Successfully Copied

सुरक्षामा नारी–शक्ति

देशको सुरक्षा निकायका रूपमा रहेको नेपाल प्रहरीमा महिलाले कयौं ठाउँमा आफूलाई अब्बल साबित गर्दै आएका छन् ।


आरती पौडेल
देशको सुरक्षा हतियार, कानुन वा बर्दीले मात्र सम्भव हुँदैन । त्यसका पछाडि हुन्छन्–कर्तव्य, अनुशासन, साहस र धेरै त्यागका कथा । तिनै त्याग गर्ने र इतिहास लेख्ने ठाउँमा महिलाले पनि आफूलाई दरिलो बनाउँदै लगेका हुन् । देशको सुरक्षा निकायका रूपमा रहेको नेपाल प्रहरीमा महिलाले कयौं ठाउँमा आफूलाई अब्बल साबित गर्दै आएका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार, ९ हजार ८ सय ४६ महिला प्रहरी राष्ट्रसेवाका निमित्त सक्रिय छन् भने १ हजार ५ सय ८९ जना सेवा पूरा गरेर बिदा भइसकेका छन् । हालसम्म ११ हजार ४ सय ३५ महिलाले नेपाल प्रहरीको बर्दीमार्फत राष्ट्रसेवाको जिम्मेवारी निर्वाह गरेका छन् । उनीहरूमध्ये कसैले अनुसन्धानमा सफलता हासिल गरेका छन्, कसैले अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपालको प्रतिनिधित्व गरेका छन् । कसैले व्यक्तिगत पीडालाई शक्ति बनाई सेवायात्रालाई अझ बलियो बनाएर निरन्तरता दिएका छन् । ‘नेतृत्व लिङ्गले होइन क्षमताले निर्धारण गर्छ’ भन्ने विश्वास गर्ने यिनै महिलाहरू साहसका साथ आफ्नो क्षेत्रमा अगाडि बढेका छन् ।
नारीले यो अंकमा दिनरात राष्ट्र सेवामा समर्पित केही महिलाका संघर्ष, समर्पण, साहस, नेतृत्व र सफलताका जीवन्त कथा समेट्ने प्रयास गरेको छ ।
नेपाल प्रहरीमा महिला
प्रकार  जम्मा
कार्यरत ९८४६
अवकाश प्राप्त १५८९
जम्मा ११४३५


भगवती अर्याल, वरिष्ठ नायव निरीक्षक
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी
जीवनले भगवती अर्याललाई बारम्बार परीक्षा लियो । कहिले जिम्मेवारीले, कहिले सेवाका चुनौतीले त कहिले व्यक्तिगत पीडाले । तर भगवती कत्ति पनि डगमगाइनन् । बरु कठिनाइसँग लड्दै अगाडि बढिन् । यही संघर्ष, साहस र समर्पणले नुवाकोटको सामान्य परिवारमा हुर्किएकी भगवती नेपाल प्रहरीकी वरिष्ठ नायब निरीक्षक मात्र नभएर, अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपालको प्रतिनिधित्व गर्दै देशलाई अन्य देशसामु चिनाउन ठूलो भूमिका खेलेकी महिला हुन् ।
नुवाकोटको चैनपुरमा २०३८ साल असोज २० गते सामान्य परिवारमा जन्मिएकी उनी चार दाजुभाइ–दिदीबहिनीमध्ये कान्छी हुन् । उनका बुवा निजामती कर्मचारीका रूपमा कार्यरत थिए । भगवती सानै हुँदा नै उनको परिवार बुवाले जागिर गर्ने ठाउँ रसुवाको धुन्चे सरेको थियो । बुवा एक्लैले कमाएर परिवार पाल्न मुस्किल भएपछि उनकी आमाले पनि सानो रेस्टुरेन्ट खोलेकी थिइन् । हरेक दिन स्कुलबाट फर्केपछि आमालाई रेस्टुरेन्टमा सघाउने भगवतीको दैनिकी थियो । ‘हाम्रा लागि बुवा–आमाले दु:ख गर्नुभयो । त्यसैले सानैदेखि मैले सकेको काम गरेर आमालाई सहयोग गर्थें,’ उनी विगततिर फर्किइन् ।
सानैदेखि भगवती पढाइसँगै खेलकुद र सामाजिक गतिविधिमा निकै अब्बल थिइन् । उनी जिल्लास्तरीय भलिबल र दौडका साथै, स्काउटलगायतका कार्यक्रममा सहभागी हुन्थिन् । कक्षा १ देखि १० सम्मको अध्ययन रसुवामै गरेकी भगवतीको बाल्यकाल त्यहीँ बित्यो ।
एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । ‘छोरीलाई धेरै पढाउन हँुदैन भन्ने समाजमा आफ्नो जीवनमा अगाडि बढ्न सकून् भन्ने सोचले बुवा–आमाले पढ्नलाई काठमाडौं पठाउनुभएको उनी बताउँछिन् । सरस्वती बहुमुखी क्याम्पसमा भर्ना भएकी उनी त्यहाँ पनि खेलकुदलाई प्राथमिकतामा राखेर प्राय: हरेक खेल खेल्ने गर्थिन् । उनले टेबलटेनिस, ब्याडमिन्टनमा धेरै उपाधि हात पारेर खेल क्षेत्रमै आफ्नो भविष्य देख्न थालेकी थिइन् । आइए पूरा गरेपछि त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र र अर्थशास्त्रमा स्नातक अध्ययन गरिन् ।
