एउटा घाइते कुकुर सडकछेउ लडिरहेको हुन्छ । आँखा डरले भरिएको, शरीर पीडाले थरथर काँपिरहेको । उसको आवाज कसैले सुन्दैन । मानिसहरू छेउबाट गुज्रन्छन्, कसैले दया देखाउँछ, तर कसैको नजर फेरिन्छ । तर यही भीडभाडभित्र केही यस्ता मान्छेहरू छन्, जो ती घाइते कुकुरको जीवनलाई फेरि आशा दिन्छन् ।
उनीहरूको जीवन सामान्य छैन । साँझ–बिहानको तालिका छैन, कहिलेकाहीँ रातको बीचमा आएको एउटा फोनले उनीहरूलाई सडकमा पुर्याउँछ । रगतले लतपतिएको कुकुर, दुर्घटनामा परेका वा भोकले छटपटाइरहेका आँखाहरू । धेरैपटक उनीहरूले आफ्नै समय, पैसा र भावना त्याग्नुपर्छ । कहिलेकाहीँ उनीहरू घन्टौं एउटा जनावर बचाउन संघर्ष गर्छन्, सबै प्रयास सफल हुँदैनन्, सबै कथा सुखद् अन्त्यमा टुंगिँदैनन् । तर पनि उनीहरू रोकिन्नन् । माया र जिम्मेवारीले उनीहरूलाई फेरि अर्को दिन, अर्को जीवनतर्फ दौडाउँछ ।
यी हुन् ‘डग रेस्क्युअर’ आवाज नभएकाहरूको आवाज । उनीहरूको काम केवल जनावर बचाउनु मात्र होइन, मानवताको अर्थ जोगाउनु पनि हो ।
सडकका कुकुरहरूको भरोसा बनेका इरफान
इरफान खान दिनको धेरै समय सडकमा बिताउँछन् । दुर्घटनामा परेका तथा रोगले थलिएका कुकुरको उद्धार र उपचारमा धेरै समय लगाउँछन् । उनको मोबाइलमा दिनभरि फोन र म्यासेज आइरहन्छ, ‘यहाँ एउटा घाइते कुकुर छ’, ‘कसैले दुव्र्यवहार गरेको छ’, ‘कृपया बचाइदिनुहोस्’ उनी सकेसम्म सबै ठाउँ पुग्ने प्रयास गर्छन् ।
इरफान आज नेपालमा सडक कुकुरहरूका लागि आशाको नाम बनेका छन् । कुनै ठूलो संस्था वा सरकारी पदमा नभए पनि उनको कामले हजारौं मानिसको मन जितेको छ । सडकमा घाइते, बिरामी, भोकाएका वा मानिसको क्रूरताको सिकार भएका कुकुरहरू देख्दा उनी चुप लागेर बस्न सक्दैनन् । यही संवेदनशीलताले उनलाई ‘डग रेस्क्युअर’ का रूपमा चिनाएको हो ।
सामान्य पेसामा आबद्ध इरफानको जीवन मोडियो, जब उनले सडकमा छटपटाइरहेका जनावरहरूको पीडा नजिकबाट देख्न थाले । त्यसपछि उनले आफ्नो समय, श्रम र पैसासमेत खर्च गरेर घाइते कुकुरहरूको उद्धार गर्न थाले । आज उनी सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत सक्रिय रूपमा जनावरको जीवन बचाउन दौडिरहेका हुन्छन् ।
काठमाडौंका विभिन्न क्षेत्रमा दुर्घटनामा परेका, एसिड प्रहार गरिएका, भोकले थलिएका वा कुटपिट गरिएका कुकुरहरूको उद्धारमा इरफान सधैं अगाडि देखिन्छन् । कतिपय अवस्थामा उनी रातभरि उपचार र हेरचाहमै बिताउँछन् । मानिसहरूले बेवास्ता गरेका जनावरहरूका लागि उनी अभिभावकजस्तै बनेका छन् ।
इरफान केवल उद्धारकर्ता मात्र होइनन्, पशु अधिकारका आवाज पनि हुन् । नेपालमा जनावरमाथिको हिंसाविरुद्ध कडा कानुन बन्नुपर्छ भन्ने विषयमा उनी निरन्तर बोलिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनी जनचेतना फैलाउने, पशुप्रेमीहरूलाई जोड्ने र जनावरप्रति दया देखाउन आग्रह गर्ने काम गर्छन् । पशुमाथि अत्याचार भएका घटनामा उनी कानुनी कारबाहीको मागसमेत गर्छन् ।
