रोजिन शाक्य
नमूना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्राचार्य ज्ञानीशोभा तुलाधरलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वल्र्ड बुक अफ रेकड्र्स लन्डनले सर्टिफिकेट अफ एक्सेलेन्स प्रदान गर्दै आइकोनिक फेसन डिजाइनर तथा भेट्रान एकेडेमिसियनका रूपमा सम्मान गरेको छ ।
५० वर्षभन्दा बढी समयदेखि नेपालको फेसन क्षेत्रको विकास, विस्तार र रूपान्तरणमा पुर्याएको दूरदर्शी नेतृत्वको कदर गर्दै उनलाई नेपाली फेसन जगत्की ‘गुरु आमा’ का रूपमा चिनाउँदै यो सम्मान प्रदान गरिएको हो । परम्परागत सीपलाई आधुनिक शैक्षिक विषय र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न उनले खेलेको अग्रणी भूमिकालाई यो सम्मानले विशेष रूपमा उजागर गरेको छ ।
यो सम्मान २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित वल्र्ड बुक अफ रेकड्र्सको २० औं अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको थियो, जसले उनको दीर्घकालीन व्यावसायिक यात्रामा महत्वपूर्ण उपलब्धि थपेको छ ।
तुलाधरलाई नेपालको फेसन आन्दोलनकी अग्रणी व्यक्तित्वका रूपमा व्यापक रूपमा मानिन्छ । उनले पुस्तौंको डिजाइनर, स्टाइलिस्ट तथा सिर्जनशील पेसाकर्मीलाई मार्गदर्शन गर्दै नेपालको सिर्जनात्मक अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् ।
उनको योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेकी छन् । तीमध्ये न्यूबिज बिजनेस वुमन समिट एन्ड अवाड्र्स २०२५मा प्रदान गरिएको लाइफटाइम अचिभमेन्ट अवार्ड विशेष उल्लेखनीय छ । यो सम्मानले नेपालको फेसन उद्योगको विकास तथा सिर्जनात्मक उद्यमशीलताको प्रवद्र्धनमा उनले पुर्याएको दीर्घकालीन योगदानलाई मान्यता दिएको हो । साथै उनलाई डिस्टिङ्गिवस्ड वुमन अफ नेपालको सूचीमा समेत समावेश गर्दै फेसन शिक्षा प्रवद्र्धन तथा महिला सशक्तीकरणमा पुर्याएको भूमिकाको प्रशंसा गरिएको छ ।