सजिना ढकाल
शिक्षक, श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय, गोरखा
आरती पौडेल
सजिनाका बुवाले छोरीलाई डाक्टर बनाउने सपना देखेका थिए । तर आर्थिक अवस्था बलियो थिएन । सामान्य निजामती कर्मचारीको आम्दानीमा जसोतसो परिवार चलेको थियो । सजिनालाई डाक्टर बनाउन खेत बेचेर पढाउने सोचेका थिए । आर्थिक अवस्था, बढ्दो घरको जिम्मेवारी देखेर उनलाई डाक्टर पढ्ने सोच बनाउन मनले मानेन । बुवाको सपना अस्वीकार गर्दै उनले आफ्नो परिस्थितिलाई बुझेर फरक बाटो रोजेकी थिइन् । आज उनी माध्यमिक तहको विज्ञान विषयकी शिक्षक भएर लामो समयदेखि अध्यापन क्षेत्रमा अगाडि बढिरहेकी छिन् ।
गोर्खाको बारपाक–४ जन्मिएकी सजिनाको परिवार सामान्य थियो । खान–लाउन अभाव नभए पनि सुविधा सम्पन्न जीवन पनि उनले बाल्यकालमा कहिल्यै महसुस गरिनन् । उनका बुवा हुलाकका सामान्य कर्मचारी थिए । सानैदेखि पढ्नमा रुचि राख्ने उनी सधै अब्बल थिइन् । गाउँमा हुर्किएकी उनी विद्यालय जानुअघि र पछि घाँस–दाउरा गर्ने, घरायसी काममा सघाउने गर्थिन् । सजिनाले एसएलसी पास गरिन् । तर उनी सोचेजस्तो खुसी हुन सकिनन् । ‘डिस्टिंसन आउँछ भन्ने सोचेकी थिएँ । ७६ प्रतिशत आउँदा दु:खी भएँ,’ उनले भनिन् ।
उनका बुवाको सपना सजिनालाई डाक्टर बनाउने थियो । उनी सानैदेखि आफ्ना सपना सुनाउँथे । ‘ऋणधन गरेर भए पनि तिमीलाई डाक्टर पढाउँछु’ भन्थे । तर सजिनाले घरको आर्थिक अवस्थालाई नजिकबाट नियालेकी थिइन् । ‘बुवाको सम्पत्ति बेच्दा हामीलाई गाह्रो हुन्छ । त्यसैले महंँगो विषय पढ्दिन भन्ने भयो,’ उनले भनिन् । सजिनाले गोर्खा क्याम्पसमा शिक्षा विज्ञान रोजिन् । प्रवेश परीक्षामा पाँच सय विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेकी थिइन् ।
उनको पढाइको यात्रा रोकिएन । पीसीएल, बीएड हुँदै बायोलोजी एजुकेसनमा स्नातकोत्तर गरिन् । पढाइमा पनि उनी क्याम्पस तथा संकायमा उत्कृष्ट हुँदै प्रथम हुन्थिन् । उनले धेरै पटक छात्रवृत्तिसमेत पाइन् । उनको सानै उमेरमा विवाह भयो । विवाहपछि उनले पढाइ रोकिनन् तर बीएड तेस्रो वर्षमा पुग्दा उनी आमा बनिन् । केही समय उनले पढाइ रोक्नुपर्यो । त्यसपछि बच्चा हुर्काएर फेरि अध्ययन गर्दै स्नातकोत्तर पूरा गरिन् ।
निकै मेहनतले अगाडि बढेकी सजिनाले शिक्षक सेवा आयोगको पहिलो प्रयासमा माध्यमिक तहमा नाम निकालिन् । उनी निकै खुुसी भइन् । तर अन्तर्वार्तामा असफल भइन् । ‘त्यो मेरो जीवनको सबैभन्दा पीडादायी क्षण थियो । जिन्दगीमा कहिल्यै असफल महसुस गरेकी थिइन । सोच्दै नसोचेको भयो । मलाई त्यतिबेला निकै गाह्रो भएको थियो,’ उनले भनिन् ।
