Successfully Copied

स्मार्ट सविना

प्रधानमन्त्री वालेन्द्र शाहको निजी जीवनका दुर्लभ पक्षबारे खुलेर बोलेकी सविनाले प्रेम, परिवार, महिला सशक्तीकरण आदि विषयमा आफ्ना विचार साझा गरेकी छन् ।


देशको सर्वोच्च कार्यकारी जिम्मेवारी पद सम्हाल्ने व्यक्तिको सफलता उसको व्यक्तिगत क्षमता र नेतृत्वमा मात्र सीमित हुँदैन । त्यसका पछाडि कोही विशेष पनि हुन्छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सार्वजनिक छविभन्दा पर, उनको यात्रामा निरन्तर साथ, सुझाव र आत्मविश्वासकी आधार हुन्, सविना काफ्ले ।
पब्लिक हेल्थ प्रोफेसनल, लेखक, सामाजिक अभियन्ता सविना आफूलाई प्रधानमन्त्रीकी पत्नीभन्दा पनि स्वतन्त्र पहिचान बोकेकी एक जिम्मेवार नागरिकका रूपमा चिनाउन रुचाउँछिन् । पूर्वको मध्यमवर्गीय परिवारबाट राजधानीसम्मको संघर्षपूर्ण यात्रादेखि प्रधानमन्त्री–पत्नीको पहिचानसम्म आइपुग्दा पनि उनले आफ्नो सरलता, सेवाभाव र सामाजिक प्रतिबद्धतालाई कहिल्यै गुमाएकी छैनन् । प्रधानमन्त्री शाहको दृढता, नेतृत्व र निजी जीवनका दुर्लभ पक्षबारे खुलस्त बोल्दै सविनाले आफ्नो प्रेम, परिवार, महिला सशक्तीकरण र राष्ट्र निर्माणबारेका दृष्टिकोण साझा गरेकी छन् ।
बाल्यकालीन सुनौला दिन
सविना मोरङको उर्लाबारीमा मध्यमवर्गीय परिवारमा जन्मिइन् । झमकबहादुर काफ्ले र दुर्गादेवी अधिकारीका दुई सन्तानमध्ये सविना जेठी हुन्, उनका एक भाइ छन् । परिवार काठमाडौं बसाइ सर्दा उनी ११ वर्षकी थिइन् । त्यसपछि उनको स्कुल र प्लस टु अध्ययन भीएस निकेतनमा भयो । ‘त्यहीँ हो मैले पहिलो पटक बालेनलाई भेटेको,’ उत्साहित हुँदै उनले विगत सम्झिइन् ।
हजुरबुवा डिल्लीबहादुर काफ्ले धर्मकर्ममा आस्था राख्थे । हजुरआमा भुवनदेवी ममताकी खानी थिइन् । उनीहरू पूजापाठको तयारी गर्थे, फूल टिप्ने जिम्मेवारी सविनाको हुन्थ्यो । ‘म टोकरी लिएर फूलबारीमा जाँदा खुसी हुन्थें,’ सविना बाल्यकालका ती दिन सम्झिन्छिन् ।
बुवा जागिरमा थिए । आमा भने भाइ हुर्काउने क्रममा प्राय: मामाघरमै बस्थिन् । यसरी उनको बाल्यकाल हजुरबा–हजुरआमासँगै बित्यो । ‘यो धर्तीमा हामी अरुका लगि केही गर्न जन्मिएको हो भन्ने जग त्यहीँबाट बलियो भएको हो । बाटो हिँड्ने मान्छेलाई पनि म हाम्रो घरमा पानी पिएर जानुहोस् भन्थें’ उनी भन्छिन्, ‘अहिले पनि गाउँमा जाँदा हाम्रो घरमा पानी पिएर जानुहोस् भन्ने नानी यिनै होइनन् भन्नुहुन्छ धेरैले ।’ हजुरबा–हजुरआमाको ममता, स्नेह आज उनी अनुभूत मात्रै गर्न सक्छिन् । जीवनको पहिलो १० वर्ष सम्झिनुपर्दा उनका अगाडि आउने उनीहरू नै हुन् ।
