लेखक अनिता खरेलको पहिलो उपन्यास ‘आदिरा’ ले अर्कै संसारका अनेकौं घटना र पात्रलाई कुशलतापूर्वक चित्रात्मक वर्णन गर्छ । पाठकले यो स्वैरकाल्पनिक उपन्यासबाट पठनको पृथक् आस्वाद लिन पाउनेछन् । ‘आदिरा’ को सेरोफेरोमा उपन्यासकार अनिता खरेलसँग वार्ता :
‘आदिरा’ नाम कसरी रह्यो ?
एउटा स्वैरकाल्पनिक स्थानको नामबाट रहन गएको हो । जब मैले उपन्यासको कथावस्तु सिर्जना गर्दै गएँ, अलौकिक संसारको कल्पना गर्दै गएँ, मलाई यस्तो नामको आवश्यकता थियो जसले प्रकृति, नारी, निर्मलता, निश्चलता र शक्तिलाई एकैसाथ प्रतिनिधित्व गर्न सकोस् । आदिरा हिब्रू मूल शब्द हो जसको अर्थ ‘सुन्दर एवं शक्तिशाली’ हुन्छ । मैले रचेको संसार पनि सुन्दर छ, शक्तिशाली छ, तसर्थ उपन्यासको नाम सोही संसारलाई चिनाउने उद्देश्यले आदिरा राखें ।
‘आदिरा’ लाई तपाईंले ‘न्याय, समानता र आशाको प्रतीक’ को रूपमा चित्रण गर्नुभएको छ । यो काल्पनिक संसार सिर्जना गर्दा तपाईंले वास्तविक समाजबाट कुन–कुन प्रेरणा लिनुभयो ?
आदिरामा सबै समान छन्, न कोही कसैको राजा, न कोही रंक । समानता हरेक व्यक्तिको स्वभाव र मर्ममै झल्किन्छ । कोही कसैलाई छल गर्न चाहँदैन, छल गर्नु भनेको अपराध ठान्छ । यही समानभावको कारण हरेक व्यक्ति र जीव न्यायपूर्वक जीवन बिताइरहेका हुन्छन् । आफ्नो क्षमताबमोजिम काम गर्छन् । एक–अर्कालाई सहयोग गर्छन् । प्रकृतिको देनको सम्मान गर्छन् । जति चाहिन्छ, त्यतिमात्र लिन्छन्, संग्रह र सञ्चय गर्ने अवधारणा नै छैन आदिरामा । भविष्यप्रति सकारात्मक छन् सबै, त्यसैले आशाको किरण झल्किन्छ सबैको मुहारमा । तर यति हुँदाहुँदै पनि त्यो काल्पनिक संसारमा वास्तविक समाजको जरामा जकडिएर बसेको लोभ, लालच, शक्तिलोलुपता र अहंकारले आक्रमण गर्छ । नकारात्मकता हावी हुन्छ । तर, फेरि वास्तविक समाजमा सकारात्मकता पनि त छ । मैले आमाको ममताबाट प्रेरणा लिएँ, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोणबाट प्रेरणा लिएँ, महिलाको सहनशीलता र त्यागबाट प्रेरणा लिएँ, अनि सबैभन्दा महत्वपूर्ण आत्मशक्तिबाट प्रेरणा लिएँ ।
‘आदिरा’ एउटा यस्तो ठाउँ हो, जहाँ वास्तविकता र कल्पना एक–अर्कासँग मिसिन्छन् । यो पुस्तक लेख्दा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण के लाग्यो ?
