१ सय जना महिलालाई वित्तीय रूपमा स्वतन्त्र र सफल उद्यमी बनाउने ‘सिस्टरहुड १००’ अभियानलाई मुख्य प्राथमिकतामा राख्दै नेपालको चर्चित ब्रान्ड ‘सिस्टरहुड’ ले पोखराको सिर्जनाचोकमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको बालुवाटारस्थित पहिलो सोरुमको सफलतापछि कम्पनीले देशका प्रमुख शहरहरूमा शाखा विस्तार गर्ने दीर्घकालीन रणनीतिअनुरूप उपत्यका बाहिर पहिलोपटक पोखरामा पाइला सारेको हो । कपडा उद्योगमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेकी ब्रान्डकी प्रमुख कार्यकारी अधिकृत एन्जिला श्रेष्ठको नेतृत्वमा सुरु भएको यस अभियानले अनलाइन व्यापार र आधुनिक फेसन प्रणालीमार्फत १ सय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
पोखरा सोरुमको उद्घाटन समारोहमा चर्चित व्यक्तित्वहरू मिस इन्टरनेशल नेपाल २०१७ नीति शाह, अन्तराष्ट्रिय मेकअप आर्टिष्स्ट चिराग शर्मा र सोसियल मिडिया इनफ्लुएन्सर ममता प्रसाइको विशेष उपस्थिति रहेको थियो । समारोहमा सिइओ श्रेष्ठले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य केवल कपडा बिक्री गर्नु मात्र होइन, महिलाहरूलाई आर्थिक स्वावलम्बी बनाउनु र उनीहरूमा आत्मविश्वास भर्नु हो । काठमाडौंपछि पोखरा हाम्रो दोस्रो आउटलेट हो र अब हामी क्रमैसँग देशका अन्य प्रमुख शहरहरूमा पनि सेवा बिस्तार गर्दै धेरैभन्दा धेरै महिलामाझ पुग्नेछौ ।’
‘मेड इन नेपाल’ उत्पादनलाई प्रवद्र्धन गर्दै आएको सिस्टरहुडले हरेक महिलाको शरीरको बनावटलाई सम्मान गर्दै विशेष गरी प्लस–साइज लिनन सेट, वाइड–लेग ट्राउजर, ब्लेजर सेट, को–अर्ड सेटहरू तथा दैनिक प्रयोग हुने डिजाईनमा एकदमै बजेट फ्रेन्डली मूल्यमा कपडाहरु उपलब्ध गराउँदै आएको छ । पोखराको नयाँ शाखा सञ्चालनसँगै स्थानीय फेसनप्रेमी महिलाका लागि गुणस्तरीय र समावेशी पहिरनको नयाँ गन्तव्य बनेको छ सिस्टरहुड ।