‘श्रृजनशील उद्यमी मेला–२०८१’ आयोजना हुने भएको छ । हरेक वर्ष हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गर्ने उक्त मेलाको यो २१ औं संस्करण हो । यही भदौ ७ देखि ९ गतेसम्म चल्ने ‘श्रृजनशील उद्यमी मेला–२०८१ मा यस पटक नवप्रब्रर्तकहरुलाई प्रथामिकता दिइएको आयोजक संस्थाले जनाएको छ । राईजिङ्ग नेपाल प्रालि र इभेन्टसंसार डटकमको व्यवस्थापनमा हुने मेलालाई डाबर नेपालको डाबरगुलावरीले मुख्य प्रायोजन गरेको छ । बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा तीन दिनसम्म मेला चल्ने मेलामा दैनिक आवश्यताका सम्पुर्ण सामाग्री उपलब्ध हुने कुरा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
महिलामा सीप र दक्षता अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्रले मेलाको आयोजना गर्दै आएको छ । मेलामा महिलाले घरमै बनाएका सामाग्री, हस्तकलाका सामान लगायत महिला बचत तथा वितिय पहुच सम्बन्धी र प्रविधिमैत्री संघसस्थाहरूको सहभागिता रहनुका साथै खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहेन्दी आर्टको सुविधा समेत रहनेछ । आयोजकद्धारा ५ भन्दा बढी स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्रका पिछडिएका महिलाहरूका लागि निः शुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
दशकौंदेखी चल्दै आएको मेलाले महिला दिदीबहिनीहरुको आयस्तरमा बृद्धि गरी आर्थिक शसक्तिकरणमा प्रमुख भुमिका खेल्न सफल भएको आयोजक संस्थाकी मिलु थापाले बताइन । सन् २००७ देखी कान्तिपुर पब्लिकेशन्सको सहप्रकाशन नारी मासिक यस मेलाको अफिसियल मिडिया पार्टनरका रुपमा रहंदै आएको छ ।