आरती पौडेल
सानैदेखि नाच्न, गाउन र अभिनय गर्न रुचाउने इब्सल सन्ज्याल स्कुलका कार्यक्रम वा मेला, महोत्सवमा अगाडि सर्थिन् । कालिकोट पचालझरना–६ नानीकोटको सामान्य परिवारमा जन्मिएकी उनले बालापन स्वच्छन्द बिताइरहेकी थिइन् । अलिपछि अनेकौं टिप्पणी सुन्न थालिन्, जसलाई उनी बोध गर्न सक्थिन् ।
‘छोरीमान्छे भएर नाच्ने, गाउने गर्नु राम्रो होइन’ भन्ने टिप्पणीबीच उनी हुर्किएकी हुन् । समाजका सीमित सोचसँग जुध्दै आफ्नो सपना पछ्याउनु उनका लागि चुनौतीपूर्ण थियो । तर उनले हार मानिनन् । उनको विद्रोह र संघर्षले आज देउडा, ठाडी भाका र लोकदोहोरीमा आफ्नो सशक्त उपस्थिति जनाउने युवा कलाकारका रूपमा स्थापित भएकी छिन् । उनले गाएका गीतहरू विभिन्न देशमा बज्छन् । हिजो ‘छोरीमान्छे भएर’ भन्ने समाजले आज ओहो छोरीमान्छे भनेर प्रशंसा गर्छन् ।
उनी कलाकार मात्र होइनन्, सामाजिक चेतनाकी आवाज पनि हुन् । उनी खराब संस्कृति र परम्पराविरुद्ध सधैं आवाज उठाउने गर्थिन् । ११ वर्षको उमेरमै उनले छाउपडी प्रथाविरुद्ध आवाज उठाएकी थिइन् । महिनावारीको समयमा महिलालाई सुरक्षित र सम्मानजनक व्यवहार गर्नुपर्ने भन्दै उनले गाउँमै चेतना फैलाउने प्रयास गरेकी थिइन् । त्यसबेला समाजको आलोचना समेत उनले खेप्नुपरेको थियो । ‘हाम्रा छोरी पनि बिगार्ने भई’ भन्ने शब्दहरूले प्रहार गर्थे । न बिराउनु न डराउनु भनेजस्तै इब्सल समाजले जे भने पनि सत्यका लागि बोल्न कहिल्यै पछि परिनन् । उनी भन्छिन्, ‘समाजले मलाई एक्लै बनायो, तर म सत्यका लागि आवाज उठाउन कहिल्यै पछि हटिनँ ।’
इब्बल एसईईपछिको समयमा आफूलाई कलाकारितामा रुचि भएको परिवारलाई सुनाइन् । सुरुवाती समयमा भने छोरीको भविष्य बिग्रने हो कि भन्ने डरले अस्वीकार गरेका थिए । इब्सल त्यसपछि आफ्नो मामाघर बाजुरा पुगेकी थिइन् । ‘१७ वर्षकी थिएँ, परिवारले नमानेपछि कलाकार नै बन्छु, भन्ने सोचेर घरबाट हिडेकी थिएँ,’ उनले भनिन्, ‘मलाई त मेरो सपना पूरा गर्ने चाहना थियो । आफूमा परिवर्तन ल्याउन थियो । त्यसैले घर छोडेर निस्केकी थिएँ ।’
इब्सलको क्षमताको कदर गर्दै प्रोत्साहन गर्ने कोही भने उनले भेटेकी थिइन् । ‘खगेन्द्रप्रसाद न्यौपाने गुरुसँग भेट हुँदा मेरो कलाको प्रशंसा गर्नुहुन्थ्यो । सधै ऊर्जा दिने, काठमाडौं गएर एकपल्ट गाउनुपर्यो तिमीले भन्नुहुन्थ्थो,’ उनले सुनाइन् । काठमाडौंमा वर्षौंदेखि गायन क्षेत्रमा संघर्ष गर्नेहरू त सन्तुष्ट छैनन्, मेरो के होला र भन्ने लाग्थ्यो उनलाई । कलाकारहरूको भीड, अनिश्चित भविष्य । यति धेरै कलाकारबीच मेरो के स्थान होला ? यिनै प्रश्नले उनलाई रोकिरहन्थ्यो ।
‘सांगीतिक माहोल भड्किलो छ । चलेका चलिरहेकै छन् । तर धेरै प्रयास गर्दा, वर्षौंदेखि यही क्षेत्रमा संघर्ष गरेर सफलता प्राप्त नभएका कलाकार पनि हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यो देखेर मेरो के अर्थ होला र काठमाडौंमा भनेको जस्तो महसुस गरेकी थिएँ ।’ त्यसै समयमा उनले विभिन्न गीतमा अभिनय गर्ने मौका पाएकी थिइन् । उनलाई संगीतभन्दा धेरै रुचि अभिनयमा थियो । तर उनले गाएका गीतहरू सुनेर धेरैले प्रशंसा गर्थे । त्यसैले उनलाई सांगीतिक क्षेत्रमा पनि उत्तिकै रुचि बढ्दै गएको थियो ।
