सुष्मा केसी,
शिक्षक, जनप्रिय माध्यमिक विद्यालय, सिमलचौर, पोखरा
सानैदेखि विद्यालयमा आफ्ना शिक्षकलाई देख्दा सुष्माले सपना देखेकी थिइन्, ‘ठूलो भएपछि म पनि शिक्षक बन्छु ।’ उनी केटाकेटीमा भाँडाकुटी खेल्दा पनि शिक्षक नै बन्थिन् ।
त्यही सपना, मेहनत र ठूलो संघर्षले आज उनी माध्यमिक तहमा शिक्षकका रूपमा उभिएकी छिन् ।
पोखराको बाटुलेचौरमा जन्मिएकी सुष्मा सानैदेखि पढाइमा अब्बल थिइन् । उनले पोखराको श्री विन्दवासिनी माविबाट एसएलसी दिएकी हुन् । पढाइसँगै उनलाई कथा, कवितामा पनि त्यसरी नै रुचि बढ्दै गयो । विन्दवासिनी स्कुलमा प्लस टु सुरु भएपछि उनले त्यही नै एसएलसीपछिको पढाइलाई निरन्तरता दिइन् ।
सुरुमा गणित विषय लिएर पढ्ने सोच बनाइन् तर कलेजमा थिएन । ‘अंग्रेजी र नेपाली अप्सनमा थियो । कथा मन पर्ने भएकाले नेपाली विषय लिएर पढ्ने निधो गरें,’ उनले भनिन् । उनलाई नेपाली विषयप्रति प्रेम र लगाव बढ्यो । उनी अझ धेरै मेहनतसाथ पढिन् । घर परिवार, साथीहरूको साथ र आफ्नै मेहनतले उनको आत्मविश्वास अझ बलियो भएको थियो ।
स्नातकपछि उनले स्नातकोत्तर अध्ययन सुरु गरिन् । त्यतिबेलै उनको विवाह भयो । दिउँसो एउटा बोर्डिङ स्कुलमा पढाउने, बेलुकामा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्थिन् ।
श्रीमान्ले ‘तिमीले त्यति धेरै मेहनत गर्छौ अब शिक्षक सेवा आयोगको तयारी गर्नुपर्छ’ भनेर हौसला दिए । बिहान विद्यालयमा पढाउने, बेलुका कलेज जाने र राति बच्चा सुतेपछि शिक्षक सेवा आयोगको तयारी गर्नेे दैनिकी बन्यो । ‘मेरो बच्चा सानो थियो । बच्चालाई सुताएपछि मात्रै म किताब हेर्थें । बिहान चार बजे उठेर फेरि पढ्न थाल्थें । कहिलेकाहीँ पढाइमा यति डुब्थें कि बच्चा रोएको पनि थाहा हुँदैनथ्यो,’ उनी सम्झिन्छिन् ।
उनको संघर्षमा श्रीमान् र बुवाआमाको साथ र हौसला रह्यो । ‘घरमा बच्चासँग पढ्न गाह्रो हुन्छ, माइतीमा बसेर तयारी गर,’ भनेर श्रीमान्ले भन्नुभएको थियो,’ उनले भनिन् । आमाबुवाले नातिलाई सम्हालेर छोरीलाई पढ्न समय मिलाइदिए । ‘श्रीमान्, बुवाआमा एवं सम्पूर्ण परिवारको हौसला र साथले नै म यहाँसम्म आएकी हुँ,’ उनले भनिन् ।
उनी बेलुका अबेरसम्म र बिहान चार बजे उठेर पढ्ने गर्थिन् । परीक्षाको तयारी गर्दा एउटै किताब मात्र पढिनन् । विभिन्न लेखकका पुस्तक किन्ने, नोट बनाउने गर्थिन् । ‘आमाले मैले दिनरात पढेको देखेर भन्नुहुन्थ्यो, तेरो मेहनत हेर्दा जसरी पनि पहिलो पटकमै नाम निस्किन्छ, म भने हाँस्थें । किनकि मलाई पढाउने अनुभवी शिक्षकहरूसमेत मेरो प्रतिस्पर्धामा हुनुहुन्थ्यो,’ उनले भनिन् । उनले शिक्षक सेवा आयोगमा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक गरी तीनै तहको परीक्षा दिएकी थिइन् । परीक्षा दिएपछि उनी कालिकास्थानस्थित जनज्योति माध्यमिक विद्यालयमा अस्थायी शिक्षकका रूपमा काम गरिरहेकी थिइन् । अन्तत: वर्षौंदेखि गरेको मेहनत र संघर्षले २०७१ सालमा शिक्षक सेवा आयोगको नतिजा प्रकाशित हँुदा उनको तीनै तहमा नाम निस्कियो ।
