Successfully Copied

तीज : आस्था कि उत्सव ?

तीज बदलिएको छ । गीत फेरिएका छन् । मनाउने शैली नौलो देखिन्छ । पुस्ताको सोचमा फेरबदल आएको छ । तर यसको मूल भावना महिलाबीचको आत्मीयता, भेटघाट, अभिव्यक्ति, खुसी र सांस्कृतिक पहिचान भने अझै बाँकी छ ।

आँसु र वेदनाका भाका गाउँदै माइतीको आँगनमा दु:ख–सुख साटासाट गरिने तीज आज पार्टी प्यालेसका भव्य कार्यक्रममा गुञ्जिन थालेको छ । कुनै समय चेलीबेटीलाई माइती बोलाएर मीठो–मसिनो खुवाउने, आराम दिने र शिवको आराधना गर्दै कठोर व्रत बसाउने परम्परामा सीमाबद्ध यो पर्वको स्वरूप अहिले निकै फेरिएको छ ।
तीज आउन हप्ताअघिदेखि नै रातो साडी, हरिया चुरा र मेहेन्दीमा सजिएका महिलाहरूको जमघट र नाचगानले काठमाडौंका अधिकांश पार्टी प्यालेस गुञ्जायमान हुन थालेका छन् । एकातिर धार्मिक आस्था र परम्परा जोगाउने प्रयास जारी छ भने अर्कोतिर व्रतभन्दा स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने आधुनिक चेतनाले तीजको सांस्कृतिक सान्दर्भिकतामाथि नयाँ सामाजिक बहस सिर्जना गरिदिएको छ ।
तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व हो । समयसँगै तीज मनाउने शैली, गीत–संगीत, खानपान र सामाजिक सोचमा पनि धेरै परिवर्तन आएको छ । कुनै समय परिवार र माइतीसँगको भेटघाट, दु:ख–सुख साटासाट र धार्मिक आस्थामा केन्द्रित तीज अहिले कार्यक्रम, दर खाने जमघट, नाचगान र सामाजिक उत्सवका रूपमा पनि विस्तार हुँदै गएको छ ।
माइतीको आँगनदेखि पार्टी प्यालेससम्म
परम्परागत तीजमा चेलीबेटीलाई विशेष महत्व दिइन्थ्यो । माइतीले चेलीबेटीलाई घरमा बोलाएर मीठो–मसिनो तथा पौष्टिक खाना खुवाउने, आराम गर्ने वातावरण मिलाउने र धार्मिक गतिविधिमा सहभागी गराउने चलन थियो । शिव मन्दिर जाने, पूजापाठ गर्ने तथा भजन–कीर्तन गर्ने तीजका प्रमुख गतिविधि मानिन्थे ।
संस्कृतिविद् डा. निर्मला पोखरेलका अनुसार तीजको मूल भाव धार्मिक आस्था र चेलीबेटीप्रतिको सम्मानसँग जोडिएको थियो । तर अहिले तीजको धार्मिक पक्षसँगै मनोरञ्जनले पनि ठूलो स्थान लिन थालेको छ ।
‘समयानुसार अलिकति परिवर्तन त सबै कुरामा हुन्छ । स्रोत र साधनमा परिवर्तन हुनेबित्तिकै सबै चीजलाई त्यसले असर गर्छ,’ डा. पोखरेल भन्छिन्, ‘तर मौलिकता भन्ने कुरा छोडिन्छ कि भन्ने अलिकति धरातलमै परेको महसुस हुन्छ ।’
उनका अनुसार आधुनिक स्रोत–साधन र प्रविधिको सहज उपलब्धताले तीजलाई नयाँ शैलीमा मनाउने अवसर दिएको छ । तर मनोरञ्जनलाई मात्र बढी प्राथमिकता दिँदा मौलिकता कमजोर हुन सक्ने जोखिम पनि उत्तिकै छ ।
‘मनोरञ्जनको पक्षलाई बढी प्राथमिकता दिने र नयाँ स्रोत र साधनहरू पनि सजिलै उपलब्ध भएकाले मौलिकतामा असर गर्दै जान सक्छ । सतर्कता अपनाइएन भने भविष्यमा यो मौलिकता नै हराउँदै जान सक्छ भन्ने सम्भावना पनि देखिन्छ,’ उनी भन्छिन् । 
धार्मिक भजनदेखि पीडाको गीतसम्म
तीजमा आएको परिवर्तन गीत–संगीतमा पनि स्पष्ट देखिन्छ । डा. पोखरेलका अनुसार केही दशकअघिसम्म तीजका गीतमा धार्मिक तथा पौराणिक विषयवस्तुलाई प्राथमिकता दिइन्थ्यो । रामायण र महाभारतका पात्रका सकारात्मक पक्ष तथा उनीहरूको गाथा वर्णन गर्दै भजन–कीर्तन गर्ने चलन थियो ।
