विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिवल २०२६ मा नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’ले अन्तर्राष्ट्रिय ध्यान तानिरहँदा नेपाली फेसन र सांस्कृतिक पहिचानले पनि विशेष चर्चा पाएको छ ।
फिल्मको फोटो–कल तथा रेड कार्पेटमा कलाकारहरूले नेपाली मौलिकता झल्किने विशेष डिजाइनका पहिरन प्रस्तुत गरेका थिए । अभिनेत्री पुष्पा थिङ लामाले फेसन डिजाइनर सोनम सुब्बा लिम्बु द्वारा डिजाइन गरिएको हस्तनिर्मित नेपाली ढाका साडी र चौबन्दी चोली लगाएकी थिइन् । उक्त पहिरनमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको हातले गरिएको कढाइ, मण्डला आर्ट तथा फिल्मलाई सम्मानस्वरूप हात्तीको आकृति समावेश गरिएको थियो । सेतो रंगले शान्तिको प्रतीक बोकेको डिजाइनमा बहुरंगी हस्तकलामार्फत नेपाली समाजको ‘युनिटी इन डाईभर्सीटी’लाई प्रस्तुत गरिएको डिजाइनर सुब्बाले बताए ।
त्यस्तै अभिनेता सञ्जय कुमार गुप्ताले पनि कान्स रेड कार्पेटमा विशेष रूपमा तयार गरिएको कालो टक्सिडोमा आफ्नो उपस्थितिले ध्यान आकर्षित गरे । उक्त कस्टम–मेड ब्ल्याक टक्सिडोमा नेपालको राष्ट्रिय फूल लालीगुराँस र फिल्म एलिफेन्ट इन द फगलाई प्रतिनिधित्व गर्ने हात्तीको कलात्मक डिजाइन समावेश गरिएको थियो । आधुनिक अन्तर्राष्ट्रिय शैलीमा नेपाली सांस्कृतिक तत्व मिसाइएको यो पहिरनले दर्शक र फेसनप्रेमीहरूको ध्यान खिचेको थियो ।
यसैबीच अभिनेत्री एलिस घिमिरेले पनि कान्स रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै डिजाइनर टोलीको विशेष ‘लोटस गाउन’ लगाएर आकर्षक उपस्थिति जनाइन् । कमलको सौन्दर्यबाट प्रेरित उक्त गाउनले नेपाली कला र आधुनिक फेसनको संयोजन प्रस्तुत गरेको थियो । रेड कार्पेटमा उनको लुकले अन्तर्राष्ट्रिय मिडिया र फेसनप्रेमीहरूको समेत ध्यान तानेको बताइएको छ ।
नेपाली ढाका, चौबन्दी चोली, मण्डला कला, लालीगुराँस र हात्तीको प्रतीकलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको यो क्षणलाई नेपाली फेसन उद्योगका लागि गर्वको उपलब्धिका रूपमा हेरिएको छ । साथै, एलिफेन्ट इन द फग मार्फत नेपाली सिनेमा मात्र होइन, नेपाली कला र सांस्कृतिक पहिचानसमेत विश्वसामु उजागर भएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ ।
नेपाली निर्देशक अभिनाश बिक्रम शाहको डेब्यु फिचर फिल्म हो । नेपालको इतिहासमै पहिलो पटक ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट भएको यो फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमालाई नयाँ उचाइ दिएको छ ।