काठमाडौं र करिअर
सविनाको परिवार २०५८ सालमा काठमाडौं बसाइ सर्‍यो । जताततै भीडभाड, मान्छेको कोलाहल । सविनालाई काठमाडौं निकै उकुसमुकुस र अत्यासलाग्दो थियो । त्यति धेरै भीड त उनले गाउँमा हुने सप्ताह पुराणमा कि त हाटबजारमा मात्रै देखेकी थिइन् । सुरुमा उनीहरू डेरा लिएर बानेश्वर बस्न थाले ।
भीएस निकेतनबाट स्कुले शिक्षा र प्लस टु सकेपछि सविना नोबेलमा पब्लिक हेल्थ पढ्न थालिन् । त्यही पढाइले उनलाई प्रजनन् स्वास्थ्यमा काम गर्ने संघसंस्थासँग जोडिएर काम गर्न सहज भयो । लेखनमा पनि रुचि भएकाले सँगसँगै लेख्ने काम पनि गर्थिन् उनी ।
त्यही बेला हो ‘दीपलता’ उपन्यास जन्मिएको । ‘सिर्जना अभाव र पीडामा जन्मिन्छ । म सिर्जनशील स्वभावकी र लेख्न पनि सक्ने भएकीले केही समय कम्युनिकेसन स्पेसलिस्टका रूपमा काम गरें । त्यसपछि एएनएस क्रिएसन्समा क्रियटिभ असिस्टेन्ट र सागर गु्रपमा क्रियटिभ हेडका रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएँ,’ भन्छिन्, ‘सँगसँगै मैले एमसी र आरजेको काम पनि गरें ।’ उनी १०–५ को जागिर खान्थिन् । कुनै असन्तुष्टि थिएन । त्यसले उनलाई खुसी नै तुल्याइरहेको थियो ।
बालेनसँग भेट
भीएस निकेतनमा प्लस टु पढ्दा बालेन र उनी लास्ट बेन्चर थिए । ती दिन सम्झिँदा आज पनि उनी रोमाञ्चित हुन्छिन् । त्यतिबेला बाइक–स्कुटी हुनेहरू खतरा मानिन्थे । तिनैको साधनमा साथीको ग्रुप बनाएर उनीहरू घुम्न जान्थे । ‘हामी दुई असल साथी बन्यौं । प्लस टु सकेर ब्याचलर पहिलो वर्षमा बालेनको प्रेम प्रस्ताव आयो,’ सविनाले सुनाइन्, ‘पछिको कुरा केही नहेरी मैले प्रस्ताव स्वीकार गरें । उहाँहरू खुल्ला विचारधाराको शिक्षित परिवार भएकाले घरमै आवातजावत हुन थाल्यो ।’ उनका अनुसार विवाह दुवैतिरको संस्कृतिअनुसार सम्पन्न भयो ।
४० दिनको ज्ञान
बालेनले अचानक काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दाबी गर्दा धेरैजना आश्चर्यमा परेका थिए । तर, सविना भन्छिन्, ‘यसका लागि उहाँको धेरै वर्षअघिदेखिको तयारी थियो ।×’
इन्जिनियरिङमा राम्रै करिअर बनाइरहेका अनि र्‍यापमार्फत चर्चा कमाइरहेका बालेनले किन रोजे त राजनीति ?
