Successfully Copied

‘नसा च्यापिएर ढाड दुख्ने ९५ प्रतिशत बिरामीको अप्रेसन गर्नैपर्दैन’ डा. नम्रता खड्का

न्यूरो सर्जरी यस्तो सेन्सेटिभ चीज हो कि तपाईं अप्रेसनअघि पछि र क्रिटिकल केयर पनि संवेदनशील तवरमै चाहिन्छ । किनभने मस्तिष्कले भिन्दै तरिकाले फंक्सन गरिरहेको हुन्छ ।

न्यूरो सर्जरी चिकित्सा विज्ञानको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण क्षेत्र मानिन्छ । न्यूरो सर्जरी जस्तो जटिल काममा महिला चिकित्सकको उपस्थिति कम छ । वीर अस्पतालमा ७ वर्षदेखि न्यूरोको क्षेत्रमा सक्रिय छिन्, कन्सल्टेन्ट न्यूरो सर्जन डा. नम्रता खड्का । यस दौरानमा साना ठूला गरेर ४ हजारजतिको शल्यक्रिया उनले गरिसकेकी छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. देवकोटाले २०४६ सालमा स्थापना गरेको न्यूरो सर्जिकल इकाइमा ३७ वर्षपछि पहिलो पटक महिला न्यूरोसर्जनको जिम्मेवारीमा रहेकी उनीसँग गरिएको कुराकानी


तपाईंको प्रारम्भिक शिक्षा अनि करिअर कस्तो रह्यो ?
म भक्तपुरको दुवाकोटमा जन्मिएँ । कोटेश्वरको नवज्योति इंग्लिस सेकेन्डरी स्कूलमा प्रारम्भिक शिक्षा र भीएस निकेतनबाट प्लस टु उत्तीर्ण गरें । त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नेसनल मेडिकल कलेज वीरगञ्जबाट सन् २०१० मा एमबीबीएस पूरा गरें । एमबीबीएसपछि छात्रवृत्ति सम्झौताअनुसार सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरें । त्यसपछि लोकसेवामा नाम निकालेर काभ्रेको मेथिनकोट अस्पतालमा दुई वर्ष काम गरेर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट जनरल सर्जरी गरें ।
वीरमा एक वर्ष न्यूरो सर्जरी गरेपछि एमसीएच (सुपर स्पेसलिस्ट) का लागि छनोट भएँ । त्यसपछि वीरमै न्यूरो सर्जरी अध्ययन सुरू भयो । मैले सन् २०२५ मा न्याम्सबाट न्यूरो सर्जरीमा एमसीएच उत्तीर्ण गरें । त्यसपछि मैले वीर अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जनका रूपमा बिरामीको सेवा गरिरहेकी छु ।


न्यूरो सर्जन बन्ने सोच कहाँबाट आयो ? न्यूरो सर्जरी नै आफ्नो करियरका रूपमा रोज्नुको कारण के थियो ?
मलाई पारिवारिक माहोलले नै डाक्टर बन्न प्रेरित गर्‍यो । थाहा पाउने बेलादेखि न्यूरोसर्जन डा.उपेन्द्र देवकोटाको नाम पत्रपत्रिकामा आउँथ्यो । देवकोटासँगै वरिष्ठ न्यूरोसर्जन डा. प्रकाश विष्ट (मामा) काम गर्नुहुन्थ्यो । मामाको कामबाट प्रभावित भएर बाल्यकालमै न्यूरोसर्जन बन्ने छाप बस्यो । पढाइमा पनि अब्बल थिएँ, घरमा छोरी डाक्टर बन्नुपर्छ, डाक्टर भनेको सर्जन र सर्जन भनेकै न्यूरो सर्जन भन्ने खालको वातावरण थियो । त्यही वातावरणले यो क्षेत्रतर्फ आकर्षित भएँ । मामा प्रकाशले डा. उपेन्द्रको मातहतमा नेपालबाटै पहिलोपटक न्यूरो सर्जरी गर्ने मौका पाउनुभयो । मामा र डा. उपेन्द्र देवकोटाबाट पनि प्रभावित थिएँ । त्यसो त मलाई सानैदेखि अलि फरक काम गर्न मन लाग्थ्यो । प्लेन नै उडाउने सोच थियो, परिवारमा डाक्टर नै भन्ने भयो । सानैदेखि अलिकति फरक, च्यालेन्जिङ काममा झुकाव थियो, त्यसैले न्यूरो सर्जन सबैभन्दा च्यालेन्जिङ लाग्यो र यसैमा आकर्षित भएँ ।