‘पहिला पीडाको मात्रै हुँदैन थियो । धार्मिक कथनहरूका बारेमा भजन–कीर्तन गरिन्थ्यो । आजभन्दा केही दशक अगाडिसम्म धार्मिक क्रियाकलापमा आधारित भएर भजनहरू गाइन्थे,’ उनी भन्छिन् ।
महिलाको पर्व भएकाले उनीहरूका दु:ख, पीडा र भोगाइ पनि गीतमा समेटिन्थे । समयक्रममा भने तीजका गीत महिलाको सामाजिक तथा पारिवारिक पीडा व्यक्त गर्ने माध्यम बने ।
सासू–बुहारीको सम्बन्ध, श्रीमान्को व्यवहार, गरिबी, माइतीको सम्झना र सामाजिक विभेदका कथा तीज गीतमा आउन थाले । वर्षभरि दबिएका भावनालाई गीतमार्फत बाहिर ल्याउने अवसर महिलाले पाए ।
७० वर्षीया सरस्वती अधिकारी आफ्ना दिन सम्झिँदै भन्छिन्, ‘हाम्रो पालामा महिलाले खुला रूपमा आफ्नो कुरा भन्न सक्दैनथे । तीजका गीत नै मनको पीडा पोख्ने माध्यम हुन्थे ।’
उनका लागि तीज भनेको माइती, दिदीबहिनी र आत्मीय सम्बन्धको पर्व थियो । ‘हाम्रो पालामा तीज भनेको माइती जाने, दिदीबहिनी भेट्ने, दु:ख–सुखका कुरा गर्ने र तीजका गीत गाउने समय थियो । अहिले जस्तो पार्टी प्यालेसमा ठूलो कार्यक्रम गर्ने चलन थिएन,’ उनी सम्झिन्छिन् ।

पीडाबाट प्रतिरोधको आवाजसम्म
समयसँगै तीजका गीतको विषयवस्तु पनि बदलिँदै गएको छ । महिलाका पीडाबाट सुरु भएको अभिव्यक्ति अहिले शिक्षा, आत्मनिर्भरता, वैदेशिक रोजगार, लैंगिक समानता, महिला अधिकार र स्वतन्त्रतासम्म पुगेको छ ।
महिलाका लागि तीज अब केवल मनको पीडा पोख्ने अवसर मात्र होइन, आफ्नो अधिकार र सामाजिक अवस्थाबारे प्रश्न उठाउने माध्यमसमेत बनेको छ ।
डा. पोखरेल भने पछिल्लो परिवर्तनको अर्को पाटोतर्फ पनि ध्यान दिनुपर्ने बताउँछिन् । ‘महिलाको पर्व भएकाले नारीका अलिकति व्यथा पनि हुन्थे । तर केही दशकअघि पीडालाई बढी प्राथमिकता दियो भने अहिले फेरि उच्छृंखलतातर्फ बढी उन्मुख भएको देखिन्छ,’ उनी भन्छिन् ।
उनका अनुसार समयानुसार परिवर्तन आवश्यक भए पनि मनोरञ्जनका नाममा तीजको मौलिकता नै हराउने अवस्था आउन दिनु हुँदैन ।
नयाँ पुस्ताको तीज : व्रतभन्दा आत्मनिर्ण
२० देखि ३५ वर्ष उमेर समूहका महिलाका लागि तीज केवल व्रत र परम्परामा सीमित छैन । नयाँ पुस्ताले तीजलाई आफ्नो संस्कृति र पहिचानसँग जोडिएको पर्वका रूपमा लिँदै आधुनिक शैलीमा मनाउन थालेको छ ।
२२ वर्षीया निष्मा सुब्बाका लागि तीज रमाइलो मात्र होइन, आफ्नो संस्कृति सम्झिने अवसर पनि हो । ‘मेरो लागि तीज भनेको परिवार र साथीभाइसँग रमाइलो गर्ने, आफ्नो संस्कृति सम्झिने र महिलाहरू एक ठाउँमा भेला हुने अवसर हो’ उनी भन्छिन् ।
कतिपय युवा महिला धार्मिक आस्थाका कारण व्रत बस्छन् भने कतिपय स्वास्थ्य, व्यक्तिगत रुचि वा फरक सोचका कारण व्रत नबस्ने गरेका छन् । उनीहरूका लागि दर, गीत–संगीत, नाचगान, रातो पहिरन र साथीभाइसँगको जमघट तीजका आकर्षण बनेका छन् ।
तर नयाँ पुस्ता तीजलाई देखावटी र खर्चिलो बनाउने पक्षमा भने छैन । त्यो पुस्ता सहज, समानतामूलक र संस्कृतिमैत्री तीजको पक्षमा छ ।
व्रत : आस्था कि व्यक्तिगत छनोट ?
