Successfully Copied

दिव्याले देखेको देश

अमेरिकामा पढाइ र राम्रो कमाइ गरिरहेकी दिव्या नेपाली फिल्मी दुनियाँमा सम्भावना बोकेकी अभिनेतृ हुन् । भन्छिन्, ‘कम्फर्ट जोनबाट निस्किएर राम्रो चरित्र निर्वाह गर्ने मन छ ।’



घर कीर्तिपुर भए पनि दिव्या रायमाझीको बाल्यकाल मामाघर सानेपामा बित्यो । उनले शुभतारा स्कुलबाट एसएलसी सिध्याइन् । ११ कक्षा पढ्दै गर्दा अमेरिका पुगिन् । उनले टाउसन युनिभर्सिटी मेरील्यान्डबाट थियटर स्टडिजमा ब्याचलर्स र आइटी प्रोजेक्ट म्यानेजमेन्टमा मास्टर्ससम्मको अध्ययन पूरा गरिन् ।
थियटरको पढाइ सकाएर नेपाल आउने उनको योजना थियो तर कोभिडले संसारै ठप्प पारेपछि उनी उतै आइटी पढ्न लागिन् । एलेगिस ग्रुपमा काम पनि गरिन्, आम्दानी राम्रै थियो । तर उनलाई मातृभूमिले तान्यो ।
प्रायः नेपाली युवा विदेश ताकिरहेका बेला उनी नेपाल फर्किइन् किन त ?


‘सबैको स्थिति–अवस्था, सोच एकै हुँदैन । त्यसो त मैले पनि रिस्क लिएरै आएकी हुँ । मलाई नेपालमा धेरै गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘कमाइको हिसाबले त्यहाँ राम्रो थियो तर मलाई कमै पैसामा पनि स्वदेशमै काम गर्दा आत्मसन्तुष्टि मिलेको छ । दर्शकको माया पाइरहेकै छु । फेरि यो कलाकारिता भन्ने कुरा ज्यादातर निश्चित समयसम्म फक्रिने कुरा हो जस्तो पनि लाग्यो । यो उमेर भनेको यसैमा केन्द्रित हुँदा बढी सफल हुने सम्भावना देखेर नै यसैमा परिश्रम गरिरहेकी छु ।’ 


आफू अमेरिका जानेबित्तिकै थोरै ‘कल्चरल सक्ड’ भएको उनको अनुभव छ । त्यहाँ हरेक कुरा प्रविधिमार्फत हुने, अनलाई प्लेफर्ममा दैनिक जीवन दौडिने, पारिवारिक भन्दा पनि व्यक्तिगत जीवन र करियरमा फोकस हुने कुरा उनलाई अनौठो लागेको थियो । ‘म अभिभावकलाई सहयोग गर्न चाहन्थें । पढाइसँगै म वेटर्सको काम गर्न थालें,’ अभिनेता दिलीप रायमाझी र मञ्जु रायमाझीकी एक्ली सन्तान दिव्या भन्छिन्, ‘त्यहाँबाट आएको सबै तलब ममीलाई नै दिन्थें । अहिले पनि म आफ्नै कमाइबाट नै घरखर्च चलाउँछु ।’


पछिल्लो समय फिल्म क्षेत्रमा प्रभाव जमाउन सफल नायिका हुन् उनी । छोटो समयमै आफ्नो कला, प्रतिभा, दक्षता र आत्मविश्वासयुक्त प्रस्तुतिले आफूलाई सिनेजगत्को खुड्किलो चढ्न सहज बनाएको उनको अनुभव छ । ‘यो क्षेत्रका हरेक व्यक्ति मेरा लागि सरल र सहयोगी भइदिनुभयो, मैले पनि मेहनत गरें,’ उनी भन्छिन्, ‘त्यसैले होला मलाई पछाडि फर्केर हेर्नुपरेन । एकपछि अर्को राम्रा काम पाउँदै गएँ ।’
फिल्म ‘एक्टर’ बाट डेब्यु गरेकी दिव्याले ‘पीताम्बर’, ‘रामनाम सत्य’, ‘माया–प्रीति’ मा काम गरिसकेकी छन् । हिमालयन फेसवास, डिसहोम, कजरिया टायल्स, पिस कन्सल्टेन्सी, हेल्दी होमलगायतका ब्रान्ड एम्बेसडरका रूपमा आफ्नो कला पस्किसकेकी छिन् । सजनराज वैद्यको बेहुली म्युजिक भिडियोमा समेत दमदार एक्टिङ गरिसकेकी दिव्या नेपालमा अवसरै–अवसर देख्छिन् । 