एकपटकको असफलताले उनको यात्रा रोकिएन । उनले मेहनतका साथ पढ्न थालिन् । दोस्रो प्रयासमा माध्यमिक र निम्नमाध्यमिक दुवै तहमा नाम निकालिन् । २०७२ पुस १७ गते नियुक्ति बुझेर अन्तत: माध्यमिक तह अध्यापनका लागि पर्वतको विश्वज्योति माध्यमिक विद्यालय, सिल्मीमा पुगिन् । ‘सुरुमा पाएको असफलताले गाह्रो भए पनि दोस्रो पटकमा खुसी भएँ,’ उनले भनिन्, ‘बच्चा सानै थियो । उसलाई साथमै लिएर म कहिल्यै नगएको नयाँ ठाउँमा पुगें ।’ २०७४ जेठ २२ गते उनी सरुवा भएर पुन: गोर्खा आएकी थिइन् ।
२०८१ जेठ १८ देखि २०८२ असार १५ सम्म उनलाई गोर्खाको रत्नलक्ष्मी माध्यमिक विद्यालय, डुम्रीडाँडामा आफ्नो मूल विद्यालयको दरबन्दी कायम रहने गरी कामकाजका लागि प्रधानाध्यापकका रूपमा पठाइएको थियो । विज्ञान शिक्षकका रूपमा विषय पढाउन उनी अभ्यस्त थिइन् । तर प्रधानाध्यापक बन्नु उनका लागि बिल्कुलै फरक अनुभव थियो ।
नयाँ ठाउँ, नयाँ जिम्मेवारी र प्रशासनिक कामको अनुभव सीमित थियो । ‘शिक्षकका रूपमा आफूलाई विज्ञान कसरी पढाउने भन्ने थाहा थियो, तर विद्यालयको प्रशासन कसरी चलाउने भन्ने अनुभव थिएन,’ उनले भनिन्, ‘तर विस्तारै अनुभवले सिकायो । विद्यालयमा नियमित बैठक राख्ने, शिक्षकहरूसँग छलफल गर्ने, बिहान र बेलुकाका अतिरिक्त कक्षाको व्यवस्था गर्ने गरेकी थिइन् । त्यस समय शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको सुनाउँछिन् ।
एक वर्षमै त्यसको परिणाम राम्रो आयो । ‘म त्यहाँ जान भन्दा अघिल्लो वर्ष एसईईमा शून्य रहेको विद्यालयबाट हामी सबैको मेहनतले सात जना विद्यार्थी नियमिततर्फ उत्तीर्ण भएका थिए,’ उनले भनिन् ।
महिला प्रधानाध्यापक हुँदा आफूले कहिलेकाहीँ पुरुष शिक्षकबाट नेतृत्वलाई सहज रूपमा स्वीकार नगरिएको अनुभवसमेत उनले सुनाइन् । त्यसलाई उनले व्यक्तिगत द्वन्द्वभन्दा पनि समाजमा अझै बाँकी रहेको पुरुषप्रधान सोचको एउटा प्रतिबिम्बका रूपमा लिइन् र आफ्नो लक्ष्यप्रति अगाडि बढिन् । अहिले उनी कक्षा ८, ९ र १० का विद्यार्थीलाई विज्ञान तथा प्रविधि पढाउँछन् । ‘बाटोमा आफूले पढाएका विद्यार्थीसँग भेट भई ‘नमस्कार मिस’ भन्दा निकै आनन्द आउँदो रहेछ,’ उनले भनिन् ।
बुवाले देखेको सपनालाई पूरा गर्न नसके पनि सजिनाले आफ्नै बाटोबाट सफलता हासिल गरेकी छिन् । उनी अहिले बुवाले भनेका कुरा सम्झदा भावुक हुन्छिन् । ‘त्यति राम्रो पढ्ने भएर पनि तिमीलाई गरिबीका कारण पढाउन सकिन, माफ गर भनेर बुवा भावुक हुनुहुन्छ,’ उनले भनिन्, ‘म शिक्षक भएर निकै खुसी छु बुवा भनेर सम्झाउँछु ।’ आफ्नो सपना पूरा गर्न परिवारमा सबैको साथ र सहयोग मिलेको उनी सुनाउँछिन् ।
व्यक्ति जुन क्षेत्रमा पुगे पनि सफलता उसको इच्छाशक्तिमा भर पर्छ । ‘मानिसले जुन क्षेत्र रोज्छ, त्यसमा इमानदारीपूर्वक राम्रो गर्न सक्यो भने त्यही नै सफलता हो,’ उनले भनिन् ।