पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यलाई ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२६’ र ‘मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२६’ को उपाधि प्रदान गरिएको छ । उनीहरूले आगामी नोभेम्बर २० देखि २७ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने हेरिटेज पेजेन्ट्स २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित विशेष समारोहमा उनीहरुलाई उपाधिको ताज पहिर्याइएको हो । कर्णाली प्रदेशकी २१ वर्षीया पूर्णिमा शाही ठकुरीलाई ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ तथा ‘मिस हेरिटेज इन्टरनेसनल २०२५’ की फोर्थ रनर अप दिव्या पत्राले ताज पहिर्याएकी थिइन् । बीबीएस अध्ययनरत पूर्णिमाले यसअघि सन् २०२३ मा ग्रिन आट्र्स मिडिया प्रालिद्वारा आयोजित ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल’ मा सेकेन्ड रनरअपको उपाधि हासिल गरेकी थिइन् ।
त्यसैगरी, चितवनकी ३३ वर्षीया सुनिता आचार्यलाई ‘मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ तथा ‘मिसेस हेरिटेज इन्टरनेसनल २०२५’ की थर्ड रनर अप दुर्गा ढकालले ताज पहिर्याइन्। सामाजिक अभियन्ता तथा व्यावसायिक ब्युटिसियन सुनिता महिला सशक्तीकरण, सामाजिक सेवा र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रिय छिन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि दुवै विजेताले फेसन कोरियोग्राफर तथा हेरिटेज पेजेन्ट्स नेपालकी नेसनल डाइरेक्टर अनिला श्रेष्ठको निर्देशनमा प्रशिक्षण र तयारी गर्नेछन् । ग्रीन आट्र्स मिडिया प्रालिद्वारा नेपालमा आयोजना गरिएको यस प्रतियोगिताले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य राखेको छ ।
सन् २०१४ मा सिंगापुरस्थित इप्लानेट प्राइभेट लिमिटेडद्वारा आयोजना थालिएको हेरिटेज पेजेन्ट्स परम्परागत सौन्दर्य प्रतियोगिताभन्दा फरक पहिचान बोकेको अन्तर्राष्ट्रिय मञ्च हो । शान्ति, वातावरण, पर्यटन, संस्कृति र सम्पदा यसको मूल अवधारणा हो ।
तस्बिरहरु: महेशमान प्रधान