Successfully Copied


बुवासँग निकट भएर सिकेका ज्ञानका कुरा, व्यवहारका कुरा, जीवन र जगत्का कुरा कहिल्यै भुल्न सकिन्न । जतिबेला बुवा हुनुहुन्न, त्यतिबेला बुवाबाट सिकेका यिनै कुरा मार्गदर्शन बन्छन् ।
नेपाली समाजमा एउटा प्रचलित भनाइ छ, ‘आमाको प्यारो छोरा, बुवाकी प्यारी छोरी ।’
यो भनाइमा कति सत्यता छ ? यो बेग्लै कुरा भयो । तर, धेरैजसो छोरी बुवाको मार्गदर्शनमा हिँडेको पाइन्छ । भावनात्मक रूपले मात्र होइन, काम वा व्यवहारले पनि बुवा र छोरीलाई नजिक बनाइदिन्छ ।
किनभने उमेर बढेसँगै छोरीहरू व्यावहारिक हुँदै जान्छन् भने उमेर ढल्किएसँगै बुवाहरू भावनात्मक हुँदै जान्छन् । यही व्यवहार र भावनाको तालमेलले बुवा र छोरीलाई एक–अर्काको साथी बनाइदिन्छ ।
यसरी बुवासँग निकट भएर सिकेका कति ज्ञानका कुरा, कति व्यवहारका कुरा, कति जीवनका कुरा, कति जगत्का कुरा उनीहरूले कहिल्यै भुल्दैनन् । जतिबेला उनीहरूसँग बुवा हुनुहुन्न, त्यतिबेला बुवाबाट सिकेका यिनै कुरा मार्गदर्शन बन्छन् । यहाँ यस्तै छोरीहरूको कथा समेटिएको छ, जसले बुवाबाट अमूल्य ज्ञान लिए र व्यावहारिक जीवनमा त्यसलाई प्रयोग गरे ।
बुवाले सिकाएको आत्मविश्वास
पत्रकार बबिता बस्नेतको बुवासँगको सम्बन्ध
खोटाङको सालम्बुमा जन्मिएर हुर्किएकी पत्रकार बबिता बस्नेतको बाल्यकाल बुवाको प्रतीक्षासँग जोडिएको छ । पञ्चायत राजनीतिमा सक्रिय भएकाले उनका बुवा मोहनबहादुर बस्नेत प्राय: घरमा हुनुहुन्नथ्यो । कहिले राजनीतिक कामका लागि दिक्तेल, कहिले भोजपुरको दिंगलास्थित खेती र धनसार । बुवा घर फर्किने दिन भने घरमा छुट्टै खुसी छाउँथ्यो ।
बबिताका लागि बुवासँग जोडिएको सबैभन्दा सुन्दर बाल्यकालीन सम्झना घोडा हो । बुवाले चढ्ने घोडाको वरिपरि उनी सधैं झुम्मिरहन्थिन् । बुवाले नै उनलाई सानैमा घोडा चढ्न सिकाउनुभयो । उकालो–ओरालो जस्तोसुकै ठाउँमा पनि सहजै घोडा चढ्न सक्ने सीप उनको जीवनमा बुवाले दिएको पहिलो उपहारजस्तै बन्यो ।
‘सानो छँदा बुवा मेरो आइडल हुनुहुन्थ्यो,’ बबिता सम्झिन्छिन्, ‘बुवाजस्तै घोडा चढेर म पनि कहिले कहाँ, कहिले कहाँ जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’
आमाले घरायसी काम सिकाउन खोज्दा खासै रुचि नदेखाउने बबितालाई बुवाले भनेका कुरा गर्न भने निकै मन लाग्थ्यो । बुवाको बोली उनका लागि अकाट्यजस्तै थियो । त्यतिबेलाका बुवाहरूले सन्तानलाई आजको जस्तो काखमा बोकेर हुर्काउने चलन थिएन । त्यसैले बुवाको काखमा बसेको वा हात समातेर हिँडेको सम्झना उनीसँग छैन । तर बुवाले उनलाई दिएको अर्को अमूल्य उपहार थियो, रेडियो सुन्ने बानी ।
