Successfully Copied

करिनालाई कलाकारिताकै लोभ

साढे दुई वर्षको उमेरमा म्युजिक भिडियोबाट प्रारम्भ भएको करिना भट्टराईको यात्रा विज्ञापन, ‘किड क्विन नेपाल’ को उपाधि, टेलिभिजन प्रस्तोता हुँदै चिकित्सकसम्म आइपुगेको छ ।


साढे दुई वर्षको उमेरमै क्यामेरासामु उभिएर कलाकारिताको यात्रा प्रारम्भ गरेकी डा. करिना भट्टराईले चिकित्सा क्षेत्रमा आफ्नो पहिचान बनाइसकेकी छन् । बाल कलाकार, मोडल, बाल कार्यक्रमकी प्रस्तोता हुँदै उनी एमबीबीएस अध्ययन पूरा गरेर चिकित्सक बनेकी हुन् ।
करिनाको कलाकारिता यात्रा सानै उमेरमा सुरु भयो । साढे दुई वर्षको उमेरमा उनले ‘खुसी त महँगो भो, सस्तो पीडा रोजें मैले’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । उक्त गीत गायक महेश भण्डारीको थियो ।
रोचक संयोग के छ भने, करिनाले अभिनय गरेको उक्त म्युजिक भिडियोको निर्देशन उनका बुवा पत्रकार कृष्ण भट्टराई र ‘परान’ फिल्मका निर्देशक दीपक आचार्यले संयुक्त रूपमा गरेका थिए । त्यही म्युजिक भिडियो उनका लागि मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने पहिलो खुड्किलो बन्यो ।
विज्ञापनमा बाल मोडलिङ
म्युजिक भिडियोबाट सुरु भएको करिनाको कलाकारिता यात्रा विभिन्न उत्पादनका विज्ञापन हुँदै अघि बढ्यो । बाल्यकालमै उनले विज्ञापनमा मोडलिङ गर्न थालिन् । छ वर्षको उमेरमा उनले टु पिम नुडल्सको हिन्दी भाषाको विज्ञापनमा अभिनय गरिन् । त्यसपछि उनले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डका विज्ञापनमा काम गर्ने अवसर पाइन् ।
उनको बाल कलाकार तथा मोडलका रूपमा चर्चा बढ्दै गयो । एनसेल, नेपाल टेलिकमलगायतका ब्रान्डका विज्ञापनमा उनले अभिनय गरिन् । तीमध्ये चोको फन चकलेटको विज्ञापन उनको करिअरमा विशेष प्रभाव पार्ने विज्ञापनका रूपमा स्मरण गरिन्छ । त्यस्तै, स्नोफन आइसक्रिमको विज्ञापनका लागि खिचिएका उनका तस्बिरसहितका होर्डिङ बोर्डसमेत लामो समयसम्म सार्वजनिक स्थानमा देखिन्थे ।
‘किड क्विन नेपाल’ ले बनाएको छवि
करिनाको बाल्यकालीन करिअरमा सन् २०१० विशेष महत्व राख्छ । उनले उक्त वर्ष ‘किड क्विन नेपाल’ को उपाधि जितिन् । यो उपाधि उनका लागि सौन्दर्य तथा फेसन क्षेत्रमा मात्र उपलब्धि थिएन, उनको सार्वजनिक परिचय विस्तार गर्ने महत्वपूर्ण मोडसमेत बन्यो । उपाधि जितेपछि उनी विद्यालय तहमा मात्र नभई फेसन, मोडलिङ तथा विज्ञापन क्षेत्रमा समेत थप परिचित भइन् । सानै उमेरमा प्राप्त सफलताले उनलाई निरन्तर काम गर्ने आत्मविश्वास दियो । तर कलाकारितासँगै उनको प्राथमिकतामा अध्ययन पनि उत्तिकै महत्वपूर्ण रह्यो ।
‘हिँड्दाहिँड्दै’ की लोकप्रिय बाल प्रस्तोता
बाल्यकालमा करिनाको अर्को महत्वपूर्ण परिचय बन्यो–नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय बाल कार्यक्रम ‘हिँड्दाहिँड्दै’ की बाल प्रस्तोता । उनले करिब चार वर्ष उक्त कार्यक्रममा प्रस्तोताका रूपमा काम गरिन् । टेलिभिजन पर्दामा बालबालिकासँग संवाद गर्ने, कार्यक्रम सञ्चालन गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने अवसरले उनको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्यो । ‘हिँड्दाहिँड्दै’ मार्फत उनले आफ्नो वाककला, आत्मविश्वास र प्रस्तुति क्षमतालाई निखारिन् । बाल दर्शकमाझ उनको छुट्टै परिचय स्थापित भयो । उनले यस अवधिमा केही म्युजिक भिडियोमा समेत अभिनय गरिन् । बाल साहित्य तथा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई २०७० सालमा ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ बाट सम्मान गरिएको थियो ।

कलाकारिताबाट चिकित्सा शिक्षातर्फ
बाल कलाकारिता र टेलिभिजनमा सक्रिय हुँदाहुँदै करिनाले आफ्नो अध्ययनलाई भने निरन्तरता दिइरहिन् । उनले पूर्वप्राथमिक तह अर्थात् एलकेजीदेखि बेबिलोन नेसनल स्कुलमा अध्ययन गरिन् । यही विद्यालयबाट उनले २०७२ सालमा सर्वोत्कृष्ट अंकसहित एसईई उत्तीर्ण गरिन् ।
नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेसनल कलेजबाट कक्षा १२ को अध्ययन सकेपछि चिकित्सा शिक्षातर्फ अघि बढेकी उनले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन पूरा गरिन् । एमबीबीएस अध्ययन पूरा गरी डाक्टर बनेपछि करिनालाई काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलले उनको उपलब्धिका लागि सम्मानसमेत गर्‍यो ।
अझै अभिनयको इच्छा
हाल करिना मेडिकल अफिसरका रूपमा कार्यरत छिन् । चिकित्सा क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा अघि बढाउँदै उनले आगामी दिनमा चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी छिन् । यद्यपि, बाल्यकालदेखि आत्मसात् गरेको कलाकारिता भने उनले पूर्णरूपमा छाडेकी छैनन् । अवसर र समय अनुकूल भए आगामी दिनमा नेपाली फिल्ममा अभिनय गर्ने आफ्नो इच्छा रहेको उनले बताएकी छिन् ।
यसरी हेर्दा उनको यात्रा एउटा क्षेत्रमा सीमित छैन । साढे दुई वर्षको उमेरमा म्युजिक भिडियोबाट प्रारम्भ भएको यात्रा विज्ञापन, ‘किड क्विन नेपाल’ को उपाधि, टेलिभिजन प्रस्तोता हुँदै एमबीबीएस पूरा गरेर चिकित्सक बन्नेसम्म आइपुगेको छ ।
बाल्यकालको लोकप्रियतालाई शिक्षासँग जोडेर अगाडि बढेकी करिनाको कथा आजका विद्यार्थी र नयाँ पुस्ताका लागि एउटा प्रेरणादायी उदाहरण बनेको छ–प्रतिभा जुनसुकै क्षेत्रमा भए पनि लक्ष्य, अनुशासन र निरन्तर मेहनतले त्यसलाई सफलताको यात्रामा बदल्न सकिन्छ ।
लोकेसन: टौदह भ्यू गार्डेन रिसोर्ट, टौदह
मेकअप: मोमेन्ट शाह, मोमेन्ट्स ब्युटी होम, कोटेश्वर
पहिरन: उषाज स्टाइलिस्ट कलेक्सन, कुपण्डोल 

 Image