Successfully Copied

‘पात्रलाई जीवन्त बनाउन प्रोडक्सन डिजाइन महत्वपूर्ण’

टेक्निकल रूपमा खेलेर कथा र पात्रलाई जीवन्त बनाइराख्न प्रोडक्सन डिजाइनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।


ओजस्वी ओझा (प्रडक्सन डिजाइनर, स्पेशल तथा भिजुअल डिजाइनर)
मियामी एड स्कुल श्रीलंकाबाट क्रियटिभ डाइरेक्सन प्रोग्राम तथा जिन्दल स्कुल अफ आर्ट एन्ड आर्किटेक्चर भारतबाट ब्याचलर अफ इन्टेरियर डिजाइनिङको अध्ययन पूरा गरेकी ओजस्वी ओझा प्रडक्सन र भिजुअल डिजाइनिङमा चल्तीको नाम हो । नेपाली फिचर फिल्मलगायत स्टोरी साइकल तथा ग्रोथ सेलरजस्ता चलेका ब्रान्डमा क्रियटिभ डिजाइनर र प्रडक्सन डिजाइनरको काम गरिसकेकी ओझाले ‘नाद कला गृह प्रालि’ हालसालै बखुन्डोलमा सञ्चालनमा ल्याएकी छिन् ।
इन्टेरियर डिजाइनिङबाट प्रडक्सन–भिजुअल डिजाइनिङमा काम गर्दा कस्तो अनुभूति हुँदोरहेछ ?
सिफ्ट गरेको अनुभूति हँुदैन । इन्टेरियरमा पर्सनल स्पेशमा काम गरिन्छ, यो अलि दृश्यात्मक हुन्छ । मलाई त्यति धेरै फरक लाग्दैन ।
अहिले तपाईंले गरिरहेको काम के हो ?
सिनेमा र थियटरको सेट डिजाइनिङ, पोस्टर डिजाइनिङ, पुस्तक डिजाइनिङ, इभेन्ट डिजाइनिङ एवं सबै किसिमका आर्टलाई एक्सपोजर दिनलाई स्पेश दिने काम गरिरहेकी छु ।
प्रडक्सन डिजाइन निर्माण प्रक्रियामा सबैभन्दा चुनौतीपूर्ण पक्ष के हुन्छ ?
टिम ठूलो हुन्छ । सबैको सीप, क्षमता, सोचलाई कसरी एकत्रित गरेर एउटै बेस्ट प्रडक्सन दिन सकिन्छ भन्ने कुरा चुनौती हो ।
आफ्नो क्षेत्रमार्फत के फरक गर्ने चाहना छ ?
हाम्रो क्षेत्रमा व्यावसायिकता कम छ । यसलाई सुधार गर्ने मन छ । सिनेमा मार्केटलाई कसरी अन्तर्राष्ट्रिय रूपमा एक्सपोजर दिने भन्नेमा केही योगदान गर्ने इच्छा छ ।
कथाको भावनालाई दृश्यमार्फत प्रस्तुत गर्न तपाईंले कुन–कुन पक्षमा बढी ध्यान दिने गर्नुभएको छ ?
कलरमा धेरै ध्यान दिन्छु । फेसियल एक्सप्रेसन, कस्ट्युमलगायत स–साना कुरामा पनि ध्यान दिने गरेकी छु ।
अवधारणादेखि अन्तिम डिजाइनसम्मको प्रक्रिया कस्तो रहने गर्छ ?
मुभीकै कुरा गर्नुपर्दा स्क्रिप्ट हेरेर मेरो पार्टमा ब्रेन स्ट्रम गर्छु । प्रि–प्रडक्सन, सुटिङदेखि उत्पादन हुने बेलासम्म नै केन्द्रित हुनुपर्ने हुन्छ ।
तपाईंको काममा सबैभन्दा ठूलो सिर्जनात्मक चुनौती के हुन्छ र त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?
टिममा काम गर्नुपर्ने भएकाले सबैलाई आफूले सोचेको अवधारणा प्रस्तुत गर्दा र त्यो बुझाउनुपर्दा संवादमा चुनौती हुने हो । यसलाई म टिमसँग बसी कम्युनिकेसन गरेर त्यो ग्याप फुलफिल गर्ने प्रयास गरिरहेकै हुन्छु ।
उत्कृष्ट भिजुअल डिजाइनको मापन के हो ?
मेरा लागि अहिलेको संसारमा लेटेस्ट टेक्नोलोजी र रियल लाइफका कुरालाई कसरी सन्तुलन गरेर अगाडि लैजान सकिन्छ त्यसमा निर्भर हुन्छ ।
सीमित समय र बजेटबीच पनि गुणस्तरीय डिजाइन कसरी सम्भव बनाउनुहुन्छ ?
मेरो अनुभवका आधारमा सीमित बजेट र समय भए पनि जहाँ सुटिङमा जान्छौं त्यहाँको स्थानीय तहले धेरै सहयोग गर्छन् यसले बजेटको समस्यामा सघाउँछ ।
कथा र पात्रलाई जीवन्त बनाउन प्रोडक्सन डिजाइनले कस्तो भूमिका खेल्छ ?
धेरै ठूलो भूमिका खेल्छ । कालो पर्दाको अगाडि उभिएर एक्टिङ गर्नु र कुनै ठाउँमा अभिनय गर्नु धेरै फरक पर्छ । टेक्निकल रूपमा खेलेर कथा र पात्रलाई जीवन्त बनाइराख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।
दर्शकले तपाईंको कामबाट कस्तो अनुभव लिएर फर्कून् भन्ने चाहनुहुन्छ ?
कुनै पनि दर्शकले भावनात्मक रूपमा मेरो कामसँग जोडिएर निस्किऊन् भन्ने लाग्छ ।
नयाँ पुस्ताका डिजाइनरहरूलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
हाम्रो अत्यन्तै स्ट्रक्चर लाइफ हुन्छ, कलेज पढ्नुपर्‍यो, ब्याचलर्स, मास्टर्स गर्नुपर्‍यो । अन्य कामको अनुभव पनि लिनुपर्छ । यसले फराकिलो सोच र आत्मविश्वास बढाउँछ । 

 Image