Successfully Copied

प्रकृति संरक्षणका सारथि

वन्यजन्तुको उद्धारदेखि अनुसन्धानसम्म, राष्ट्रिय निकुञ्जका जंगलदेखि स्थानीय समुदायका बस्तीसम्म, पशु अधिकारका लागि अदालतदेखि संरक्षण नीतिको बहससम्म नेपाली महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दो छ । कहिले नेचर गाइड बनेर, कहिले संरक्षणकर्मी, कहिले अनुसन्धानकर्ता त कहिले अधिकारकर्मीका रूपमा उनीहरू उभिएका छन् ।

जंगल आफैं बोल्दैन । वन्यजन्तुले आफ्ना पीडा आफैं सुनाउन सक्दैनन् । नदी, वन र वन्यजन्तुको अस्तित्व जोगाउन कसै न कसैले उनीहरूको पक्षमा बोलिदिनुपर्छ ।
अनुसन्धानशालादेखि जंगलका पदमार्गसम्म, समुदायका बैठकदेखि सर्वोच्च अदालतसम्म महिलाहरू प्रकृति, वन्यजन्तु र पशु अधिकारको पक्षमा निरन्तर सक्रिय छन् । उनीहरूको यो यात्राले प्रकृतिप्रतिको जिम्मेवारी र भावी पुस्ताप्रतिको प्रतिबद्धताको कथा भन्छ । वन्यजन्तुको उद्धारदेखि अनुसन्धानसम्म, राष्ट्रिय निकुञ्जका जंगलदेखि स्थानीय समुदायका बस्तीसम्म, पशु अधिकारका लागि अदालतदेखि संरक्षण नीतिको बहससम्म नेपाली महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दो छ । कहिले नेचर गाइड बनेर, कहिले संरक्षणकर्मी, कहिले अनुसन्धानकर्ता त कहिले अधिकारकर्मीका रूपमा उनीहरू उभिएका छन् ।
जलवायु परिवर्तन, वन विनाश र मानव–वन्यजन्तु द्वन्द्वजस्ता चुनौतीबीच उनीहरूको नेतृत्वले संरक्षण अभियानलाई नयाँ ऊर्जा दिएको छ । यस्तै चार महिलाको संघर्ष, समर्पण र उपलब्धिको कथा यहाँ प्रस्तुत गरेका छौं ।
रचना शाह : प्रकृति संरक्षणमा समर्पित
नेपाल जैविक विविधताको खजाना हो । हिमालदेखि तराईसम्मका पारिस्थितिक प्रणालीले यसलाई विश्वमै अद्वितीय बनाएको छ । प्रकृति तथा विविधता संरक्षणमा अग्रणी भूमिका खेल्दै आएकी छिन्, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) की कार्यक्रम व्यवस्थापक रचना शाह, जसको जीवनयात्रा प्रकृतिप्रतिको प्रेम र प्रतिबद्धताले भरिएको छ ।
प्रकृतिप्रति मोह
सानैदेखि वातावरण र वन्यजन्तुप्रति गहिरो आकर्षणले रचनालाई संरक्षणको बाटोमा डोर्‍यायो । उच्च शिक्षा प्राप्त गरेपछि उनले अनुसन्धान र संरक्षणका कार्यक्रममार्फत आफ्नो रुचिलाई पेसामा रूपान्तरण गरिन् । उनका लागि यो पेसा मात्र होइन, जीवनको ध्येय हो । नेपालको जैविक विविधता जोगाउने र स्थानीय समुदायको जीवनस्तर सुधार गर्ने उनको उद्देश्य निरन्तर छ ।
मुख्य भूमिका
विभिन्न वन्यजन्तु तथा जैविक विविधता संरक्षणसम्बन्धी अनुसन्धान, परियोजना व्यवस्थापन र समन्वय गर्नु हो रचनाको मूल काम हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्दै अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने, संरक्षण योजना तयार गर्ने, अनुदान परियोजनाको व्यवस्थापन, प्राविधिक प्रतिवेदन तथा सरकारी निकाय, विश्वविद्यालय र संरक्षणकर्मीहरूबीच समन्वय गर्ने जिम्मेवारीमा अहोरात्र खटेकी छन् ।
