आरती पौडेल
सानैदेखि भजन गायनमा लागेकी रोशा फुयाँल अहिले चर्चामा छिन् । अहिले उनले गाएका भजनमार्फत नयाँ पुस्तासँग जोडिरहेकी छिन् । रोशासँग उनको सांगीतिक यात्रा, भजनप्रतिको लगाव र आगामी योजनाका बारेमा गरिएको कुराकानी :
सामाजिक सञ्जालमा तपाईंको स्वर र भजनहरूको निकै चर्चा भइरहेको छ । सबैले भजनलाई धेरै मन पराउँदा कस्तो महसुस भएको छ ?
सामाजिक सञ्जालबाट सोचेभन्दा धेरै माया दिनुभएको छ । उहाँहरूको माया, हौसला र भजनप्रतिको प्रेम देखेर निकै खुसी लागेको छ । टिकटक र फेसबुकमा मैले गाएका भजन भिडियोमा सेयर गर्नेदेखि लिएर धेरैले रिल्स बनाइरहनुभएको छ । यसले मलाई मात्र नभई हाम्रो ब्यान्डलाई पनि थप उत्साहित बनाएको छ । भिडियो चर्चामा आएसँगै विभिन्न अन्तर्वार्ताका लागि बोलाउनेहरू पनि बढ्नुभएको छ ।
भजन गायनप्रति कसरी रुचि बढ्यो ?
सानैदेखि रुचि थियो । हाम्रो परिवार श्री वैष्णव परम्परासँग जोडिएकाले घरमा सानैदेखि भजन बजिरहन्थ्यो । मेरो दाइ रोशन फुयाँल पनि संगीतमा सानैदेखि रुचि राख्नुहुन्थ्यो । उहाँ संगीत कक्षाबाट आएर घरमा अभ्यास गर्दा म पनि सँगै बसेर गुनगुनाउँथेंं । घरमा बज्ने भजन र दाइको संगीत अभ्यासले चार वर्षको उमेरदेखि नै गायनमा रुचि बढाएको हो ।
संगीतको औपचारिक प्रशिक्षण कहिलेदेखि सुरु गर्नुभएको थियो ?
सानैमा सुरुका दिनहरूमा हप्ताको एक दिन संगीत सिक्थें । १० वर्षको उमेरदेखि औपचारिक प्रशिक्षण लिन थालें । सनलाइट म्युजिक स्कुलमा हार्मोनियम, राग र बन्दिसको अभ्यास गरें । त्यसपछि शास्त्रीय संगीतको अध्ययनलाई निरन्तरता दिँदै आएकी छु । अहिले पनि बिहान र बेलुका नियमित रियाज गर्छु ।
तपार्इं भर्खर मात्र भजन गायनमा लागेर सामाजिक सञ्जालमा चर्चामा आउनुभएको होइन ? सारेगमप लिटिल च्याम्प्स नेपालको पहिलो सिजनमा समेत फस्ट रनरअप भएको अनुभव छ, त्यसलाई कसरी हेर्नुहुन्छ ?
म १४ वर्षको उमेरमा कार्यक्रममा छनोट भएर काठमाडौं आएकी थिएँ । त्यतिबेला आफूले गाएको गीत टिभीमा देखिन्छ भन्ने खुसीले कार्यक्रममा भाग लिएकी थिएँ । फस्ट रनरअप नै हुन्छु भनेर सोचेकी थिइन । दर्शकले गरेको मायाका कारण सोचेभन्दा धेरै सफलता पाउँदा निकै खुसी लागेको थियो । उक्त कार्यक्रमले मलाई दर्शकमाझ चिनाउनुका साथै संगीतलाई अध्ययन र करियरको बाटो बनाउन मलाई प्रेरित गरेको हो भन्ने लाग्छ ।
अहिले आफ्नो संगीत यात्रालाई कसरी अगाडि बढाइरहनुभएको छ ?
काठमाडौंको ललितकला क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी छु । संगीतलाई नै आफ्नो भविष्यको बाटो मानेर अगाडि बढिरहेकी छु । अहिलेसम्म २० भन्दा बढी गीतमा स्वर दिएकी छु भने ३० देखि ४० वटा भजनको कभर गीत गाएकी छु । दुई वर्षदेखि श्री रामचन्द्र मन्दिरमा साँझको आरतीमा पनि भजन गाउँदै आइरहेकी छु ।
भजनलाई नयाँ पुस्ताले कसरी बुझ्नुपर्छ ?
कसैले पनि भजनलाई मनोरञ्जनका रूपमा मात्र लिनु हुँदैन । शान्त भएर त्यसको शब्द, संगीत र भावमा डुबेर सुन्नुपर्छ । मेरा लागि भजन आफैंलाई आनन्दित बनाउने र अरूलाई पनि शान्तिको अनुभूति गराउने माध्यम हो । त्यसैले भजनको भाव बुझ्नुपर्छ ।
तपाईंहरूले मिलेर खोलेको ‘भक्ति सुधा ब्यान्ड’ को मुख्य उद्देश्य के हो ?
युवापुस्तामा भजनप्रतिको रुचि बढिरहेको देखेपछि नै हामीले भक्ति सुधा ब्यान्ड बनाएका हौं । भजनलाई नयाँ पुस्तासम्म पुर्याउने, छुट्टै सांगीतिक पहिचान दिने र यसको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो । अहिले हामी ६ जना मिलेर विभिन्न कार्यक्रममा भजन प्रस्तुत गर्दै आएका छौं ।
सांगीतिक क्षेत्रमा सुरुवाती दिनमा कस्ता चुनौती भोग्नुभयो ?
केही गीत रेकर्ड गरे पनि सार्वजनिक भएका थिएनन् । परिश्रमअनुसार प्रतिफल नपाउँदा दु:ख लाग्थ्यो । कलाकारको नाम नचल्दासम्म पारिश्रमिक पाउन पनि कठिन हुने रहेछ जस्तो महसुस भएको थियो । तर जति दु:ख आए पनि संगीतलाई निरन्तरता दिन भने छोडेनांै ।
आगामी सांगीतिक यात्रालाई कसरी अगाडि बढाउने सोच छ ?
भजनका विषयमा अझ धेरै कुरा सिक्न र मनन गर्न बाँकी छ । जति ध्यान र साधना गर्दै गयो, त्यति नै अगाडि बढ्न सकिन्छ भन्ने लाग्छ । आगामी दिनमा पनि भजनको मौलिकता जोगाउँदै आधुनिक पुस्तासँग जोड्ने र श्रोताले त्यसको शब्द, संगीत तथा भावमा रमाउन सक्ने वातावरण बनाउने चाहना छ । कहिल्यै पनि अश्लील र असभ्य शब्द भएका गीत वा भजन नगाउने मेरो निर्णय छ ।