बिहान पाँच बजे उठेर दिदीको पसलका लागि तरकारी पुर्‍याउने, त्यसपछि रंगशालामा ब्याडमिन्टन अभ्यास गर्ने, कलेज जाने र फर्केपछि फेरि दिदीलाई सघाउने गर्थिन् । परिवारले भगवतीलाई सरकारी सेवामा काम गरेको देख्न चाहन्थ्यो । त्यसैले उनले पढाइसँगै लोकसेवा तयारी गरिरहेकी थिइन् । काठमाडौंका विभिन्न स्थानमा खटिएका प्रहरी देख्दा उनी दंग पर्थिन् । ‘सानैदेखि प्रहरी मन पथ्र्यो । काठमाडौं आएपछि उहाँहरूको काम देखेर यो पेसाप्रति आकर्षण बढ्यो,’ उनले सुनाइन् ।
२०५८ सालमा प्रहरी सहायक निरीक्षकको विज्ञापन खुलेको देखेर कस्तो हुँदो रहेछ भनी फर्म भरिन् र परीक्षाको लागि मेहनत गरेर पढिन् । उनको पहिलो पटकमै नाम निस्कियो । ‘पहिलो प्रयासमै सफल हुँदा निकै खुसी लाग्यो,’ उनले भनिन् । २०६० पुस २१ गते नेपाल प्रहरीको १२५ औं ब्याचबाट उनले औपचारिक रूपमा सेवा सुरु गरेकी थिइन् । त्यसपछि उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा तालिम गरेकी थिइन् ।
भगवती तालिमकै कारण आफ्नो कामको भूमिका र देशप्रतिको प्रेम बढेको सुनाउँछिन् । ‘प्रशिक्षण तालिम नगर्दासम्म खेल क्षेत्रमै लागेर अगाडि बढ्छु भन्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘तालिम गर्दै जाँदा खेलभन्दा देशका लागि गर्नुपर्ने रहेछ भन्ने महसुस भयो ।’ उनी ‘चाँदमारी’ विधामा प्रथम भएकी थिइन् । तालिमपछि बाह्य प्रशिक्षक भएर काम गर्ने मौका पाइन् । उनीसँग विभिन्न प्रहरी टोलीको तालिममा काम गरेको अनुभव छ ।

अन्तर्राष्ट्रिय अनुभव
जनआन्दोलन ०६२–०६३ मा काठमाडौ उपत्यकाभित्रका विभिन्न ठाउँमा ड्युटीका लागि खटिएकी थिइन् उनी । आफ्नो सेवाकालमा उनले ‘अनुसन्धान, महिला तथा बालबालिका संरक्षण’, लागूऔषध दुव्र्यसन, पुन:स्थापना र पर्यटक सुरक्षालगायत विविध क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकी छिन् । २०६३ सालमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत रहँदा सहायक अनुसन्धान अधिकृतका रूपमा काम गरेकी उनले मानव बेचबिखनमा परेकी एक नेपाली महिलाको खोजी कार्यमा अनुसन्धान गरिन् ।
त्यसपछि महिला तथा बालबालिका सेवा निर्देशनालयमा कार्यरत रहँदा युनिसेफको सहकार्यमा बाल न्यायसम्बन्धी तालिम सञ्चालन गर्दै देशभरका महिला प्रहरी कर्मचारीलाई क्षमता अभिवृद्धि कार्यक्रममा समेत योगदान पुर्‍याएको बताउँछिन् ।
उल्लेखनीय कार्य गरेवापत प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट पुरस्कृत भइन् । ‘मैले गरेको कामलाई नियालेर पुरस्कार प्रदान गर्दा निकै खुसी लागेको थियो,’ उनले भनिन् । त्यससँगै उनले तिलगंगास्थित ‘महिला आसरा सुधार केन्द्र’ को कमान्डेन्टका रूपमा लागूऔषध दुव्र्यसनमा परेका महिलाको पुन:स्थापनामा काम गरेकी थिइन् । उनीहरूलाई नयाँ जीवनमा फर्काउन उत्तिकै महत्वपूर्ण भूमिका खेलिन् । त्यसरी नै स्वयम्भूस्थित पर्यटक प्रहरीमा खटिँदा स्थानीय निकायसँग समन्वय गर्दै विदेशी पर्यटक सुरक्षालाई थप व्यवस्थित बनाउन भूमिका खेलेकी थिइन् ।
समर्पण, कार्यक्षमता र नेतृत्वले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा तीन पटक सेवा गर्ने अवसर पाएकी छन् । पहिलो पटक संयुक्त राष्ट्रसंघीय ‘टिमोर लेस्टे’ (यूएनएमिट) मिसनमा प्रशासन तथा सहयोग इकाइको टोली नेतृत्व सम्हालिन् । नेपालको झण्डा बोकेर आफ्नो देशलाई अरु देशमाझ चिनाउन पाउँदा खुसी लाग्ने उनी बताउँछिन् ।
दोस्रो पटक संयुक्त राष्ट्रसंघीय ‘दक्षिण सुडान मिसन’(यूएनमिस) मा र तेस्रो पटक मध्यअफ्रिकी गणतन्त्र (मिनुस्का) मा पुगिन् ।
प्रहरी सेवामा बितेको दुई दशकभन्दा बढी अवधिमा उनले कामप्रतिको इमान्दारिता कहिल्यै परिवर्तन हुन दिइनन् ।
सघंर्षबाट हार मानिनन्