नेपालमा न्यूरो सर्जरी सेवाको वर्तमान अवस्था कस्तो छ ? न्यूरो सर्जरीका लागि नेपाली बिरामी विदेश जानुपर्ने अवस्था किन आउँछ ?
न्यूरो सेवाको वर्तमान अवस्था पहिलेभन्दा राम्रो छ । न्यूरो सर्जन नेपालमा लगभग १३५ जना छन् र तीमध्ये महिला १० जना छन् । १३५ जना ३ करोड जनसंख्याका लागि अन्य देशको तुलनामा राम्रो रेसियो हो । अहिले सेवा पनि राम्रो छ । सरकारले प्रादेशिक अस्पताल, विभिन्न विज्ञान प्रतिष्ठान खोलेको छ । छात्रवृत्तिमा एमसीएच न्यूरो सर्जन गर्नेहरू विभिन्न जिल्लामा छात्रवृत्ति करार सेवा दिन जाँदा पनि ट्रमाको केस (एक्सिडेन्ट, सडक दुर्घटना भएर, खसेर) को लागि विशेष फाइदा पुगेको छ । उपत्यका बाहिर पनि ठाउँठाउँमा न्यूरो सर्जन भएकाले केस ह्यान्डल गर्न सहज भएको छ । धेरै सुविधा नेपालमै छन् । स्काल्पलेस रेडियो सर्जरी भने यहाँ छैन । यो भनेको अप्रेसन नै नगरी सेकाएर गरिने सर्जरी हो । कुनै–कुनै ब्रेन ट्युमरका लागि एउटा नसा च्यापिएको हुन्छ, त्यसका लागि नेपालमा सुविधा नभएर भारत पठाउनुपर्ने हुन्छ । अरु लगभग सबै सेवा छन् । कति भारतीय नागरिकले पनि यहीँको सुविधा लिएका छन् । बोर्डरबाट पनि धेरै उपचारका लागि वीरमा आउने गरेका छन् ।


नेपालमा दक्ष न्यूरो सर्जन र आधुनिक उपचार सुविधाको पर्याप्तता कस्तो छ ?
पहिलेभन्दा प्रविधिको धेरै विकास भइसक्यो । वीरमा पनि धेरै आधुनिक उपकरण छन् । एउटा बिरामीको उपचार गर्न ९, १० करोडको सामान प्रयोग गरेका हुन्छांै । केही समयअघि १०३ वर्षकी आमाको लडेर टाउकोमा जमेको सफल अप्रेसन गरियो । उमेर हुँदै गएपछि नली कमजोर हुने भएकाले सानो ठोकियो भने रगत जम्ने गर्छ ।

