प्रकृति गौतम
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, खेतीपाती अर्गानिक्स
कृषि उत्पादनलाई खेतबारीमै सीमित नराखी त्यसलाई प्रशोधन र बजारसँग जोड्ने काममा सक्रिय छिन्, प्रकृति गौतम । बेलायतबाट फर्किएकी उनले सन् २०२१ देखि धनकुटामा खेतीपाती अर्गानिक्स उद्योग सञ्चालन गरिरहेकी छन् । उनको नेतृत्वमा रहेको उद्योगले खेर जाने कृषि उत्पादनलाई सुकाएर प्रशोधन गरी बजारमा ब्रान्डिङ गरिरहेको छ ।
खेतीपाती अर्गानिक्स सुरु गर्ने सोच कसरी आयो ?
सन् २०१८ मा धनकुटा पुगेका बेला एभोकाडो ठूलो मात्रामा खेर गएको देखें । किसानले उत्पादन गरिरहेका छन् तर बजार नपाएर उत्पादन खेर गइरहेको छ भने यसको समाधान खोज्नुपर्छ भन्ने लाग्यो । त्यही सोचबाट यो यात्राको सुरुवात भयो । अहिले सुन्तला, किबी, स्ट्रबेरी, आँप, भुइँकटहरदेखि अदुवा, अलैंची र अकबरे खुर्सानीसम्म करिब ५० थरी कृषि उत्पादनमा काम गरिरहेका छौं ।
उद्योग खोल्नु र सञ्चालनमा चुनौती के थिए ?
२०१८ मा धनकुटामा एभोकाडो खेर गएको जुन दृश्य देखें । त्यसैले उद्योग पनि त्यहीँ खोल्ने निर्णय गरें । तर उद्योग स्थापना गर्न सजिलो थिएन । जग्गा खोज्दा कसैले नपत्याउने विदेशबाट फर्किएको भनेर धेरैको शंका थियो । जसोतसो उद्योग खोले पनि सुरुवातमा किसानका उत्पादन उद्योगसम्म ल्याउनु, त्यसलाई प्रशोधन र प्रविधि विकास गर्नु जस्ता चुनौती थिए । सुरुवातमा मोटरसाइकलमा फलफूल बोकेर उद्योगसम्म ल्याउनुपर्ने थुप्रै अनुभव छन् । अहिले भने उत्पादन र बजार दुवै विस्तार भइसकेको छ ।
किसानसँग काम गर्दा उनीहरूको मुख्य समस्या के देख्नुभयो ?
उत्पादन गर्नुभन्दा ठूलो समस्या बजार रहेको थाहा पाएँ । किसानको मेहनतले राम्रो उत्पादन गरे पनि बजार नपाउँदा उत्पादन खेर जान्छ वा उचित मूल्य नपाउने समस्या आज पनि छ । उत्पादन भएपछि त्यसलाई कसरी प्रशोधन गर्ने, मूल्य अभिवृद्धि गर्ने र विश्व बजारमा ब्रान्डका रूपमा लैजाने भन्नेमा पर्याप्त काम भएको छैन । कृषि प्रधान देश भनेर मात्रै हुँदैन । उत्पादनलाई मूल्यमा बदल्न सक्नुपर्छ ।
नेपाली कृषि उत्पादनमा विश्व बजारका लागि कस्तो सम्भावना देख्नुहुन्छ ?
नेपालका कृषि उत्पादनमा ठूलो सम्भावना छ । नेपाली उत्पादनको सबैभन्दा ठूलो विशेषता मीठो स्वाद हो । अन्य देशका फलफूल राम्रा र आकर्षक देखिन्छन् तर स्वाद हुँदैन । नेपालका कृषि उत्पादनको स्वाद राम्रो हुने भएकाले यसलाई विश्वमाझ ब्रान्डिङ गर्न आवश्यक छ । हामीले यही पहिचानलाई ब्रान्डका रूपमा विकास गर्नुपर्छ ।
कृषि उद्यममा युवाका लागि अहिलेको वातावरण कस्तो छ ?
अझै सहज छैन । उद्योग खोल्छु भन्दा सरकारले पत्याउन गाह्रो हुन्छ, बैंकबाट पनि ऋण पाउन सजिलो छैन । छोटो समयका लागि ऋण पाइन्छ तर लामो समयका लागि ऋण पाइँदैन । हाम्रो वित्तीय प्रणाली छोटो अवधिको सोचमा बढी केन्द्रित देखिन्छ । युवालाई नेपालमै उद्यम गर्न प्रोत्साहित गर्ने हो भने नीतिगत र वित्तीय वातावरण सुधार गर्न आवश्यक छ ।
आगामी योजना के छ ?
नेपाली कृषि उत्पादनलाई नेपाली ब्रान्डका रूपमा विश्व बजारमा स्थापित गर्नु प्रमुख लक्ष्य छ । अन्य स्थानहरूमा पनि उद्योग खोलेर कृषि उत्पादनलाई विस्तार गर्नु छ ।