प्रहरी सेवामा भगवतीले एकपछि अर्को जिम्मेवारी सफलतापूर्वक पूरा गरिरहेकी थिइन् । अनुसन्धान, नेतृत्व, प्रशिक्षण वा अन्तर्राष्ट्रिय मिसन सबै ठाउँमा उनको कामको प्रशंसा भइरहेको थियो । कामप्रतिको लगाव, संघर्ष र मेहनतले २०६४ सालमा प्रहरी नायव निरीक्षकमा बढुवा भइन् ।
२०६७ सालमा विवाह भएपछि उनका खुसीका दिन सुरु भएका थिए । २०६९ सालमा पहिलो सन्तान जन्मियो । ‘परिवार र आफ्नो कामलाई निरन्तरता दिँदै जीवन आफ्नै गतिमा अगाडि बढिरहेको थियो,’ उनी विगत सम्झन्छिन् ।
तर त्यो खुसी लामो समय टिकेन । २०७२ सालको भूकम्पले घरमा क्षति पुर्‍यायो र त्यसको एक वर्ष नबित्दै २०७३ सालमा श्रीमान्को अचानक निधन भयो । यो घटनाले उनलाई एकाएक स्तब्ध बनायो । ‘त्यो समय कसरी कट्यो अहिले सम्झँदा पनि गाह्रो हुन्छ । सबै कुरा एकाएक बदलियो,’ उनी भावुक हँुदै सुनाउँछिन् । त्यतिबेला उनकी छोरी सानी थिइन् ।
केही समयपछि भगवतीले एकल अभिभावकका रूपमा छोरीको पालनपोषण गर्दै प्रहरी सेवाको कठिन जिम्मेवारीलाई निरन्तर सम्हाल्दै अगाडि बढिन् । छोरी सानै भएकीले सुरुवाती दिनमा उनलाई निकै गाह्रो भयो । ‘कोरोनाको महामारीमा छोरीलाई कोठामा छोडेर काममा जाँदा मन भारी हुन्थ्यो,’ उनले भनिन् ।
यहीबीच संयुक्त राष्ट्रसंघीय शान्ति मिसन दक्षिण सुडान जाने अवसर प्राप्त गरिन् । छोरी त्यतिबेला ३ कक्षामा पढ्थिन् । ‘छोरीलाई परिवारसँग छोडेर जाँदा सबैभन्दा धेरै सम्झना उनकै आयो,’ उनले भनिन् । फर्किएपछि करिब तीन वर्षसम्म छालासम्बन्धी र विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गर्नुपर्‍यो । डेंगु, सवारी दुर्घटना र अन्य शारीरिक समस्याका बाबजुद आफ्नो कामलाई निरन्तरता दिइरहिन् ।
कामप्रतिवको लगाव र समर्पणको कदरस्वरूप २०७३ सालमा उनलाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरियो । २०७८ सालमा राष्ट्रपतिबाट ‘नेपाल प्रताप आभूषण’ पाइन् ।
भगवती नयाँ पुस्तालाई जुन क्षेत्रमा काम गरे पनि मेहनतका साथ गर्न आवश्यक रहेको बताउँछिन् । ‘महिलाले आफूलाई कहिल्यै कमजोर सोच्नु हँुदैन । अनुशासन, निरन्तरता, सकारात्मक सोच र मेहनत गरेमा हरेक क्षेत्रमा अब्बल बन्न सकिन्छ,’ उनले भनिन् । नेपाल प्रहरीमा मेहनत गर्न सके हरेक समूहलाई समान अवसर मिल्ने उनको अनुभव छ । ‘नेपाल प्रहरीमा महिला र पुरुष भन्ने भेदभाव छैन । मेहनत गरेको खण्डमा दुवैले समान अवसर प्राप्त गर्न सक्छन्,’ उनले भनिन् ।



भगवती तिमिल्सिना, प्रहरी निरीक्षक

काठमाडौं उपत्यका प्रहरी शिक्षालय, काठमाडौं

२०४९ सालमा कैलालीको प्रतापपुर–६, खमरियामा सामान्य कृषक परिवारमा जन्मिएकी भगवतीको बाल्यकाल सामान्य तरिकाले बित्यो । गाउँकै सरकारी विद्यालयमा पढेकी उनी अरु केटीसाथी भन्दा भिन्न भएको सबैले बताउँथे । उनले घरको काम सघाएर फुटबल, क्रिकेट र गाउँघरमा खेलिने विभिन्न खेल रमाएर खेल्थिन् । अधिकांश केटी घरायसी काममै सीमित हुने समाजमा उनी भने केटाहरूसँगै मैदानमा उत्रन्थिन् ।
उनलाई गाउँमा समूह बनाएर खेल्ने हरेक खेलमा आफ्नो टिममा राख्न चाहने धेरै हुन्थे । टोलीमा एक्ली केटी आफूमात्र हुने गरेको समेत उनी सम्झन्छिन् । ‘सानैदेखि खेलकुद मन पराउँथें । फुटबल र क्रिकेट धेरै खेल्थें,’ उनले भनिन्, ‘राम्रो खेल्ने भएर नै गाउँका दाइभाइहरूले पनि मलाई आफ्नो टिममा राख्न खोज्थे ।’
मुख्य पेसा कृषि भएको सामान्य परिवार, सीमित आम्दानीमै छोराछोरी हुर्काउन भगवतीका बुवाआमाले संघर्ष गरेका थिए । उनीहरूले छोरीको शिक्षामा कुनै सम्झौता गरेनन् । ‘छोरीलाई धेरै पढाएर के काम ?’ भन्ने समाजमा हुर्केकी भगवतीका बुबाआमा भने छोरीलाई शिक्षित बनाउनुपर्छ भन्थे ।