‘अनुसन्धानबाट प्राप्त नतिजालाई संरक्षण नीतिमा उपयोग गर्न सहयोग गर्ने प्रयास गर्दै आएकी छु । नेपालको एक मात्र सदर चिडियाखानाको नेतृत्वदायी भूमिकामा छु, यहाँ व्यवस्थापनका आधुनिक मोडलहरू लागू गरेकी छु,’ उनी भन्छिन्, ‘चितवनमा रहेको जैविक विविधता केन्द्रमार्फत वन्यजन्तु संरक्षणमा काम गरेको अनुभव छ । कोषले गर्ने वन्यजन्तु उद्धार तथा अनुसन्धानमा सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा विभिन्न परियोजनामा पनि मैले नेतृत्व गर्ने अवसर पाएँ, जसले मलाई यो क्षेत्रमा अझ निखारिन र दृढ भएर लाग्न सघायो ।’
एनटीएनसीमा कार्यक्रम व्यवस्थापकका रूपमा उनले प्रजाति अध्ययन, अनुसन्धान, परियोजना व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा नेतृत्व दिँदै आएकी छिन् ।
चुनौती र दृढता
संरक्षण क्षेत्रमा महिलाका लागि चुनौती कम छैन । ‘क्षमता, ज्ञान र प्रतिबद्धता भएमा महिलाले पनि उत्कृष्ट नेतृत्व गर्न सक्छन्,’ उनको दृढता र समर्पणले प्रमाणित गरेको छ, महिलाहरूले पनि यो क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन् ।
उनका अनुसार यो क्षेत्रमा काम गर्दा लामो समय फिल्डमा बस्नुपर्ने, दुर्गम क्षेत्रमा यात्रा गर्नुपर्ने तथा कहिलेकाहीँ जोखिमपूर्ण वातावरणमा काम गर्नुपर्ने हुन्छ । सामाजिक जिम्मेवारी र पारिवारिक दायित्वसँगै व्यावसायिक जिम्मेवारी सन्तुलन गर्नु पनि महिलाका लागि चुनौतीपूर्ण कुरा हुन् । तर अहिले संस्थागत समर्थन, अवसर र चेतनामा सकारात्मक परिवर्तन आएको छ ।
प्रेरणादायी दृष्टि
रचनाको विश्वास छ, गुणस्तरीय शिक्षा, अनुसन्धान अवसर, छात्रवृत्ति, सुरक्षित कार्य वातावरण र सफल महिला संरक्षणकर्मीहरूको उदाहरणले नयाँ पुस्तालाई संरक्षण क्षेत्रमा आकर्षित गर्नेछ । आफूले देखाएको बाटोले धेरै युवतीलाई प्रकृतिप्रतिको प्रेमलाई करियरमा रूपान्तरण गर्न प्रेरित गर्नेमा उनलाई विश्वास छ ।
भविष्यको बाटो
उनको दृष्टिमा, सरकार र निजी क्षेत्रको सहकार्यले मात्र संरक्षणलाई दिगो बनाउन सकिन्छ । वैज्ञानिक प्रमाणमा आधारित नीति, स्थानीय समुदायको सहभागिता, हरित प्रविधि र सामाजिक उत्तरदायित्वअन्तर्गतको लगानीले नेपाललाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउनेछ । रचनाको कथा व्यक्तिगत उपलब्धिको कथा मात्रै होइन, यो प्रकृतिप्रतिको प्रेम, प्रतिबद्धता र नेतृत्वको कथा हो । उनले देखाएको बाटोले हामीलाई सम्झाउँछ, संरक्षण केवल जिम्मेवारी होइन, भविष्यको लागि आशा हो ।
 

मञ्जु महतरा : जंगलबाट विश्वलाई प्रेरणा