महिला वा पुरुषमध्ये कुनमा बढी न्यूरो सम्बन्धी समस्या हुने गर्छ ? उमेरअनुसार पनि न्यूरोका समस्या देखिने गर्छन् ?
कति रोग बाल्यावस्था, कति युवावस्थामा देखिने हुन्छ । बालबालिकाहरूलाई वंशानुगत रोग कन्जेनाइटल हाइड्रोसिफलस हुन्छ । जन्मिदा स्पाइनल कर्डको समस्या नेपालमा अझै पनि छ । गर्भवती आमाले साधारण ध्यान नपुर्‍याउँदा यस्तो समस्या देखा पर्छ । आमाले राम्रो न्युट्रिसन नखाँदा, गर्भावस्थामा फोलिक एसिड नखाँदा, कुनै औषधि सेवन गरेर छारे रोग भएका आमाबाट जन्मिने बच्चा जन्मजात विकलाङ्ग हुन सक्छन् । बच्चासँग सम्बन्धित ब्रेन ट्युमर, भास्कुलर मालफर्मेसन पनि बच्चाहरूमा हुन्छ ।
यसैगरी युवामा ब्रेन ट्युमर, ब्रेन हेमरेज, प्रेसर तथा लाइफ स्टाइलसँग सम्बन्धित रोग देखिन्छ । ६०,७० नाघेका वृद्धामा सानातिना चोटपटक लागेर पनि टाउको भित्र रगत जम्ने हुन्छ । कति रोग महिला तथा कति पुरुषलाई देखिन्छ ।
फुकुन्डो (टाउकोको रगतको नली एउटा डल्लो जस्तो हुने) फुट्ने महिलामा धेरै हुन्छ । यसले मानिस ठाउँको ठाउँ (१५ प्रतिशत स्पट डेथ) बित्ने गर्छन् । यो भएपछि दुई तिहाई बिरामी कहिल्यै पहिलेको अवस्थामा जाँदैनन् । ब्रेन हेमरेजका कारण मृत्यु हुन्छ । पुरुषलाई स्ट्रोक, लाइफ स्टाइल स्मोकिङ, अल्कोहलका कारण ब्रेन हेमरेज हुने गर्छ । ब्रेन ट्युमरमा हाम्रो तथ्यमा महिला तथा पुरुषको रेसियो उस्तै देखिएको छ । कति कुरा डेटा महिलाभन्दा पुरुषको बढी देखिन्छ । किनभने पुरुषको हेल्थ चेकिङ ह्याबिट महिलाको भन्दा अलि बढी हुन्छ ।


न्यूरोअन्तर्गत के–के पर्छन् ? कस्तो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ ?
न्यूरोमा मस्तिष्कदेखि टाउको ट्रमा हेड इन्जुरी (खस्ने, रगत जम्ने, एक्सिडेन्ट) ब्रेन ट्युमर, ब्रेन हेमरेज मस्तिष्कमा रगतको सप्लाई नै बन्द हुने गर्छ । रगतको नलीसम्बन्धी भास्कुलर माल फर्मेसन पनि हुन्छ । हड्डीबाट आएको स्काल्पबाट आएको, छारे रोग, पार्किसन्स पनि यसै अन्तर्गत पर्छन् । यसमा मान्छे हल्लिने, टाउको हल्लेको हल्लेई हुने र काँप्ने गर्छन् । नसा च्यापिएर हुने दुखाई फेसियल न्यूराल्जिया, माइग्रेन पनि पर्छ । गर्धन, ढाडको नसा च्यापिने, ढाडको ट्युमर, मेरुदण्डको ट्युमर । पेरिफेडरल नर्भको समस्या यसैमा पर्छ । यो धेरै विधामा पर्छ । बिरामीको रोगको प्रकृति र केस हेरेर सर्जरी गर्ने हो ।


सर्जरी गर्ने भन्नासाथ पुरुष सर्जन नै सबैको दिमागमा क्लिक हुन्छ, महिला भएकैले सर्जरीका बेला कुनै अप्ठ्यारोको सामना गर्नुपर्‍यो कि ?
महिलाले पनि गर्न सक्छन् र भन्ने कुराको सामना गरेको छैन । महिला सर्जनलाई विश्वास नगर्ने धेरै छन् । ओपिडीमा बस्दा सेतो एप्रोन सहकर्मी वा जुनियर बस्दा पनि नमस्ते डाक्टर भन्ने, हामीलाई सिस्टर डाक्टर कहिले आउनु हुन्छ भनेर सोध्छन् । अप्रेसनअघि पछि सबै बुझाउँदा पनि बिरामीका आफन्तले पुरुष सहकर्मी वा जुनियर सहकर्मीले गरेको भनेर सोच्छन् । पहिले अलि नमज्जा लागे पनि अहिले हरेक अप्रेसनपछि बिरामीका आफन्तलाई भेटेर आफ्नो परिचय दिन्छु । म पनि तपाईंको ढाडको टाउकोको अप्रेसन गर्छु । केटी मान्छे पनि डाक्टर हुन्छन् नि भनेर सम्झाउँछु ।


