Successfully Copied

सुत्केरी र शिशुको सकसपूर्ण दिनचर्या

सरकारले विनाव्यवस्थापन घर भत्काएको अञ्जली जस्तै अन्य सुत्केरी आमाहरूको गुनासो छ । आफूहरूलाई राम्रो स्याहार होस् भन्ने उनीहरूको चाहना छ ।


आरती पौडेल 
गत वैशाख १२ गते शनिबारको दिन बिहानै काठमाडौंको थापाथली, गैरीगाउँ मनोहरामा रहेको सुकुमवासी बस्तीमा डोजर पस्यो । केही छिनमै टहरा भत्किन थाले । त्यहाँ बस्दै आएका परिवारहरू एकाएक विस्थापीत हुन पुगे । सरकारले तत्कालीन व्यवस्थापन गर्ने भन्दै होल्डिङ सेन्टर तथा होटलमा राख्यो ।
२० वर्षीया अञ्जली महतो त्यस्तै विस्थापितमध्येकी एक हुन् । नारीको टिम रिपोर्टिङमा जाँदा काठमाडौं बसपार्कस्थित एक होटलको सानो कोठाको भुइँमा उनी नवजात शिशुलाई ‘बेबी बोतल’ बाट दूध खुवाइरहेही थिइन् ।
अञ्जली थापाथली सुकुमवासी बस्तीमा परिवारसँग बस्दै आएकी थिइन् । उनका श्रीमान्ले ज्यामी काम गरेर कमाएको पैसाले जसोतसो घर चलाइरहेका थिए । उनीहरू आफ्नै छाप्रोमा गुजारा गरिरहेका थिए । बस्तीमा डोजर चल्दा दुई जिउकी अञ्जलीलाई निकै डर लागेको थियो । एकातिर बस्दै आएको बास गुमेको पीडा अर्कातिर प्रसूति गराउने समय । उनी आत्तिएकी थिइन् । अञ्जलीको मनमा धेरै कुरा खेलिरहेका थिए । ‘हामी बस्दै आएको ठाउँबाट प्रसूतिगृह नजिक थियो । बच्चा पाउने समयमा अब कहाँ जाने र के गर्ने डर लागेको थियो,’ उनले भनिन् ।
अञ्जना घर भत्किएकै दिन रंगशाला परिवारसँग नाम टिपाउन पुगिन् । त्यसपछि बसपार्कको एउटा होटलमा उनीहरूलाई बस्ने व्यवस्था मिलाइयो ।
घर नभएपछि बेखुसी र बेचैन भएकी अञ्जलालाई त्यस दिन निद्रा परेन । भोलिपल्ट शरीरमा भिन्न खाले अप्ठ्यारो महसुस भएको बताइन् । ‘बच्चा कसरी जन्मने होला भन्ने डरले मनमा नकारात्मक कुरा खेलिरहेको थियो,’ उनले भनिन् । त्यही बेलुका अञ्जनालाई गाह्रो हुन थाल्यो । वैशाख १४ गते बिहानै परिवारले उनलाई प्रसूतिगृह पुर्‍याए । सोही दिन दिउँसो उनले छोरी जन्माइन् । ‘अप्रेसन गरेर छोरी निकालियो । बेलाबेला अझै घाउ दुखिरहेको छ,’ उनले सुनाइन् ।
शल्यक्रियाको शुल्क नलागे पनि औषधि किन्दा भने निकै खर्च भएको उनका श्रीमान् अजयकुमार महतोले बताए । ‘३३ हजार हाराहारी खर्च भएको छ,’ उनले भने, ‘मसँग त्यतिका पैसा कहाँ हुनु, सापटी लिएको छु । काममा नगएको कति दिन भइसक्यो । त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेको छ ।’
अञ्जलीलाई चार दिन अस्पताल राखेर बिहीबार पुन: सोही होटल लगिएको छ । तर, यहाँ उनको बसाइ सहज नभएको उनले सुनाइन् । उनी अहिले ९ जनासँग एउटै कोठा सेयर गरेर बस्न बाध्य छिन् । न पर्याप्त आराम मिल्छ न त उनको आवश्यक हेरचाह नै ।
होटलमा उनलाई बिहान, दिउँसो र बेलुका जाउलो दिने गरिएको छ । ‘दूध आएको छैन । अलिअलि मात्र आएको भएर डब्बाको दूध खुवाइरहेकी छु,’ उनले भनिन्, ‘भीडभाडमा बस्नुपर्दा अप्ठ्यारो र निकै सकस लागिरहेको छ । त्यसमाथि बच्चा रोएकै रोयै गर्दा गाह्रो हुन्छ ।’
होटलभित्र घाम नपर्ने भएकाले बच्चालाई पर्याप्त न्यानो नपाएको उनले सुनाइन् । ‘उठेर निस्कन पनि सक्दिन । ढोका छेउमै बस्छु,’ उनले भनिन्, ‘घाममा अहिलेसम्म निस्किन पाएको छैन । यही खाने, बस्ने, बच्चालाई खुवाउने र सुताउने गरेकी छु ।’ होटलमा तातोपानी मागी दूध घोलेर खुवाउने गरेको उनले सुनाइन् ।