उनको साहसिक काममध्ये एउटा बाढी आएको खोलामा फसेका सडक कुकुरहरूको उद्धार पनि हो । आफ्नो ज्यानको पर्वाह नगरी उनले ती कुकुरहरू बचाएका थिए । यस्तो कार्यले धेरैलाई भावुक बनाएको थियो ।
धेरै मानिसले इरफानलाई ‘भ्वाइस अफ द भोइसलेस’ अर्थात् बोल्न नसक्नेहरूको आवाज भनेर सम्मान गर्छन् । सामाजिक सञ्जालमा कसैले घाइते कुकुरको फोटो पोस्ट गरेपछि सबैभन्दा पहिले सम्झिने नाममध्ये एक हो, इरफान खान । धेरैले उनलाई सम्पर्क गरेर उद्धारका लागि सहयोग माग्ने गरेका छन् ।
नेपालमा पशु कल्याणको क्षेत्रमा अझ धेरै चुनौती छन् । सडक कुकुरको संख्या, उपचारको अभाव, कमजोर कानुन र जनचेतनाको कमी । तर यस्ता चुनौतीबीच इरफानजस्ता युवाले मानवता अझै जीवित भएको सन्देश दिएका छन् ।
इरफान खानको कथा केवल कुकुर बचाउने व्यक्तिको कथा होइन, यो करुणा, साहस र जिम्मेवारीको कथा हो । उनी प्रमाण हुन्, एक व्यक्तिको सानो प्रयासले पनि धेरै निर्दोष जीवन बचाउन सकिन्छ ।
जारापछि सुरु भएको यात्रा
सन् २०१४ मा, आफ्नै घरको कुकुर ‘जारा’ लाई छिमेकीले विष खुवाएपछि उनको संसार नै बदलियो । जारालाई बचाउन नसक्ने पीडाले उनको मन भक्कानियो । त्यो पीडा केवल एउटा पाल्तु जनावर गुमाएको थिएन, त्यो त परिवारको सदस्य गुमाएको शोक थियो ।
उनी भन्छिन्, ‘मेरो लागि जारा कुकुर थिएन, मेरो परिवार थियो ।’ त्यही पीडाले उनलाई डिप्रेसनतर्फ धकेल्यो । तर, त्यही पीडाले उनको जीवनलाई नयाँ दिशा पनि दियो । जाराको मृत्युपछि उनी चुप लागेर बसिनन् । सडकमा भेटिने कुकुरहरूलाई बिस्कुट खुवाउन थालिन् । गाडीमा सधैं खाना बोकेर जान्थिन् । घाइते कुकुर देखे–उठाएर उपचारका लागि लैजान्थिन् ।
पहिला उनी केवल आफ्नो घरको कुकुरलाई माया गर्थिन् । तर जारा गुमाएपछि उनले सडकका कुकुरहरूको पीडा महसुस गरिन् । ‘बाटोका कुकुरलाई कसले हेर्छ ?’ यो प्रश्नले उनलाई शान्त बस्न दिएन ।
सुरुवाती दिनहरू सजिला थिएनन् । जब उनी सडकमा कुकुरलाई खाना खुवाउँथिन्, मानिसहरू हाँस्थे । ‘कति अनाथ बालबालिकाहरू छन्, उनीहरूलाई खुवाउनुहोस् न ।’ यस्ता टिप्पणीहरू उनलाई बारम्बार सुनाइन्थ्यो । तर उनले हार मानिनन् ।
सन् २०१५ मा उनले आफ्नो अभियानलाई औपचारिक रूप दिँदै स्नेहा केयर दर्ता गरिन् । आज स्नेहा केयर केवल एउटा संस्था होइन । यो पीडित जनावरहरूको आश्रय बनेको छ ।
१ सय ७० भन्दा बढी कुकुर (धेरै अपांग, घाइते, हिँड्न नसक्ने), ५० भन्दा बढी गाई–बाछा (बाटोमा छोडिएका) छन् । २५ जनाको टिम, २ जना डाक्टर, ८ जना टेक्निसियन यी सबै मिलेर दिनरात जनावरहरूको सेवा गरिरहेका छन् ।
हालै सुकुमवासी बस्ती हटाउँदा अर्को समस्या देखियो । घर मात्र भत्किएन, जनावरहरूको पनि आश्रय खोसियो । मानिसहरू आफैं संकटमा थिए । धेरैले बाध्यतावश आफ्ना कुकुर त्यहीँ छोडे । उनी भन्छिन्, ‘मान्छे त बोल्न सक्छन्, तर ती जनावरहरूको आवाज कसले सुन्छ ?’