त्यतिबेला गाउँमा सबैको घरमा रेडियो थिएन । बिहान सात बजेको समाचार सुन्न गाउँका काका–बडा र दाइहरू पनि उनीहरूको घरमा जम्मा हुन्थे । आँगनमा बसेर समाचार सुन्ने त्यो दृश्य उनको स्मृतिमा अझै ताजा छ । अल इन्डिया रेडियो कसरी लगाउने, बीबीसी कुन फ्रिक्वेन्सीमा सुन्ने भन्ने पनि उनले बुवाबाटै सिकिन् । कहिलेकाहीँ रेडियोको ब्याट्री सकिँदा दिउँसो घाममा सुकाएर बेलुका फेरि समाचार सुनेको सम्झना पनि उनीसँग छ ।
त्यो रेडियोसँगै हुर्किएको बानीले बबितालाई देश–विदेशका घटनाप्रति चासो राख्ने बनायो । पछि यही बानी उनलाई सूचना र समाचारको संसारसँग जोडिन महत्वपूर्ण आधार बन्यो ।
छोरीलाई पढाउनुपर्छ भन्ने सोच राख्ने बुवा मोहनबहादुरकै पहलमा गाउँमा जलेश्वरी प्राथमिक विद्यालय स्थापना भयो । त्यतिबेला छोरी पढाउने चलन निकै कम थियो । तर उनले आफ्नी छोरीलाई मात्र होइन, गाउँका अन्य छोरीलाई पनि पढ्न प्रेरित गरे ।
एसएलसीपछि काठमाडौंमा पढ्न ल्याउने जिम्मेवारी पनि बुवाले नै लिनुभयो । आमाको चाहनालाई बुवाले पूरा गरिदिनुभयो । उनका लागि बुवाले दिएको सबैभन्दा ठूलो शिक्षा नै आफ्नो खुट्टामा उभिनुपर्छ, आफैंले गरेर खानुपर्छ भन्ने हो । उनी भन्छिन्, ‘अहिले बुवा ८४ वर्षको हुनुभयो । तिमीलाई केही पर्‍यो भने हामी छौं भन्नुहुन्छ ।’ जीवनका कठिन मोडमा पनि बुवाको यो वाक्यले उनलाई सधैं बल दिन्छ ।
विदेशबाट फर्किँदा होस् वा जिल्ला जाँदा, उनको पहिलो फोन प्राय: बुवाकै आउँछ, ‘तिमी पुग्यौ ? आइपुग्यौ ?’
८१ वर्षको उमेरमा बुवालाई ब्रेन स्ट्रोक भयो । एक वर्ष कठिन रह्यो । अहिले विस्तारै हिँड्न सक्ने हुनुभएको छ, हराएको स्मृति पनि फर्किएको छ । उनी बाहिर निस्कँदा अझै बुवाआमालाई आफू कहाँ जाँदैछु भनेर जानकारी दिएर निस्किन्छिन् । अनि हरेक दिन सुन्ने बुवाको आवाज उस्तै हुन्छ, ‘बेलुका चाँडै आऊ ।’
बुवाआमाकी माइली सन्तान बबितालाई बुवाले सानैदेखि ‘माइली’ वा ‘माइलो’ भनेर बोलाउनुहुन्थ्यो । सायद त्यतिबेला छोरीको पनि आफ्नै संसार, आफ्नै सपना र आफ्नै बाटो हुन्छ भन्ने सोच कम थियो । त्यसैले बुवाले उनलाई छोरालाई जस्तै व्यवहार गर्नुभयो । उनी भन्छिन्, ‘घोडा चढ्न सिकाउनुभयो, रेडियोसँगै हुर्काउनुभयो, पढ्न प्रेरित गर्नुभयो र अन्तत: आफ्नै खुट्टामा उभिन सिकाउनुभयो ।’