अन्तर्वार्तापछि प्रकाशित अन्तिम नतिजामा उनी दोस्रो स्थानमा नाम निकाल्न सफल भइन् । त्यससँगै बाल्यकालदेखि उनले देखेको सपना पूरा भयो । शिक्षक सेवा आयोगबाट नियुक्तिपत्र लिएपछि पोखराको सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा माध्यमिक तहमा नेपाली विषय पढाउँदै आइरहेकी छिन् ।
उनका लागि शिक्षण पेसाको सबैभन्दा ठूलो पुरस्कार भनेको विद्यार्थीको माया र अभिभावकको विश्वास हो । विद्यार्थीहरूले आफ्ना व्यक्तिगत समस्या, सपना र जीवनका हरेक कुरा उनीसँग निर्धक्क सुनाउँछन् । त्यसबेला उनी आफूलाई शिक्षकभन्दा पनि अभिभावकको भूमिकामा पाउँछिन् । ‘विद्यार्थीले मलाई विश्वास गरेर आफ्ना कुरा सुनाउँछन् । त्यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनी भन्छिन् ।
सुष्माको जीवनमा कक्षाकोठामा भावुक बनाउने क्षण पनि कम छैनन् । ‘कुनै विद्यार्थीले आर्थिक अभावका कारण किताब किन्न नसकेको सुनाउँदा, कसैले परिवारको पीडा सुनाउँदा वा अभिभावकविहीन बालबालिकाको अवस्था देख्दा उनको मन भारी हुन्छ,’ उनले भनिन् ।
यद्यपि खुसीका क्षण पनि उत्तिकै छन् । ‘आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा, विद्यार्थीले ४.० जीपीए ल्याउँदा र विद्यालयले उत्कृष्ट शिक्षकका रूपमा सम्मान गर्दा उनलाई आफ्नो संघर्ष सार्थक लागेको महसुस हुँदो रहेछ,’ उनले भनिन् । सुष्मा आज आफूले रोजेको पेसाप्रति जीवनकै सही निर्णय मान्छिन् र गर्व गर्छिन् ।
शिक्षक बन्न चाहने नयाँ पुस्तालाई उनी एउटा स्पष्ट सन्देश दिँदै आफूले निरन्तर मेहनत गरी आफ्नो सपनाप्रति विश्वास राख्न सुझाव दिन्छिन् । ‘शिक्षण पेसा केवल जागिर होइन, यो राष्ट्र निर्माणको जिम्मेवारी हो । डाक्टर, इन्जिनियर, पत्रकार, वैज्ञानिक सबैको यात्रा शिक्षकबाटै सुरु हुन्छ । त्यसैले यो पेसाप्रति गर्व गर्न सिक्नुपर्छ,’ उनले भनिन् । तर नेपालमा शिक्षण पेसामा अझै सुधार आवश्यक रहेको उनलाई महसुस हुन्छ । लामो समयसम्म एउटै तहमा काम गर्दा पनि बढुवा नहुने, योग्य शिक्षकलाई प्रोत्साहनको कमी हुने र पेसाप्रति युवाको आकर्षण घट्दै गएकोमा उनी चिन्तित छिन् । सरकार शिक्षकलाई समयानुकूल तालिम, स्पष्ट बढुवा प्रणाली र सम्मानजनक वातावरण दिनुपर्ने सुनाउँछिन् ।
शिक्षक पाठ्यपुस्तकका अक्षर सिकाउने व्यक्ति मात्र होइनन् । उनीहरू भविष्यका नागरिक निर्माण गर्ने शिल्पी हुन् । कक्षाकोठामा ज्ञान बाँड्ने हरेक शिक्षकको आफ्नै संघर्ष, सपना र प्रेरणाका कथा हुन्छन् । सुष्माको कथा पनि एक हो । भाँडाकुटी खेल्दादेखि सुष्माले देखेको बालसपना परिवारको साथ, अनगिन्ती संघर्षका रात र निरन्तर मेहनतले आज हजारौ विद्यार्थीको भविष्यसँग जोडिएको छ ।
आज पनि बिहान विद्यालय पुग्दा विद्यार्थीको मुस्कानले उनको दिन सुरु हुन्छ । अब उनको अर्को सपना छ, शिक्षण पेसालाई निरन्तरता दिँदै आफ्नो अध्ययनलाई पनि अगाडि बढाउने । ‘विद्यार्थीको सफलतामा म आफ्नै सफलता देख्छु । त्यसैले उनीहरूलाई निरन्तर पढाउने र आफूले पनि एमफिल गर्ने सोचमा छु,’ उनले भनिन् ।