बर्दियाको हात्तीसारमा जन्मिएकी मञ्जु महतरा बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुसँग नजिक हुँदै हुर्किइन् । उनका बुवा माहुते थिए, हात्तीका साथमा बिताएका दिनहरूले उनलाई जंगलसँग गहिरो सम्बन्ध गाँसिदियो । प्रकृति देख्ने र हेर्ने कुरा मात्रै होइन, जोगाउने जिम्मेवारी हो, जुन कुरा उनले बाल्यकालमै सिकिन् । मञ्जु भन्छिन्, ‘प्लस टु होटल म्यानेजमेन्ट गरें । मेरी दिदी नेचर गाइडका रूपमा काम गर्दै हुनुहुन्थ्यो । उहाँलाई पछ्याउँदै सन् २०१८ मा बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षण कोष, डब्ल्युडब्ल्युएफ र जेडएसएलको सहकार्यमा संचालित नेचर गाइड तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेपछि म नेचर गाइडका रूपमा काम गर्न थालें । सँगसँगै प्रकृति संरक्षण, समुदायमा संरक्षण सचेतना, दिगो पर्यटन, वन्यजन्तु फोटोग्राफी तथा नेचर गाइडका रूपमा सक्रिय रूपमा काम गर्दै आएकी छु ।’
सपना जन्मिएको क्षण
विद्यालयको इकोक्लबमा सहभागी हुँदा उनले पहिलोपटक संरक्षणको शक्ति महसुस गरिन् । चोरी–शिकारी नियन्त्रण अभियानमा युवाहरूलाई परिचालन गर्दा उनले सामुदायिक सहभागिता नै परिवर्तनको आधार हो भन्ने बुझिन् । यही अनुभवले उनलाई प्रकृति संरक्षणको बाटो रोज्न प्रेरित गर्‍यो ।
उनी देश–विदेशका पर्यटकलाई प्रकृति र वन्यजन्तुबारे जानकारी गराउँदै नेचर गाइडको भूमिकामा छिन् । वन्यजन्तु फोटोग्राफी तथा डकुमेन्टेसनका साथै स्थानीयहरूलाई संरक्षणसम्बन्धी जनचेतनाका काम गर्छिन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा महिलालाई संरक्षण र पर्यटन क्षेत्रमा सहभागी गराउन पनि लागिपरेकी छन् ।
अप्ठ्यारो बाटो
महिलाका लागि यो क्षेत्र सजिलो थिएन । जंगलमा लामो समय बिताउनुपर्ने, जोखिमपूर्ण वातावरण, सामाजिक सोच, आर्थिक चुनौती यी सबैले उनलाई हरेक दिन परीक्षा लिइरहेकै थिए, मञ्जुले हिम्मत हारिनन् । उनले प्रमाणित गरिन्, दृढता र लगावले सबै अवरोध पार गर्न सकिन्छ ।
‘यो क्षेत्रमा महिला सहभागिता अझै कम छ । जंगलमा लामो समय काम गर्नुपर्ने जोखिमपूर्ण वातावरण, सामाजिक सोच, विश्वास जित्नुपर्ने अवस्था, पुरुषको बाहुल्यता भएको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिराख्नपर्ने,’ भन्छिन्, ‘सुरक्षा चुनौती, पारिवारिक जिम्मेवारी, अवसरको असमान पहुँच, आर्थिक चुनौती, महँगा उपकरणहरू आदि चुनौती महिलाले सामना गर्नुपर्छ ।’
उपलब्धि र योगदान
उनले पर्यटकलाई बाघ, गैंडा, हात्ती देखाउने मात्र होइन, उनीहरूको कथा सुनाउने काम पनि गरिन् । फोटोग्राफीमार्फत उनले वन्यजन्तुको सौन्दर्यलाई विश्वसामु पुर्‍याइन् । स्थानीय महिलालाई संरक्षण र पर्यटनमा सहभागी गराउँदै उनले नयाँ पुस्तालाई प्रेरणा दिइन् । उनको सबैभन्दा ठूलो उपलब्धि भनेको, जन्मस्थानमै रहेर समुदायसँगै संरक्षण सचेतना फैलाउनु, जिम्मेवार पर्यटन प्रवद्र्धन गर्नु र महिलालाई यो क्षेत्रमा ल्याउनु हो ।
चुनौतीलाई अवसरमा