गाउँकै एक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी विज्ञान विषय अध्ययन गर्न धनगढीको ऐश्वर्य विद्या निकेतन गएकी थिइन् । त्यहाँबाट प्लस टु पूरा गरेपछि डाक्टर बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । केही महिना एमबीबीएस प्रवेश परीक्षाको तयारी गरेकी थिइन् । सोचेजस्तो नतिजा नआएपछि त्रिचन्द्र क्याम्पसमा बीएस्सी अध्ययन सुरु गरिन् । त्यतिबेलासम्म उनको लक्ष्य प्रहरी बन्ने थिएन ।
आफ्नै गाउँकी एक जना पढाइमा अब्बल दिदीले नेपाल प्रहरी निरीक्षकको तालिम लिएको देखेपछि भगवतीलाई पनि नेपाल प्रहरीप्रति रुचि जाग्यो । ‘उहाँलाई देखेपछि राम्रो पढेका मान्छे पनि प्रहरी बन्ने रहेछन् भन्ने लाग्यो । त्यसपछि मैले पनि प्रहरी निरीक्षकको विज्ञापन खुलेको बेलामा फाराम भरें,’ उनले भनिन् । प्रहरीको फारम भरेर परीक्षाको तयारीमा लागे पनि सुरुमा परिवारलाई भनिनन् । घरमा छोरी निजामती सेवातर्फ जाऊन् भन्ने चाहन्थे । ‘त्यतिबेला छोरी मान्छे प्रहरी बन्ने विषयलाई धेरैले सहज रूपमा स्वीकार गर्ने वातावरण पनि थिएन,’ उनले भनिन्, ‘एकपटक दिन्छु । अनुभव पनि हुन्छ भनेर परीक्षा दिएकी थिएँ ।’
भगवती पहिलो प्रयासमै परीक्षामा पास भइन् र घरमा भनिन् । ‘सुरुमा त कोही खुसी हुनुभएन । ‘चार–पाँच वर्षसम्म पनि अर्को जागिर गर्न मिल्ने भए परिवर्तन गर भन्ने सल्लाह दिनुभएको थियो,’ उनी विगत सम्झन्छिन् ।
तर भगवतीका सपना फराकिला भइसकेका थिए । उनी यही क्षेत्रमा आफूलाई अब्बल बनाउन चाहन्थिन् । २०७२ सालमा पहिलो प्रयासमै प्रहरी निरीक्षक पदमा नाम निकाल्दा २२ वर्षकी थिइन् । त्यसपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आधारभूत तालिम गरिन् । तालिमका सुरुका केही महिना भने निकै कठिन लागे । ‘पहिला त कहाँ आएँछु जस्तो लाग्ने र सबै कुरा नयाँ थियो । शारीरिक अभ्यास, अनुशासन र दैनिक तालिकामा आफूलाई ढाल्न समय लाग्यो,’ उनले भनिन् । तर विस्तारै बानी पर्दै गयो र सबैकुरा सहज लाग्यो । त्यसयता उनको यात्रा कहिल्यै रोकिएको छैन ।
तालिम पूरा गरेपछि विभिन्न इकाइमा जिम्मेवारी सम्हाल्ने अवसर पाइन् । ‘सेवा सुरु भएको केही समयमै मलाई लाग्न थाल्यो । प्रहरीको काम अन्यायमा परेकालाई न्याय दिलाउनु पनि हो,’ उनले भनिन्, ‘यही बुझाइले गर्दा अपराध अनुसन्धानतर्फ अझ आकर्षित भएँ ।’
पीडितलाई न्याय दिँदा छुट्टै सन्तुष्टि मिल्ने उनी सुनाउँछिन् । ‘मलाई सुरुदेखि नै अपरेसनल र अनुसन्धान क्षेत्र मन पथ्र्यो । कसैलाई न्याय दिलाउन पाउँदा वा अपराधीलाई कानुनको दायरामा ल्याउन सक्दा छुट्टै सन्तुष्टि मिल्दो रहेछ’, उनले भनिन् ।
भक्तपुर, महाराजगञ्ज, कपन, पोखरा, मेलम्चीलगायत विभिन्न ठाउँमा छँदा उनले हत्या, लागूऔषध, फरार अभियुक्त, मानव बेचबिखनलगायतका धेरै जटिल मुद्दामा अनुसन्धान गरेकी छिन् ।
आन्दोलन व्यवस्थापनदेखि विशिष्ट व्यक्तिको सुरक्षासम्मका जिम्मेवारी पनि उत्तिकै कुशलतापूर्वक सम्हालेको अनुभव उनीसँग छ ।
भगवतीले विशेषगरी काठमाडौंमा भएका ठूला आन्दोलनहरूमा काम गरेकी छिन् । आन्दोलनकै क्रममा भीड नियन्त्रण गर्न खोज्दा वा ड्युटीमा खटिएका बेला ढुंगामुढा खानुपथ्र्यो, लाठीचार्ज गर्नुपर्ने अवस्था पनि आउँथ्यो । ‘कहिलेकाहीँ आफैँ घाइते पनि भइयो । तर त्यो हाम्रो जिम्मेवारीको एक हिस्सा हो,’ उनले भनिन् ।
भगवती सेवाको सबैभन्दा ठूलो पुरस्कार र उपलब्धि ‘कसैको जीवनमा न्याय दिलाउन सक्नु’ रहेको सुनाउँछिन् ।

सम्झिइरहने अनुसन्धान

२०३९ सालमा भारतमा २० हजार भारतीय रुपैयाँमा बेचिएकी एक महिलाले २०५१ सालमा नेपाल फर्किएपछि उजुरी दिएकी थिइन् । त्यसपछि वर्षौंसम्म फाइल थन्किएको थियो । पीडितको मृत्यु भइसकेको थियो । मेलम्ची इलाका प्रहरी कार्यालयको प्रमुख भएर पुगेपछि भगवतीले पुराना फाइल पल्टाउने क्रममा उनको नजर त्यो मुद्दामा पुग्यो । पीडितका भाइलाई सम्पर्क गरेर अनुसन्धान पुन: सुरु गर्ने निर्णय गरिन् ।
