Successfully Copied

घर छाड्ने ‘विद्रोह’ ले बनायो उद्यमी

उनी पढ्नका लागि काठमाडौं जान चाहन्थिन्, तर परिवारले अनुमति नदिएपछि घर छाड्ने निर्णयमा पुगिन् । त्यसपछि सुरु भयो उनको संघर्ष ।

२६ वर्षीया निशा यादव (सोनल) १२ वर्षअघि ‘काठमाडौं गएर पढ्छु’ भन्ने अडानमा नउभिएको भए, सायद आफ्ना साथीजस्तै विवाह गरेर घरधन्दा सम्हालिरहेकी हुन्थिन् । रौतहटको गौर नगरपालिका–५ की निशाले घर र समाजले तय गरिदिएको बाटो अस्वीकार गरेर आफैंले रोजेको यात्रा सुरु गरिन् ।
एसएलसी सकेपछि ‘सहर गएर पढ्नुपर्छ’ भन्ने सोच उनको मस्तिष्कमा पलायो । ६ वर्षकै उमेरमा बुवा गुमाइसकेकी निशाका परिवारको सम्पूर्ण जिम्मेवारी हजुरबुवा तेजनारायणमाथि थियो । फुपाजु उदयपुरका एक विद्यालयका प्रिन्सिपल थिए । उनकै पहलमा निशा बृजकोर्स अध्ययनका लागि काठमाडौं आइन् । बृजकोर्स सकेर फर्किएपछि ‘आर्थिक अवस्था कमजोर छ, छोरीलाई टाढा पढाउन सकिँदैन भन्ने कारण देखाउँदै उनको परिवारले उनलाई पुन: काठमाडौं पठाउने अनुमति दिएन ।’
‘छोरा छैन, नातिनीको विवाह, दाइजो, सामाजिक खर्च,’ हजुरबुवाको चिन्ता थियो, ‘यहीँ १२ कक्षा पढ्छे, त्यसपछि विवाह गर्दिने हो ।’
निशा पढाइमा अब्बल थिइन् । टोलका धेरैजना असफल हुँदा उनी २०७१ सालमा एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भइन् । तर घरमा पढाइभन्दा काम र विवाहका कुरा धेरै हुन्थे । यहाँ अल्झिएँ भने पढ्न सकिँदैन उनी स्पष्ट भइसकेकी थिइन् । काठमाडौं जान परिवारमा अनुरोधसँगै डर र धम्की पनि देखाइन् । तर पनि परिवारले अनुमति नदिएपछि उनी पढ्नका लागि घर छोड्ने निर्णयमा पुगिन् ।
‘आमाको दराजबाट पाउजु झिकेर सुनारकहाँ धितो राखें,’ उनी २०७१ साउन २ गतेको त्यो दिन सम्झिन्छिन्, ‘१४ सय रुपैयाँ पाएँ । ८ सयको बस टिकट लिएँ, बाँकी ६ सय सुरुवालको गोजीमा राखेर रात्रि बस चढें ।’
बस यात्राकै बीचमा उनले घरमा फोन गरेर आफू काठमाडौं पढ्न हिँडेको जानकारी दिइन् । काठमाडौं आएर उनी सानिमाको घरमा बसिन् । नातिनीको अडान देखेर हजुरबुवा पनि पछि हट्नुपर्‍यो । हजुरबुवा आफैं काठमाडौं आएर नातिनीलाई म्यानेजमेन्टमा भर्ना गरिदिए । कलेजकै होस्टल बसेर उनले अध्ययन अघि बढाइन् । १२ कक्षा पनि प्रथम श्रेणीमै उत्तीर्ण भइन् । त्यसपछि उनको घरमा पनि खुसी छायो ।
१२ कक्षापछि भारत गएर सीए पढ्ने निशाको अर्को सपना थियो । तर ‘छोरीलाई भारत पठाउनु जोखिमपूर्ण हुन्छ’ भन्ने कुरा हजुरबुवालाई कसैले सुनाएछ, त्यसपछि उनको त्यो सपना त्यहीँ रोकियो । नेपालमै पढ्ने बाध्यता बन्यो । त्यसपछि उनी नेपालबाट नै सीएको तयारीमा लागिन् । कहिलेकाहीँ हजुरबुवाले ‘तिमीलाई पढाउँदा–पढाउँदै म भिखारी बन्छु कि जस्तो लाग्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘यस कुराले पनि पैसा कमाउनुपर्छ भन्ने लाग्थ्यो ।’
त्यही कारण पनि पढाइसँगै कमाउने बाटो रोज्नु उनको बाध्यता बन्यो । ६ महिना स्कुल पढाइन् । त्यसपछि फाइनान्स कम्पनीमा काम गर्ने अवसर मिल्यो । २०७५ सालमा रत्नराज्य क्याम्पसमा अर्थशास्त्र विषयमा भर्ना भइन् । कानुनप्रति पनि उनको विशेष रुचि थियो ।
तेस्रो प्रयासमा २०७७ सालमा कानुन संकायमा नाम निकालिन् । कान्छो भाइ र उनीसँगै कानुन विषयमा भर्ना भए । काठमाडौंमा होस्टलबाट उनी भाइसँगै कोठामा बस्न थालिन् ।
त्यतिबेला कोरोना महामारी आयो र गाउँ फर्किनुपर्ने बाध्यता बन्यो । महामारीपछि काठमाडौं फर्किएर उनले उद्यमी बन्ने निर्णय गरिन् । बागबजारमा २०७८ फागुनमा चिया पसल खोलिन् । ग्यास चुल्हो, टेबल, कुर्सी जोड्दा करिब २ लाख रुपैयाँ खर्च भयो । ‘कलेज सकेर म आफैं पसल पुग्थें । एक जना कर्मचारी पनि राखेकी थिएँ,’ उनले भनिन्, ‘चियासँग ठेकुवा, खजुरी जस्ता परिकार आफैं बनाउँथें ।’ तराईमा छोरी मान्छेलाई पकाउने सीप त स्वाभाविक हुन्छ । उनले मुस्कुराउँदै भनिन्, ‘गाउँमा मलाई सानैदेखि मीठो बनाउँछे भनेर भोजभतेरमा पकाउने जिम्मा दिनुहुन्थ्यो ।’
चिया पसलसँगै उनलाई होस्टल सञ्चालन गर्ने सोच आयो । पहिले होस्टल नै सञ्चालन भएको एक घर उनले फेला पारिन् । सामाजिक सञ्जालमार्फत मार्केटिङ गरिन् । फर्निचरहरू उधारोमै जोडिन् ।