नेपाल जैविक विविधताले धनी राष्ट्र हो । तर पछिल्लो समय जलवायु परिवर्तनले हिमालदेखि तराईसम्मका पारिस्थितिक प्रणालीलाई चुनौती दिइरहेको छ । अनियमित वर्षा, बाढी, डढेलो, पानीका स्रोत सुक्दै जानु, यी सबैले वन्यजन्तुको बासस्थानलाई प्रभावित बनाइरहेका छन् । मञ्जु जस्ता संरक्षणकर्मीहरूले यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने संकल्प लिएका छन् ।
भविष्यको दृष्टि
नेपाललाई संरक्षण र दिगो पर्यटनको विश्वस्तरीय उदाहरण बनाउने मञ्जुको सपना स्पष्ट छ । उनका अनुसार महिलाको सहभागिता बढाउन सुरक्षित वातावरण र तालिम आवश्यक छ भने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरू लागू गर्नुपर्छ । साथै सरकार र निजी क्षेत्र बीच सहकार्यले संरक्षणलाई अझ प्रभावकारी बनाउन सक्छ ।
प्रेरणादायी सन्देश
मञ्जुको कथा व्यक्तिगत उपलब्धिको मात्र होइन, यो हजारौं महिलाको सम्भावनाको कथा हो । जंगलको बाटो कठिन भए पनि, दृढता र लगावले त्यो बाटो उज्यालो बनाउन सकिन्छ भन्ने उनले प्रमाणित गरिदिएकी छिन् ।

हरिप्रिया कुमारी शाही : सुदूरपश्चिमबाट संरक्षणको अग्रपंक्तिमा
डोटीको शिखर नगरपालिका–२, मुडेगाउँमा जन्मिएकी हरिप्रिया कुमारी शाहीको बाल्यकाल प्रकृतिसँगै बित्यो । पहाडी गाउँको वातावरण, वन्यजन्तुसँगको निकटता र ग्रामीण जीवनशैलीले उनलाई प्रकृतिप्रति जिम्मेवार बनायो । यही अनुभवले उनलाई संरक्षण क्षेत्रमा करियर बनाउन प्रेरित गर्‍यो । २०७७ सालदेखि उनले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यक्रम एसोसियटका रूपमा काम गर्दै संरक्षणलाई आफ्नो जीवनको ध्येय बनाएकी छिन् ।
समुदायसँगै संरक्षण यात्रा
हरिप्रियाको काम वन्यजन्तु जोगाउने मात्र होइन, समुदायलाई संरक्षणमा सहभागी गराउने हो । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वैकल्पिक जीविकोपार्जन, चोरी–शिकारी नियन्त्रण, सचेतनामूलक अभियानदेखि विद्यालयस्तरका कार्यक्रमसम्म नेतृत्व दिँदै आएकी छन् । सुदूरपश्चिमका बडीमालिका, रामारोशन, मध्यपहाड र चुरे क्षेत्रमा संरक्षणप्रति जिम्मेवार नागरिक तयार पार्न उनले तीन वर्षभन्दा बढी समय बिताएकी छन् ।
चुनौती चिर्दै
महिला भएर संरक्षण क्षेत्रमा काम गर्दा उनले घरायसी जिम्मेवारी, दुर्गम क्षेत्रमा सुरक्षा समस्या, लैङ्गिक विभेद, स्रोत–साधनमा सीमित पहुँच आदि धेरै चुनौती सामना गर्नुपर्‍यो । तर उनले यी सबैलाई अवसरका रूपमा रूपान्तरण गरिन् । भन्छिन्, ‘संरक्षण भनेको केवल वन र वन्यजन्तु मात्र होइन, समुदायको जीवनस्तरसँग पनि जोडिएको विषय हो ।’
उपलब्धि र गर्व
उनको नेतृत्वमा वैकल्पिक जीविकोपार्जन, चोरी–शिकारी नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, पर्यापर्यटन विकास र सामाजिक–पर्यावरणीय सुरक्षासम्बन्धी दर्जनौं तालिम सम्पन्न भएका छन् । उनले महिलालाई संरक्षणमा सक्रिय बनाउन, नेतृत्व विकास गर्न र निर्णय प्रक्रियामा सहभागी गराउन योगदान दिएकी छन् । समुदायमा संरक्षणप्रतिको चेतना र अपनत्व बढेको देख्दा उनलाई गर्व लाग्छ ।
अब के ?
