Successfully Copied

मासिक २० लाखको पाउँ बेच्ने देवका

१५ देखि २० जना कर्मचारी राखेकी देवकाले आफ्नो उत्पादन काठमाडौं उपत्यकादेखि चितवन, बुटवललगायत सहरमा पनि पठाइरहेकी छिन् ।


सीमा तामाङ 

विदेशमा लप्सीका उत्पादन पुर्‍याउने र चिनाउने उद्देश्यसहित देवका श्रेष्ठले उद्योग सुरु गरेको तीन दशकभन्दा बढी भयो । अझ पनि विदेशै पुर्‍याउने उनको उद्देश्य जस्ताको त्यस्तै छ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित पौवाकी श्रेष्ठको घरको छतमा कलात्मक किसिमले अमला र लप्सीका पाऊँ सुकाइएको हुन्छ । पानी पर्दाबाहेक उनी सधैं उस्तै दृश्य देखिन्छ । देवकाले लप्सी र अमलाका मात्रै पाउँ बनाउँछिन् । लप्सी क्यान्डी, छोइला, सुकुटी, अमला पाउँ, चिनी क्यान्डी, मिक्स, झोल पाउँ, हार्ट सेप क्यान्डीलगायत विभिन्न स्वादअनुसार बनाउने गरिएको उनले बताइन् । स्वादअनुसार गुलियो, पिरो तथा रङ हालिएको/नहालिएको समेत बनाउने गरेकी छिन् ।

पछिल्लो समय लप्सीको पाउडर समेत बनाउने गरेकी छन् । ‘लप्सी उसिनेर बोक्रा छुट्याउँछौं । पहिला त्यो खेर जान्थ्यो, अहिले त्यसको लप्सीको पाउडर बनाउन थाल्यौं,’ उनले भनिन्, ‘चटपटे, मुलाको अचारहरूमा लप्सीको धूलो हाल्न मिल्छ । यसले प्राकृतिक अमिलो स्वाद दिन्छ ।’
अहिले देवकाले लप्सी मगाउने, उसिन्नेलगायत काम मात्र गर्छिन् । बाँकी प्याकेजिङदेखि बजारीकरण र ब्रान्डिङका काम उनका छोराछोरीले हेर्न थालेका छन् । उनलाई श्रीमान्, छोराछोरी, देवरदेवरानी र उनका छोराछोरीले पनि सघाउँछन् । पछिल्लो समय चाडपर्वअनुसार कोसेली बक्स पनि तयार पारिने उनले बताइन् ।
कोसेली बक्स र इको फ्रेन्डली भन्दै सिसाको जारमा पनि पाउँ प्याकिङ गर्ने गरेको देवकाले जानकारी दिइन् । ‘मलाई त प्लास्टिकमा प्याकिङ गर्ने र बेच्ने तरिका मात्र थाहा थियो । अहिले भने छोराछोरीले चाडपर्वअनुसार छुट्टाछुट्टै बक्स तयार पार्छन्,’ देवकाले भनिन् । 
काभ्रेस्थित नालामा जन्मेकी श्रेष्ठले घरेलु तथा साना उद्योगका रूपमा ‘चम्पक पाउँ उद्योग’ सञ्चालनमा ल्याएको दुई दशक नाघिसक्यो । सञ्चालनमा ल्याएको एक दशकपछि मात्र उनले २०६८ सालमा उद्योग दर्ता गरेकी हुन् । माडा बनाएर सुरु भएको चम्पक उद्योगमा अहिले विभिन्न खाले पाउँ पाइन्छ । इन्स्टिच्युट अफ कल्चर अफेयर जापान र नेपालले संयुक्त रूपमा २०५७ सालमा ‘प्रगतिशील महिला समूह’ का सदस्यलाई पाउँ बनाउने तालिम दिएको थियो । त्यही तालिम लिएपछि समूहकै ३ जना महिला टोलीले २५ हजार रुपैयाँ ऋण लिएर पाउँ बनाउन सुरु गरे । जसोतसो पाउँ बनाउने–बेच्ने गरे पनि उनीहरूले बढी उत्पादन गर्नेतर्फ भने ध्यान दिन सकेनन् । ‘थोरै उत्पादन गरिने भएकाले बजारमा लैजानेबाहेक केही भएन, नयाँ ठाउँमा लैजानुपर्दा दर्ता नम्बर खोज्न थालियो,’ उनले भनिन्, ‘त्यसपछि साथीहरू दर्ता गर्नेतर्फ नगई छाड्ने कुरा गर्न थाले ।’ उत्पादन भइरहेको र बजारमा थोरै भए पनि राम्रै भइरहेकाले देवका भने त्यसलाई जोगाउनतर्फ लागिन् । त्यसैले उनले २०६९ सालमा ‘चम्पक पाउँ उद्योग’ दर्ता गरिन् ।