उनी विगत सम्झदै भन्छिन्, ‘एक दिन मात्रै भए पनि अपराधीलाई कानुनको कठघरामा उभ्याउनुभयो भने मेरी दिदीको आत्माले शान्ति पाउनेछ भनेर मृतकका भाइले भनेको कुराले मुद्दा जसरी पनि टुंग्याउनुपर्छ भन्ने कुरा मनमा आयो,’ उनले भनिन् ।
लामो अनुसन्धानपछि प्रहरीले ७१ वर्षीय एक अभियुक्तलाई पक्राउ गर्न सफल भयो । करिब चार दशकअघि भएको अपराध कानुनको दायरामा आयो । ‘पीडितको परिवारले आएर धन्यवाद दिँदा प्रहरीको कामको वास्तविक अर्थ मिल्ने खुसी यही रहेछ भन्ने भयो,’ उनले भनिन् ।
मानव बेचबिखनको अनुसन्धान मात्रै होइन, लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ र पीडितलाई न्याय दिलाउने अनेकौं घटनाले उनको जीवनलाई थप अर्थपूर्ण बनाएको महसुस गर्छिन् ।
यसैगरी पोखरास्थित पर्यटक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दा पनि उनले उल्लेखनीय काम गरेकी थिइन् । भिसाको अवधि सकिएर अवैध रूपमा नेपालमै बसिरहेका विदेशी नागरिकको खोजी गरी अध्यागमन विभागसँग समन्वय गरेर उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउने अभियानमा उनले सक्रिय भूमिका खेलिन् । ‘त्यस अवधिमा अन्य वर्षको तुलनामा सबैभन्दा बढी ओभरस्टे गरेका विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गराएर स्वदेश फर्काउने काम भएको थियो,’ उनले सुनाइन् ।
कपन प्रहरी प्रभाग, मेलम्ची इलाका प्रहरी कार्यालय र पर्यटक प्रहरी कार्यालय पोखरामा प्रमुखका रूपमा काम गर्दा उनले समुदायसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिएको सुनाइन् । ‘महिला प्रहरी कार्यालय प्रमुख भएपछि धेरै महिलाले खुलेर आफ्ना समस्या भन्न सक्नुभयो,’ उनले भनिन्, ‘अब हाम्री दिदी आउनुभयो’ भनेर विश्वास व्यक्त गर्नुहुन्थ्यो । त्यही विश्वास नै हाम्रो पेसाका लागि सबैभन्दा ठूलो उपलब्धि रहेछ भन्ने हुन्थ्यो ।’
हाल उनी उपत्यका प्रहरी शिक्षालयमा कार्यरत छिन् । नयाँ प्रहरी जवानलाई तालिम दिँदै उनी आफ्नो अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरिरहेकी छिन् ।
‘पदभन्दा ठूलो जिम्मेवारी’
अहिलेसम्म भगवती धेरै प्रहरी कार्यालयको नेतृत्व गरिसकेकी छन् । तर उनी सेवा सुरु गर्दाका दिनहरू सम्झिँदा एउटा कुरा अझै बिर्सन सक्दिनन् । उनीसँग महिला भएकै कारण कहिलेकाहीँ आफूले पाउनुपर्ने जिम्मेवारी पनि नपाएको अनुभव छ । ‘सुरुसुरुमा महिला भएकै कारण केही जिम्मेवारी पुरुष सहकर्मीलाई दिइएको जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘आफूले गर्न सक्छु भन्ने हुँदाहुँदै पनि अवसर कम पाएजस्तो महसुस हुन्थ्यो । तर मैले गुनासो नगरी काम गरेर देखाउने निर्णय गरें ।’
समयसँगै परिस्थिति बदलिँदै गयो । उनले जहाँ–जहाँ काम गरिन्, त्यहाँ आफ्नो कार्यक्षमताले नेतृत्वलाई विश्वास दिलाइन् । अहिले भने चुनौतीपूर्ण जिम्मेवारी आउँदा वरिष्ठ अधिकारीले सबैभन्दा पहिले आफूलाई सम्झने गरेको उनी बताउँछिन् ।
त्यसमध्ये एउटा विशेष जिम्मेवारी थियो, काठमाडौं महानगर प्रहरी कार्यालय (नगर प्रहरी) मा पोस्टिङ । ‘आन्दोलन व्यवस्थापनका लागि परिचित उक्त युनिटमा म प्रथम महिला प्रहरी अधिकृतका रूपमा खटिएकी थिएँ,’ उनले भनिन् । भीड नियन्त्रण, बल प्रयोगको कानुनी सिद्धान्त पालना गर्दै संवेदनशील परिस्थितिमा निर्णय लिनुपर्ने त्यो जिम्मेवारी सजिलो भने थिएन । तर उनले त्यसलाई पनि सफलतापूर्वक पूरा गरिन् । ‘चुनौतीबाट नभागी अप्ठ्यारो जिम्मेवारीलाई सिक्ने अवसरका रूपमा लिँदै अघि बढें,’ उनले भनिन् ।
समुदायको विश्वास जित्दै अघि बढेकी भगवती अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी छन् । ‘यदि मेरो यात्रा देखेर एउटी महिलाले आफ्नो सपना पछ्याउने हिम्मत गर्छिन् भने, त्यो मेरो सबैभन्दा ठूलो उपलब्धि हुनेछ,’ उनी भन्छिन् । उनी आफ्नो सफलताको श्रेय सबैभन्दा पहिले बुबाआमालाई दिन्छिन् ।