स्नेहा केयरले मात्र २० भन्दा बढी कुकुर र केही बिरालो रेस्क्यु गरिसकेको छ । तर अझै हजारौं जनावर सडकमा छन् ।
नेपालमा जनावरमाथि हुने अत्याचार गम्भीर समस्या बनेको छ । तातोपानी खन्याउने, ढुंगा हान्ने, कुटपिट गर्ने, एसिड आक्रमण, बाँधेर राख्ने गरेका छन् । उनी भन्छिन्, ‘हामी पूजा गर्छौं, तर व्यवहारमा क्रूरता गर्छौं । यो दोहोरो चरित्र हो ।’
नेपालमा अझै प्रभावकारी पशु कल्याण कानुन छैन । यसले गर्दा अपराधीहरू सजिलै उम्किन्छन् । कडा एनिमल वेलफेयर ल, कडा सजाय, सरकारी स्तरमा आश्रय र खाना व्यवस्था हुनुपर्ने उनको माग छ । ‘मान्छेलाई जस्तो जिम्मेवारी राज्यले लिन्छ, जनावरलाई पनि लिनुपर्छ,’ उनी भन्छिन् ।
उनी विश्वास गर्छिन्–परिवर्तन शिक्षाबाट सुरु हुन्छ । त्यसैले स्नेहा केयरले ह्युमन एजुकेसन प्रोग्राम सञ्चालन गरिरहेको छ । १ हजार भन्दा बढी विद्यालयमा कार्यक्रम गरिसकेको छ । बालबालिकाहरूलाई जनावरसँग प्रत्यक्ष सम्पर्क पनि गराइन्छ । ‘बालबालिकाले छुँदा मात्र माया सिक्छन्,’ उनी भन्छिन् ।
अहिले धेरै युवा सडक कुकुरलाई खाना खुवाउँछन् । सामाजिक सञ्जालमा आवाज उठाउँछन् । क्रूरता विरुद्ध बोल्छन् । ‘म पहिले एक्लै थिएँ, अहिले हजारौं साथमा छन्,’ उनी मुस्कुराउँदै भन्छिन् ।
पहिला उनी हाँसोको पात्र थिइन् । आज उनी प्रेरणा बनेकी छन् । उनको सिरानीको छेउमा अझै जाराको फोटो छ । उनी हरेक बिहान उनी त्यही फोटो हेरेर दिन सुरु गर्छिन् । ‘त्यो तस्बिरले मलाई सम्झाउँछ । अझ धेरै जनावरका लागि बोल्न बाँकी छ ।’
सडक कुकुरप्रति समर्पित दाजु–बहिनी
विराटनगरका दाजु–बहिनी शाहिल र एलिना प्रसाईंले सडक कुकुरप्रति देखाएको माया, समर्पण र जिम्मेवारीपूर्ण कार्य वास्तवमै प्रेरणादायी छ । उनीहरू उच्च शिक्षा हासिल गर्न भारतको दिल्ली गएका थिए । शाहिलले बीबीए पढ्दै थिए भने एलिनाले इन्फरमेसन टेक्नोलोजी एन्ड ह्युमन रिसोर्स अध्ययन गरिरहेकी थिइन् ।
दिल्ली बसाइका क्रममा उनीहरूले सामुदायिक कुकुरहरूको पीडादायी अवस्था नजिकबाट देख्ने अवसर पाए । गाडीको ठक्करबाट घाइते भएका, भोकले छटपटाइरहेका कुकुरहरूलाई केही मानिसले उपचार र खाना दिइरहेको दृश्यले उनीहरूलाई गहिरो रूपमा छोयो । त्यसपछि उनीहरू पनि स्थानीयहरूसँग मिलेर घाइते कुकुरको उपचार र हेरचाहमा सहभागी हुन थाले ।
सन् २०२० मा कोभिड महामारी सुरु भएपछि उनीहरू विराटनगर फर्किए । लकडाउनका कारण सहर ठप्प थियो । मानिसहरू घरभित्र सीमित हुँदा सडकका कुकुरहरू झनै संकटमा परे । खान नपाएर भोकले छटपटाइरहेका कुकुरहरूको अवस्था देख्दा एलिनाको मन स्थिर बस्न सकेन । उनले घरमै खाना पकाई सडकमा गएर कुकुरलाई खुवाउन सुरु गरिन् ।
यही क्रममा एक दिन उनले गम्भीर घाइते कुकुर देखिन्, जसको शरीरबाट रगत बगिरहेको थियो । उनले दाजुको सहयोगमा कुकुरलाई अस्पताल पुर्याइन् । परीक्षणपछि क्यान्सर भएको थाहा भयो र अपरेसन गर्नुपर्ने भयो । आर्थिक कठिनाइ हुँदाहुँदै पनि उनीहरूले करिब आठ हजार रुपैयाँ खर्च गरेर उपचार गराए । त्यसपछि केही महिना घरमै राखेर कुकुरको हेरचाह गरियो । यो अनुभव उनीहरूको जीवनमा महत्वपूर्ण मोड बन्यो ।