उपचारका क्रममा भएका बिर्सन नसक्ने घटना ?
केही वर्षअघि सानो नानीको ब्रेन ट्युमरको अप्रेसन गर्दाको क्षण ताजै छ । हाँसेर कुराकानी गर्ने उनमा नराम्रो एग्रेसिभ ब्रेन ट्युमर थियो, बचाउन सकिएन । अप्रेसनको सिलसिलामा मृत्यु भयो, नमज्जा लाग्यो ।
यद्यपि कति अप्रसेन रिवार्डिङ पनि हुन्छन् । सफल हुँदा अत्यन्तै खुसी लाग्छ । अप्रेसनपछि पनि बिरामीले आफ्नो काममा निरन्तरता दिन सकोस् भन्ने हुन्छ ।


न्यूरो सर्जरी क्षेत्रमा काम गर्दा तपाईंले सामना गर्नुपर्ने प्रमुख चुनौती के हुन् ?
अझै पनि महिलाले अप्रेसन गर्न सक्छन् र भनिन्छ । त्यसो त तथ्यांकले महिलाले गरेको अप्रेसन राम्रो भएको देखाएको छ । महिलाले महिलाको अप्रेसन गरेर राम्रो भएको कुरा अध्ययनले देखाएको छ । समाज परिवर्तन हुँदैछ । भावी पुस्ताले यी कुरा फेस गर्नु नपर्ला । महिनावारीका बेला घन्टौं उभिएर अप्रेसन गर्नुपर्छ जुन कुरा पुरुष सहकर्मीले फेस गर्नुपर्दैन । घण्टौंसम्म चलिरहेको जटिल शल्यक्रियामा पनि औषधि खाएर टिक्नुपर्छ । कहिलेकाहीँ १२ देखि १४ घण्टासम्म लाग्ने यस्ता अप्रेसनमा बीचमा छोड्ने विकल्प हुँदैन । तर कामको अगाडि त्यसलाई प्राथमिकता दिन सकिँदैन । आफूलाई बिर्सिएर बिरामीको जीवनरक्षामा लाग्नुपर्छ । किनभने अप्रेसन थिएटरमा कुनै पनि ढिलाइ वा गल्ती घातक हुन सक्छ । चिकित्सकमा एउटा मान्छेको ज्यान मात्र होइन, सिंगो परिवारको विश्वास बचाउनुपर्ने दायित्व हुन्छ ।


न्यूरो सर्जरीबारे नेपाली समाजमा रहेका प्रमुख भ्रम के–के हुन् ? मस्तिष्कसम्बन्धी रोगको उपचारमा ढिलाइ हुनुका मुख्य कारण के देख्नुहुन्छ ?
टाउकोको अप्रेसन गर्नासाथ मानिसको मृत्यु हुन्छ, गर्नुहुँदैन भन्ने भ्रम धेरैमा छ । हुन त संसारभर नै न्यूरो सर्जरीको तथ्यांक अप्रेसन १० प्रतिशत मृत्युदर छ । न्यूरो सर्जरी यस्तो सेन्सेटिभ चीज हो कि तपाईं अप्रेसनअघि पछि र क्रिटिकल केयर पनि संवेदनशील तवरमै चाहिन्छ । किनभने मस्तिष्कले भिन्दै तरिकाले फंक्सन गरिरहेको हुन्छ ।
ट्युमर वा थोरै रगत जमेकाहरूको पनि अप्रेसन गर्न धेरै सम्झाउनुपर्ने हुन्छ । बेहोस नगरी गर्नुपर्ने अप्रेसनका लागि पनि धेरै कन्भिन्स गर्नुपर्ने हुन्छ । ढाड दुखेको वा नसा च्यापिएको अवस्थामा एकपटक अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ, अप्रेसन नगर्ने भनेर प्यारलाइसिस नै भएर आउँछन् । तर समस्या जटिल हुनुअघि उपचार गरिहालौं भन्दैनन् । कतिपय रोगमा चिकित्सकमाथि विश्वास नगरी, सम्बन्धित चिकित्सकभन्दा धेरै इन्टरनेट र अन्य मानिसको सल्लाह लिन्छन् ।
न्यूरो सर्जरी नसाबाट गर्नुपर्ने हुन्छ । धेरै प्रविधि आएका छन् । ढाडको अप्रेसन गर्दा पनि न्यूरो मनिटरिङ गरेर गर्न मिल्छ । कतै छोएमा अप्रेसनलाई अड्याएर त्यो ठाँउमा नजाने गरिन्छ । पहिलेभन्दा अहिले धेरै प्रविधि आएका छन् । ब्रेनको पनि कुनै फंक्सन भएको ठाउँमा, हातखुट्टा चल्ने ठाउँमा ट्युमर छ भने बिरामीसँग कुराकानी गर्दै गरिन्छ । यसो गर्दा बिरामीको बोली केही हुनासाथ रोकिनुपर्ने हुन्छ । त्यो प्रविधि नेपालमै छ ।


