: ११४६ विजयी भइन् ।


कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पाटनकी तिशा शाक्य मिस नेवा: नेपा: ११४६ विजयी भइन् । उनले नगद पुरस्कार एक लाख रुपैयाँ सहित नेपाल टेलिकम मिस नेवा: नेपाल ११४६ को ताज पहिरिन सफल भएकी छिन् । नगद पुरस्कार १० हजार सहित गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी तिसाले मुख्य उपाधि विजेताका रुपमा नेपाल क्यान्सर रिलिफ सोसाइटीको सद्भावना दूत पनि नियुक्त भएकी छिन् ।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप भए । उनीहरुले क्रमश: नगद पुरस्कार ५० हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । हेमा मानन्धरको अगुवाईमा नेप्लीज फेसन होम र फाइट फर लाइफ नेपालको संयुक्त आयोजनामा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवा: नेपाल सुनिता डंगोलको प्रमूख आतिथ्यता तथा बागमती प्रदेशका सांसद यमुना देवी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप भए । करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भएका थिए । सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप चयन भए ।
नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमूख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक रहेका थिए ।


प्रतियोगिता फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन, मिस नेवा: प्रलिशा शाक्य र मिस नेवा: सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन तथा मिस नेवा: सकिना महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा राजु नापित नेपाल भाषा प्रशिक्षक तथा गंगा महर्जन स्वागत नृत्य प्रशिक्षकको भूमिकामा रहेका थिए ।
फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रो. डा. विमला शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थी डिजाइनरहरुले तयार पारेको सुन्दर एवं आकर्षक पहिरनहरुमा सहभागिहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस र प्रिस्टिन अवाले बेस्ट ड्रेस उपाधि विजेता छानिएका थिए । नगद १० हजार रुपियाासहित शिक्षा महर्जनले कञ्चनजंघा अगरबत्ती मिस कल्चर, नगद १० हजार रुपियाासहित निश्ला महर्जनले बेलाभिटा मिस पर्सनालिटी तथा नगद १० हजार रुपियाासहित कलशा अवालेले श्री केश बेस्ट हेयरको उपाधि प्राप्त गरेका थिए । बेस्ट स्किनमा दृष्टि महर्जन, तस्बिर मिस फोटोजेनिकमा सारिका महर्जन, मिस स्माइलमा अनुष्का नाकर्मी, मिस चार्मिङमा सोनिया महर्जन तथा मिस फ्रेन्डसिपमा रेजिना बज्राचार्य विजेता चयन भएका थिए । 

 Image