स्तन क्यान्सरका कुल बिरामीमध्ये करिब १० प्रतिशत वंशाणुगत (आमाबुवाबाट सन्तानमा सर्ने असामान्य जीन/म्युटेसनका कारण) हुने गर्छ । वंशाणुगत स्तन क्यान्समध्ये करिब ५० प्रतिशत जीनका खराबीका कारण हुन्छन् । यी जोखिम भएका महिलाहरुमा ७० देखि ८० वर्षको उमेरसम्म स्तन क्यान्सर हुने सम्भावना झण्डै ८० प्रतिशतसम्म पुग्छ ।
वंशाणुगत स्तन क्यान्सरका लागि मुख्यतया: ब्राका १ र ब्राका २ मुख्य जीन जिम्मेवार हुन्छन् । जसले वंशाणुगत क्यान्सरका करिब ५० प्रतिशत घटना गराउँछन् । जीनमा हुने खराबीले स्तनमा मात्र नभइ डिम्बाशय, प्यांक्रियाज र पुरुषहरुमा प्रोस्टेट क्यान्सरको जोखिम पनि उल्लेख्य बढाउँछ ।
५० वर्षभन्दा कम उमेरमा स्तन क्यान्सर भएकाहरु, ट्रिपल नेगेटिभ क्यान्सर भएकाहरु, पुरुष स्तन क्यान्सरका बिरामी वा परिवारमा डिम्बाशय तथा अन्य क्यान्सरको इतिहास भएकाहरुले यो जाँच गराउनु उपयुक्त हुन्छ । उच्च जोखिम भएका व्यक्तिहरुले २५ वर्षको उमेरदेखि नै नियमित जाँच सुरु गर्नुपर्छ । यस्ता व्यक्तिमा सामान्य म्यामोग्रामभन्दा स्तन एमआरआइ निकै प्रभावकारी मानिन्छ ।
जोखिम न्यूनिकरण गर्ने शल्यक्रियामार्फत स्तन क्यान्सर हुने संभावनालाई करिब ९० प्रतिशतसम्म कम गर्न सकिन्छ । साथै रोकथामका औषधी पनि चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ । जोखिम थाहा पाएपछि नियमित कडा निगरानी, औषधी वा जोखि न्यूनिकरण गर्ने शल्यक्रिया रोज्न सकिन्छ ।
एमआरआइको क्यान्सर पत्ता लगाउने क्षमता म्यामोग्रामभन्दा धेरै बढी र भरपर्दो हुन्छ, विशेषगरी कम उमेरका महिलामा ।
१८ वर्षको उमेरदेखि स्तनसम्बन्धी सचेतना, २५ वर्षबाट चिकित्सकसँग जाँच र वार्षिक एमआरआइ तथा ३० वर्षपछि एमआरआइका साथै म्यामोग्राम नियमित गराउनुपर्छ ।