तीजसँग जोडिएको सबैभन्दा ठूलो बहस व्रतलाई लिएर छ । परम्परागत मान्यतानुसार महिलाले श्रीमान्को दीर्घायु तथा पारिवारिक सुख–समृद्धिका लागि निर्जला व्रत बस्ने चलन छ । तर पछिल्लो समय धेरै महिलाले व्रतको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै यसलाई व्यक्तिगत छनोटका रूपमा हेर्न थालेका छन् ।
काठमाडौंकी २९ वर्षीया बैंक कर्मचारी अञ्जु श्रेष्ठ भन्छिन्, ‘म तीज मनाउँछु, पूजा पनि गर्छु । तर निर्जला व्रत बस्दिन । मेरो स्वास्थ्य पनि महत्वपूर्ण छ ।’
उनका अनुसार आस्था व्यक्तिगत विषय हो । त्यसैले व्रत बस्ने वा नबस्ने निर्णय पनि महिलाको आफ्नै हुनुपर्छ ।
तर भक्तपुरकी ५८ वर्षीया मीना सुवाल भने व्रतलाई आस्थासँग जोड्छिन् । ‘कसैले बस्नुपर्छ भनेर दबाब दिनु हुँदैन, तर श्रद्धाले बस्नेहरूको विश्वासको पनि सम्मान हुनुपर्छ’ उनी भन्छिन् ।
पछिल्लो समयको तीजमा यही दुई धार देखिन्छन् । एकातिर परम्परा र आस्था जोगाउने चाहना, अर्कोतिर व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको माग ।
विवाहित महिलाको पर्वबाट सबैको उत्सव
कुनै समय तीजलाई मुख्यत: विवाहित महिलाको पर्वका रूपमा बुझिन्थ्यो । अविवाहित युवतीले राम्रो श्रीमान् पाउने कामनासहित व्रत बस्ने र विवाहित महिलाले पति तथा परिवारको सुखका लागि पूजा गर्ने चलन थियो ।
तर अहिले तीजको दायरा फराकिलो भएको छ । अविवाहित युवती, एकल महिला, विधवा, सम्बन्धविच्छेद गरेका महिला तथा विदेशमा रहेका नेपाली महिलाले पनि आ–आफ्नै तरिकाले तीज मनाउन थालेका छन् ।
यसले तीजलाई महिलाको वैवाहिक अवस्थाभन्दा माथि उठाएर साझा सांस्कृतिक पर्वका रूपमा विकास गरिरहेको देखिन्छ ।

सामाजिक सञ्जालको तीज
तीजको नयाँ रूप निर्माणमा सामाजिक सञ्जालको भूमिका पनि कम छैन । फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमा तीजका गीत, नृत्य, फोटोसुट र भिडियो हप्तौंअघिदेखि सार्वजनिक हुन थाल्छन् । तीज अब घरको आँगन वा मन्दिरमा मात्र सीमित छैन, डिजिटल संसारमा पनि उत्तिकै सक्रिय छ ।
तर सामाजिक सञ्जालले तीजलाई प्रदर्शनमुखी बनाउँदै लगेको आलोचना पनि हुने गरेको छ । महँगा कपडा, गहना, भव्य कार्यक्रम र फोटोसुटले पर्वको मौलिकतालाई ओझेलमा पार्दै गएको चिन्ता कतिपयको छ ।
सामाखुसीकी गृहिणी सविना तामाङ भन्छिन्, ‘पहिले भेटघाट र रमाइलो मुख्य थियो । अहिले कहिलेकाहीँ फोटो खिच्ने र देखाउने प्रतिस्पर्धा जस्तो लाग्छ ।’
तीजको बदलिँदो स्वरूपमा पार्टी प्यालेस, महिला समूह तथा विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रमको भूमिका पनि महत्वपूर्ण छ ।