‘यसको पछाडि कारण छ,’ सविना भन्छिन्, ‘स्वभावैले उहाँ सेवा गर्न चाहने मान्छे हो । पैसा मात्रै कमाउन चाहने हो भने त उहाँलाई अवसरै अवसर थिए ।’ बालेन र्‍यापमार्फत सामाजिक तथा राजनीतिक विकृति, विसंगतिका कुरा उठाइराख्थे । जसले राजनीतिक यात्रामा अघि बढाउन सहयोग पुर्‍याएको सविनाको बुझाइ छ ।
‘मेयरको उम्मेदवारी दिनुअघि मसँग सल्लाह भएरै अगाडि बढ्नुभएको हो । सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो, तर आफूमा दृढ आत्मविश्वास भएपछि सारा कुरा पछाडि पर्नेरहेछन्,’ उनी भन्छिन्, ‘मेयर भएपछि धेरै कुरा परिवर्तन भए पनि हामी र हाम्रो स्वभावमा परिवर्तन भएन ।’ धेरैले भनेका थिए, तिमीहरूको व्यक्तिगत जीवन सकियो । तर अहिले पनि समय व्यवस्थापनले परिवार र समाजसँग जोडिन सहज भएको सविनाले बताइन् । ‘उहाँले मेरो र मैले उहाँको व्यावसायिक काम र जिम्मेवारीमा कहिल्यै हस्तक्षेप गर्दैनौं । घरायसी कामकुरामा भने सधैं र सबै मेरो निर्णय सर्वोच्च हुन्छ,’ उनी भन्छिन् ।
मेयरबाट राजीनामा दिएर संसदीय निर्वाचन लड्ने तयारी निकै हतारमा भएको सविना सुनाउँछिन् । ‘पहिला मेयर क्वार्टर नछाड्ने जस्तो कुरा थियो तर राति एक्कासि फोन आयो ‘ल है † क्वार्टर खाली गर’ भनेर, त्यतिबेला कस्तो कस्तो लाग्यो,’ उनी भन्छिन्, ‘त्यसपछिका लगभग दुई महिना त हामी मुस्किलले भेट्यौं होला । उहाँ एक हप्ता झापा बस्नुभयो, म ४० दिन ।’
ती ४० दिनले उनलाई ४० वर्षको ज्ञान र अनुभव दियो । ‘गाउँगाउँ गएर नमस्कार गर्दा पनि कतिपयले नफर्काउने गर्थे, विविध खाले प्रतिक्रिया सुन्न परे पनि त्यसलाई मैले सहज रूपमा लिएँ,’ उनी भन्छिन्, ‘उहाँ मेयर हुँदा पनि म पर्दापछाडिबाट डिजिटल्ली सहयोग गरिरहेकै थिएँ । त्यो भन्दा बढी प्रधानमन्त्रीको चुनावी दौडमा धेरै कुरा सिक्ने अवसर पाएँ, जसले मेरो व्यक्तित्व विकास पनि गर्‍यो ।’
कस्ता हुन् बालेन ?
बालेनप्रति आम आरोप छ कि उनी कम बोल्छन् । यति मात्रै होइन बोल्नैपर्ने ठाउँमा पनि नबोलेरै टारिदिन्छन् । सविनाका अनुसार उनी अत्यन्तै सिधा र स्पष्टवक्ता हुन् । ‘पैसा नचाहिने सरल मान्छे पनि हुन् । सादा जीवन उच्च विचारमा रमाउने एकान्तप्रिय र शान्त स्वभाव उनमा छ,’ उनी भन्छिन् ।
धेरैले बालेनलाई रहस्यमयी, घमण्डी, एकोहोरो स्वभावको भनेकामा सविनालाई चित्त बुझ्दैन । त्यसो त त्योभन्दा बढी उनैले बुझेकी छन् । ‘बाहिर जति पनि इमेज निर्माण भएका छन्, त्यो सरासर गलत छ,’ भन्छिन्, ‘मान्छेको आ–आफ्नो स्वभाव हुन्छ । कसैलाई बोल्न मनपर्छ, कसैलाई शान्त बस्न । उनी अत्यन्तै गुड लिसनर हुन्, त्यसैले मलाई असाध्यै मन पर्छन् ।’