उनी बसेको कोठा अस्तव्यस्त छ । बालबच्चा, वृद्धा र महिलाहरू खाटमा बसिरहेका देखिन्थे । केही मोबाइलमा ठूलो आवाजमा भिडियो हेरिरहेका त कोही भलाकुसारी गरिरहेका थिए । छरपस्ट कपडा र सामानले भरिभराउ कोठामा एक पुरुष त चुरोट तानिरहेका थिए, जसको धूवाँ कोठाभरि रुमल्लिएर अञ्जली र उनको बच्चासम्म आइपुग्थ्यो । होटलका साहूले भित्र चुरोट नखान भनेपछि मात्रै उनी बाहिर निस्किए ।
धेरै जना एउटै कोठामा भएकाले होहल्लाले बच्चाको निद्रा नपुग्ने समस्या भएको उनले बताइन् । ‘भोक लागेपछि अनि अरु कराएपछि रोइहाल्छ । के गर्नु, सबैलाई एकै ठाउँमा राखेको छ, कसलाई के भन्नु ?’
यस्तो बेला उनलाई बेलाबेला आफ्नो घरको याद आउँछ । त्यहाँ भएको भए कम्तीमा शान्तसँग बस्न पाउने उनी बताउँछिन् । उनको माग छ–सरकारले आफूजस्ता सुत्केरीलाई राम्रो व्यवस्थापन गरोस् । उनले आफू र बच्चाका लागि अलग कोठामा राख्न अनुरोध पनि गरेकी थिइन् । तर कोठा नभएको भन्दै यही व्यवस्थापन गरियो ।
उनी यही साँघुरो र कोलाहलपूर्ण कोठाभित्र नवजात छोरीलाई हुर्काउने प्रयास गरिरहेकी छन् । भन्छिन्, ‘मेरो एउटा मात्रै चिन्ता छ, छोरीलाई राम्रोसँग हुर्काउन पाए हुन्थ्यो ।’
०००
सरकारले विनाव्यवस्थापन घर भत्काएको अञ्जली जस्तै अन्य सुत्केरी आमाहरूको गुनासो छ । आफूहरूलाई राम्रो स्याहार होस् भन्ने उनीहरूको चाहना छ ।
तिनैमध्येकी एक हुन्–सविना नेपाली । विस्थापित सुकुमवासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरको एउटा कुनामा नवजात शिशुलाई स्तनपान गराउँदै थिइन्, ३५ वर्षीया सविना । वैशाख १२ गते शनिबारको दिन उनी चारमहिने काखे छोरी च्यापेर यहाँ आइपुगेकी थिइन् । वैशाख १५ गते मंगलबारका दिन परेको पानीले यहाँ बसेका धेरै विस्थापितको ओछ्यान भिजेपछि उनीहरूलाई टेन्ट दिइएको रहेछ । त्यही टेन्टको एकछेउमा उनी थिइन् ।
विस्थापित हुनुअघिसम्म चारमहिने छोरीलाई आफ्नो समय अनुकूल खुवाउन सजिलो भएको तर होल्डिङ सेन्टर आएपछि खानपानको तालिका नमिलेको उनले सुनाइन् । भनिन्, ‘दूध खासै आउँदैन । घरमा हुँदा लिटो पकाएर खुवाउने गरेकी थिएँ । यहाँ त्यसरी कसरी खुवाउन सक्नु ? तातोपानीमा सेरेलेक्स घोलेर खुवाउने गरेकी छु ।’
शनिबार होल्डिङ सेन्टर आएकी उनले सुरुका केही दिन टेन्टबिना नै सुत्नुपरेको र चारमहिने छोरी राति बारम्बार रुने गरेकाले आफूलाई र छेउछाउका अरूलाई सुत्न अप्ठ्यारो परेको सुनाइन् । सविनाको अनुभवले विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राख्नुअघि सरकारी तयारी के–कस्तो रहेछ भनेर बुझाउँछ । ‘घरमा त आफूलाई जे मन लाग्यो त्यही खान मिल्थ्यो । त्यहाँ त सबैलाई पकाएको खाने हो,’ उनले भनिन् । सविना पनि विस्थापित परिवारलाई सरकारले छिटो राहत दिओस् भन्ने चाहन्छिन् । ‘कहिलेसम्म यहाँ बस्ने हो हामी । त्यति धेरै दिन भइसक्यो । सरकारले हाम्रो बस्ने व्यवस्था गरिदिओस्,’ उनले भनिन् ।
सुरुका दिनमा त्यहाँ ल्याइएका धेरै विस्थापितले भनेको समयमा तातोपानी पनि खान नपाएको समस्या सुनाएका थिए । सविना जस्ता स–साना बाबुनानी स्याहारिरहेका र बिरामीले भनेका बेला तातोपानी खान नपाएको गुनासो समेत सुनाएका थिए । होल्डिङ सेन्टर र होटलमा बसिरहेका सुत्केरीहरूको एउटै आवाज छ ‘सरकारले सुत्केरीको मात्र नभै बालबच्चा, वृद्धवृद्धा, अपाङ्गका साथै विस्थापित सुकुमवासीहरूको राम्रो व्यवस्था गरोस् ।’
साथै गत महिना वैशाख २५ गते शुक्रबारका दिन सर्वोच्च अदालतले थप सुकुमवासीलाई साथै अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबर्जस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । 

 Image