उनीहरूले आफ्नो काम सामाजिक सञ्जालमा साझा गरेपछि धेरै मानिस प्रभावित भए । यही प्रेरणाबाट ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ नामक संस्था स्थापना गरियो । त्यसयता उनीहरूले विभिन्न जिल्लाबाट ल्याइएका घाइते कुकुरहरूको उपचार गर्दै आएका छन् । गाडीको ठक्करले घाइते भएका, खुट्टा भाँचिएका, लुतो, ट्युमर, पक्षघात आदि समस्याबाट पीडित कुकुरहरूलाई उनीहरूले निको पार्ने प्रयास गरिरहेका छन् ।
कुकुरको संख्या बढ्दै जाँदा घरमै राखेर उपचार गर्न कठिन हुन थाल्यो । त्यसपछि उनीहरूले विराटनगरमा भाडामा घर लिएर सेल्टर सञ्चालन गर्न थाले । मासिक २० हजार रुपैयाँ घरभाडा तिर्नुका साथै दुई पशु प्राविधिक र एक केयर टेकर राखिएको छ । खर्च व्यवस्थापन गर्न उनीहरूले घरमै होस्टेल सञ्चालन गरेका छन् र त्यसबाट आएको केही आम्दानी कुकुरहरूको हेरचाहमा खर्च गरिन्छ । साथै, परिवार र अन्य सहयोगीहरूको सहयोग पनि महत्वपूर्ण रहेको छ ।
उनीहरूले ‘सय रुपैयाँ’ अभियान सञ्चालन गरी एक लाख ८० हजार रुपैयाँ संकलन गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । आर्थिक अभाव अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ । यद्यपि, उनीहरू आफ्नो लक्ष्यप्रति दृढ छन् । उनीहरूको दीर्घकालीन योजना स्थायी सेल्टर निर्माण गरी सडकमा अलपत्र परेका सबै प्रकारका जनावरहरूको उपचार गर्ने केन्द्र स्थापना गर्नु हो ।
सानो उमेरमा कुकुरप्रति खासै चासो नभएकी एलिना अहिले कुकुरप्रति अत्यन्तै संवेदनशील र ममतामयी भएकी छिन् । उनी कुकुरको हाउभाउ, भोक, पीडा र खुसी बुझ्न सक्ने भइसकेकी छिन् ।
विदेश जाने अवसर हुँदाहुँदै पनि उनीहरूले यहीँ सेवामूलक कार्यलाई आफ्नो प्राथमिकता दिएका छन् । आर्थिक कठिनाइका बाबजुद उनीहरूको लगन, करुणा र समर्पणले समाजमा पशुप्रति सहानुभूति र जिम्मेवारीको सशक्त सन्देश दिएको छ ।
स्कुटरको हर्नसँगै जाग्ने गोलढुंगाको बिहान
काठमाडौंको बिहान सधैं उस्तै हुँदैन । कतै घडीसँग दौडिँदै मानिसहरू, कतै निद्रासँग जुधिरहेका अनुहारहरू । तर यही सहरको गोलढुंगा क्षेत्रमा बिहानको कथा फरक हुन्छ, जहाँ दिनको सुरुवात हतारले होइन, प्रतीक्षाले हुन्छ ।
अनिकेत कपाली स्कुटरमा खाना बोकेर हर्न बजाउँदै गोलढुंगा पुग्छन् । ‘यो केवल खाना होइन, जिम्मेवारी हो,’ अनिकेत भन्छन् । उनले सामुदायिक कुकुरलाई खाना खुवाउन थालेको तीन वर्षभन्दा बढी भइसकेको छ । सुरुमा यो नियमित थिएन, तर अहिले यो उनको जीवनको अभिन्न हिस्सा बनेको छ ।
उनी १४ वर्षदेखि एनिमल लभर हुन् । तर उनको यात्राको वास्तविक मोड भने एउटा ‘पुन्टुङ’ नामको कुकुरबाट सुरु भएको थियो । ‘त्यो कुकुर भाडामा बस्ने मान्छेले पालेर बीच बाटोमा छोडिदिएको थियो । उसको संघर्ष देखेपछि मन छोयो । त्यसपछि एक–एक गर्दै सबै कुकुरप्रति माया बढ्दै गयो,’ उनी भन्छन् ।
सुरुमा उनले केवल केही कुकुरलाई बिस्कुट खुवाएका थिए । ‘चार वटा बिस्कुट लगेको थिएँ, तर उनीहरूले एक मिनेटमै खाइदिए,’ उनी हाँस्दै सम्झिन्छन् । त्यो दिनदेखि सुरु भएको यात्रा अहिले ५० भन्दा बढी कुकुरसम्म पुगेको छ ।
हरेक बिहान उनी घरमै खाना पकाउँछन् । ‘हामीले जस्तो खान्छौं, उनीहरूलाई पनि त्यस्तै दिन्छु । खानामा कहिल्यै कम्प्रोमाइज गर्दिन,’ उनी भन्छन् ।