उनी त बालेनलाई ‘थ्री इडियट्स’ को आमिर खानको पात्रसँग दाँज्छिन् । ‘उनी सामान्य मान्छे होइनन्, उमेरभन्दा पाको र परिपक्व, दूरदर्शी, आत्मविश्वासी र सेवाभावको व्यक्तित्व उनीभित्र छ,’ उनले थप रहस्य खोलिन्, ‘कम बोले पनि पार्टी मुडमा परिवारभित्र रौनक थप्ने पनि उनी नै हुन् । अफिसबाट आएपछि मुभी हेर्ने, गेम खेल्ने, म र छोरीसँग समय बिताउन उनलाई मनपर्छ ।’
प्रधानमन्त्री भएर पनि जवाफ दिनुपर्ने ठाउँ नदिएको आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा सविनाले भनिन्, ‘नबोल्नुको पछाडि पनि त केही न केही कारण त होला । परिवारभन्दा माथि त्यहाँ एउटा छुट्टै टिम छ, जसमा मैले हस्तक्षेप नगरेकै राम्रो हुन्छ ।’
बालेनको दृढता र प्रतिबद्धतासँग आफू नतमस्तक हुने गरेको उनले सुनाइन् । अलि बढी नै एकान्तप्रिय भएकाले सञ्चार र संवाद बढाउनुपर्छ जस्तो पनि लाग्छ उनलाई । अर्को मुख्य कुरा क्रियटिभ राइटिङमा राम्रो क्षमता उनमा छ । सविनालाई लाग्छ, उनले अझै लेख्नुपर्छ ।


आफ्नी छोरी र नेपाली छोरीहरू
छोरी निलोफर (संस्कृतमा निलोत्पल) उनीहरूको जीवनकै सबैभन्दा ठूलो उपहार हुन् । जब उनी आइन्, तब जीवनका प्राथमिकता नै बदलिएको सविनाले महसुस गरेकी छन् ।
‘सबै वरिपरि भएर पनि अर्को एउटा विशेष व्यक्ति मेरो अगाडि छ, जसका लागि म जे पनि गर्नसक्छु भन्ने भावना अझै प्रगाढ हुँदै गयो,’ उनी भन्छिन्, ‘पहिला म सहजै बाहिर जान सक्थें अहिले अलि कठिन हुन्छ । उसको चिन्ता बढी हुन्छ ।’
छोरीहरू सृष्टिकै सर्वोत्कृष्ट प्राणी हुन् भन्ने लाग्छ उनलाई । किनकि उनले अर्को जीवन दिन सक्छिन् । ‘स्कुल गएर फर्किएका छोरा र छोरीमा घरभित्रै समान व्यवहार अझै हुन सकेको छैन । फर्किनेबित्तिकै छोरी भान्साको काममा र छोरा टिभी, मोबाइल वा गेममा,’ उनको सुझाव पनि छ, ‘घरैदेखि समान व्यवहार अब हरेक छोरीका लागि जरुरी छ । होम सेपिङको अवधारणालाई बलियो बनाउँदै लानुपर्छ अनि मात्रै समतामूलक समाज बन्छ ।’
युवा र महिला
युवाकै बलमा नेपालमा यत्रो राजनीतिक परिवर्तन आएको सविनाको बुझाइ छ । अहिलेका युवा राजनीतिमा उत्सुक मात्रै नभएर सक्रिय बन्न थालेको उनले बताइन् ।
पुराना दल र नेताहरूको बहिर्गमनसँगै नेपालमा नयाँ राजनीतिको सुरुवात भएको छ । उनी भने पुराना नेताहरू सल्लाहाकारको भूमिकामा रहेर अब रहेक पार्टीले युवालाई नेतृत्वमा सघाउने र उत्प्रेरित गर्नुपर्ने बेला आइसकेको बताउँछिन् । ‘यसका लागि युवा सक्षम छन् र तयारी अवस्थामै पुगिसकेका छन्,’ उनी भन्छिन् ।
नेपाली महिलामा परिवर्तन आउनुमा आर्थिक आत्मनिर्भरता प्रमुख रहेको उनी बताउँछिन् । ‘पढेर मात्रै पनि नहुँदो रहेछ, सबैभन्दा ठूलो कुरा आर्थिक आत्मनिर्भरता हो,’ उनी भन्छिन्, ‘यसले महिलालाई सबल, सक्षम र निर्णायक बनाउँछ ।’
महिलासँग अथाह शक्ति र क्षमता भएकाले त्यसको पहिचान जतिसक्दो चाँडै गर्नुपर्ने उनको भनाइ छ । ‘सानैदेखि छोरा र छोरीलाई समान रूपमा हिँडाऔं । सबैभन्दा ठूलो कुरा त खुसी भएर बाचौं,’ उनी भन्छिन् ।

अब के ?