गाउँको एक सामान्य किशोरीदेखि नेपाल प्रहरीमा अनुसन्धानमा अब्बल अधिकृतसम्मको यात्रामा उनले धेरै मोड पार गरिन् । ‘धेरै ठाउँमा काम गर्ने अवसर पाएँ । मलाई जिन्दगीले एउटा कुरा सिकायो पदभन्दा ठूलो कुरा जिम्मेवारी हो र जिम्मेवारीभन्दा ठूलो कुरा नागरिकको विश्वास,’ उनले भनिन् ।

बाल्मीकि वली उप्रेती, प्रहरी नायव निरीक्षक
काठमाडौं थापाथलीको व्यस्त चोकमा बिहान होस् वा दिउँसो । घाम होस् वा पानी । सिठी फुक्दै सयांै सवारीसाधनलाई व्यवस्थित गर्ने हातमध्ये एक हुन्–प्रहरी नायव निरीक्षक वाल्मीकि ओली । उनी हरेक दिन आफ्नो काममा कटिबद्ध हुँदै खटिरहन्छिन् ।
सामान्य परिवारमा जन्मिएकी बाल्मीकि सानैदेखि स्कुलमा हुने खेलकुद प्रतियोगितामा भाग लिन्थिन् । रनिङ सिल, फुटबल प्रतियोगिता जस्ता कार्यक्रममा उनी सधै खुसीका साथ उपस्थित हुन्थिन् । हरेक कुरामा सक्रिय हुने उनलाई बुवाले ‘राम्रो पढेर शिक्षक बन्नुपर्छ’ भनी सम्झाउँथे । तर वाल्मीकिको चाहना भने बाल्यकालदेखि फरक थियो । उनी देश सेवामा समर्पित हुन चाहन्थिन् ।
उनका दाइ नेपाल प्रहरीमा कार्यरत थिए । त्यसैले उनलाई पनि नेपाल प्रहरीको बर्दी लगाएर देश सेवा गर्ने रहर थियो । ‘दाइलाई देख्दा म कहिले त्यसरी देशका लागि काम गर्ने, देशको रक्षाका लागि खटिने हुन्छु भन्ने हुन्थ्यो,’ उनले भनिन् ।
बाल्मीकि प्लस टु पढेर बसेकी थिइन् । त्यत्तिकैमा साथीले प्रहरी जवानमा विज्ञापन खुलेको भनेपछि फर्म भर्ने निर्णय गरिन् । ‘कस्तो हँुदो रहेछ भनी एक पटक परिवारलाई नभनी फाराम भर्छु, परीक्षा दिन्छु भनेर सोचें,’ उनले भनिन् । केही समयपछि परीक्षा दिइन् बाल्मीकिको नाम निस्कियो । ‘अनुभवका लागि दिएको परीक्षा भएकाले छनोट हुन्छु भनेर सोचेकै थिइनँ, छनोट हुँदा निकै खुसी भएँ,’ उनले भनिन् । त्यसपछि बाल्मीकिलाई चिन्ता भयो–अब परिवारलाई कसरी मनाउने ?
आँट गरेरै उनले आफ्ना दाइ र बुवालाई भनिन् । दाइ निकै खुसी भए पनि बुवा खुसी हुनु भएन । ‘बुवाले केही समयमा तालिममा जाने हो भन्दा पनि मान्नु भएन । दाइले भने म साथ दिन्छु तिमी अगाडि बढ भन्नुभयो,’ उनले भनिन् ।
बुवालाई सम्झाएर नराम्रो भए फर्कने वाचा गर्दै तालिममा गइन् । सुरुवाती दिनमा केही असहज भए पनि विस्तारै उनको प्रशिक्षण तालिम राम्रो भयो । ‘९ महिनाको तालिम सकेपछि पनि फेरि गुरुआमाका रूपमा काम गर्ने मौका पाएँ,’ उनले भनिन् ।
उनी २०६९ असार १ गतेबाट प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । हरेक तालिममा पुरुषलाई पनि टक्कर दिने बाल्मीकिले राम्रो तालिमका कारण धेरै पटक प्रोत्साहन पुरस्कार प्राप्त गरेको सुनाउँछिन् ।
त्यसै समय उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेकी थिइन् । केही समयपछि २०७२ सालमा खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदका लागि पनि परीक्षा दिइन् । त्यसमा पनि नाम निस्कियो । २०७३ मा नियुक्त भएपछिको २०७४ सालमा प्रहरी प्रधान कार्यालयअन्तर्गतको ‘महिला तथा बालबालिका सेवा केन्द्र’ मा रहेर काम गर्ने अवसर पाइन् ।
त्यसको केही समयमा उनी वैवाहिक जीवनमा बाँधिइन् । सन्तान जन्मिएपछि पनि परिवारसँगै कामलाई सहज तरिकाले अघि बढाइन् । ‘मेरो कामलाई लिएर परिवारको साथ र सपोर्ट मिलेको थियो,’ उनले भनिन् ।
वाल्मीकिले प्रहरी प्रभाग हरिसिद्धिमा इन्चार्जका रूपमा काम गरेकी थिइन् । त्यसरी नै, पर्यटक पुलिस, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा काम गरेर अनुभव बटुलिन् । त्यसपछि उनले ट्राफिक प्रहरी प्रभाग चापागाउँमा इन्चार्जका रूपमा काम गरेकी थिइन् ।