अनिकेतको बिहान ३ देखि ४ घन्टा सडकमा बित्छ । उनले गोलढुंगा एरियाका सामुदायिक कुकुरलाई खाना खुवाउने मात्र होइन उनीहरूको उपचार र चाहिएको केयर सबै गर्छन् । घरमा पाकेको खाना स्कुटरमा राखेर उनी गोलढुंगा, बालाजु हुँदै विभिन्न ठाउँमा पुग्छन् । कुकुरहरू उनको आवाज र स्कुटरको ध्वनि चिनेर बाटोमा पर्खिरहेका हुन्छन् । ‘उनीहरूलाई खाना नदिउन्जेल मन भारी हुन्छ,’ उनी सुनाउँछन् । त्यसपछि मात्र उनी आफ्नो काममा लाग्छन् ।
अनिकेतको परिवार पनि पशुप्रेमी हो । घरमा आमाले खाना पकाइदिन्छिन्, बहिनी र परिवार सबै सहयोगी छन् । उनको किराना पसल पनि छ, जहाँ दुई कुकुर, पुन्टुङ् र खैरी सधैं साथमा हुन्छन् । उनका अनुसार हरेक कुकुरको आफ्नै स्वभाव हुन्छ । खाना खुवाउन निस्किदा हरेक कुकुरले उनको स्वागत गर्छन् । कोही नमस्ते गर्छन्, कोही अंगालो हाल्न आउँछन्, कोही बाटो हेरेर बस्छन् । ‘मलाई देखेपछि उनीहरूले चिन्छन् । माया गर्ने तरिका फरक हुन्छ । उनीहरूलाई माया गर्यो भने मान्छेले भन्दा बढी माया गर्छन्,’ उनी भन्छन् ।
उनले सबैको नाम राखिदिएका छन् । उनीहरूको रङ र व्यवहारअनुसार पुतली, खैरे, काले, सेती आदि । अनिकेतका लागि सबैभन्दा कठिन क्षणहरू ती हुन् जब उनीहरूलाई गाडीले हान्छ वा उनीहरू अचानक हराउँछन् । ‘एउटा काली नामको कुकुरलाई बाघले लग्यो । दुई दिनअघि खाना खुवाएका थिए । दुईदिनमा खोज्दै जाँदा जंगलमा टाउको र खुट्टा मात्र भेटियो,’ उनी भावुक हुन्छन् । त्यो दिन उनले कामै गर्न सकेनन् । मनमा त्यही दृश्य घुमिरह्यो ।
सबै मानिसले उनको काम बुझ्दैनन् । अनिकेत भन्छन्, ‘हाम्रो नेपाली समाजमा अझै पनि नैतिक शिक्षा र बुझाइको कमी छ ।’ सामुदायिक कुकुरलाई खाना खुवाउने उनको दैनिक कार्यप्रति सबैको दृष्टिकोण एउटै छैन । कतिपयले किन खाना खुवाएको ?, कुकुर जम्मा भए, फोहोर भयो, राति डिस्टर्ब भयो भन्दै कराउँछन् ।
‘राति भुकेको भनेको उनीहरूको सुरक्षा हो,’ उनी भन्छन्, ‘उनीहरू कुनै खतरा देखेपछि मात्र भुक्छन्, त्यत्तिकै होइन । त्यो उनीहरूको डिफेन्स सिस्टम हो ।’
कुकुरले टोक्छ भन्ने गलत रूपमा बुझिने उनको भनाइ छ । ‘कुकुरहरू बिनाकारण कहिल्यै टोक्दैनन् । उनीहरूले आत्मरक्षाका लागि मात्र यस्तो गर्छन्,’ उनी भन्छन् । तर त्यो कुकुरलाई पहिले के भयो, किन त्यो व्यवहार आयो । त्यो कसैले बुझ्दैन ।
अनिकेत भन्छन्, ‘सामुदायिक कुकुरलाई खाना खुवाउने काम सजिलो छैन ।’ उनको अनुभवमा सबैभन्दा ठूलो समस्या पैसा होइन, समाजको बुझाइ हो ।
अनिकेतको विचारमा सरकारले सामुदायिक कुकुरको सही व्यवस्थापनका लागि डेटा, भ्याक्सिनेसन र पशु विभाग आवश्यक छ । ‘पपुलेसन कन्ट्रोल, भ्याक्सिन र केयर सिस्टम हुनुपर्छ’ उनी सुझाउँछन् ।
‘यो पैसा होइन, मनको काम हो’ फाइनान्सियल चुनौती भए पनि अनिकेत सहयोग माग्दैनन् । ‘यो मेरो प्यासन हो । मनबाट गरेको काम हो’ उनी भन्छन् ।
सडकका असहाय जनावरका संरक्षक तुलाराम
काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलेपछि घरवारविहीन भएका सुकुमवासी मात्र होइन संवेदना भएकाहरूले अलपत्र भएका कुकुर, बिरालालाई पनि ध्यान पुर्याए ।