खासगरी यस्ता अप्रेसनको समय कति लाग्छ ?
अप्रेसनको केस हेरेर र सर्जनको अनुभवका आधारमा समय तय हुन्छ । न्यूरोको १५,२० घन्टादेखि १६ घन्टा लाग्ने सर्जरी पनि छ । जति लामो अप्रेसन भयो त्यति मृत्युदर बढ्छ । सकेसम्म छिटो गरौं भन्ने पनि हुन्छ तर हामी एकदम संवेदनशील क्षेत्रमा काम गरेकाले धेरै हतार पनि गर्नुहँुदैन । रिस्क हुँदाहुँदै पनि गर्नुपर्ने कुरा त गर्नुपर्छ ।

कतिपयमा न्यूरोको समस्या हुनासाथ चिकित्सकले अप्रेसन नै गरिदिन्छन् भन्ने छ ? कस्तो अवस्थामा अप्रेसन गर्नुपर्छ ?
नसा च्यापिएर हुने ढाडको दुखाइको ९५ प्रतिशत बिरामीको अप्रेसन गर्नैपर्दैन । कन्जरभेटिभ म्यानेजमेन्टबाटै उपचार गर्न सकिन्छ । तर उपचारमा ढिला आउने, क्रोनिक भएपछि हात खुट्टै नचल्ने भएर आउने, दिसा–पिसाब नै नहुने गरी आएमा भने अप्रेसन नै गर्नर्ुपर्ने हुन्छ ।
टाउकोको पनि ट्युमर भएमा गर्नैपर्‍यो । ट्युमर पनि बेनाइन र मेलिगनेन्ट गरी दुई किसिमका हुन्छन् । बेनाइन छ, ट्युमर सानो छ लक्षण देखिएको छैन भने अप्रेसन नगरी पनि उपचार गर्न सकिन्छ । ट्युमर एग्रेसिभ, मानिसको होशमै कमी आएको छ, टाउको दुख्ने, हातखुट्टा नचल्ने, भिजनमा समस्या, रिंगटा लागेमा गर्नुपर्‍यो । नत्र पर्खिएर वर्षैपिच्छे एमआरआई गरेर पनि हेर्न सकिन्छ ।
सानै छ भने स्काल्पलेस सर्जरी, सेकाएर पगाल्ने गर्न सकिन्छ । यसो गरेमा ९५ प्रतिशत क्यान्सर सेल मर्छ । विस्तारै रेडियोलोजाकल्ली सुक्दै जान्छ । ट्युमर छ ज्यानै जाने कन्डिसन र ब्रेन हेमरेज भएर ठूलै रगत जमेको छ भने अप्रेसन गर्नुपर्दैन । सानोतिनोलाई कन्जरभेटिभ नै उपचार हुन्छ ।
बच्चाको हाइड्रो सिफलस (पानी भरिएर टाउको ठूलो हुने) छ भने बच्चाको अप्रेसन नै गर्नुपर्छ । मानिसमा न्यूरो सम्बन्धी भ्रम र मिथ रहेको छ, त्यसलाई चिर्नुपर्छ । आफ्नो ठाउँ र देशलाई विश्वास गर्नुपर्छ । कतिपय भारतीयको उपचार नेपालमा भएको छ । भारतीय बोर्डरबाट पनि धेरै उपचारमा आउने गरेका छन् । केही समयअघि विदेशी पर्यटक हायकिङ जाँदा स्ट्रोक भएर नर्भिक अस्पताल ल्याइएको थियो । उनको अप्रेसन गरेर हड्डीसमेत हालेर बेलायत पठायौं ।


