आरती पौडेल
‘यो क्लिप हेर्नुहोस् । अब त्यही गीतको पुरानो भिडियो हेर्नुहोस्...। यी दुईबीचमा केही फरक पाउनुभयो ?’ मीठासपूर्ण आवाजमा यसरी नै गीतहरू केलाउँछन् सुरज सुवेदी । छोटो भिडियो तर मीठो भाव । त्यति मात्र नभई त्रुटि पनि औंल्याउँछन् उनी । गीत–संगीतबारे सुरजका कन्टेन्ट यतिबेला धेरैले मन पराइरहेका छन् ।
‘मेरो उद्देश्य गीतहरूलाई बिगार्ने होइन । पुराना हुन् वा नयाँ– गीतको गहिराइ केलाउन भित्री पाटोसम्म पुग्न मलाई निकै मन पर्छ,’ उनी भन्छन् । उनको छवि एक कन्टेन्ट क्रिएटरका रूपमा मात्र नभएर समीक्षक र कविका रूपमा समेत परिचित छ ।
छोटा भिडियोमार्फत गीतको समीक्षासहित फरक शैलीका सुरजका कन्टेन्ट धेरैको रोजाइमा परेका छन् । हरेक उमेर समूहका मानिसहरूले उनको कन्टेन्ट मन पराइरहेका छन् । उनका भिडियोले ‘मिलियन भ्युज’ पाएका छन् । त्यसो त सुरज पहिलेदेखि नै विभिन्न सञ्चारमाध्यममा साहित्य र सिनेमामाथि समीक्षा गर्थे । त्यति मात्र होइन, उनी ‘द एसियन राइटर्स’ मार्फत युवा पुस्तालाई ‘क्रिएटिभ राइटिङ’ सिकाइरहेका छन् ।
सुरजको साहित्यिक यात्रा
भोजपुरमा जन्मिएका सुरजले कक्षा ८ सम्म गाउँकै स्कुलमा पढेका थिए । त्यसपछि खाँदबारी, इटहरी र विराटनगरमा अध्ययन गरेपछि मास्टर्स पढ्न काठमाडौं आएका थिए । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि सुरज ‘विकास उद्यमी’ नामक संस्थामा काम गरे । जहाँ उनले ‘शुभ यात्रा’ मोबाइल एपका लागि वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक सामग्री तयार गर्थे । साहित्यका विद्यार्थी भएपछि उनलाई नाटक र सिनेमा पनि खुबै मन पर्ने, साथी–सर्कल पनि उस्तै । मौका मिल्नेबित्तिकै नाटक र फिल्म हेर्न पुगिहाल्थे । विभिन्न अनलाइन पोर्टलका लागि उनी फ्रिलान्सरका रूपमा लेख/समीक्षा लेख्थे । पाठकको प्रतिक्रियाले सुरज पनि फुरुङ्ग हुन्थे । ‘मेरो रुचिको विषय यतै हो भन्ने लाग्यो । दुई वर्ष काम गरेपछि मैले जागिर छोडेर फुल टाइम लेखनमा दिएँ,’ उनले भने । उनी समीक्षा लेख्नकै लागि भारतसमेत पुगे ।
यत्तिकैमा नारायण वाग्लेको प्रसिद्ध उपन्यास ‘पल्पसा क्याफे’ मा त नाटक लेख्ने अफर आयो । उपन्यासलाई नाट्य रूपान्तरण गर्ने क्रममा कोरोना महामारी सुरू भयो । उनी घरै गएर लेखन सकाए । मण्डला थिएटरमा नाटक मञ्चनसमेत भयो । सुरजले नाट्यप्रेमीहरूबाट प्रशंसा बुटले ।