‘छोरीमान्छे पुलिस हुन्छन् र ‘छोरी मान्छे किन पुलिस हुने ?’ जस्ता प्रश्न तेर्साउने समाजमा हुर्केकी वाल्मीकि ट्राफिक प्रहरी बन्दा पनि त्यस्तै प्रश्नको सामना गरिन् । सपना देख्ने र त्यसलाई पूरा गर्ने अठोट भएपछि अरूका टिप्पणी र शंकाले उनका पाइला रोकिएनन् ।
‘आफू सही हुनुपर्छ समाजले महिला जुन पेसामा आबद्ध भए पनि प्रश्न गर्न छोड्दैन,’ उनले भनिन्, ‘मेरो ड्युटी मात्र नभएर नागरिकप्रतिको जिम्मेवारी हो ।’
बाल्मीकि अहिले उपत्यकाअन्तर्गतको ट्राफिक प्रहरीतर्फ महिला सइका रूपमा कार्यरत छिन् । प्रहरी सेवामा विभिन्न स्थानमा रहँदा उनले नजिकबाट धेरै कुरा नियालेकी छिन् । महिला तथा बालबालिका, लागूऔषध र ट्राफिकजस्ता विभिन्न जिम्मेवारी सम्हाल्दा उनले महिलामाथि हुने हिंसा, पीडा र संघर्षका अनेक रूप देखिन् ।
ट्राफिक प्रहरी भएर काम गर्दा आफू धेरै कुरामा नागरिकलाई नजिकबाट सहयोग गर्ने अवसर मिलेको सुनाउँछिन् । ‘मलाई प्रत्यक्ष रूपमा नागरिकको सेवा गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘दुर्घटनाका बेला तत्काल उद्धार गर्न, सडकमा नै समस्या समाधान गर्न र नागरिकलाई सुरक्षित यात्रा गराउन पाउँदा यही सेवा मलाई सबैभन्दा अर्थपूर्ण लागेको छ ।’
वाल्मीकिको बुझाइमा प्रहरी संगठनभित्र महिला र पुरुष दुवैलाई क्षमताको हिसाबले अवसर प्राप्त हुन्छ । ‘काम गर्ने अवसर पाए महिलाले पनि पुरुषसरह जुनसुकै पदको जिम्मेवारी पूरा गर्न सक्छन्,’ उनले भनिन् ।
ट्राफिक प्रहरीको जिम्मेवारी निभाउँदा लामो समयसम्म उभिनुपर्दा स्वास्थ्यमा समस्या समेत आएको उनले सुनाइन् । उनले ‘दाहिने घुँडाको लिगामेन्ट च्यातिएको छ र चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भनेपछि शल्यक्रिया गर्ने तयारीमा छु,’ उनले भनिन् । प्रहरी संगठनले हरेक कठिन समयमा साथ दिएको उनले सुनाइन् । वाल्मीकिको अबको लक्ष्य प्रहरी निरीक्षक बन्ने हो ।
‘स्वास्थ्यमा विभिन्न किसिमका समस्या आउँदा पुलिस अस्पतालबाट नै सहज तरिकाले उपचार हुन्छ । प्रहरी संगठनबाट समेत निकै साथ र सहयोग मिल्छ,’ उनले भनिन् । महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला सहजताका लागि आराम बिदाको व्यवस्था गरिएको उनले सुनाइन् ।
परिवारमा छाएको खुसी
सुरुवाती दिनमा छोरीको सपनालाई स्वीकार गर्न नमानेका बाल्मीकिका बुवा केही समयपछि भने छोरीको काम देखेर निकै खुसी छन् । ‘आफ्नो सपना पछ्याएर राम्रो गरिछौ अझ अगाडि बढ्नू खुसी लाग्छ भन्नुहुन्छ,’ उनले भनिन्, ‘त्यो कुराले निकै आत्मसन्तुष्टि मिल्छ ।’
समाजले पनि अहिले महिला ट्राफिकलाई अत्यन्त मन पराएको उनी बताउँछिन् । ‘नागरिकहरूले नै महिला ट्राफिकले गरेको काम निकै राम्रो भएको भनि प्रशंसा गर्नुहुन्छ,’ उनले भनिन्, ‘चौकीमै आएर महिलाको बोली, व्यवहारले गर्दा सडकमा पुरुष ट्राफिकसँग भन्दा सहज हुने गरेको समेत सुनाउनुहुन्छ ।’ त्यसरी हौसला आउँदा आगामी दिनमा महिला ट्राफिक प्रहरीको संख्या बढ्ने सुनाउँछिन् ।
बुवाको असहमतिबाट सुरु भएको यात्रा आज हजारौं महिलाका लागि प्रेरणाको कथा बनेको छ । सडकमा दिनरात नभनी ट्राफिक व्यवस्थापन गर्ने बाल्मीकिले केवल सवारीसाधनको गति मात्र होइन, समाजको सोच परिवर्तन गर्न समेत उत्तिकै भूमिका खेलेकी छिन् । उनले गरेका काम जसरी प्रशंसा योग्य छन् त्यसरी नै नयाँ पुस्ताका लागि हौसला थप्ने पनि छन् । उनको कथा एउटा प्रहरी अधिकृतको मात्र होइन, सपना, साहस र देश रक्षा गर्ने जिम्मेवारीलाई सँगै बोकेर अघि बढेकी नेपाली महिलाको कथा हो ।

शाहना बोहोरा, प्रहरी जवान
गत वर्ष चैत २५ गते ललितपुरको कृष्ण मन्दिर परिसरमा दुई दाजुभाइको हत्या गरी भाग्न लागेका आरोपीलाई पक्राउ गरेकी २० वर्षकी शाहनाको साहस निकै प्रेरणदायी बनेको छ । हत्यामा संलग्न आरोपित जो हातमा खुकुरी लिएर भाग्ने प्रयासमा मन्दिर परिसरमा दौडेका थिए, शाहनाले आफ्नो ज्यानको परवाह नगरी पक्राउ गरेकी थिइन् ।