उद्योगबाट पाउँ उत्पादन गर्न थाले पनि धेरै अध्ययन–अनुसन्धान नगरिएकाले त्यो बेला लामो समय पाउँ टिकाइराख्नु अर्को समस्या रहेको उनले सुनाइन् । ‘पहिला पाउँ बनाउँदा २/३ महिना मात्र टिक्थ्यो । प्याकेटबाट पुतली निस्कनेसमेत हुन्थ्यो,’ उनले भनिन्, ‘बिग्रियो भन्दै फालिदिन्थ्यौं । घाटा पनि लाग्थ्यो ।’ टिकाउ र राम्रो बनाउनुपर्छ भनेर घरेलु कार्यालय सूर्यविनायकमा गएर पाउँ बनाउने तालिम दिलाइदिन आग्रह गरिन् । तालिम लिइन् पनि । तालिममा उनले प्याक गरिएको पाउँलाई दुई वर्षसम्म बिग्रिन नदिन ‘पोटासियम मेटा बाइसल्फेट’ (केएमएस) नामक रसायन प्रयोग गर्नुपर्ने थाहा पाइन् । केएमएस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृतिप्राप्त रसायन रहेको उनको भनाइ छ । अहिलेसम्म उनले उद्योगमा १५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेकी छन् ।
पहिला मासिक ५ लाख रुपैयाँ कारोबार हुनेमा अहिले २० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले जानकारी दिइन् । अहिले उनी उद्योगमा प्रयोग हुने मेसिनहरूको खोजीमा छिन् । ‘अब सधै हातैले काम गरेर सकिन्न रहेछ, हामी प्रशोधनदेखि प्याकेजिङमा प्रयोग गर्न सकिने मेसिनहरू खोजिरहेका छौं,’ उनले भनिन्, ‘अब मेसिनमा लगानी गर्छांै र विदेशमा पठाउनतरि ध्यान दिन्छौं ।’ पहिले भक्तपुरस्थित चाँगुनारायण र छालिङको लप्सी प्रयोग गरी पाउँ बनाउने उनले अहिले त्यसले नपुगेर नुवाकोट र सिन्धुपाल्चोकलगायत छिमेकी जिल्लाबाट पनि लप्सी ल्याउन थालेकी छन् । सिन्धुपाल्चोकबाट ल्याएको अमलाको पनि उनले पाउँ बनाउँछिन् । उद्योगमा सिजनअनुसार कामदार राखिन्छ । घरका बाहेक १५ देखि २० जना कर्मचारी रहेको उनले सुनाइन् ।
उनले काठमाडौं उपत्यकादेखि चितवन, बुटवललगायत सहरमा पनि उत्पादन पठाइरहेकी छिन् । साथै सामाजिक सञ्जालदेखि अनलाइन प्लेटफर्मबाट पनि पाउँ बेच्न थालेकी छिन् । यसका लागि देवकाले विभिन्न ठाउँबाट लप्सी किनेर जम्मा पार्छिन् । संकलित लप्सीलाई राम्ररी पानीले पखालेर पाकेको र नपाकेको गरी दुई भाग लगाइन्छ । पाकेको लप्सीलाई पानीमा उमालेर बोक्रा, सेतो भाग (गुदी) र गेडा छुट्याउनुपर्छ । कति बनाउने सोही मात्रामा लप्सीको सेतो भाग छुट्याइन्छ । त्यसपछि कुन पाउँ बनाउने हो, त्यसको स्वादअनुसार चिनी, हिङलगायत कच्चापदार्थ राखेर घोल्नुपर्छ । घोलिएको कच्चापदार्थलाई फलेकमा राखेर लेप लगाइन्छ । पउँअनुसार कुनैलाई लेप त कुनैलाई डल्लो बनाएर फलेकमा सुकाउनुपर्छ । लेप सुकेपछि आकार दिइन्छ भने डल्लोलाई यत्तिकै प्याकेजिङ गरेर बजार पठाइन्छ ।
लप्सीको बोक्रालाई मिक्स्चरमा राखेर मसिनो बनाइन्छ र सेतो भागलाई सफा ड्रममा संकलन गरिन्छ । मिक्स्चरमा पिसेको बोक्रालाई ठूलो फलेकमा पातलो गरी लेप लगाई सुकाउनुपर्छ । सुकेको टुक्रालाई फेरि मिक्स्चरमा पिसेर धूलो बनाइन्छ । लप्सीको बोक्राबाट बनेको उक्त धूलो अमिलो चुकका रूपमा खानेकुरामा प्रयोग गर्न सकिने देवका बताउँछिन् । 

 Image