Successfully Copied

निरन्तर मेहनतले सफल

‘शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, व्यक्तिको सोच, संस्कार र समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति हो ।’


दीपाकुमारी पौडेल, प्रधानाध्यापक, श्री भारती भवन माध्यमिक विद्यालय, पुरुञ्चौर, पोखरा

आरती पौडेल

साधारण परिवारमा जन्मिएकी दीपाकुमारी पौडेल सधै समाज परिवर्तनमा भूमिका खेली आफ्नो खुट्टामा उभिने सपना देख्थिन् । ठूलो मेहनत र आत्मविश्वासले दीपाले आफ्नो सपना पूरा गरेर देखाएकी छिन् । पोखरा महानगरपालिका–१९, पुरुञ्चौरस्थित श्री भारती भवन माध्यमिक विद्यालय स्थापनाको ७२ वर्षको इतिहासमा दीपा स्कुलको प्रथम महिला प्रधानाध्यापकका रूपमा चुनिएकी छिन् ।

२०४१ सालमा कास्की अन्नपूर्ण गाउँपालिका–५ मा दीपा सामान्य परिवारमा जन्मिएकी थिइन्् । उनको बाल्यकाल खेलकुद र साथीभाइसँगको रमाइलोभन्दा पनि घरको काम, खेतीपाती, घाँस–दाउरा र मेलापातमा बित्यो । बिहान सबेरै घाँस काटेर विद्यालय जाने र बेलुका घर फर्किएपछि पुन: घरायसी काममा जुट्ने उनको दैनिकी थियो । उनले घरको काम गरेर परिवारलाई सहयोग गर्थिन् र कक्षामा पनि सधैं मेहनती विद्यार्थीका रूपमा चिनिन्थिन् । उनको पढाइप्रतिको लगाव देखेर शिक्षकहरूले सधै हौसला दिन्थ्थे । त्यही कुराले उनको आत्मविश्वास अझ बढ्यो । अध्ययन गर्दै गरेको केही समयमा उनी वैवाहिक जीवनमा बाँधिइन् । २०६० सालमा विवाह भएपछि नयाँ जिम्मेवारी थपियो ।
त्यतिबेला विवाहपछि धेरै महिलाले पढाइ छोडेरै भए पनि घर हेरेर बस्नुपर्छ भन्थे । तर उनलाई पढाइ र सपना अधूरो छोड्न हुँदैन भन्ने लाग्थ्यो । त्यसैले कक्षा १२ उत्तीर्ण गरेपछि बी.एड. अध्ययन सुरु गरेकी थिइन् । अध्ययनकै क्रममा उनी एक सन्तानकी आमा बनिन् । मातृत्व, परिवार र पढाइलाई एकैसाथ अघि बढाउनु उनलाई सहज त थिएन । ‘सानो बच्चालाई हुर्काउँदै परीक्षा दिनु, घरको जिम्मेवारी पूरा गर्दै अध्ययन गर्नु र सपना पूरा गर्ने सोच राख्नु सबै कुरा मेरा लागि चुनौती थिए,’ उनले भनिन् ।
‘उनले सानो बच्चालाई हुर्काउँदै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट २०६६ सालमा एम.एड. उत्तीर्ण गरिन् ।
त्यसपछि जामुने डाँडा मा.वि स्याङ्जामा २०६६ देखि २०७१ सम्म नेपाली राहत दरबन्दी शिक्षकका रूपमा सेवा सुरु गरेकी थिइन् । ‘शिक्षण पेसामा लागेको सुरुवाती दिनदेखि नै विद्यार्थीको भविष्य निर्माणलाई मैले मेरो धर्म ठानेर पढाइलाई जागिर मात्र सोचिन । समाज परिवर्तनको माध्यमका रूपमा लिएकी थिएँ,’ उनले भनिन् ।
उनी शिक्षण पेसालाई नै सधैभरि अंगालेर अगाडि बढ्न चाहन्थिन् । स्कुल पढाएर कोठामा आएपछि खाली समयमा शिक्षण सेवा आयोगको तयारी गर्थिन् । उनी २०७१ सालमा शिक्षक सेवा आयोगमा खुला प्रतिस्पर्धाबाट महिलातर्फ प्रथम भइन् । त्यसलाई उनी जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्छिन् । ‘म स्थायी शिक्षकका रूपमा सिफारिस भएपछि निकै खुसी भएकी थिएँ,’ उनले भनिन् ।
त्यसपछि उनले स्याङ्जाको आँधीखोला गाउँपालिका–५ रंगठाँटीस्थित प्रद्युम्न पनेरु माविमा अध्यापन गराउन थालिन् । सोही वर्ष उनले सम्मानित हुने अवसर पाएकी थिइन् । २०७६ सालदेखि उनी भारती भवन माध्यमिक विद्यालयमा सरुवा भइन् । कक्षा ९ देखि १२ सम्म अध्यापनका क्रममा उनले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका कारण पटक–पटक सम्मान भएकी छिन् ।
उनको नेतृत्व क्षमता, सिकाइको गुणस्तरका कारण अहिले सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन् । ‘विद्यालयमा अनुशासन, गुणस्तरीय शिक्षा, शिक्षकको व्यावसायिक विकास, सूचना प्रविधिको प्रयोग, विद्यार्थीमैत्री वातावरण र समुदायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिँदै आएकी छु,’ उनले भनिन्, ‘शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, व्यक्तिको सोच, संस्कार र समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति हो ।’
विद्यालयलाई गण्डकी प्रदेशको नमूना विद्यालयका रूपमा विकास गर्ने आगामी योजना रहेको उनी सुनाउँछिन् । ‘प्रत्येक शिक्षकलाई स्पष्ट जिम्मेवारी दिने, अतिरिक्त क्रियाकलाप, नेतृत्व विकासमा जोड, अभिभावक तथा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन् ।
नेतृत्व क्षमताले निर्धारण गर्ने कुरा हो भन्ने विश्वास गर्ने दीपा आज स्कुलको मात्र नभएर सिंगो गाउँका लागि उदाहरणीय बनेकी छिन् । उनको जीवनले एउटा सशक्त सन्देश दिएको छ । महिलाको सपना विवाह वा मातृत्वसँग समाप्त हुँदैन । दृढ संकल्प, निरन्तर मेहनत र आत्मविश्वास भए जुनसुकै कठिन परिस्थितिलाई पनि जित्न सकिन्छ । 

 Image