उनका लागि बुवाले दिएको सबैभन्दा ठूलो उपहार सायद यही हो, जीवनको उकालो–ओरालोमा आफ्नै लगाम समातेर अघि बढ्ने आत्मविश्वास ।‘सधैं सत्यको पक्षमा’

अभिनेतृ लक्ष्मी बर्देवाको बुवासँगको सम्बन्ध
साधारण पारिवारिक पृष्ठभूमिबाट संघर्ष गर्दै अघि बढेका बुवाको व्यक्तित्वले अभिनेतृ लक्ष्मी बर्देवालाई सानैदेखि प्रभावित गर्‍यो । बुवाको व्यवहार, संघर्ष, सोच र जीवनप्रतिको दृष्टिकोणले उनको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्‍यो । ‘मैले त बुवालाई बाल्यकालदेखि नै आइडल बनाएको,’ उनी भन्छिन् ।
उनलाई बुवाको सबैभन्दा मनपर्ने पक्ष भनेको सिधा, स्पष्ट र न्यायको पक्षमा उभिने हो । ‘बुवा एकदम असल हुनुहुन्छ । जे ठीक हो, त्यसलाई ठीक हो भन्नुहुन्छ । घरभित्र कसैलाई केही भयो भने बुवालाई बोलाउने, उहाँको कुरा सबैले एकदमै ‘लुकअप टु’ गर्ने,’ उनी सुनाउँछिन् ।
आफ्नो मान्छे भएकै कारण कसैको पक्ष नलिने बुवाको यही स्वभाव लक्ष्मीलाई सबैभन्दा बढी मनपर्छ । भन्छिन्, ‘आफ्नो मान्छे, अर्काको मान्छे भनेर हुँदैन । राइट इज अलवेज राइट । सत्यकै साथ दिनुपर्छ । गल्ती आफूबाट पनि हुन्छ । जे ठीक हो, त्यही ठीकको पक्ष लिनुपर्छ भन्ने कुरा बुवाबाट ममा ठ्याक्कै आएको जस्तो लाग्छ ।’
‘हामी सानो हुँदा पनि बुवाले कहिल्यै हामीलाई पिट्ने, हात हाल्ने गर्नुभएन । एकदमै प्रोग्रेसिभ कुरा गर्नुहुन्थ्यो, एकदम पोजिटिभ कुरा गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् । त्यही प्रगतिशील र सकारात्मक सोच बुवाको उनलाई मनपर्छ ।
सामान्य आर्थिक अवस्थाको परिवार भएकाले बाल्यकालमा हरेक इच्छा सहजै पूरा हुने अवस्था थिएन । उनका बुवाआमाले गरेको संघर्ष उनले नजिकबाट देखेकी छन् । त्यही संघर्षबीचको एउटा सानो घटना भने उनको स्मृतिमा आजसम्म ताजा छ ।
उनी करिब ११ वर्षकी थिइन् । जन्मदिनमा केक काट्ने इच्छा व्यक्त गरिन् । त्यो समयमा जन्मदिनमा केक काट्नु उनीहरूको परिवारमा निकै दुर्लभ कुरा थियो । ‘मैले एकपटक जन्मदिनमा केक काट्ने भनेकी थिएँ । त्यतिबेला केक अर्डर दिनुपर्छ भन्ने पनि थाहा नपाएर होला केक पाइएन । बुवाले पेस्ट्रीहरू जोडी केकजस्तो बनाएर ल्याइदिनुभएको थियो,’ उनी भन्छिन् ।
