नीलहिरा समाज (ब्लु डायमण्ड सोसाइटी) ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दामाथि गरिएको एकवर्षे शोध अनुसन्धानको परिणाम सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा सञ्चारमाध्यममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व, समाचार लेखनमा प्रयोग हुने भाषा, शैली, मानव मर्यादा, गोपनीयता तथा समावेशी पत्रकारिताका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा शोध अनुसन्धानबाट प्राप्त तथ्यअनुसार, सञ्चारमाध्यममा प्रकाशित सामग्रीमध्ये ७५ प्रतिशत समलिङ्गी पुरुष र ट्रान्सजेन्डर महिलासँग सम्बन्धित रहेको पाइएको छ। बालबालिका तथा किशोरकिशोरीका मुद्दामा छुट्टै समाचार नहुनु, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेन्डर तथा इन्टरसेक्स समुदायको न्यून प्रतिनिधित्व र काठमाडौंकेन्द्रित समाचार प्रकाशन प्रमुख चुनौतीका रूपमा औँल्याइएका थिए।
त्यसै गरि सरकारी निकाय तथा गैरसरकारी संस्थाका स्रोतमा बढी निर्भर हुने र समुदायका दैनिक जीवनका विषयभन्दा विशेष घटनामा केन्द्रित भएर समाचार लेख्ने प्रवृत्तिले पनि समावेशी पत्रकारितामा चुनौती थपेको चर्चा गरिएको थियो। शोधले यस समुदायका बालबालिकाका मुद्धा त्यत्ति मिडियामा नआउने र त्यो पाटो छुटेको समेत देखाएको छ ।
कार्यक्रममा समाचार लेख्दा संवेदनशील तथा सम्मानजनक शब्दको प्रयोग, समुदायका विविध आवाजलाई स्थान, व्यक्तिगत गोपनीयताको संरक्षण र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो। प्रस्तुत प्रतिवेदनअनुसार, अनुगमन गरिएका ६८ प्रतिशत सामग्रीमा अधिकारमा आधारित दृष्टिकोण अपनाइएको थियो।
सञ्चारमाध्यमले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मानजनक, निष्पक्ष र विविधतापूर्ण रूपमा प्रस्तुत गर्नुपर्ने निष्कर्षसहित कार्यक्रममा पत्रकारितालाई थप जिम्मेवार र समावेशी बनाउने विषयमा छलफल भएको थियो। सञ्चारकर्मी आरती चटौतको नेतृत्वमा ब्लु डायमण्ड सोसाइटीले गरेको मिडिया मोनिटरिङले उक्त यि तत्थ्य पहिल्याएको हो । सञ्चारकर्मी चटौतले शोधले ल्याएको परिणाम निक्कै प्रभावकारी ढंगले प्रस्तुत गरेकी थिइन ।