कविता खतिवडा
उर्लिएको भोटेकोशी, पहिरोको गर्जन र आँखैअगाडि बगेका घर–बस्तीको दृश्य धेरै बालबालिकाको मनबाट सजिलै मेटिनेछैन । विपत्तिबाट जोगिए पनि उनीहरूको डर उस्तै छ । त्यसैमाथि राहतमा पौष्टिक खानाको अभाव, पढाइ रोकिएको अवस्था र अस्थायी आश्रयको अनिश्चितताले रसुवाका बालबालिकालाई अर्को संकटतर्फ धकेलिरहेको छ । उनीहरूलाई अहिले राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता छ ।
गएको भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेसी हुँदै त्रिशूली तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनायो । भौतिक पूर्वाधार, सडक तथा जलविद्युत् आयोजनामा पुगेको व्यापक क्षतिभन्दा पनि दर्दनाक पक्ष यस विपत्तिबाट मुख्य रूपमा प्रभावित बनेका साना बालबालिकाहरूको अवस्था हो । ठूला प्राकृतिक प्रकोपबाट जोगिएका बालबालिका यतिबेला गास, बास र कपासको चरम अभावका साथै मानसिक आघात, शिक्षामा अवरोध र पोषणहीनताको गम्भीर जोखिमसँग जुधिरहेका छन् ।
जंकफुड र दीर्घकालीन कुपोषणको खतरा
विपत्तिको वर्तमान कठिन स्थितिमा प्रभावित क्षेत्रका बालबालिकामा सूक्ष्म पोषक तत्वको अभाव हुनु स्वाभाविक हो । तर, सरकार तथा सहयोगी संघ–संस्थाहरूले राहतका नाममा तुरुन्तै चाउचाउ, बिस्कुट, कुरमुरे आदि जंकफुडका पोका बाँड्ने गलत परम्परा पुन: दोहोर्याइरहेका छन् ।
भूकम्प वा बाढी–पहिरो आदि विपत्तिको समयमा चाउचाउ र बिस्कुटलाई राहतका रूपमा बाँड्नु भनेको बालबालिकालाई दीर्घकालीन कुपोषणतर्फ धकेल्नु हो । राहत सामग्रीमा यस्ता प्रशोधित र गुणस्तरहीन खानाको प्रयोग निरुत्साहित गरिनुपर्छ ।
स्थानीय पोषक तत्व
राहतमा प्याकेटका पत्रु खाना होइन, हाम्रै वरिपरि सजिलै पाइने र देशभित्रै उपलब्ध हुने फापर, कोदो, जुनेलो, चिउरा, दाल तथा आलु आदि खाद्यपदार्थ पठाउनु आवश्यक छ ।
राहत शिविरहरूमा आगोको जोहो गरेर सजिलै पकाउन सकिने खिचडी, जोगीभात वा टुसा उमारिएका गेडागुडीको झोल खान दिँदा बालबालिकाले स्वाद, तातो र आवश्यक पोषण दुवै प्राप्त गर्छन् ।
गेडागुडीलाई टुसा उमारेर सुकाई बनाइएको पिठोको सुपले बालबालिकामा प्रोटिन र सूक्ष्म पोषक तत्वको कमी हुन दिँदैन ।
विपत्तिको समयमा दाता र स्थानीय निकायले चाउचाउ/बिस्कुट होइन, हाम्रै स्थानीय कृषि उपज किनेर पीडितलाई बाँड्ने नीति लिनुपर्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनुका साथै बालबालिकाको शारीरिक स्वास्थ्य पनि मजबुत बनाउँछ ।
शिक्षा क्षेत्रमा परेको असर र अन्योल
भोटेकोशीको बाढी र पहिरोले रसुवासँगै छिमेकी नुवाकोट र धादिङका १९ भन्दा बढी विद्यालय भवनहरू ध्वस्त वा क्षतिग्रस्त बनाएको छ । जसका कारण १० हजारभन्दा बढी बालबालिकाको नियमित पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । विपत्तिको बेला सडक सम्पर्क र टेलिफोन सेवा अवरुद्ध हुँदा विद्यालय तथा घरबाट विस्थापित भएका कयौं बालबालिकाहरू अझै आफ्ना अभिभावकबाट अलग्गिएका छन् । हाल धेरैजसो बालबालिकालाई अस्थायी आश्रयस्थल वा होल्डिङ सेन्टरमा राखिएको छ, जहाँ न त लेख्ने–पढ्ने वातावरण छ, न त शैक्षिक सामग्री नै उपलब्ध छन् ।
मानसिक स्वास्थ्य र मनोसामाजिक आघात
पहिरोको भीषण गर्जन, उर्लिएको धमिलो नदी र एकाएक घर–गाउँ बगेको दृश्य प्रत्यक्ष देखेका बालबालिका गम्भीर मनोसामाजिक आघातबाट गुज्रिरहेका छन् । उनीहरूमा अस्वाभाविक रूपमा तर्सिने, रातमा तर्सिएर उठ्ने, टोलाएर बस्ने, एक्लै हुन डराउने र पुन: बाढी आउने डरले निद्रा नपर्ने समस्या देखिएका छन् । त्यसैले शिक्षा र स्वास्थ्य निकायहरूले अस्थायी शिविरहरूमा तत्काल खेलकुद, चित्रकला र बालमैत्री वातावरण सिर्जना गरी मनोसामाजिक परामर्शदाता खटाउनु अनिवार्य बनेको छ ।