उनको र बुवाको सम्बन्ध साथी जस्तै छ । ‘हामी त एकदम साथी–साथी जस्तै हो । दु:ख–सुखका कुरा हुन्छन् । बुवाका लागि म एकदम मिल्ने साथी भएजस्तो लाग्छ,’ उनी भन्छिन् । त्यही आत्मीयताका कारण कठिन अवस्थामा उनी बुवालाई सम्झन्छिन् । जीवनमा कहिलेकाहीँ डाउन फिल हुँदा फोन गर्छिन् । बुवाको जवाफ प्राय: एउटै हुन्छ, यो समय पनि बितेर जान्छ । ‘तिम्रो उमेर कति बाँकी छ, तिमीले गर्न सक्छ्यौ भन्नुहुन्छ,’ उनी भन्छिन् । बुवाको त्यो विश्वास नै लक्ष्मीको लागि ठूलो हौसला हो ।
बुवाले सधैं उनलाई आत्मनिर्भर हुनुपर्छ भन्नुभयो । अरूको सहाराको अपेक्षा राख्नुभन्दा आफ्नो क्षमता र निर्णयमा विश्वास गर्नुपर्छ भन्ने बुवाको सोच उनले आत्मसात् गरेकी छन् ।
करियरको सुरुवाती चरणमा बुवाले अपेक्षित साथ नदिएको सम्झना उनलाई अझै छ । ‘इनिसियल्ली बुवाले मलाई सपोर्ट नगर्नुभएको हो । ममीले सपोर्ट गर्नुभएको हो । मलाई चित्त दुखाइ नै बुवासँग त्यही नै हो,’ उनी भन्छिन् । समयसँगै बुवाको धारणा पनि बदलियो । अहिले बुवा छोरीको करियरप्रति खुसी छन् । बरु उनको क्षमता उद्योगले पर्याप्त उपयोग गर्न नसकेको गुनासो गर्छन् ।
उनलाई बुवाको सबैभन्दा ठूलो चिन्ता स्वास्थ्य हो । बुवा अलि मोटाएको देखे पनि उनी सचेत हुन्छिन् । ‘बुवालाई जहिले पनि हेल्दी बस्नुपर्छ भन्ने लाग्छ । अलि मोटाउनुभयो भने पनि म कन्सियस हुन्छु । कस्तो मोटाएको, पेट कत्रो लागेको भनेर । त्यो डर होला सायद । हेल्दी हुनुपर्छ भन्ने चाहिँ मलाई एकदम हुन्छ,’ उनी भन्छिन् ।

बुवाको स्नेह
डा. कुमकुम गुप्ता झाको बुवासँगको सम्बन्ध
डा. कुमकुम गुप्ता झाका लागि उनका बुवा केवल अभिभावक मात्र होइनन्, जीवन बुझ्ने पहिलो पाठशाला पनि हुन् । आफ्नै काममा अत्यन्तै व्यस्त रहने बुवालाई बाल्यकालमा हेर्दा कहिलेकाहीँ उनलाई लाग्थ्यो, बुवाले हामीसँग पनि अलिकति समय बिताइदिए हुन्थ्यो । तर बुवाको निरन्तर मेहनतले उनलाई जीवनमा अघि बढ्न मेहनत गर्नुपर्छ अर्को महत्वपूर्ण कुरा सिकायो ।
तीन दाजुभाइबीचकी एक्ली छोरी भएकाले डा. कुमकुम बुवासँग निकै नजिक थिइन् । बुवाले भाइहरूभन्दा आफूलाई बढी समर्थन र प्रोत्साहन गर्ने गरेको उनी सम्झिन्छिन् । त्यसैले बुवासँगको उनको सम्बन्धमा स्नेहसँगै गहिरो आत्मीयता पनि थियो ।
बुवाबाट उनले सिकेको सबैभन्दा ठूलो कुरा मेहनत हो । तर मेहनतभन्दा पनि जीवनमा गहिरो प्रभाव पार्ने अर्को पाठ थियो, रिसले होइन, मायाले मानिससँग व्यवहार गर्नुपर्छ ।
‘रिसले केही पनि हुँदैन । मायाले काम गरायो भने हरेक कुरा सम्भव हुन्छ,’ बुवाको यही सिकाइ कुमकुमले आजसम्म आत्मसात् गरेकी छन् । मानिससँग नरम भएर, मायालु र नम्र व्यवहार गर्दा सम्बन्ध र काम दुवै सहज हुने विश्वास उनी राख्छिन् । त्यसैले आफ्ना सन्तानलाई पनि उनी सधै असल हुन सिकाउँछिन् ।
