नेहा केसी
प्रिन्सिपल, स्वस्तिश्री गुरुकुल आईबी क्वान्टिन्यम विद्यालय
अन्य विद्यालयभन्दा स्वस्तिश्री गुरुकुल कसरी फरक छ ?
विद्यार्थीहरूको विविध प्रतिभा र क्षमतालाई सशक्तीकरणमार्फत विभिन्न गतिविधिमा अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै, प्रतिभाशाली बालबालिकाका लागि विशेष स्थान सिर्जना गरिन्छ । प्रशस्त एक्सपोजर, आत्मपहिचान, सीपमूलक सिकाइ, विभेदिकृत शिक्षण, अन्तर्राष्ट्रिय दृष्टिकोण, विद्यालय संस्कृति तथा एटीएल (अप्रोचेच टू लर्निङ) र एटीटी (अप्रोचेच टू टिचिङ) लाई प्राथमिकता दिइन्छ ।
तातो पौडी पोखरीजस्ता उत्कृष्ट ईसीए सुविधासहित, विद्यालय समाप्त गर्दा प्रत्येक विद्यार्थीको सफलता र सिकाइको बलियो पोर्टफोलियो वा अभिलेख तयार हुने, आजीवन सिकाइप्रति प्रतिबद्धता विकास हुने र निरन्तर विद्यालय प्रणालीमार्फत अन्तर्राष्ट्रिय गुणस्तर तथा मापदण्डअनुसार शिक्षा प्रदान गरिने लक्ष्य राखिएको छ । अन्तर्राष्ट्रिय सोच, स्थानीय, विश्वव्यापी सन्दर्भ र भविष्यका चुनौती एवं अवसरका लागि आवश्यक तयारीमा विशेष जोड दिइन्छ ।
यहाँको पाठ्यक्रम र सिकाइ पद्धतिका मुख्य विशेषता के हुन् ?
विद्यार्थी–केन्द्रित, अनुसन्धानमूलक सिकाइमा जोड दिइन्छ । सामुदायिक सेवा, परियोजना, अनुसन्धान, नेतृत्व विकास र अन्तर्राष्ट्रिय दृष्टिकोणमार्फत विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक सोच, सामाजिक उत्तरदायित्व र जीवनोपयोगी सीप विकास गरिन्छ ।
बालबालिकाको मानसिक स्वास्थ्यलाई विद्यालयले कसरी सम्बोधन गरिरहेको छ ?
सामाजिक–भावनात्मक सिकाइ एसईएल हाम्रो पाठ्यक्रमको अभिन्न हिस्सा हो । विद्यालयमा सहज परामर्श सेवा, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, विशेषज्ञसँग अन्तरक्रिया तथा सकारात्मक विद्यालय संस्कृतिमार्फत विद्यार्थीको भावनात्मक स्वास्थ्यलाई प्राथमिकता दिइन्छ ।
बालबालिकाको सिर्जनशीलता बढाउन के–कस्ता अभ्यास गरिन्छ ?
परियोजनामूलक सिकाइ, प्रदर्शनी, बहस, कला, खेलकुद, संगीत, उद्यमशीलता र नेतृत्व कार्यक्रममार्फत विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर दिइन्छ । नतिजाभन्दा प्रयास, जिज्ञासा र नयाँ सोचलाई बढी महत्व दिइन्छ ।
परीक्षा केन्द्रित शिक्षाले कस्तो प्रभाव पार्छ ?
यसले विद्यार्थीमा तनाव, असफलताको डर र अंकमुखी सोच बढाउँछ । घोकाइभन्दा ज्ञान, सिर्जनशीलता, समस्या समाधान र जीवनोपयोगी सीपमा आधारित शिक्षा आवश्यक छ ।
राम्रो अभिभावक बन्न सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
बालबालिकालाई समय दिनु, उनीहरूको भावना बुझ्नु, खुला संवाद गर्नु र आफ्ना सपना थोपर्नुभन्दा प्रेरणा र विश्वास दिनु नै सफल अभिभावकत्वको आधार हो ।
बढी शैक्षिक दबाब दिनु कत्तिको उचित छ ?
उचित होइन । शिक्षा तनावको होइन, सिकाइप्रतिको रुचि, आत्मविश्वास र जिज्ञासा बढाउने माध्यम हुनुपर्छ । राम्रो वातावरणमा सिकेका बालबालिका नै दीर्घकालीन रूपमा सफल हुन्छन् ।
डिजिटल युगमा अभिभावकले के–कस्ता सावधानी अपनाउनुपर्छ ?
स्क्रिन टाइम सीमित गर्ने, प्यारेन्टल कन्ट्रोल प्रयोग गर्ने, अनलाइन गतिविधिमा निगरानी राख्ने र खेलकुद, पुस्तक पठन तथा पारिवारिक संवादमा पनि समान प्राथमिकता दिनुपर्छ ।
नेपालको शिक्षा प्रणालीमा तत्काल सुधार गर्नुपर्ने तीन मुख्य कुरा के हुन् ?
पहिलो, अंकमुखी मूल्यांकनभन्दा सीपमा आधारित शिक्षा । दोस्रो, विद्यार्थी–केन्द्रित र प्रविधिमैत्री शिक्षण पद्धति । तेस्रो, शिक्षा र रोजगारीबीचको सम्बन्ध बलियो बनाउँदै उद्यमशीलता र जीवनोपयोगी सीपमा जोड दिनु आवश्यक छ ।