यस्तैमध्येका एक हुन्, तुलाराम राजवंशी । ९ वर्षदेखि जनावर रक्षाका लागि काम गर्दै आइरहेका उनी टीएफसी नेपाल नामक गैरनाफामूलक संस्थाका अध्यक्ष हुन् । उक्त संस्था चार वर्षअघि स्थापना भएको थियो । सोही संस्थाबाट तुलारामलगायतको उनको टिमले हरेक तरिकाले जनावरको उद्धारमा ठूलो भूमिका खेल्दै आएको छ ।
‘सुकुमवासी बस्तीमा पुग्दा विस्थापित परिवारले कुकुर, बिरालो भएका कारण कोठा भाडामा समेत नदिएको गुनासो गर्नुभयो । यो कुराले सारै दु:ख लाग्यो,’ उनले भने ।
सुरुवाती दिनमा परिवारले पढेर सकेपछि भेटेनरी खोलेर काम गर्न भनी तुलारामलाई सम्झाएका थिए । तर उनी भने पशु उद्धारमा आफू खटिन चाहेको बताएका थिए । ‘पहिले परिवारलाई मैले सोचेको जस्तो हुँदैन कि भन्ने भएर यस्तो काम नगर भन्नुभएको थियो । पछि साथ र सहयोग गर्नुभएको छ,’ उनले भने ।
पहिला जनावरलाई हेर्ने दृष्टि भन्दा अहिले केही फरक भएको उनको अनुभव छ ।
अहिले देशका विभिन्न ठाउँबाट कुकुर, बिराला बिरामी भए वा घाइते भए टीएफसी नेपालमा फोन आउँछ । ‘हामीले हरेक ठाउँका कुकुरलाई संरक्षण गर्ने प्रयास गरेका छौ,’ उनले भने । कुकुरको उद्धार गर्न गएको उनीहरूको टिमले उपचार गर्न मिल्नेलाई त्यहीँ उपचार गर्छ भने उपचार गर्न नमिल्नेलाई काठमाडौं ल्याएर उपचार गराउँछ ।
टीएफसी नेपालले सडकका बिरामी कुकुरको उपचार, रेबिज खोप, बन्ध्याकरण आदि विभिन्न काम गर्दै आएको छ । उक्त संस्था कुकुर मात्र नभएर बिरालो, घोडा, गाईका साथै अन्य जनावरको उपचार र उद्धारमा समेत निरन्तर लागिरहेको छ ।
तुलाराम काठमाडौंमा भेटनरी पढ्दै गर्दा विभिन्न संस्थामा आबद्ध भएर पशु संरक्षणमा लागेका थिए । उनी काठमाडौं बाहिर जाँदा सडकमा रहेका बेवारिसे, बिरामी पशुको उद्धार गर्न चाहन्थे । ‘संस्था भयो भने हरेक ठाउँमा दु:ख पाएका पशुहरूको उद्धारका साथै संरक्षण गर्न सकिन्छ भन्ने भएर नै टिम बनाएर संस्था खोलेका थियांै,’ उनले भने ।
२०८० मा जाजरकोटमा भूकम्प जाँदा पनि त्यहाँ पुगेर कुकुरको उद्धार, बन्ध्याकरण गरेका थिए । संस्था नहुँदा समेत कोरोनाको समयमा तुलारामले बेवारिसे कुकुरलाई उपचार गरेका थिए । ‘प्राकृतिक प्रकोप होस् वा अरु समयमा मानिसको उद्धारका लागि धेरै जान्छन् । तर पशुको उद्धारका लागि जाने कम हुन्छन् । त्यसैले पशुको उद्धारका लागि हामी हरेक ठाउँमा पुग्न खोज्छौं,’ उनले भने ।
तुलाराम र टीएफसी नेपाल संस्थाले मध्यबानेश्वरको मिलनचोकस्थित एक गल्लीमा ‘चिया सेवा’ नामक चिया पसल समेत खोलेको छ । जसबाट भएको आम्दानी देशभरका सडकमा भएका समुदायका कुकुरहरूको उद्धार, उपचारमा खर्च हुने गरेको छ ।
पोखराका सडक कुकुरहरुको भरोसा रञ्जु
८ वर्षअघिको कुरा हो । रञ्जुले केही महिनाअघि जन्मिएको कुकुर ‘नक्कलु’ लाई एक व्यक्तिले आफूले पाल्ने भनेपछि खुसीसाथ दिन्छिन् । केही महिनापछि भने, पोखरा सुकुमवासी बस्ती पछाडि खोलामा नाजुक अवस्थामा नक्कलुलाई भेट्छिन् ।
‘हामी कोठा भाडामा बस्ने भएर कुकुर राख्न अलि असहज थियो तर राम्रोसँग पाल्छु भनेको मान्छेले पोथी कुकुर भएका कारण बाटोमा छोडिदिएका रहेछन्,’ उनले भनिन्, ‘मलाई कुकुरको अवस्था देखेर धेरै दु:ख लाग्यो । मैले रुने, खाना नखाने गरेपछि एउटा दिदीले त्यही कुकुर ल्याइदिनुभयो । त्यस दिनबाट नै बाटोमा बस्ने कुकुरको माया लाग्न थाल्यो ।’ अहिले नक्कलु उनीसँगै बस्दै आएकी छे ।
