‘दक्षिण एसियाली मानिसको विशेषता नै बचत गर्ने बानी हो’
सृष्टि शाह (नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एस क्यापिटल)

काठमाडौं चाबहिलस्थित गोपीकृष्ण हलनजिक बस्दै आएकी २५ वर्षीया शर्मिला बरालले कोरोना महामारीमै अचार उद्योग सुरु गरिन् । जागिर छुटेपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । ‘ट्वाक्क घरमै बनेको मीठो अचार’ स्लोगनले अझ छुट्टै पहिचान थप्यो । ‘बराल होम मेड ट्वाक्क अचार’ उनको उद्योगको नाम हो ।
उनले पाँच हजार रुपैंयाँ लगानीबाट अचार व्यवसाय सुरु गरेकी थिइन् । करिब आठ वर्षअगाडि अध्ययनका लागि काठमाडौ आएकी शर्मिलाले पढ्दै फाइनान्समा काम सुरु गरेकी थिइन् । लकडाउनमा एक भारतीय महिलाले अचार बनाएर भिडियो हालेको देखेपछि उनमा पनि यस्तै सोच आयो । सुरुमा उनले तीन प्रकारका अचार बनाउन थालिन् । मुला, लप्सी र मिक्स अचार बनाई नजिकका पसलमा बेच्न सुरु गरिन् ।
जहाँ–जहाँ अचार बेचें सबैले प्रशंसा गरेपछि थप हौसला मिलेको उनले सुनाइन् । यसपछि बिस्तारै अन्य प्रकारका अचार पनि थप्दै लगिन् । अहिले आफै गुन्द्रुक बनाएर अचार बनाउँछिन् । कहिलेकाहीँ बाहिरबाट गुन्द्रुक ल्याएर पनि बनाउने गरेको उनले सुनाइन् । सुरुमा व्यवसायका रूपमा नगरी आफ्नो इच्छा पूरा गर्न अचार बनाए पनि पछिल्लो समय दर्ता गरेर विदेशमा समेत अचार निर्यात गर्दै आएकी छन् ।
पछिल्लो समय उनी आँप, अकबरे खुर्सानी, मुला, भटमास, टिम्मुर, गुन्द्रुक, चिकेन, बफ, मिक्स तथा अन्य धेरै थरिका अचार बनाइरहेकी छन् । पहिले एउटा मात्र कोठामा सीमित व्यवसाय अहिले फ्लाटमा पुगिसक्यो । सुरुमा सात जनासम्म कामदार राखेकी थिइन् । हाल दुई जना मात्र छन् । अचारमा भन्दा मार्केटिङमा कर्मचारी राख्ने उनको इच्छा छ । तर, कर्मचारी नपाएको उनले सुनाइन् । शर्मिला आफै अचार बनाउँछिन्, अचारका लागि सामग्री भने काम गर्नेहरूले तयार पार्छन् । बजारबाट सामान ल्याउनेदेखि अचार पुर्याउनेसम्म सबै काम उनी आफै गर्छिन् । चुनावअघिसम्म उनलाई यो काममा बुवाले सघाउँथे । तर चुनावमा गाउँ फर्केका बेला उनका बुवाको मृत्यु भएपछि उनी एक्लै भएकी छन् ।
परिश्रम गरे आचारबाट पनि प्रशस्त आम्दानी हुने उनको अनभुव छ । अचार बेचेरै मासिक न्यूनतम चार लाख फाइदा हुने उनको भनाइछ । कहिलेकाहीँ उनलाई यो पेसा पनि छाड्न मन लाग्छ । ‘एकैपटक अर्डर आउँदा एक्लै अबेर रातसम्म काम गर्नुपर्छ,’ उनले भनिन्, ‘काम गर्ने मान्छे पाँच बजे फर्किहाल्छन्, त्यसपछि सबै काम आफैले गर्नुपर्छ । त्यस्तो हुँदा किन गरेंछु जस्तो लाग्छ ।’ उनले बनाएको अचार जापान, हङकङ र अस्ट्रेलियामा पनि बिक्री हुन्छ । ‘विदेशबाट एकैपटक डेढ लाखसम्मको अर्डर आउँछ, उक्त अर्डर दुईदेखि तीनदिनभित्र सकाउनुपर्छ,’ उनले भनिन्, ‘अन्य बेला झन्डै एक साता लाग्छ ।’ सबैभन्दा बढी वफ, टिम्मुर, अकबरे, गुन्द्रुकको अचारको माग छ ।