सुरज काव्य सिर्जना र वाचनमा पनि अब्बल छन् । सुरजको कविता वसन्त बस्नेतको ‘महाभारा’ उपन्यासको पहिलो पृष्ठमा समावेश गरिएको छ । ‘महाभारामा मैले लेखेको कविता पढेर धेरै पाठकमा सुरज सुवेदी को रहेछ भन्ने भएको रहेछ । धेरैले पढेर प्रतिक्रिया दिनुभएको थियो,’ उनी भन्छन् । सुरू–सुरूमा बाह्रखरी, मकालुखबर, शिलापत्र, कान्तिपुरलगायतमा उनका लेख समीक्षा प्रकाशित भएका छन् । त्यहीबीचमा उनले ‘बिट्विन द लाइन्स’ भन्ने पोडकास्टसमेत चलाए ।
साहित्यका अन्य विधाजस्तै सुरजलाई गीत पनि औधी मन पर्छ । उनी गीतका वर्णन र चर्चा गरिएका भारतीय भिडियो हेर्थे । ‘त्यति मज्जाले हरेक गीतको गहिराइमा पुगेर गीतको अर्थ बुझाइन्थ्यो । संगीत त्यति गहिरो रहेछ । कसैले नेपालमा पनि गरोस् भन्ने लाग्थ्यो,’ उनले भने ।
तीन वर्षअगाडिदेखि सुरज १९७४ एडी ब्यान्डको बायोग्राफी लेख्न लागिरहेका छन् । पुस्तक लेखनकै लागि पनि उनलाई हरेक गीतका कणकणमा पुग्नैपर्ने थियो । त्यसले पनि उनलाई नेपाली गीत–संगीतका पाटा अझ मज्जाले बुझ्न ठूलो सहयोग गर्यो । ‘नेपाली गीतको भाव बुझाउने कसैले गर्दियोस् भन्ने लागेको मलाई अब आफैंले सुरू गर्न पर्छ कि भन्ने भयो,’ उनले भने । आफ्नो योजनाबारे साथीहरूलाई सुनाए । सबैबाट राम्रो प्रतिक्रिया पाए । ‘झर्छ जहाँ इन्द्र धनुष स्वर्ग माया मारी’ गीतको भिडियोमा धनु तानिरहेको दृश्यमा सुरजले त्रुटि भेटे । ‘इन्द्र धनुष भनेको धनु होइन, इन्द्रेणी हो’ भन्ने उनलाई भइहाल्यो ।
त्यसपछि त्यही गीतमा भिडियो बनाउने आइडिया आइहाल्यो । स्क्रिप्ट तयार पारे । साथी सरोज कार्कीलाई देखाए । सुरजले ‘केही दिनमा क्यामेराबाट भिडियो खिच्नुपर्छ’ भनेर कुर्दै थिए । तर सरोजले ‘राम्रो कामका लागि किन ढिला गर्ने भन्दै मोबाइलबाटै भिडियो खिचौं र अहिले खिच्नुपर्छ’ भने । भिडियो सुटिङ र भिडियो सम्पादनको काम सकियो । सुरज आफूले चलाएको पोडकास्टकै नाममा नै इन्स्टामा एकाउन्ट खोल्न खोजे तर भएन । त्यसपछि ‘एसियन राइटर्स’ की सह–संस्थापक पूजा यादवले ‘सबटेक्स्ट’ राख्न आइडिया दिइन् । त्यही आइडियाले जुरेको नाम हो ‘सबटेक्स्ट विथ सुरज’ । इन्स्टाग्राम, टिकटकमा भिडियो पोस्ट भयो । भिडियो राखेको दोस्रो दिनमै ‘मिलियन भ्युज’ आयो । सबैतिर सुरजको भिडियो सेयर र रिपोस्ट । कमेन्टको त वर्षा नै आयो ।
