Successfully Copied

कांग्रेस केन्द्रीय सदस्यमा रजनी थापाको उम्मेदवारी

केन्द्रीय सदस्यमा निर्वाचित भएमा युवा सहभागिता बढाउने, पार्टी संगठनलाई आधुनिक बनाउने, महिला नेतृत्वलाई प्रोत्साहन गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यासलाई राजनीतिक बहससँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने थापाको तयारी छ ।


युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी थापाले लामो समय जेसीज अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन, उनी नेपाल जेसिसकी पुर्व राष्ट्रिय अध्यक्ष हुन् ।
सन् २०११ मा जेसीज अभियानमा प्रवेश गरेकी उनले उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनेकी थिइन । स्थानीय जेसीजको नेतृत्वबाट राष्ट्रिय नेतृत्वमा पुगेकी थापा सन् २०२४ मा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थिइन । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा थापाले देशभरका युवा नेतृत्वसँग काम गर्ने अवसर पाएकी थिइन । युवा परिचालन, संगठन सञ्चालन, नेतृत्व विकास तथा सामाजिक अभियानमा काम गरेको यही अनुभवलाई उनले अब राजनीतिक संगठनमा उपयोग गर्न खोजेको बताएकी छन् ।
थापाको नेतृत्व यात्रा नेपालमै सीमित छैन । सन् २०२६ का लागि उनी जेसीस ग्लोबलको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
स्थानीय तहबाट सुरु भएको जेसीज नेतृत्व, नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी र अहिले एसिया–प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय नेतृत्वसम्मको अनुभव बोकेर थापा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न खोजेकी हुन् ।

कांग्रेसको १५ औँ महाधिवेशनले युवा सहभागिता र पुस्तान्तरणको बहसलाई पनि प्राथमिकतामा ल्याएको छ । पार्टीको नयाँ विधानले ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेसँगै नयाँ पुस्ताबाट नेतृत्वमा आउने आकांक्षीका लागि केन्द्रीय तहको बाटो थप फराकिलो भएको छ । यही परिवेशमा थापाको उम्मेदवारीलाई युवा नेतृत्वको राजनीतिक प्रवेशसँग जोडेर हेरिएको छ । जेसीजमा लामो समयदेखि युवा नेतृत्वसँग काम गरेको अनुभव भएकाले त्यसलाई कांग्रेसको संगठन निर्माण, युवा सहभागिता र नेतृत्व विकासमा प्रयोग गर्ने उनको तयारी छ ।
पछिल्लो समय नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र राजनीतिक दलभित्र पुस्तान्तरणको बहस तीव्र बनेको छ । प्रविधि, रोजगारी, उद्यमशीलता, शिक्षा, विदेशमा रहेका नेपाली युवा तथा सामाजिक परिवर्तनका विषय नयाँ पुस्ताका प्रमुख सरोकार बनिरहेका छन् ।
थापाले जेसीजमार्फत प्राप्त गरेको युवा नेतृत्वको अनुभवलाई यिनै विषयसँग जोडेर राजनीतिक भूमिकामा अघि बढाउने प्रयास गरेकी हुन् । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा देशभरका युवासँग काम गरेको अनुभव र जेसीस एसिया प्यासेफिक नेतृत्वमा रहेर अन्तर्राष्ट्रिय युवा नेतृत्वसँग सहकार्य गरिरहेको अनुभवलाई कांग्रेसको संगठनमा उपयोग गर्न खोजेको उनको भनाई छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएमा युवा सहभागिता बढाउने, पार्टी संगठनलाई आधुनिक बनाउने, महिला नेतृत्वलाई प्रोत्साहन गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यासलाई राजनीतिक बहससँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने थापाको तयारी छ ।

 Image