कोरोना काल ममता गुरुङले पनि ‘तमु अचार उद्योग’ सुरु गरिन् । यसअघि अन्य उद्योगको अचार ल्याएर पसल सञ्चालन गरिरहेकी थिइन् । दुई वर्षयता भने आफै अचार बनाएर बेच्दै आएकी छन् । अचारकै व्यवसाय फस्टाउँदै गएपछि छ महिनाअघि ललितपुर नखिपोटमा चलाइरहेको पसल बेचिन् । ‘अचार बनाउन आवश्यक सामग्री सबै आफैले ल्याउनुपर्छ, पसलमा बस्न समय नमिलेपछि बेचिदिएँ,’ उनले भनिन्, ‘अब जे भए पनि अचारकै व्यवसायलाई चलाउने भन्दै पसल बेचें । यहाँ पनि राम्रै हुँदै गएको छ ।’
घरमै बनाइरहेको अचारको ‘रेसिपी’ लाई व्यवसाय बनाउन थालेको उनले सुनाइन् । ‘आफ्नै सीप र व्यवसायका लागि आफै सामग्री जुटाउँछु, आफै बनाउँछु, खुर्सानी, टिम्मुर केलाउन र सहयोग गर्न कर्मचारी राखेकी छु,’ उनले भनिन्, ‘टिम्मुरको छोप र चिकेनको अचार मुख्य हो, अरु त सामान्य अरु जस्तै हो ।’ सुरुमा छ लाख लगानी गरेर घरमै सुरु गरेको उद्योगमा अकबरे खुर्सानी धरान र टिम्मुर कालिकोटदेखि ल्याउने गरेको उनले सुनाइन् । सातामा १६० किलो अचार बनाउने ममताले खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गरिरहेकी छन् । अचार उपत्यकासहित बाहिर जिल्लामा पनि जाने गरेको उनले बताइन् ।
‘अचारिका’ ब्रान्ड पनि भर्खरै सुरु भएको हो । पोखरास्थित फाइनान्समा कार्यरत कमलादेवी (ममी) एक वर्षदेखि अचारको व्यापार गर्न थालेको छोरी स्मृति बरालले बताइन् । ‘ममीले सधै घरमा अचार बनाउनुहुन्थ्यो, ममीकै सीपलाई बजारमा ल्याउने प्रयास गरेको हो, अहिले त सामाजिक सञ्जालबाट मात्र बेचिरहेका छौं,’ उनले भनिन् । पेसाले इन्जिनियर स्मृतिले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अचार बेचिरहेकी छन् । ‘घरकै लागि मात्र बनाइने अचार अहिले काठमाडौं र पोखराका ग्राहकले पनि प्रयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘महिनामा एक पटक आचार बनाउँछौं, त्यो सकिएपछि मात्र अर्को बनाउँछौं । लप्सी, कागती, निबुवा र मुलाको मात्र अचार बनाइरहेका छौं ।’ अब बिस्तारै बढाउने योजना रहेको उनले सुनाइन् । थोरै बनाउँदा पनि महिनामा २० देखि ३० हजारको कारोबार भइरहेको उनले बताइन् ।
बजारमा ब्रान्डअनुसारका फरक–फरक स्वादमा ‘रेडिमेड’ अचार पाइन्छ । घरायसी प्रयोजनका लागि बनाइने अचार अहिले बजारमा मात्र नभएर निर्यात पनि हुन थालेको भन्सार विभागको तथ्यांक छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा अचार मात्रै दुई करोड रुपैयाँको निर्यात भएको छ । लप्सी, मुला, गाजर, अकबरे खुर्सानी, बफ, चिकेन, माछालगायत टिम्मुरको छोपसमेत अचारका रूपमा बजारमा पाइन्छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा दुई करोड ६९ लाख ९४ हजार रुपैंयाँ बराबरको ४२ हजार दुई सय ९३ किलो अचार निर्यात भएको छ । गत वर्ष जापान मात्र पुगेको अचार यस वर्ष अस्ट्रेलिया, बेल्जियम, हङकङ पनि गएको विभागको तथ्यांकले देखाउँछ । गत वर्ष ३९ लाख २२ हजार रुपैयाँ बराबरको ११ हजार ४४ किलो मात्र अचार निर्यात भएको थियो । त्यसअघिअचार निर्यात भएको तथ्यांक विभागमा उल्लेख छैन । कोभिडले संसारभरकै व्यापार/व्यवसायमा असर परेको अवस्थामा नेपालबाट भने अचार निर्यात सुरु भएको हो ।