सोचेभन्दा बढी माया र सकारात्मक प्रतिक्रियाले सुरज छक्कै परे । ‘गीतहरूको साहित्य, गहिराइ प्रस्तुत गर्ने सोचले अगाडि बढेको थिएँ । कुनै पनि सर्जकलाई गलत देखाउने उद्देश्य मेरो थिएन,’ उनले भने, ‘पहिलो भिडियो नै चर्चित भएपछि थप जिम्मेवारी महसुस भयो । दर्शकले रुचाएपछि अझ धेरै गीतको समीक्षा गर्ने ऊर्जा थपियो ।’ त्यसपछि ‘बलिदान’ फिल्मको सन्दर्भलाई जोड्दै वर्तमान राजनीतिक परिदृश्यमाथि उनले भिडियो बनाए । ‘देउरालीमा बतास चल्यो’ लगायत उनले दर्जनौं गीतमाथि समीक्षा र वर्णन गरेका छन् ।
सेप्टेम्बर २०२५ बाट सुरू भएको ‘सबटेक्स्ट विथ सुरज’ मार्फत उनले दर्शक–श्रोताका प्रशंसा मात्र होइन, सम्मान र पुरस्कार पनि पाएका छन् । छोटो समयमै दर्शकले चाहेजस्तो कन्टेन्ट दिन सफल सुरज ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८२ बाट सम्मानित भएका छन् । भर्खरै मात्र शिलापत्रको ‘वर्ष कन्टेन्ट क्रियटर २०८२’ पनि बनेका छन् उनी ।
सुरज सामाजिक सञ्जालले आफ्नो क्षमतालाई दर्शकसामु पुर्याउन ठूलो भूमिका खेलेको बताउँछन् । ‘सामाजिक सञ्जालबाट धेरै माया पाएको छु । मेरो काम मन पराउने दर्शकहरूले म्यासेज गर्नुहुन्छ । प्रतिक्रिया दिनुहुन्छ । बाटोमा भेट्दा सुझाव दिनुहुन्छ । निकै खुसी लाग्छ,’ उनले भने । आफ्नो परिवार, दर्शकबाट पाएको साथ र सपोर्टले आफूलाई गर्व लाग्ने गरेको सुरज सुनाउँछन् । साथै, टिमको निरन्तर साथ र माया पाउँदा केही नयाँ गरौं भन्ने लागिरहन्छ उनलाई ।
उनलाई बाल्यकालदेखि नै साहित्यप्रति रुचि थियो । हजुरबुवा खिलराज सुवेदी एक कवि नै थिए । हजुरबुवाकै प्रभाव पनि सुरजमा पर्यो । ‘सानैदेखि हजुरबुवाले सफा कागजमा निकै राम्रा अक्षरमा कविताका पाण्डुलिपि लेखिरहेको देख्दा मलाई निकै रोचक लाग्थ्यो । त्यो कुराबाट म निकै प्रभावित थिएँ,’ उनले भने । बाल्यकालदेखि नै परीक्षामा आउने प्रश्नहरूमा विवेचनात्मक उत्तर दिनुहोस् । वाक्य बनाउनुहोस् जस्ता प्रश्नहरू देख्दा निकै खुसी भएर लेख्थे सुरज ।
उनी पढाइसँगै स्कुलमा हुने वक्तृत्वकला प्रतियोगिता, साथै विभिन्न कार्यक्रममा भाग लिने गर्थे । सुरज बुझ्ने भएदेखि नै हरेक कुराको अर्थ पत्ता लगाउन मन पराउँथे । आफूलाई मन परेपछि एउटै फिल्म र गीत बारम्बार हेर्ने र सुन्ने बानी छ उनको ।
अबका दिनमा छोटा भिडियो मात्र नभएर लामा भिडियोमा समेत काम गर्ने योजना रहेको सुरज सुनाउँछन् ।
बढी माया: भतिजी
शक्ति: शब्द
स्नेह: साहित्य
प्रभावशाली महिला : आमा
आकर्षक महिला: अलेक्जेन्ड्रिया ओकासियो–कार्टेज (एओसी)
मनपर्ने लेखक: मिलान कुन्देरा
भेट्न मन लागेकी नारी: मिसेल ओबामा