पोखरा–४ रामकृष्ण टोल बस्दै आएकी रञ्जु पेसाले ‘ब्युटिसियन’ हुन् । उनले ८ वर्ष देखि पार्लर गर्दै आएकी छिन् । आफ्नो आम्दानीले नै हरेक दिन बेलुका पोखरा वडा नम्बर ४ र ५ का कुकुरलाई खाना खुवाउने गर्छिन् । ‘खाना लिएर आउने समय भयो भनेपछि म सधैं जाने बाटोमा मलाई कुरेर कुकुरहरू बसेका हुन्छन् । खाना दिएपछि खान्छन् । खुसी भएर खेल्छन्,’ उनले भनिन् ।
४३ वर्षकी रञ्जु ५ वर्ष पशु उद्धारमा छिन् । कुकुरलाई खाना दिँदै गर्दा, उनीहरूको उपचारमा अस्पताल पुर्याउने बेला धेरै पटक अरुबाट अपमानित भएकी छिन् । ‘भुसिया कुकुरलाई खाना दिएर पल्काउनेहरूले आफ्नै घरमा लगेर राख्नू’ भनेका छन् । तर यस्ता बचनबाट उनी डगमगाइनन् । आफ्ना सन्तानलाई जसरी नै हरेक सडक कुकुरलाई उद्धार गर्न, उनीहरूलाई खाना खुवाउन हर बखत तयार हुन्छिन् । ‘कुनै पनि कुकुर रोग र भोकले मर्न नपरोस्, अरूले जे भने पनि म कुकुरको सेवा गर्न कहिल्यै पछि हट्दिन,’ उनले भनिन् ।
रञ्जु कोठा भाडामा बस्दै आएकी छिन् । त्यहीँ उनले पाँच वटा कुकुर पालिरहेकी छिन् । ‘धेरैले कोठा भाडामा बसेर पनि त्यति धेरै कुकुर पाल्ने भन्नुहुन्छ । घाइते कुकुर उद्धार गरेर उपचार गरेपछि तीन खुट्टा भएका कुकुरलाई कसरी पहिलेकै ठाउँमा लगेर राख्न सक्छु र ? त्यसैले घरमा राखेकी छु,’ उनले आफ्नो पीडा सुनाइन् । उनले तीन वटा खुट्टा भएका दुईवटा कुकुर पालेकी छिन् ।
सुरुवाती दिनमा रञ्जु पोखराका गल्लीहरूमा कुकुरको अवस्था कस्तो छ भनी डुलिरहन्थिन् । बाटोमा बिरामी कुकुर देख्नेबित्तिकै हतार–हतार अस्पताल पुर्याउँथिन् । अहिले रञ्जुलाई पोखराका विभिन्न ठाउँबाट ‘कुकुर, बिराला यस्तो अवस्थामा भेटिएका छन्, उद्धार गर्न आउनू’ भनी फोन आउँछ । उनी पसल बन्द गरेर हतार–हतार कुकुर भएको ठाउँमा पुग्छिन् ।
पोखराभन्दा बाहिर पर्वत समेत पुगेर निकै नाजुक अवस्थाको कुकुरलाई उद्धार गरेको उनले सुनाइन् ।
केही वर्षदेखि जनावरप्रति प्रेम हुने व्यक्तिहरू जोडिएको र त्यसले आफूलाई खुसी लाग्ने गरेको सुनाइन् । ‘जनावरका लागि खाना, उपचार, उद्धारमा साथीहरू जोडिएको देख्दा निकै खुसी लाग्छ । उहाँहरूले गर्दा कुकुरको उद्धार गर्न जाँदा पनि निकै सजिलो हुन्छ,’ उनले भनिन् ।
आफूहरूको सामाजिक सञ्जालमा कुकुर, बिरालो उद्धार गर्नका लागि गु्रप समेत रहेको र त्यसले ठूलो भूमिका खेलेको उनको भनाइ छ । उनले टिकटकमा मात्र नभएर फेसबुकका धेरै पेजमा कुकुर भेटिएको जानकारी राखेपछि मानिसहरू कुकुर लिन आउने गरेको सुनाइन् ।
‘कुकुरले मलाई नि:स्वार्थ माया गर्न सिकायो’
राजीव लामा, भ्लगर
मैले कुकुर पाल्न थालेको लगभग २५–३० वर्ष भयो । सुरुमा त म स्ट्रिट डगहरू नै पाल्थें । हाम्रो घर वरिपरि आउने, आफैं घरमै बस्न थाल्ने कुकुरहरू हुन्थे । कतिपयलाई भने म आफैंले पनि ल्याएर पाल्थें । सानैदेखि मलाई कुकुरप्रति छुट्टै माया थियो ।
तर मेरो जीवनमा सबैभन्दा धेरै परिवर्तन ल्याउने कुकुर भने ‘कान्छी’ हो । उसलाई घरमा ल्याएको लगभग आठ वर्ष भयो । कान्छी आएपछि मेरो कुकुरसँगको लगाव अझ धेरै बढ्यो ।
सुरुमा मैले उसलाई जहाँतहीँ लैजाने योजना बनाएको थिइन । तर काठमाडौंमा म एक्लै बस्थें । कान्छी सानै थियो, उसलाई हेर्ने कोही थिएन । त्यसैले बाध्य भएर म जहाँ जान्थें, उसलाई पनि सँगै लैजान्थें । विस्तारै त्यो हाम्रो बानी बन्यो । ट्रेकिङ जाँदा पनि उसलाई लैजान थालें । पछि त नेपालभरि घुम्यौं, भारत पनि पुग्यौं ।
