मण्डप विभिन्न रङका फूल र कपडाले सजिसजाउ छ । टेबलमा थरीथरीका पकवान । त्यो कुनै व्रतबन्धको भोज पार्टी थियो । एउटा कुनामा जेरीवाला दाइ जलेबी पकाइरहेका छन् । एक्कासि जोडले जमिन हल्लिन थाल्यो ।
दीपिकाले सोचिन्, जेरीवाला दाइले किन यसरी बल लगाएर जेरी घुमाइरहेका छन् । तर धेरै बेरसम्म पनि कम्पन रोकिएन ।
त्यो दिन थियो, २०७२ वैशाख १२ गते शनिबार । अर्थात् ‘प्याक माई लञ्च’ का संस्थापकद्वय समीक्षा राई र दीपिका श्रेष्ठले त्यति ठूलो काम पहिलो पटक जिम्मा लिएको दिन । उसै दिन नेपालमा ७ दशमलव ८ रेक्टरको महाभूकम्प गएको थियो । र पनि यी दुई विचलित भएनन् । जस्तै अप्ठ्यारोमा पनि चुनौती सामना गरिरहे, र त १३ वर्षपछि आज आएर उनीहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सय जनाभन्दा बढीलाई रोजगारी दिइरहेका छन् ।
पाटन अस्पतालमा जन्मिएकी समीक्षाले महारानी गायत्रीदेवी गल्र्स स्कुल जयपुर राजस्थानबाट प्राथमिक शिक्षा पूरा गरी दिल्ली युनिभर्सिटीबाट बी.कम. गरिन् । त्यसपछि उनले अमेरिकाबाट एमबीए पूरा गरिन् । लन्डनमा १ वर्ष रिसर्चको काम गरेपछि स्वदेशमै कुनै नयाँ काम गर्ने हुटहुटीले सन् २०१२ मा नेपाल फर्किइन् ।
बुवा सरकारी जागिरे भएकाले ठाउँठाउँमा सरुवा भइरहने हुँदा दीपिकाको जन्म भने नेपालगञ्जमा भयो । चार दिदीबहिनी र एक भाइमध्येकी दीपिकाले मल्पी स्कुलबाट प्लस टु सकेर दिल्लीबाट इन्टेरियर डिजाइनिङमा बी.एस्सी. पूरा गरेकी छिन् । उनी पनि नेपाल फर्किएर केही गर्न चाहन्थिन् । सन् २०१० मा नेपाल फर्किएपछि दीपिकाले युएन माइन एक्सन टिममा काम गर्न थाािलन् । त्यो काममा उनी धेरै बेर रमाउन सकिनन् ।
उसो त नेपाल फर्किएपछि विशालनगरमा बस्ने दीपिका अफिसको काममा अत्यन्तै व्यस्त हुन्थिन् । उनीसँग खाना खाने फुर्सद पनि हुँदैनथ्यो । धेरैजसो बाहिरबाटै खाना–खाजा मगाएर खानुपर्ने बाध्यता थियो । तर बाहिरबाट मगाउँदा भनेजस्तो खाजा नपाउँदा अत्यन्तै समस्या हुन्थ्यो । दीपिका र समीक्षा नेपाल फर्केर आ–आफ्नै काममा व्यस्त भए । तर दुवैले एउटै समस्या भोगिरहेका थिए, त्यो हो समयमा खाना खान पाइँदैनथ्यो र पाइहाले पनि गुणस्तरीय खाना पाउन कठिन हुन्थ्यो । त्यो क्षणलाई सम्झिँदै उनीहरू भन्छन्, ‘दिल्ली हुँदा धेरैजसो टिफिन बक्समा खानामा डेलिभरी गरिदिने कम्पनीबाट खाना आउँथ्यो । खाना पनि स्वस्थकर नै हुन्थ्यो । नेपालमा पनि त्यस्तै खाना डेलिभरी सेवा खोज्दा भेट्दै भेटिएन ।’
त्यसपछि उनीहरूलाई पनि नेपालमा त्यस्तै खाजा पसल खोल्ने इच्छा लाग्यो । उनीहरूले त्यस विषयमा छलफल गरी
अघि बढ्ने विचार गरे । कम्पनी सुरुवात गर्दाको समय स्मरण गर्दै भन्छन्, ‘बाधा–अड्चन आए पनि प्रयास नगरी हार खानु भन्दा प्रयास गर्दा सफल भइएला भन्ने लाग्यो । अन्त्यमा हामीले त्यही रोज्यौं र त्यसै गर्यौं ।’
यी दुवै युवतीको लक्ष्य आफ्नै जन्मभूमिमा नयाँ काम गरेर रोजगारी सिर्जना गर्ने थियो । त्यसपछि यी दुईले ‘टिङ्ग अ लिङ्ग’ सुरु गरे । सन् २०१२ मा सुरु भएको ‘टिङ्ग अ लिङ्ग’ इयररिङ, फिङ्गर रिङ्गलगायतका स–साना एक्सेसरिज बेच्ने अनलाइन प्लेटफर्म थियो । ‘यो त नसोचेको तरिकाले राम्रो चल्यो । हामीले सोचेभन्दा राम्रो भएकाले थप उत्साहित भयौं,’ समीक्षा भन्छिन्, ‘अनि दीपिकाले, दिल्ली पिजीमा बस्दा खाना प्याकिङ गरेर ल्याउँथ्यो नि, हामी पनि त्यस्तै सुरु गरौं भनेपछि हामीले बैंक, कर्पोरेट अफिस, आइटी कम्पनी आदि ठाउँमा घरमै जस्तो खाना सर्भ गर्ने निधो गर्यौं । सुरुमा एक सय जनालाई नि:शुल्क खाना बाँड्यौं । यसरी सुरु भयो ‘प्याक माई लञ्च’ को यात्रा ।’