आफ्ना चाहनाहरू पूरा गर्न आँट गर्नुपर्छ भनी धेरैले सम्झाएपछि उनी काठमाडौं आएकी थिइन् । उनलाई दोहोरी गाउने अवसर ‘इन्द्रेणी’ कार्यक्रममा मिलेको थियो । उनले कलाकार चीज गुरुङसँग उक्त दोहोरी गाएकी थिइन् । काठमाडौंमा आएर पहिलो दोहोरी गाएकी इब्सलमा संगीतप्रति देखिएको ऊर्जा निकै वर्ष अगाडिदेखि कलाकारितामा लागेको जस्तो देखिन्थ्यो । उनको त्यही शैलीले सबै दर्शकको मन जित्यो ।
त्यतिबेलादेखि नै दर्शकले उनले गाएको दोहोरी निकै मन पराएका थिए । मिलन लामा, चीज गुरुङ, राजु परियार आदि ठूला गायकसँग उनले गाएको दोहोरी सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । त्यस समय उनले गाएका दोहोरीका क्लिपहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए ।
इब्सललाई त्यसपछि भने लाइभ दोहोरी, गीतका धेरै अफर आए । रेकर्डिङ गीत, प्रत्यक्ष देउडा, दोहोरी गरी ६ सयभन्दा बढी गीत गाइसकेकी छिन् । उनका झुपडी, मुटुको टुक्रा, झुम्के बुलाकी, मालु पात, ऐंसेलु आदि गीतहरू दर्शकले निकै रुचाएका छन् ।
लाइभ देउडा हरेक दिन गुञ्जदै गर्दा त्यसले संसारभरि छरिएर बसेका नेपालीलाई जोड्न ठूलो भूमिका खेलेको उनले सुनाइन् । ‘म लोकदोहोरीमा आउँदा लाइभ देउडाको माहोल एकदमै राम्रो थियो र अहिले पनि राम्रो छ । हामीले फरक शैलीको लाइभ देउडा ल्याएका थियौं । सबैले मन पराउनुभयो,’ उनले भनिन् ।
सामाजिक सञ्जालले सांगीतिक क्षेत्रलाई निकै फराकिलो बनाएको उनी बताउँछिन् । ‘कालीकोट, हुम्ला, सुदूर सबै स्थानका गीतहरू काठमाडौंसँग जोड्न पायौं । सामाजिक सञ्जालकै कारण देश–विदेश सबैबाट माया पाएका छौं,’ उनले भनिन्, ‘सांगीतिक क्षेत्रले सबैकुरा जोड्ने अबसर दिँदो रहेछ । हाम्रो देउडाको एउटा छुट्टै ब्रान्ड बनेको छ । सबैले मन पराउनुहुन्छ । यो देखेर निकै खुसी लाग्छ ।’ देउडा नबुझे पनि संगीत बुझेर सबैले माया गरेको उनलाई लाग्छ ।
इब्सलले गीतमार्फत सामाजिक मुद्दासमेत उठाउँछिन् । छाउपडी प्रथा, लैंगिक असमानता र बालविवाहविरुद्ध गीतमार्फत समाजमा चेतना छर्ने काम गरिरहेकी छिन् । संगीतलाई उनले केवल मनोरञ्जन नभई परिवर्तनको माध्यम बनाएकी छिन् ।
इब्सललाई कर्णाली र सुदूरपश्चिमका मेला, महोत्सवमा मात्र नभएर देशका विभिन्न ठाउँबाट अफर आउँछन् । उनी अहिले पनि निकै व्यस्त छिन् । उनले गाएका गीत सुदूर र कर्णालीमा मात्र सीमित नभएर देशका हरेक कुनाकुनामा गुञ्जिन्छन् । साथै विदेशमा पनि त्यसरी नै बजिरहेका हुन्छन् । उनी आफ्नो रीतिरिवाज, परम्परा झल्काउँदै पोसाकमा सजिएर पुग्ने कार्यक्रममा पुगिरहेकी हुन्छिन् ।
सानै उमेरदेखि उनले गरेको संघर्ष साथै उनले पाएको उचाइ युवाहरूमाझ उदाहरणका रूपमा स्थापित भएको छ । अनलाइन खबरको ‘प्रभावशाली महिला’ २०८१ मा समेत परेकी उनी हाल स्नातक चौथो वर्षमा अध्ययनरत छिन् ।