साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अंग्रेजी भाषाका पाँच कृति शनिबार एकैसाथ विमोचन गरिएको थियो ।
पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका थिए ।
पूर्वसहसचिवसमेत रहेकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासंग्रह र ‘यात्राको वेग: अनुभूतिको संवेग’ नियात्रासंग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियात:गु क्यब’ र ‘तक्यंगु सुका’ तथा अंग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो ।
पूर्वअर्थमन्त्री शंकर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए । उनले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्याउनु सकारात्मक भएको उल्लेख गरे ।
कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उनका कृतिमा विविध विधा र अनुभव समेटिएको बताए । ‘सपनाको उडान’ कथासंग्रहमा कथासागै निबन्धात्मक अनुभूति पनि समेटिएको उनको भनाइ थियो ।
वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताए । अवकाशपछि आठ दशकको उमेरमा समेत साहित्य सिर्जनालाई निरन्तरता दिँदै १७ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो ।
लेखक श्रेष्ठले ‘सपनाको उडान’ कथासंग्रहमा समाजका विकृति र विसंगतिलाई विषयवस्तु बनाइएको जानकारी दिए । ‘यात्राको वेग: अनुभूतिको संवेग’ नियात्रामा सरकारी सेवामा रहादा विभिन्न देशको भ्रमणका क्रममा प्राप्त अनुभव समेटिएको उनले बताए ।
कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र विवशले श्रेष्ठका कृतिमा माटोप्रतिको अगाध प्रेम अभिव्यक्त भएको बताए भने साहित्यकार भागीरथी श्रेष्ठले उनको कथासंग्रहमा सरल र मिठासपूर्ण भाषाशैली रहेको उल्लेख गरिन् ।
प्राडा सविना श्रेष्ठले कोरोना महामारीको समयदेखि नेपाली साहित्यमा निरन्तर कलम चलाउादै आएकी मोतीशोभाका हालसम्म १७ कृति प्रकाशित भएको जानकारी दिइन् । उनका अनुसार श्रेष्ठका नेपाली भाषामा १०, नेपाल भाषामा चार र अंग्रेजी भाषामा तीन कृति प्रकाशित छन् ।
प्रा डा सिर्जना श्रेष्ठले साहित्य सिर्जनामा इमानदारिता आवश्यक हुने र त्यो गुण मोतीशोभाका कृतिमा पाइने बताइन् । उक्त अवसरमा नेपाल भाषा फाउण्डेसनले लेखक श्रेष्ठलाई सम्मान गरेको थियो । फाउन्डेसनका अध्यक्ष मंगलमान शाक्यले उनलाई सम्मान गरेका हुन् ।