हरिप्रियाको दृष्टिमा, संरक्षणलाई अझ प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रले महिलाको क्षमता विकास, सुरक्षित कार्य वातावरण, पर्याप्त बजेट, अनुसन्धानमा लगानी र समुदायसँग सहकार्यलाई प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत संरक्षण, पर्यावरणीय शिक्षा, हरित प्रविधि र जलवायुमा लगानी गर्नुपर्ने उनको विश्वास छ ।
उनको कथा समुदायसँगै संरक्षणमा अघि बढ्ने प्रेरणादायी यात्रा हो । उनले देखाएको बाटोले प्रमाणित गर्छ, दुर्गम गाउँमा जन्मिएकी एक महिला पनि दृढता, प्रतिबद्धता र नेतृत्वद्वारा राष्ट्रिय स्तरमा संरक्षणको अग्रपंक्तिमा उभिन सक्छिन् ।

सृष्टि सिंह भण्डारी : पशु कल्याणमा निरन्तर
पशु अधिकारकर्मी तथा जेन गुडअल इन्स्टिच्युट नेपालकी कार्यकारी निर्देशक सृष्टि सिंह भण्डारी, शरत सिंह र रश्मि सिंह भण्डारीकी जेठी छोरीे ह्न । उनले त्रि.वि. बाट मानवशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।
पशुकल्याण ऐन, बन्धक हात्ती फुकाएर राख्नेपर्नेमा वकालतलगायतमा दृढताका साथ काम गरेकी छिन् । भर्खरै सर्वोच्चबाट नारायणी नदीमा फालिने फोहोरविरुद्ध मुद्दा जितेकी उनी मूलत: यससम्बन्धी ऐन, कानुन बनाउने र वकालत गर्नेमा परिचित छिन् ।
पशुप्रतिको लगाव
२० वर्षदेखि पशु तथा वातावरण संरक्षण र जलवायु कार्यमा सक्रिय उनी सानैदेखि जनावर भनेपछि हुरुक्कै हुन्थिन् । ‘म र जनावर एकै हौं, जनावरको मोहले तानेकै कारण म २० वर्षअघि शाकाहारी भएँ । जनावरसँग मेरो भावनात्मक सम्बन्ध छ,’ सृष्टि भन्छिन्, ‘म भिगन भएको १५ वर्ष भयो । झुसिल्किरादेखि हात्तीसम्मको उत्तिकै माया लाग्छ । यसैको प्रभाव होला मेरी ११ वर्षीया छोरी पनि पशुअधिकारकर्मी बनिसकिन् ।’ छोरी एक महिनाकी हुँदा उनलाई काखी च्यापेर जंगल डुल्थिन् । यो सबै देखेकी मेरी छोरी पनि पूर्ण शाकाहारी हुन्, एनिमल रेस्क्युमा सघाउँछिन् । ‘एउटा बच्चालाई यो संसारमा ल्याएपछि बच्चा र संसार दुवै राम्रो बनाउनुपर्छ भन्ने मलाई लाग्छ,’ सृष्टिले भनिन् ।
मूल जिम्मेवारी
सृष्टि र उनको टिम नेपालकै पहिलो पशुकल्याण ऐनमा जुझारु भएर लागिपरिरहेका छन् । चिडियाखानालगायतमा बन्धक हात्तीलाई फुकाएर स्याङचुरी मोडलमा लागुपर्नेमा उनीहरूको वकालत जारी छ, यो मोडलअन्तर्गत फराकिलो सरकारी जग्गामा खुला स्थानमा हात्ती छोड्नुपर्ने हुन्छ ।
‘हात्ती हाम्रो संस्कृति र राष्ट्रिय सम्पदा हो । बाहुनडाँगीमा हात्ती विषयमा समस्या भइरहेको छ । खुला सीमाका कारण राति कतिपय हात्ती भारतबाट यता छिर्छन् त कतिपय यताबाट उता जान्छन्,’ उनी भन्छिन्, ‘अँध्यारोमा बीच बाटोमा ठोक्किँदा वा मान्छेसँग जम्काभेट हुँदा हात्ती–मान्छे दुवै मारिइरहेका छन् । यो समस्या समाधानका लागि काम गरिरहेका छौं भने रैथाने रुख फिर्तामा पनि हामी उत्तिकै खटिरहेका छौं ।’
नेतृत्व र उपलब्धि