पहिले तीज मुख्यत: घर, माइती र आफन्तबीच सीमित थियो । अहिले महिलाहरूलाई एकै ठाउँमा भेला गराउने, मनोरञ्जन दिने, प्रतिभा प्रस्तुत गर्ने र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा पनि तीजका कार्यक्रम आयोजना हुन थालेका छन् ।
पार्टी प्यालेस तथा महिला समूहले आयोजना गर्ने कार्यक्रममा दर, सांस्कृतिक कार्यक्रम, तीज गीत, नृत्य, सम्मान तथा मनोरञ्जनात्मक गतिविधि समावेश हुने गरेका छन् ।
एक कार्यक्रम आयोजक भन्छन्, ‘पहिले तीज घर–परिवारमा बढी केन्द्रित थियो । अहिले महिलाहरू सामूहिक रूपमा भेला भएर रमाइलो गर्ने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि बनेको छ ।’
तर आयोजकहरू पनि तीजलाई भड्किलो फेसन, महँगो दर र देखावटी प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताउँछन् । आधुनिक कार्यक्रमसँगै तीजको मौलिक संस्कृति, परम्परा र सामाजिक सन्देशलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ ।
महिला स्वतन्त्रताको मञ्च बन्दै तीज
आजका तीज कार्यक्रममा केवल नाचगान हुँदैन । लैगिक हिंसा, आर्थिक आत्मनिर्भरता, समान अवसर, महिला नेतृत्व तथा महिलाका अधिकारका विषय पनि उठ्न थालेका छन् ।
धेरै महिला समूहले तीजलाई सामाजिक चेतना फैलाउने अवसरका रूपमा प्रयोग गरिरहेका छन् । यसले तीजलाई धार्मिक सीमाभन्दा बाहिर निकालेर महिलाका विषयमा संवाद गर्ने साझा मञ्चका रूपमा समेत विकास गरिरहेको छ ।
यही कारणले तीजका गीत र कार्यक्रम समाजमा आएको परिवर्तनको ऐना पनि बनेका छन् । हिजोका गीतमा दबिएको पीडा थियो भने आजका गीतमा प्रश्न गर्ने, अधिकार खोज्ने र आफ्नो पहिचान स्थापित गर्ने स्वर सुनिन्छ ।
बदलिँदो नेपाली समाजसँगै तीज पनि बदलिँदै छ । माइतीको आँगनदेखि पार्टी प्यालेससम्म, भजन–कीर्तनदेखि आधुनिक गीतसम्म, पीडाको अभिव्यक्तिदेखि महिला अधिकार र स्वतन्त्रताको आवाजसम्म तीजले लामो यात्रा तय गरेको छ ।
युवा पुस्ताका लागि तीज आधुनिकता र स्वतन्त्रताको उत्सव बन्दै गएको छ । अघिल्लो पुस्ताका लागि यो माइती, सम्झना र परम्परासँग जोडिएको भावनात्मक पर्व हो ।
तीज बदलिएको छ । गीत फेरिएका छन् । मनाउने शैली फेरिएको छ । पुस्ताको सोच बदलिएको छ । तर यसको मूल भावना महिलाबीचको आत्मीयता, भेटघाट, अभिव्यक्ति, खुसी र सांस्कृतिक पहिचान भने अझै बाँकी छ ।
आधुनिकता र मनोरञ्जनसँगै यसको मौलिक धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई जोगाउन सकिएन भने तीजको परम्परागत पहिचान कमजोर हुन सक्छ । त्यसैले तीजलाई पुरानै ढाँचामा रोक्नु हुँदैन, मौलिकता जोगाउँदै समयानुसार अघि बढाउनुपर्छ । 

 Image