डा. कुमकुम मधेशमा जन्मिएकी हुन् । उनको बाल्यकालमा छोरीको शिक्षालाई अहिलेको जस्तो प्राथमिकता दिइँदैनथ्यो । तर उनका बुवाको सोच फरक थियो । उनी सम्झिन्छिन्, ‘उहाँको स्पष्ट धारणा थियो । छोरीले पढ्नुपर्छ, आफ्नै खुट्टामा उभिनुपर्छ र समाजमा आफ्नो योगदान दिनुपर्छ ।’
बुवाले उनलाई डाक्टर बन्न प्रेरित गर्नुभयो । ‘तिमी डाक्टर बन्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ, आफैले सेवा गर्नुपर्छ,’ उनी भन्छिन् । बुवाका यी शब्द कुमकुमका लागि प्रेरणाको स्रोत बने । बुवाले समय धेरै दिन नसके पनि प्रोत्साहनमा कहिल्यै कमी हुन दिनुभएन । बरु उनलाई ‘तिमीले गर्नैपर्छ, तिमीसँग विकल्प नै छैन’ भन्ने किसिमको आत्मविश्वास दिनुभयो ।
आज आफ्नो सफलताको खबर बुवासँग बाँड्दा उहाँ निकै खुसी हुनुहुन्छ । छोरीले हासिल गरेको उपलब्धिमा गर्व गर्दै बुवाले आफूले पढाउँदा यति टाढासम्म पुग्नेछिन् भन्ने नसोचेको सुनाउनुहुन्छ ।
डा. कुमकुमका लागि बुवासँग जोडिएको सबैभन्दा अविस्मरणीय घटना भने रुसमा चिकित्सा शिक्षा अध्ययनका लागि जाँदाको हो । सन् १९९२ मा पहिलोपटक आमाबुवाबाट टाढा भएर रुस जाँदा बुवालाई छोरी एक्लै पठाउन निकै गाह्रो भयो । आफू पनि सँगै जाने चाहना राख्नुभयो । टिकट नमिलेपछि कुमकुम एक्लै गइन् । तर पाँच दिनमै टिकट मिलाएर बुवा उनलाई भेट्न रुस पुग्नुभयो । छोरीलाई आफ्नै आँखाले नहेरी उहाँको मन ढुक्क भएन ।
त्यसपछि सात वर्षको एमबीबीएस अध्ययन अवधिमा कुमकुम हरेक वर्ष नेपाल फर्किइन् । उनी यसपटक नआउँला भन्दा पनि बुवाले टिकट पठाइदिनुहुन्थ्यो । वर्षमा कम्तीमा एकपटक छोरीलाई भेट्नैपर्छ भन्ने उनका बुवालाई लाग्थ्यो ।
आज पनि उनीहरूबीचको आत्मीयता उस्तै छ । कामको व्यस्तताले भेटघाट सधै सम्भव नभए पनि फोनमा कुराकानी भइरहन्छ । डा. कुमकुम आफू दु:खी हुँदा बुवालाई धेरै चिन्ता नहोस् भनेर आफ्ना समस्या लुकाउन खोज्छिन् । तर बुवा दु:खी हुँदा भने आफ्ना कुरा छोरीसँग खुलेर बाँड्नुहुन्छ ।
बुवाबाट पाएको माया, मेहनत र नम्रताको पाठलाई उनी आफ्ना सन्तानसम्म पुर्‍याउन चाहन्छिन् ।
उनका लागि बुवा जीवनको त्यस्तो अध्याय हुन्, जसलाई ‘बुवा हुँदा’ र ‘बुवा नहुँदा’ भनेर छुट्याएर सोच्नै कठिन छ । उनी भन्छिन्, ‘बुवा नहुँदाको जीवन कस्तो होला भन्ने सोच नै आफूले कहिल्यै सोचेकी छैनन् ।’

 Image