उनले महोत्तरीमा काम गर्दा चुरेका महिलाहरूसँग साक्षात्कार हुने मौका पाइन् । उनले चुरे र त्यस आसपासका विषयलाई प्राकृतिक मात्रै नभएर राजनीतिक मुद्दाका रूपमा समेत बुझिन् । त्यसैले उनले त्यहाँका लागि सोहीअनुसारको स्थानीय मोडल तयार पारिन् । त्यति मात्रै होइन निजगढमा पनि उनले रैथाने रुख फिर्ता ल्याउने अभियान चलाइन् । यसैअन्तर्गत उनीहरूकै कामको परिणाम स्वरूप त्यहाँस्थित २४ लाख रुख काट्न नपाउने भनेर सर्वोच्चले रोकिदियो ।
‘भोलिका पुस्तालाई विकासका नाममा विनाश देखाउन र उनीहरूका लागि विनाश निम्त्याउन हामी प्रकृति संरक्षणमा जोड दिइरहेका छौं । लोप भएका ४० वटा पकेट फरेस्ट भनेर काठमाडौंभित्रै रुख रोप्ने अभियान चलाइरहेका छौं,’ यतिमै सन्तुष्ट छैनन् सृष्टि । एउटा पनि जनावरले हिंसा–पीडा सहन नपरेको दिन मात्रै आफूलाई शान्ति मिल्ने उनी बताउंँछिन् ।
चुनौती र दृढता
मुख्यत: कानुन बनाउने तहमा काम गर्ने भएकाले सृष्टिलाई लाग्छ, कतिपय कुरामा अडिग भएर रहनुपर्छ । चितवनदेखि नवलपरासीसम्म भल्चर प्रिजरभेसन (गिद्ध संरक्षण) का लागि चिल्ड्ेरेन कन्जरभेसन थिएटर स्थापना गरेर २८ जना बालबालिकालाई समूहमा समेट्न उनलाई सहज थिएन । उक्त समूहले सडक नाटकमार्फत समाजमा सचेतना फैलाउने काम गर्दै आइरहेको छ, यो सृष्टिको मनले खाएको काम हो ।
उनलाई देशभरी यस्ता समूह बनाउने इच्छा छ । सुरुवाती दिनमा सृष्टि एक्लै अभियान चलाउँथिन््, बाटोघाटोमा एक्लै माइकिङ गर्दै हिँड्दा कोही आउँदैनथे । एक्लै जंगल–जंगल डुल्थिन् । ‘तर मलाई कहिल्यै कुनै फरक परेन । मसँग कोही आओस्, नआओस् । मलाई साथ देओस् नदेओस्, मेरा लागि त्यो सबै अर्थहीन,’ सृष्टिले भनिन् ।
प्रेरणादायी दृष्टि
अहिले विश्वको अवस्था जटिल छ । संसारका विभिन्न स्थानमा भइरहेका युद्ध, द्वन्द्वका कारण पनि मौसम, जलवायु र प्रकृतिलाई असर परिरहेको सृष्टिको अड्कल छ । नेपालमै पनि बेलाबखत हुने यस्ता विपद्ले जटिलता निम्त्याइहरने उनको भनाइ छ । यो क्षेत्रमा आउन चाहनेका लागि उनी भन्छिन्, ‘यो क्षेत्रमा काम गर्न अत्यन्तै धैर्य, साहसी र निडर हुनुपर्छ । मैले गर्ने सारा काम मेरा लागि होइन, जनावर, प्रकृति, पृथ्वी र यहाँ बस्ने चराचर जगत् सबैका लागि हो भन्ने भित्री भाव हुनुपर्छ । हामीकहाँ इको टुरिजम र कल्चर टुरिजमको प्रचूर सम्भावना छ, यसका लागि बढी मेहनत गर्नुपर्छ ।’
भविष्यको बाटो
हामीले उतिबेलादेखि प्रकृतिलाई ‘टेकन फर ग्रान्ज्टेड’ का रूपमा लियौं । सित्तैमा पाइने, मूल्यहीन जस्तो गर्‍यौं भन्ने सृष्टिको बुझाइ छ । त्यसैले हामीले आज विविध खाले प्राकृतिक विपद् बेहोर्नुपरेको र भविष्यमा अझै यसको विकराल रूप सामना गर्नुपर्ने सृष्टि बताउँछिन् । उनी भन्छिन्, ‘प्रकृति र हामी छुट्टिनु हुँदैन, हामी नै प्रकृति हौं, प्रकृति नै हामी हो यही कुरा मान्छेले बिर्सिएकाले यो समस्या निम्तिएको हो । यसका लागि सरकार, सम्बन्धित निकाय, संघसंस्था हरेक व्यक्ति एकजुट भएर एउटै लक्ष्य लिनुपर्छ ।’

 Image