पब्लिक हेल्थ प्रोफेसनलका रूपमा सविनाले विशेषत: महिनावारी स्वच्छता, दिगो स्वास्थ्य तथा लाइफ वेलबिइङमा विभिन्न स्वास्थ्य संघसंस्थासँग काम गरेकी छिन् । सोसल मिडिया इन्फ्लुएन्सरका रूपमा मूलत: महिनावारी, महिला स्वास्थ्य, सस्टेनेबल हेल्थ, शारीरिक तथा मानसिक वेलबिइङ प्रवद्र्धनमै केन्द्रित रहिन् ।
दीपलताका नामले लेखनमा सक्रिय उनको ‘दीपलता’ उपन्यास नै प्रकाशित छ ।
सविनालाई आर्ट, कल्चर एन्ड लिटरेचर, मेड इन नेपालको प्रमोसन, हेल्थ तथा वेलनेसमा काम गर्न मन छ । उनी त महिला सञ्जालसमेत बनाउन चाहन्छिन् । ‘मलाई मोनोलग लेख्ने इच्छा छ । मधेश र पहाडको कल्चरलाई ब्रिजिङ गर्ने मेरो भित्री इच्छा हो,’ उनले सुनाइन् ।
सविनालाई तीन प्रश्न :
बालेन प्रधानमन्त्री तर तपार्इंका श्रीमान् नभएको भए, उनीप्रतिको तपाईंको धारणा कस्तो हुन्थ्यो ?
यो त असाध्यै गहिरो र जटिल प्रश्न भयो । प्रधानमन्त्रीका बारेमा म अलि फेलिक्सिबल भएरै सोच्थें र सोहीअनुसार टिप्पणी गर्थें होला ।
प्रधानमन्त्रीले अझ के गर्न सके सुनमा सुगन्ध होला ?
प्रधानमन्त्रीका रूपमा देशमा सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलतालगायत मुलुकको विकास र समृद्धिलाई जसरी मूल मुद्दा बनाएर अघि बढेका का छन्, त्यसमा सफल हुनुपर्छ । अर्को कुरा, प्रधानमन्त्रीले अलि सञ्चार र संवाद बढाउँदा राम्रै हुन्छ ।
बालेनका लागि तपाईंले गर्ने सहयोग, सल्लाह, सुझाव के–कस्तो हुन्छ ?
म व्यक्तिगत कुराबाहेक व्यावसायिक तथा राजनीतिक कामकुरामा त्यति हस्तक्षेप गर्न रुचाउँदिन । जबकि उहाँले मलाई तीबाहेक अन्य सबै कुरामा निर्णायक व्यक्ति बनाएर राख्नुभएको छ । व्यावसायिक तथा राजनीतिक कुरामा म बढी हावी नभए पनि बेलाबखत सल्लाह–सुझाव दिइरहन्छु ।

पहिरन:श्वेता प्रधान श्रेष्ठ, अजिजा बाइ श्वेता प्रधान, लबिम मल
सुजा श्रेष्ठ, एम्बेसडर डिजाइन, दरबारमार्ग
हेयर तथा मेकअप:निसुम लिम्बू ,निसुम मेकअप स्टुडियो
ज्वेलरी: शालिमार ज्वेलर्स तथा ग्यालरी ग्याङ्ग नेपाल
लोकेसन: याक एण्ड यती होटल दरबारमार्ग
तस्बिरहरू : महेशमान प्रधान 

 Image