सर्लाही क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की भारी मतले विजयी भएकी छन् । भण्डारी ४४ हजार १८१ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका मनोजकुमार देवकोटाले ६ हजार १०१ प्राप्त गरेका छन् । ३० वर्षअघि मीना पाण्डेले प्रतिनिधिसभा निर्वाचनमा जितेपछि सर्लाहीले महिला प्रतिनिधिसभा सदस्य पाउन सकेको थिएन । ३० वर्षपछिको यो विजय भण्डारीका लागि मात्रै नभएर उक्त क्षेत्रका सम्पूर्ण महिलाका लागि गौरवको विषय बनेको छ ।
यसअघि व्यवसाय तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नीतिमा जुझारु र जोखिम अँगाल्ने स्वभावकै कारण कम उमेरमै सांसद बन्न सफल भएकी हुन् । उनले भनिन्, ‘अब जनताका मुद्दा नै प्रमुख र सर्वोच्च हुनुपर्छ । यसमा कुनै सम्झौता हुने छैन ।’ उनको संसदीय यात्रा महिला, किशोरकिशोरीलगायत वृद्धवृद्धाका क्षेत्रमा विशेष काम गर्ने योजना रहेको छ । जनताको विश्वासलाई सर्वोपरि ठान्ने नीतिमा अबको नेतृत्व भ्रष्टाचारका विरुद्ध असल शासनमा केन्द्रिकृत हुनुपर्ने बताउँछिन् । त्यसका साथै पुराना नेताबाट भएका कमी–कमजोरी नदोहोर्याउनेमा पनि आफ्नो पार्टी प्रतिबद्ध रहने उनको भनाइ छ ।