मैले कथाको नायकका रूपमा रुद्रलाई रोजें, तर कथा भने ‘म’ पात्रद्वारा । यो एउटा ठूलो चुनौतीका रूपमा देखापर्दै गयो । कतिपय सन्दर्भमा रुद्रको कथामा कतै म आफै आफ्नो कथा पो भन्दै छु कि जस्तो महसुस हुन्थ्यो । किशोरावस्थामा साथीहरूसँग धेरैपटक कीर्तिपुर, चोभार र टौदह पुगेकी छु म, ती मेरा सुखद् स्मृतिहरूमध्ये हुन् । तिनै स्मृतिहरूलाई समेट्दै त्यहीँ कतै काल्पनिक संसार, समानान्तर संसार, आदिरा निर्माण गर्नु निकै लोभलाग्दो क्षण रह्यो मेरा लागि । अनि चुनौतीपूर्ण रह्यो ती संसारलाई वास्तविक संसारझैं देखाउनु ।
पुस्तकमा स्वैरकाल्पनिक यात्रा छ । मुख्य पात्रहरूले आफ्नो यात्रामा कस्ता आन्तरिक द्वन्द्व सामना गर्छन् ?
उपन्यासमा दर्शाइएका दुई समानान्तर संसारका वासीहरू निश्चित समयको अन्तरालमा आफ्ना संसारबाट अलौकिक संसारको यात्रा गर्छन् । रुद्र आदिराको यात्रामा अघि बढ्दा उत्साहित हुन्छ, आश्चर्यमा पर्छ अनि आदिराको सौन्दर्यमा मोहित हुन्छ । तर, ऊ हरेक पाइलासँगै आफ्नो बाल्यकाल बिताएको वास्तविक संसार र आदिराको बीचमा तुलना नगरी रहन सक्दैन । आदिराको शक्ति थोरै भए पनि आफ्नो घरसंसारमा लैजान पाए हुन्थ्यो भन्ने उसलाई लागिरहन्छ । आदिराबाट कीर्तिपुरको यात्रा पनि कम रमणीय र आश्चर्यजनक छैन । समानान्तर संसारसँगको पहिलो साक्षात्कार उपन्यासका प्रत्येक पात्रका लागि आफ्नो जीवनको अन्तद्र्वन्द्व पहिचान गर्ने, आफूसँगै वार्तालाप गर्ने र आफ्नो औचित्य खोजी गर्ने माध्यम बनेको छ ।
नयाँ लेखकका रूपमा उपन्यास लेख्न सुरु गर्दा लेखन प्रक्रियामा के अनुभव छ ?
मैले एक वर्ष लगाएर पहिलो अंश लेखिसिध्याएकी थिएँ । दोस्रो अंश अर्थात् अध्याय दशपछिको कथा मेरो दिमागमा सिर्जना भइसकेको थियो । लगभग छ महिनाको अन्तरालपछि रुद्रको हात समाउँदै म पुन: आदिराभित्र प्रवेश गरें । आदिराको दोस्रो भागको यात्रा मैले करिब आठ महिनामा पार गरें । अनि यसरी दुई अंशमा रचिएको आदिरा पूर्ण भएर तयार भयो ।
‘आदिरा’ पछि तपाईंको अर्को सिर्जनात्मक यात्रा के हुने छ ?
आदिरा मेरा लागि एउटा यस्तो संसार हो, जसभित्र म पूर्णरूपले लीन भएकी छु । सपनामा पटक–पटक आदिराको विचरण गर्दै झल्याँस्स बिउँझिएकी छु । एउटा रमाइलो प्रसंग सुनाउन चाहन्छु, एकपटक एघारौं अध्यायमा मेरो उपन्यासको कथावस्तु बीचमा गएर कतै अड्किन पुग्यो र म एक हप्तासम्म एक शब्द पनि लेख्न नसकेर रोकिएकी थिएँ । त्यसरात जहाँ मेरो कथा रोकिएको थियो त्यहीँबाट मेरो सपना अघि बढ्यो । मैले उपन्यासमा त्यही प्रसंग जस्ताको तस्तै लेखें । हाल मेरो अवचेतन मनले मलाई आदिराको इतिहासतर्फ डोर्याउन थालिरहेको छ । त्यसैले मेरो अर्को सिर्जनात्मक यात्रा भूतकालतर्फ फर्किने निश्चित छ । पाठकवर्गले अर्को अद्भूत यात्राका लागि अझ केही वर्ष पर्खिनुपर्नेछ ।