आरती पौडेल
चुनावको माहोल तातेको थियो । सबै उम्मेदवार आफ्ना लागि भोट माग्न हिँडिरहेका थिए । काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ रञ्जु दर्शना (न्यौपाने) उम्मेदवार थिइन् । उनी चुनावी अभियानका क्रममा ८ महिनाकी गर्भवती थिइन् ।
हरेक महिलाका लागि गर्भवती अवस्था कठिन मानिन्छ तर उनी आफ्ना पीडाबीच पनि भोट माग्न हिँडिरहिन् । मतदातालाई आफ्ना एजेन्डाका बारेमा सुनाइन् ।
फागुन ११ गते उनले छोरालाई जन्म दिइन् । त्यतिबेला उम्मेदवारले आफ्ना लागि भोट मागिरहेका थिए । तर रञ्जु भने सन्तान जन्माउँदाको प्रसव पीडामा थिइन् । उनी फागुन २१ गते आफ्नो छोरा काखमा च्यापेर मतदान गर्न गइन् । रञ्जुले चुनावी अभियानमा गरेको संघर्ष र मेहनतले १५ हजार ४ सय ५५ मतसहित विजय हासिल गरिन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका थिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत पाए ।
रञ्जुले चुनावी घरदैलो गर्ने क्रममा होस् वा आफ्नो सन्तान लिएर भोट हाल्न जाने क्रममा, उनलाई ‘स्टन्ट’ गरेको भन्ने धेरै थिए । तर उनी डगमगाइनन् । उनले एकै पटक मातृत्व र नेतृत्व गर्ने अवसर प्राप्त गरिन् । रञ्जु राजनीतिमा संघर्ष गर्नेमध्ये एक मानिन्छिन् ।
रञ्जुले वैकल्पिक राजनीतिक अभियान विवेकशील नेपाली पार्टीबाट राजनीतिको सुरुवात गरेकी थिइन् । उनी त्यस समयमा हुने बन्द, हड्तालको विरोधमा सडकमा सक्रिय रहेर लागेकी थिइन् । विभिन्न अभियानबाट उनले सत्यका लागि आवाज उठाउँदै आएकी थिइन् । रञ्जुले २०७४ सालको स्थानीय तह निर्वाचनमा २१ वर्षकै कलिलो उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी थिइन् । उक्त समय उनी राजनीतिप्रतिको लगाव, भाषण गर्ने शैली, युवा जोसबाट सबै सामु परिचित बनिन् । नेताहरूलाई खुलेर प्रश्न गर्ने शैलीले उनको चर्चा एकाएक चुलिएको थियो । सामाजिक सञ्जालदेखि टेलिभिजन अन्तर्वार्तासम्म उनको चर्चा भइरहन्थ्यो । धेरै युवा त्यसबेलादेखि नै उनका विचार, एजेन्डाबाट प्रभावित भएका थिए । उनको राजनीतिक जीवनमा धेरै बाधा, अवरोध आए । उनले हार खाइनन् ।
देश बनाउने सपना बोकेकी उनी राजनीतिलाई बीचमै छोड्न सकिनन् । बरु आफ्नो विचार नमिलेका कारण पाटी परिवर्तन गरिन् ।
लामो समयदेखि मेहनत, संघर्ष, सामाजमा आवाज उठाउँदै आएकी र राजनीतिक अभियानमा लागेकी रञ्जु दर्शनाले मेयरमा चुनाव लडेको ९ वर्षपछि प्रतिनिधिसभा सदस्यमा विजय भएकी छिन् ।
अब उनले सडकबाट होइन सदनबाट सत्यका लागि आबाज उठाउने छिन् ।
जितपछि उनी भन्छिन्, ‘यस्तो मज्जाको जित भएको छ । अब काम गरेर देखाउनैपर्छ,’ उनले भनिन्, ‘यो ५ वर्षमा जसरी पनि काम गरेर देखाउनुपर्छ । वैकल्पिक राजनीति र विवेकशील राजनीति दुवैको जित हो ।’