क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना हुने भएको छ। एन्ट फाउन्डेसनले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आगामी नोभेम्बर २८ ९मंसिर १३० गते काठमाडौंको नन्दिकेश्वर बगैँचा नारायण चौरमा कार्यक्रम गर्न लागेको हो।
‘क्यान्सर सचेतनाका लागि सँगै हिँडौँ’ भन्ने नारासहित आयोजना हुन लागेको यो कार्यक्रम छैटौँ संस्करण हो। यसमार्फत क्यान्सरबारे जनचेतना फैलाउने, क्यान्सरलाई जितेकाहरूको साहस र संघर्षको सम्मान गर्ने तथा सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ।
फेसन, खेलकुद, कला र विभिन्न सामुदायिक गतिविधिलाई माध्यम बनाएर क्यान्सर सचेतनाको सन्देश प्रवाह गरिने फाउन्डेसनले जनाएको छ। कार्यक्रममा मोडल, सार्वजनिक व्यक्तित्व, विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
सन् २०२१ मा स्थापना भएको एन्ट फाउन्डेसन स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागिताका क्षेत्रमा काम गर्दै आएको गैरनाफामूलक संस्था हो।
आयोजकका अनुसार यसअघि सम्पन्न पाँच संस्करणले अभियानलाई सीमित सचेतनामूलक कार्यक्रमबाट व्यापक सामुदायिक अभियानका रूपमा विस्तार गर्न सहयोग पुर्याएको छ। अघिल्ला संस्करणमा सयौँ मोडल, सहभागी, सार्वजनिक व्यक्तित्व, संस्था र समर्थकहरू जोडिएका थिए।
यस वर्षको कार्यक्रमले पनि क्यान्सरसम्बन्धी खुला संवाद, सचेतना र सामूहिक सहकार्यलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।