२०७९ असारमा ‘क्वीन्सल्यान्ड गल्र्स होस्टल’ नाम दिएर बुद्धनगरबाट होस्टलको यात्रा सुरु भयो । विस्तारै बागबजारबाट, पुरानो बानेश्वर, बिजुलीबजार पुल नजिक र बबरमहलमा पनि होस्टल सञ्चालनमा आए ।
कान्छो भाइको एमबीबीएस अध्ययन खर्च जुटाउन उनले एउटा होस्टल बेचिन् । हाल बुद्धनगर, बबरमहल र बिजुलीबजार नजिक होस्टल सञ्चालनमा छन् । बिजुलीबजारको होस्टलसँगै उनले ‘चाय ओ क्लक’ नाम दिएर क्याफे खोलेकी छिन् । जहाँ उनी आफैं बनाएको ठेकुवा र खजुरी ग्राहकले चिया र कफीसँग खान्छन् ।
मधेशका परिकारलाई ब्रान्ड बनाउने उद्देश्यले उनले ठेकुवालाई ठाउँ दिएको बताउँछिन् । ‘तिरहुत फुड्समार्फत खजुरी र ठेकुवाको बजारीकरण गर्न चाहन्छु,’ उनी भन्छिन्, ‘यसलाई राम्रो प्याकेजिङ गर्न सकेर बजारीकरण भएमा गाउँका आमा–दिदीबहिनीलाई रोजगारी दिन सकिन्छ ।’
चिया पसल धेरै खुलेपछि उनले उत्पादनतर्फ लाग्ने निर्णय गरेकी हुन् । कम्पनी दर्ता गरेर खजुरी, ठेकुवा र चियापत्तीको विस्तार गर्दैछिन् । उनको लक्ष्य यसरी उत्पादन भएको वस्तु नेपालबाहिर निर्यात गर्ने छ ।
उनले होस्टलहरूमा म्यानेजर, वार्डेनसहित १२ जनालाई रोजगारी दिएकी छन् । मासिक रूपमा होस्टल भाडामै करिब ५ लाख रुपैयाँ खर्च हुन्छ । न्यूनतम १२ हजारदेखि माथि तलब खाने कर्मचारी उनकोमा कार्यरत छन् । सुरुमा हजुरबुवाले ८० हजार र आमाले ५० हजार सहयोग गरे पनि बाँकी लगानी आम्दानीबाट थप्दै गएको उनी सुनाउँछिन् ।
भाइहरूको पढाइ नबिग्रियोस् भनेर उनीहरूलाई व्यवसायमा संलग्न गराएकी छैनन् । ‘म दिदी मात्र होइन, उनीहरूका बुवाको भूमिका पनि निर्वाह गरिरहेकी छु,’ उनले भनिन्, ‘कान्छो भाइको एमबीबीएस पढाइमा मैले पनि आर्थिक सहयोग गरिरहेकी छु ।’ पहिले जागिर खाने सोचमात्र भएको म व्यवसाय कसरी चल्छ, लगानी कसरी बढ्छ भन्ने सिकेकी छु ।
‘सहरमा आएर धेरै कुरा सिकेकी छु,’ उनले खुसी हुँदै भनिन्, ‘व्यवसाय बढ्दै गएको छ । साथीभाइ चिन्दैछु । ऋण छैन । यही नै मेरा लागि ठूलो सफलता हो ।’
पहिले काठमाडौं आउँदा रिसाएका हजुरबुवा आज नातिनीको व्यावसायिक सफलता देखेर खुसी छन् ।
भविष्यमा उनी आफूलाई उद्यमशील महिलाकै रूपमा स्थापित गर्ने लक्ष्यमा छिन् । तर सरकारी प्रक्रिया झन्झटिलो र अपारदर्शी भएकोमा उनको गुनासो छ । देशको प्रणाली सहज बनोस्, अवसर ‘आफ्ना मान्छे’ लाई मात्र होइन, क्षमता र आवश्यकताका आधारमा सबैले पाउने वातावरण बनोस् भन्ने उनको चाहना छ । 

 Image