मुभी इन्डस्ट्रीको स्थान
ड्याडी भन्नुहुन्छ, पहिले प्रविधिको अभावमा निक्कै गाह्रो थियो । अहिले सुधार भइरहेको छ । प्रविधिले ल्याएको परिवर्तनले अहिले धेरै कुरा सहज बनाइदिएको छ । 


अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि
हामीसँग भएका अर्गानिक स्टोरीमा मेहनत गरेर मुभी बनाउनुपर्छ । हाम्रो आफ्नै मौलिकता र नसुनिएका कथा छन् । विगतमा बनेका कतिपय यस्ता मुभी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बाहिरी मुलुक नपुगेका होइनन् । यसका लागि मुभी मेकिङमा रिस्क पनि लिनसक्नुपर्छ ।


उच्च पदमा महिलाको अवस्था
सामाजिक सोच, व्यवहार र चालचलनमा परिवर्तन जरुरी छ । महिला आफैं पनि हरेक झिना–मसिना कुरालाई पन्छाएर वा बेवास्ता गरी अग्रसर हुनु जरुरी छ । हामीले नारीले आफूलाई कहिल्यै कम आँक्नु हुँदैन । महिलाले महिलालाई साथ, सहयोग र समर्थन गर्नु जरुरी छ । 


फिल्मले खेल्ने भूमिका 
चाहे व्यक्ति होस्, समाज वा राष्ट्र नै किन नहोस् चलचित्रले परिवर्तन ल्याउने, व्यवहार परिवर्तन गर्ने कुरामा ठूलो भूमिका खेल्न सक्छ । मनोरञ्जन दिने बाहेक यसले फराकिलो दायरामा काम गर्न सक्छ । 


हिरो–इन ट्रेन्डका लागि
नेपालमा महिलामुखी (वुमन सेन्ट्रिक) फिल्म त्यत्ति बन्दैनन् । विगतमा रेखा थापाका कतिपय फिल्म त्यस्ता थिए जसमा नारीपात्र हिरोका रूपमा देखिएका थिए । हिरो–इनलाई सजाउने फ्याक्टर मात्रै नभएर समग्र फिल्मकै हिरो (हिरो–इन) को रूपमा त्याउनुपर्छ । त्यसमा रिस्क नै लिन जरुरी छ । हरेक नयाँ ट्रेन्ड स्थापित गर्नका लागि रिस्क लिनैपर्छ । 


युवालाई सन्देश
सबैभन्दा महत्वपूर्ण कुरा आफू र आफ्नो सपनामाथि विश्वास हुनुपर्छ । परिवार वा समाजले करियरका लागि सहज बाटो रोज्ने निर्देशन गर्नसक्छ । तर मैले मेरो जीवनबाट सिकेको जादु भनेकै जोखिम मोल्न तयार रहनु हो । जोखिम मोलेर मात्र पनि हुँदैन सोहीअनुरूप कडा मेहनत र संघर्ष गर्न तत्पर हुनुपर्छ । हामीले आफूलाई कहिल्यै अरुसँग तुलना गर्नुहुँदैन । हामीले वर्तमानमा तुलना गर्ने भनेको हिजोको आफैंसँग हो ।
रुचि


म एकल सन्तान भएकाले होला, आफैसँग लगाव र तल्लीन हुन मनपर्छ । फुर्सद मिल्यो कि म मीठा परिकार अर्डर गरेर नेटफ्ल्क्सिमा मुभी हेर्दै घरमै समय बिताउन पाउँदा खुसी हुन्छु । म खानाको पारखी भएकाले आफैं पनि मीठा परिकार पकाउने र साथीभाइलाई खुवाउने गर्छु । मेरो ड्याडीबाट आएको गुणडान्स गर्दा सन्तुष्टि मिल्छ ।


पाठकका लागि
भर्खरै यो क्षेत्रमा प्रवेश गरेकी छु । मेरो अहिलेको प्राथमिकता भनेको राम्रा काम गरेर दर्शकको मन जित्ने हो । कम्फर्ट जोनबाट निस्किएर राम्रो चरित्र निर्वाह गर्ने मन छ । मलाई महिला केन्द्रित भूमिका र कथामा काम गर्ने रहर छ, ताकि दर्शकहरू हलबाट बाहिर निस्किँदा त्यो कथा र पात्र दिल र दिमागमा सदा रहिरहन सकोस् । अहिले म सिक्ने, अझ फक्रिँदै र झाँगिदै जाने, निरन्तर रूपमा हिजोभन्दा उत्कृष्ट काम गर्दै जाने हो । यसका लागि सबैको माया, विश्वास र हौसलाको अपेक्षा गर्दछु ।

 Image