घटनाको दिन शाहना नियमित आफ्नो ड्युटीमा खटिएकी थिइन् । हत्या भएको सूचना प्राप्त भएपछि टोलीसहित घटनास्थल पुगिन् । आरोपित भागिसकेकाले उसलाई रोक्न उनी तुरुन्तै पछाडि लागिन् । भाग्दै गरेका आरोपित एकपटक लडे । त्यसपछि पछाडि फर्केर हातमा रहेको खुकुरी शाहनालाई देखाउँदै फेरि भाग्न खोजे । तर उनी पछाडि हटिनन् । उनले नियन्त्रणमा लिएरै छोडिन् ।
‘मैले आरोपित समातेपछि धेरै जनाले डर लागेन भनेर सोधे,’ उनले भनिन्, ‘त्यतिबेला डर लागेको थिएन मेरो ध्यान अपराधीलाई समात्नुपर्छ भन्ने मात्र थियो । मलाई मेरो काम र कर्तव्यभन्दा ठूलो केही लागेन ।’
उनको साहसिक कार्यपछि नेपाल प्रहरीले नगद र सम्मानपत्र प्रदान गरेको थियो । जिल्ला प्रशासन कार्यालयबाट पनि उनी सम्मानित भइन् ।
‘पुरस्कारले अझ हौसला थप्ने काम गर्‍यो । मैले मेरो कर्तव्य पूरा गरेको सन्तुष्टिलाई ठूलो उपलब्धि मानेकी छु,’ उनले भनिन् ।
त्यसको केही समयपछि सहना आफ्नो गाउँ जाँदा उनको साहसलाई लिएर सार्वजनिक भएका समाचारबाट गाउँभरि उनको चर्चा भएको गर्वका साथ सुनाउँछिन् । सबैले आफ्नो प्रशंसा गरेको बताउँछिन् । ‘त्यतिन्जेलसम्म म नेपाल पुलिसमा कार्यरत छु भन्ने गाउँमा धेरैलाई थाहा थिएन, समाचार, भिडियो देख्नु भएछ । त्यसैले गाउँ गएको बेलामा सबैले बधाई दिनुभयो,’ उनले भनिन्, ‘त्यसरी नै काम गरेर अगाडि बढ भन्नुभएको थियो ।’ आफ्नो काम गर्ने स्थानमा होस् वा गाउँघरमा सबैले प्रोत्साहन गर्दा खुसी लागेको उनले सुनाइन् ।
शाहनाको संघर्ष
सुदूरपश्चिमको कैलाली घोडाघोडी नगरपालिका–३, नारायणपुरको सामान्य परिवारमा उनको जन्म भएको थियो । उनले गाउँकै विद्यालयबाट १२ सम्मको अध्ययन गरेकी थिइन् । उनका बुवा भारतमा काम गर्थे । आमाले घर सम्हालेर छोराछोरी हुर्काएकी थिइन् । त्यही संघर्षले उनलाई जिम्मेवार बन्न सिकायो ।
शाहनाले सानैदेखि देश रक्षाका लागि खटिने सपना बुनेकी थिइन् । प्लस टु सकेर बसेकी शाहना नेपाल प्रहरीमा प्रवेश गर्न ठूलो मेहनत गरिन् । प्रहरी जवानका लागि फर्म खुलेको देखेर भरिन् र परीक्षाको तयारी गरिन् । उनको त्यो सपना पहिलो प्रयासमै पूरा भयो । ‘मलाई सबैभन्दा खुसी लागेको क्षण नै मेरो नेपाल प्रहरीका नाम निस्केको दिन थियो । आफूले सानैदेखि सोचेको सपना पूरा हुँदा निकै खुसी लाग्ने रहेछ,’ उनले भनिन् । सहनाको पहिलो प्रयासमै सपना पूरा भएको देखेर परिवारमा पनि खुसी छायो ।
त्यसपछि उनी तालिमका लागि गइन् । २०८१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी उनले करिब नौ महिनाको तालिम पूरा गरिन् । अहिले प्रहरी सेवामा काम गरेको करिब डेढ वर्ष पूरा हुँदैछ । तालिमको समय सुरुका दिनमा गाह्रो भए पनि पछि भने सहज भएको सुनाउँछिन् ।
शारीरिक अभ्यास, अनुशासन, कठिन प्रशिक्षणका बीच उनी आफूलाई तयार बनाएर अघि बढेकी छिन् । ‘तालिमले गर्दा नै जोखिमपूर्ण परिस्थितिमा पनि नडराई अगाडि बढ्न आत्मविश्वास बढेको मैले महसुस गरें,’ उनले भनिन् ।
नेपाल प्रहरीले हरेक क्षेत्रमा महिलालाई प्रोत्साहन गर्ने हँुदा आफूलाई आफ्नो कामप्रति गर्व लाग्ने गरेको सुनाउँछिन् । ‘नेपाल प्रहरीमा हरेक कुरामा महिलालाई प्रोत्साहन गरेको देख्दा खुसी लाग्छ,’ उनले भनिन्, ‘मैले गरेको कामलाई मूल्यांकन गरेर सम्मान गर्दा धेरै हौसला पाएकी छु, भविष्यमा अझ राम्रो काम गर्ने इच्छा छ ।’
निष्ठाका साथ देशको सेवा गरी अगाडि बढ्ने उनको लक्ष्य छ । सुरुवाती दिनमा नै सहनाले गरेको कामले एउटा उदाहरण भने स्थापित गरिसकेको छ । देशको सेवा गर्ने संकल्प उमेरले होइन, जिम्मेवारीप्रतिको निष्ठाले निर्धारण गर्छ भन्ने उनले प्रमाणित गरिसकेकी छन् । 

तस्बिरहरु: महेशमान प्रधान

 Image