नेपाली पुख्र्यौली शिल्प, सांस्कृतिक विविधता, आध्यात्मिक चेतना र भविष्यवादी कल्पनालाई समकालीन फेसनसँग जोड्दै नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) ले पुल्चोकस्थित द प्लाजामा २१औं स्नातक फेसन शो ‘अनन्तरूपवितानम्’ भव्य रूपमा प्रस्तुत गरेको छ । ५४ स्नातक डिजाइनरका सिर्जना, छ वटा फेसन संग्रह र छ वटा सिर्जनात्मक उत्कृष्ट कृतिसहित आयोजित यस कार्यक्रमले शैक्षिक उपलब्धिलाई व्यावसायिक फेसन अभ्याससँग जोड्यो ।
‘अनन्तरूपवितानम्’ले सौन्दर्य, संस्कृति, पहिचान र सिर्जनशीलताका अनन्त सम्भावनालाई अभिव्यक्त गर्छ । मन्दिरका स्थापत्य, पौभा कला, परम्परागत आभूषण, कृषि संस्कृति, हिमाली जीवनशैली, देवीशक्ति र कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी परिकल्पनासम्मका विषयले नेपाली पहिचानलाई विविध आयाममा प्रस्तुत गरे ।
एनसीएफटीको ‘अनन्तरूपवितानम्’ मा प्रस्तुत छवटा फेसन सङ्ग्रहले नेपाली सम्पदा, प्रकृति, सांस्कृतिक पहिचान र भविष्यवादी नवप्रवर्तन समेटेका थिए । ‘फोज्र्ड बाइ हेरिटेज’ ले पौभा कला, मन्दिरका काष्ठकला र परम्परागत शिल्पलाई आधुनिक कुट्युरमा रूपान्तरण गर्यो भने ‘टेरा सूत्र थ्रेड्स अफ रिजेनेरेसन’ ले कृषि संस्कृति र दिगो फेसनको सम्बन्ध उजागर गर्यो । ‘नेपालीज गिल्टेड स्पाइन’ ले विभिन्न जातीय समुदायका परम्परागत आभूषणमार्फत सांस्कृतिक पहिचान र पुख्र्यौली स्मृतिलाई प्रस्तुत गर्यो भने ‘द सेप अफ रिटर्निङ’ ले हिमाली गोठालाहरूको मौसमी यात्रा, ऊनको शिल्प र प्रकृतिसँगको सहअस्तित्वलाई अभिव्यक्त गर्यो । त्यसैगरी, ‘अभय–शक्ति: निर्भयताको सामथ्र्य’ ले नवदुर्गा र देवी लक्ष्मीबाट प्रेरित सिर्जनामार्फत नारीशक्ति, साहस र सौन्दर्यको उत्सव मनायो। अन्तिम संग्रह ‘कल्पसूत्र’ ले नेपाली सांस्कृतिक जरा, आध्यात्मिक प्रतीक र कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी कुट्युरलाई जोड्दै परम्परा र प्रविधिबीच नयाँ संवाद स्थापित गर्यो । यी छवटै संग्रहका डिजाइनरको सामूहिक सिर्जनाले नेपाली सम्पदालाई समकालीन फेसनको नवीन भाषामा पुर्नव्याख्या गर्दै यसको अनन्त सम्भावना उजागर गरे ।
फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफीले रनवे प्रस्तुतिलाई सुसङ्गत गति, लय र नाटकीयता प्रदान गरेको थियो । कार्यक्रमको समन्वय श्रीतिका शाक्य, सुबिना राउत, अलिश रञ्जित र स्वस्तिका भारीले गरेका थिए ।
एनसीएफटीको २१औा स्नातक फेसन शो ‘अनन्तरूपवितानम्’ विद्यार्थीको शैक्षिक उपलब्धिको उत्सव मात्र नभई नेपाली सम्पदालाई समकालीन विश्व फेसनसाग जोड्ने सिर्जनात्मक प्रयासका रूपमा प्रस्तुत भयो ।
कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको पाँचौं संस्करण विमोचन गरिएको थियो । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजन बाबु मरहठ्ठा, रजिस्ट्रार प्रा. डा. पन्ना थापा, व्यवस्थापन संकायका डिन प्रा. डा. उत्तमकुमार रेग्मी, परीक्षा नियन्त्रक प्रा. बलेन्दु हमाल, एनसीएफटीकी संस्थापक प्राचार्य ज्ञानी शोभा तुलाधर र उपप्राचार्य जीवेश्वरलाल श्रेष्ठले संयुक्त रूपमा क्याटलग विमोचन गरेका थिए ।
क्याटलगले डिजाइनरका सिर्जना, अनुसन्धान, अवधारणा, सामग्री छनोट र प्राविधिक प्रक्रियालाई अभिलेखित गर्दै रनवेमा प्रस्तुत पहिरनलाई दीर्घकालीन पोर्टफोलियोका रूपमा सुरक्षित गरेको छ ।
विद्यार्थीका सिर्जनाको मूल्याङ्कन प्राविधिक शिक्षा, फेसन डिजाइन, वस्त्र प्रविधि, शैक्षिक नेतृत्व र तयारी पोसाक उद्योगका अनुभवी व्यक्तित्वहरूले गरेका थिए । निर्णायक मण्डलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पूर्व उपाध्यक्ष कुलबहादुर बस्नेत, नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी, पटनाका निर्देशक कर्नेल राहुल शर्मा र गार्मेन्ट एसोसिएसन–नेपाल (जीएएन) का अध्यक्ष पशुपति देव पाण्डे थिए ।
पद्मकन्या क्याम्पसकी प्रमुख प्रा. डा. जया प्रधान, फेसन शिक्षाविद् तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, साखा ग्रुपका अध्यक्ष किरण प्रकाश साखा, कार्यक्रम आयोजक तथा सामाजिक एवं सांस्कृतिक अभियन्ता हेमा मानन्धर र बङ्गलादेशका वस्त्र प्रविधि विशेषज्ञ तथा उद्योग कार्यकारी डा. मोहम्मद कमरुज्जमान (डा. कमरुल) पनि निर्णायक मण्डलमा सहभागी थिए ।
तस्बिरहरु: महेशमान प्रधान