खाना नै जीवन हो भन्ने विषयमा राम्रो ज्ञान भएका यी दुई युवतीले ‘स्वस्थ जीवनका लागि स्वस्थकर खाना’ आजको आवश्यकता हो भन्ने कुरा राम्ररी बुझेका थिए । तब उनीहरूले स्वस्थकर र घरको स्वाद आउने खानाका साथै उत्कृष्ट सेवा ‘प्याक माई लन्च’ मार्फत पस्किन थाले । सुरुमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले लगानी गरेको यो कम्पनी आज करोडौंको कारोबार गर्न सफल छ । उनीहरूले सरकारलाई तिर्ने कर पनि कम छैन । प्रत्यक्ष रूपमा ५० जना तथा अप्रत्यक्ष रूपमा सय जनालाई रोजगारी दिइरहेका उनीहरूको कम्पनीमा ६० प्रतिशत महिला कामदार छन् ।
यो स्वस्थ, सुलभ, स्वादिलो खाना र खाजा डेलिभरी गर्ने उद्देश्यले खुलेको कम्पनी हो । यसले क्यान्टिन, इनडोर, आउटडोर क्याटरिङ, फ्रोजन फुड, इभेन्ट म्यानेजमेन्ट, पूजाआजा, व्रतबन्ध, विवाह, संगीत, मेहन्दी आदिलाई ध्यानमा राखेर सबै प्याकेजको सेवा दिइरहेको छ ।
सुरुवाती दिनमा महिला उद्यमीलाई हेर्ने नजर फरक रहेको र विभिन्न समस्या भोग्नुपरेको उनीहरू बताउँछन् । दीपिकाका अनुसार सुरुवाती दिनमा केही कठिन भए पनि अहिले विस्तारै सहज हुँदै गएको छ । उनी भन्छिन्, ‘अहिले हामी मान्छे जन्मिनुअघि गरिने दही–चिउरा कार्यक्रमदेखि श्राद्धसम्मका काममा खानासम्बन्धी सबै सेवा दिन्छौं ।’
खानपान व्यवस्थापनमा महिला कुशल हुन्छन् भन्ने भनाइलाई यी दुईको कामले प्रमाणित गरिदिएको छ । त्यसैले उनीहरूको व्यवसाय दिनदिनै फस्टाउँदो छ । यी दुई युवती आफ्नो काममा आफैं खट्छन् । त्यसैले यस्तै काम गर्ने अन्य तुलनामा यिनीहरूको खानाको गुणस्तर, पस्किने कला र शैली एवं डेकोरेसनको तौरतरिका अलग र आकर्षक छ ।
‘प्याक माई लन्च’ खुलेको १३ वर्षको अवधिमा अधिकांश ग्राहकबाट घरको स्वादयुक्त गुणस्तरीय खाना भन्ने प्रतिक्रिया पाएको उनीहरूले बताए । समीक्षा भन्छिन्, ‘ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले व्यवसाय विस्तार गर्न हौसला मिलेको छ ।’
‘हाम्रा युवाहरू यत्तिकै विदेश गएजस्तो लाग्छ । यहीँ प्रयास नगर्ने तर विदेश गएर जे काम गर्न पनि तम्सिने । मेहनत त जता गए पनि उत्तिकै हो ।’ समीक्षा भन्छिन्, ‘नेपालमा सानो काम गर्न लजाउने, त्यही काम विदेश गएर गर्न केही नहुने ? आफ्नै देशमा सानो काम गर्न लाज लाग्ने हुँदा पनि हाम्रो देश पछाडि पर्यो ।’
समीक्षा र दीपिका आफूहरूले थुप्रै युवालाई सीप सिकाएर रोजगारी दिन पाएकोमा खुसी लागेको बताए । विविध चुनौती चिर्दै १३ वर्षसम्म आफ्नो व्यवसाय टिकाउन सक्नु, स्वस्थकर खानासहितको प्रभावकारी सेवा दिँदाको खुसी, करिब १०० जनालाई रोजगारी दिन सफल हुनुलाई यी दुईले सकारात्मक रूपमा लिएका छन् । दीपिका भन्छिन्, ‘हाम्रा जस्ता धेरै व्यवसाय खुले, बन्द भए तर हाम्रो जग बलियो भएकै कारण टिकिरहेका छौं । हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं । हामी आफैं खटिन्छौं, बेस्ट अफ द बेस्ट सर्भ गर्ने ध्याउन्नमा सधै रहन्छौं ।’
उनीहरूकहाँ अनलाइन अर्डर धेरै आउँछ । विशेषत: विदेश बस्ने युवाहरूको आकर्षण बढी छ । उनीहरूको वेभसाइट हेरी उतैबाट विवाह, व्रतबन्ध, पास्नीलगायतका उत्सवको सम्पूर्ण जिम्मेवारी दिँदै बुकिङ गर्नेहरूको जमात बढ्दो छ जुन उनीहरूको अलग शैलीको फुड प्रेजेन्टेसन, खानाको गुणस्तर अनि वान स्टप सर्भिस मूल कारण हुन् । समीक्षा भन्छिन्, ‘यहाँ व्यवसायमा पुरुषहरूले ठूलो सोच्ने अनि महिला सानो सोच्ने गर्छन् जस्तो लाग्छ । हामी महिला भए पनि आफ्नो व्यावसायिक कम्पनीलाई सय करोडको कसरी बनाउने भनेर किन नसोच्ने ?’ ठूलो सपना देखियो भने ठूलै जित हासिल गर्न सकिन्छ तर परिश्रम र धैर्य जरुरी हुन्छ भन्ने कुरा दीपिका र समीक्षाको अनुभवले बताउँछ ।