सबै माइग्रेन न्यूरोको समस्या हुन्छ त ? यसबाट कसरी छुटकारा पाउने ?
सबै टाउको दुखाइ मस्तिष्कमा केही समस्या भएर नै हुन्छ । माइग्रेनको कारण हालसम्म पत्ता लागेको छैन, परिवारमा कसैलाई भएमा हुन्छ । यसको इन्जेक्सन, हेयर ब्यान्ड पनि आएको छ विदेशमा । के कारणले माइग्रेन भएको पत्ता लगाई त्यसबाट बच्नुपर्छ । कसैलाई खानेकुरा, घामबाट, केही कुराबाट पनि माइग्रेन हुन्छ । सबै टाउको दुखाइ ब्रेन ट्युमर वा ठूलो रोग भएर हुँदैन । बाहिर नसा च्यापिएर पनि हुन्छ ।


न्यूरो सर्जन बन्न चाहने विद्यार्थीलाई तपाईंको सुझाव के छ ?
यो क्षेत्रमा आउनेलाई सपोर्ट गर्छु । कतिले सन्देश पठाउने गर्छन्, न्यूरो सर्जन बन्ने भनेर सामाजिक सञ्जालमार्फत सन्देश पठाउँछन् । युवा चिकित्सकले सपोर्ट गरिदिनुपर्‍यो भनेर सल्लाह माग्छन् । रुचि हुनेलाई सकेको सहयोग गरेकी छु ।


न्यूरोको समस्याबाट कसरी बच्ने ?
लाइफस्टाइलसँग सम्बन्धित रोगबाट बच्नुपर्छ । मद्यपान र धूम्रपान गर्नुहुँदैन । स्ट्रोक हुनबाट बच्न नियमित रूपमा व्यायाम गरी तौल नियन्त्रणमा राख्नुपर्छ । कति रोगमा स्क्रिनिङको पनि व्यवस्था छैन । रगतको टेस्ट गराएजस्तो ब्रेनको सिटिस्क्यान र एमआरआई पनि गराउँदैनौं । बेलाबेलामा आउने साधारण लक्षण केही छन् भने उपचार गराउनुपर्छ । स्क्रिनिङ भनेर गर्ने प्रविधि न्यूरोमा छैन । परिवारमा ब्रेन ट्युमर नै छ, स्तन क्यान्सर र अन्य क्यान्सर छ भने ब्रेन ट्युमर पनि हुन सक्छ । ट्युमर वंशानुगत, जन्मजात, भास्कुलर मालफंक्सन बच्चामा ठूलो हुँदै भएपछि पनि देखिन सक्छ । भाइरलका संक्रमणका कारण, कम पानी पिउँदा, पिल्स चक्की, हर्मोन सप्लिमेन्ट लिएर पनि टाउको एकदम दुखेर आउँछ । पीडा बढी हुन्छ, कहिलेकाहीँ रगत जमेर अप्रेसन नै गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि टाउको दुख्छ भने त्यसमा पनि विचार पुर्‍याउनुपर्छ ।


आगामी पाँच वर्षमा नेपालमा न्यूरो सर्जरीको क्षेत्र कस्तो हुने अपेक्षा गर्नुहुन्छ ?
सबै पद्धति नेपालमै र सबैको पहँुचमा होस् भन्ने लाग्छ । साथै न्यूरो सर्जरीलाई इकोनोमाइज गर्न मन छ । कतिपय इप्लान्ट बाहिरबाट किन्नुपर्ने हुन्छ, नेपालमा बन्दैन । विपन्नले किन्न सक्दैनन् । अहिले इन्डो भास्कुलर पद्धति आएको छ । वीरमा न्यूरो सर्जरी क्याथ ल्याब छैन । नेपालीले धेरै रकम खर्च गरी उपचार गर्न सक्दैनन् । सर्जरीको १०–२० लाख लाग्ने हुन्छ । सरकारले किड्नी र लिभर ट्रान्सप्लान्टलाई सहयोग गरेजस्तै न्यूरोमा पनि सहयोग गरे विपन्नले पनि उपचार पाउने थिए । आगामी ५ वर्षमा न्यूराको उपचार सबैको पहुँचमा होस् ।
नेपालमै इम्प्लान्ट डिजाइन र उत्पादन होस् । म सक्षम न्यूरो सर्जन बनेर बिरामीको सेवामा समर्पित हुनेछु । 

 Image