कान्छीलाई मैले किनेर ल्याएको हुँ । तर अहिले मसँग भएका पाँचवटा कुकुरमध्ये एउटा मात्रै किनिएको हो, बाँकी सबै एडप्ट गरेका हुन् ।
पहिला म स्ट्रिट डगहरूलाई खाना खुवाउने गर्थें । तर पछि केही कुकुरलाई रेस्क्यु पनि गर्न थालें । ‘गोरी’ भन्ने कुकुरलाई त कसैले पुलमा बाँधेर छोडेको थियो । राति कसैले खबर गरेपछि म गएर लिएर आएको । त्यस्तै ‘खैरे’ लाई मैले सडकमा कुटिएको अवस्थामा देखेको थिएँ । एकदम दुब्लो, बिरामी थियो । मलाई त त्यो बाँच्दैन जस्तो लागेको थियो । त्यसैले माया लागेर घर ल्याएँ । अहिले ऊ रमाएर बसेको छ ।
अहिले त मेरा लागि यी कुकुरहरू परिवारजस्तै भइसकेका छन् । उनीहरूबिना जीवन कल्पना गर्नै सक्दिन । पहिलेदेखि नै घरमा कुकुर हुन्थे, तर अहिले जस्तो भावनात्मक अट्याचमेन्ट भने कहिल्यै भएको थिएन ।
धेरैजनाले मलाई सोध्नुहुन्छ, ‘यति धेरै कुकुर कसरी म्यानेज गर्नुहुन्छ ?’ म जेहोस्, म्यानेज गरिरहेको छु । किनकि अब उनीहरू मेरो जीवनकै हिस्सा भइसकेका छन् ।
तर नेपालमा, विशेषगरी काठमाडौंमा, कुकुरप्रति गरिने व्यवहार देख्दा भने धेरै दु:ख लाग्छ । मैले यहाँ धेरैजसो कुकुर साङ्लाले बाँधेर राखेको देखेको छु । भर्याङमुनि, खोरभित्र, सानो ठाउँमा थुनेर राखिएको हुन्छ । मलाई त कहिलेकाहीँ लाग्छ, त्यसरी बाँधेर पाल्नुभन्दा स्ट्रिट डगको जीवन राम्रो । कम्तीमा उनीहरू स्वतन्त्र त हुन्छन् ।
मानिसहरू कुकुरसँग डराउनुको पछाडि नेपाली समाजमा पहिलेदेखि नै कुकुरले टोक्छ भन्ने सोच रहेको छ । तर धेरैजसो अवस्थामा कुकुर आक्रामक हुनुको कारण मानिसकै व्यवहार हो । दिनभरि साङ्लाले बाँधेर राख्ने, माया नदिने, बाहिर थुनेर राख्ने । त्यसपछि त कुकुर पनि आक्रामक हुन्छ । जेलमा राखिएको मानिस पनि रिसाउँछ भने कुकुर किन नहोला ?
मेरो कान्छी र काली त मानिससँग खेल्न खोज्छन् । तर मान्छेहरू देख्नेबित्तिकै डराउँछन् । ‘कुकुर उता लैजानू’ भन्छन् । म सम्झाउँछु यो टोक्ने होइन, खेल्न खोजेको हो ।
कुकुरसँग यात्रा गर्न पनि त्यति सजिलो छैन । होटलहरूले धेरै ठाउँमा कुकुरलाई अनुमति दिँदैनन् । कहिलेकाहीँ हामी गाडीमै सुत्नुपर्छ । कतिपयलाई कुकुरदेखि डर लाग्छ, कतिपयलाई घिन लाग्छ । उनीहरूको खाना, भाँडा, बस्ने व्यवस्था सबै कुरा मिलाउन गाह्रो हुन्छ । तर केही मानिस भने निकै राम्रा पनि भेटिन्छन् । बुझ्ने र माया गर्ने पनि छन् ।
अहिले मेरो एउटा ठूलो सोच भनेको स्ट्रिट डगका लागि केही गर्ने हो । साना बच्चाहरू सडकमा गाडीले किचिएर मरेको देख्दा मन धेरै दुख्छ । सकेसम्म तिनीहरूलाई रेस्क्यु गरेर एडप्ट गराउने इच्छा छ । अहिले सामाजिक सञ्जालबाट पनि धेरैले एडप्ट गर्न खोज्ने गरेका छन् ।
कुकुरसँग यति धेरै वर्ष बिताउँदा मैले एउटा कुरा सबैभन्दा धेरै सिकेको छु, नि:स्वार्थ माया । उनीहरूले हामीलाई हाम्रो अवस्था हेरेर माया गर्दैनन् । तपाईं गरिब हुनुहोस् वा धनी, दु:खी हुनुहोस् वा खुसी । उनीहरू सधैं तपाईंको साथमा हुन्छन् । कहिल्यै साथ छोड्दैनन् । उनीहरूको माया एकदम शुद्ध हुन्छ । सायद जीवनमा मैले सिकेको सबैभन्दा ठूलो कुरा नै यही हो ।