अबको बाटो
प्रकृतिलाई रोक्न नसकिए पनि प्राकृतिक विपत्तिपछिको मानवीय संकटलाई व्यवस्थापन गर्न सकिन्छ । सञ्चारमाध्यम, स्वास्थ्यकर्मी र नीति–निर्माताहरूले तत्काल आवाज उठाउनुपर्छ । राहतका नाममा बालबालिकालाई जंकफुड दिएर उनीहरूको स्वास्थ्यमाथि खेलबाड गर्नुहँुदैन । स्थानीय स्तरमा उपलब्ध पौष्टिक आहार, सुरक्षित शैक्षिक वातावरण र मनोसामाजिक ढाडस नै अहिलेका रसुवाका बालबालिकाको मुख्य आवश्यकता हो ।
विपद्पछि बालबालिकाहरूमा देखिने मनोसामाजिक आघातलाई व्यवस्थापन गर्न र उनीहरूलाई सामान्य अवस्थामा फर्काउन अभिभावक र शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । बालबालिकाहरू वयस्क जस्तै आफ्ना भावनाहरू स्पष्ट भन्न सक्दैनन्, त्यसैले उनीहरूको व्यवहार बुझेर मनोवैज्ञानिक प्राथमिक उपचार दिनु आवश्यक छ ।
अभिभावकले गर्न सक्ने उपाय
सुरक्षा र ढाडसको अनुभूति दिलाउने
बालबालिकालाई ‘अब हामी सुरक्षित छौं, म तिम्रो साथमा छु’ भनेर निरन्तर आश्वस्त पार्नुहोस् । उनीहरूलाई एक्लै नछाड्नुहोस् ।
भावना व्यक्त गर्न दिने
बालबालिकाहरूले डर, चिन्ता वा रिस व्यक्त गर्दा हप्काउने वा कराउने गर्नुहुँदैन । उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिने र ‘डर लाग्नु स्वाभाविक हो’ भनेर उनीहरूको भावनाको कदर गर्ने ।
दैनिक दिनचर्यामा फर्काउने
विपद्पछि पनि उनीहरूको सुत्ने, खाने र खेल्ने समयलाई सकेसम्म नियमित तालिकामा ल्याउने प्रयास गर्ने । नियमितताले बालबालिकामा सुरक्षाको भावना जगाउँछ ।
सञ्चारमाध्यम र हल्लाबाट टाढा राख्ने
बाढी, पहिरो वा विनाशका कारुणिक दृश्य, भिडियो र डरलाग्दा समाचार उनीहरूलाई धेरै हेर्न वा सुन्न नदिने ।
शारीरिक निकटता र खेलकुद
साना बालबालिकालाई अँगालो हाली काखमा राखेर खेल वा चित्रकलाका माध्यमबाट आफ्ना भावना पोख्न प्रोत्साहन गर्नुपर्छ ।
शिक्षकले कक्षामा गर्न सक्ने उपाय
बालमैत्री वातावरण सिर्जना गर्ने
अस्थायी शिविर वा विद्यालयमा बालबालिकालाई सुरक्षित र रमाइलो महसुस हुने ठाउँ बनाउने ।
कडाइभन्दा लचकता अपनाउने
विपद्लगत्तै पढाइ र परीक्षाको धेरै दबाब नदिने । उनीहरूको ध्यान केन्द्रित नहुन सक्छ वा गृहकार्य गर्न नसक्न सक्छन्, त्यसैले यस्तो बेला धैर्य र लचकता देखाउनुपर्छ ।
सामूहिक गतिविधि र खेलकुद
साथीहरूसँग घुलमिल हुने, गीत गाउने, नाटक, खेलकुद वा चित्र बनाउने जस्ता गतिविधि गराउने, जसले उनीहरूको ध्यान आघातबाट मोड्न सहयोग गर्छ ।
असामान्य व्यवहारको पहिचान
कुनै बच्चा धेरै टोलाउने, लगातार रोइरहने, एक्लै बस्न खोज्ने, वा डराएर अत्यधिक आक्रामक हुन्छ भने उसको विशेष ख्याल गर्ने र आवश्यक परे मनोसामाजिक परामर्शदातासँग सम्पर्क गराउने ।
अनुभूति साटासाट गर्ने मौका दिने
इच्छुक बालबालिकालाई आफ्ना अनुभव वा डर आपसमा बाँड्न दिने, तर कसैलाई पनि जबरजस्ती बोल्न वा विपद्को घटना दोहोर्याएर भन्न नलगाउने ।
विशेष ध्यान दिनुपर्ने कुरा
विपद्को केही हप्तापछि पनि बालबालिकामा बढी डर, ओछ्यानमा पिसाब फेर्ने, रातमा ऐठन हुने वा दैनिक काममा बाधा पुग्ने खालका लक्षण देखिएमा तुरुन्तै बालरोग विशेषज्ञ वा मनोसामाजिक विशेषज्ञको सहयोग लिनुपर्छ ।
(लेखक भरतपुरस्थित मनकामना अस्पतालकी मेट्रोन हुन् ।)